छापा खबर


कोरोनाको कारण मानसिक समस्याका बिरामी बढेपछि विज्ञ चिकित्सकले सुरु गरे अनलाइनबाटै मनोपरामर्श सेवा

कोरोनाको कारण मानसिक समस्याका बिरामी बढेपछि विज्ञ चिकित्सकले सुरु गरे अनलाइनबाटै मनोपरामर्श सेवा

नेपालखबर
बैशाख २७, २०७८ सोमबार २:२९,

कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरले धेरैलाई तनाव दिएको छ । एकातिर औषधि र अस्पतालमा शय्या अभाव छ भने अर्कोतिर दैनिक हजारौँको सङ्ख्यामा सङ्क्रमित बढिरहेका समाचारले चिन्ता थपिदिएको छ।

समाजमा देखिएको यो समस्यालाई कम गर्ने उद्देश्यले केही मनोचिकित्सकले ‘ह्याप्पी माइन्डस् डट हेल्थ’ अनलाइनबाट परामर्श दिन सुरु गरेका खबर आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छन्।

‘ह्याप्पी माइन्डस् डट हेल्थ’का प्रबन्ध निर्देशक श्रेया गिरीले भनिन्, ‘कोरोना प्रकोपपछि विश्वभरि मानसिक समस्या विकराल बनिरहेको छ । नेपालमा पनि यो समस्या छ । यही समस्या निराकरण गर्ने उद्देश्यले मनोचिकित्सकको समूह बनाएर सेवा दिन सुरु गरेका हौँ।’

गोपनीयता कायम गरेर विशेषज्ञको टोलीले परामर्श दिने गरेको उनले बताइन्।

गत वर्ष लन्डनमा स्नातकोत्तर तहमा अध्ययन गरिरहेका बेला कोभिड–१९ प्रकोप सुरु भएपछि आफूमा पनि मानसिक स्वास्थ्य समस्या देखिएकाले अरू मानिस यस्तो अवस्थाबाट गुज्रिन नपरोस् भनेर परामर्श दिने अवधारणा ल्याएको उनको भनाई छ।

यो अनलाइनमार्फत मानसिक स्वास्थ्यसम्बन्धी जागरुकता बढाउने, मानसिक स्वच्छता र मानसिक स्वास्थ्यसम्बन्धी प्राथमिक चिकित्सकीय सहायता प्रदान गरिने छ।

मनोचिकित्सक डा.सुरज शाक्यको नेतृत्वमा ह्याप्पी माइन्डस् डट हेल्थमा नेपाल, अमेरिका र अस्ट्रेलियामा काम गरिरहेका अनुभवी नेपाली मनोविशेषज्ञ आबद्ध छन् । डा.शाक्यले कोभिड–१९ महामारीका बेला मानिसमा मानसिक स्वास्थ्य समस्या पनि निकै बढेर गएको बताउँदै रोजगारदातालाई आफ्ना कर्मचारी र शैक्षिक संस्थालाई आफ्ना विद्यार्थीको मानसिक स्वास्थ्यको ध्यान दिन आग्रह गरे।

मानसिक समस्यालाई समयमै सम्बोधन नगर्दा डिप्रेसन तथा देह त्यागका घटना पनि बढ्दै गएको बताउँदै उनले आफ्ना परिवारका सदस्य तथा साथीमा त्यस्तो समस्या देखिए तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क राख्न र विज्ञहरूबाट परामर्श लिन आग्रह गरे।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक तथा मानसिक रोग विशेषज्ञ डा.रवि शाक्यले कोरोना सङ्क्रमणका कारण मानसिक रोग बढेको बताए। ‘तनाब र चिन्ता भएपछि मानसिक समस्या आउनु स्वाभाविक हो । पहिलेदेखि मानसिक रोग भएकामा कोरोना महामारीका बेला समस्या झन् गम्भीर हुन्छ,’ उनले भने।

मानसिक स्थितिलाई बलियो बनाउनुका साथै आफूले सुरक्षित हुने विधि अपनाए यो रोग लाग्ने सम्भावना न्यून हुने जानकारी दिँदै शाक्ले भने, ‘चिन्ताले रोगसँग लड्न सक्ने क्षमता कम गर्ने भएको कारण चिन्ता लिनुहुँदैन, नयाँ कुराको अनावश्यक तनाव लिन हुँदैन।’

कोरोना त्रासले जीवन असामान्य भएमा मनोविद्सँग परामर्श लिन सकिन्छ भने आवश्यक परे केही समयका लागि औषधि खानुपर्ने मनोविश्लेषक वासु आचार्यले बताए। ‘कोरोना भाइरस हामीलाई खोज्दै घरमा आउँदैन, हामी नै खोज्दै भीडभाडमा गएर ल्याउने हो, तसर्थ अधिकतम समय घरमै बसौँ, सकभर अस्पताल, क्लिनिक नजाऔँ,’ उनले भने।

हाल कोरोनाका कारण नकारात्मक समाचार बढेको, सङ्क्रमितको सङ्ख्या बढेको, औषधि, अक्सिजन, अस्पतालमा शय्याको अभाव र मृत्युका समाचारले झन् मानसिक समस्या बढाउने उनको भनाई छ।साथीभाइसँग गफ गर्ने, परिवारसँग रमाइलो गर्ने, योग, ध्यान, नृत्य, सङ्गीत, आर्ट, लेखन, पठन आदिले कोरोना फोबिया हटाउन मद्दत गर्छ,’ आचार्यले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .