गण्डकी


पोखरा महानगरले प्रहरीलाई बुझायो गृहमन्त्री लामिछाने जोडिएको सूर्यदर्शन सहकारीसम्बन्धी प्रतिवेदन

३४१९ पृष्ठको प्रतिवेदनमा रविको नाम छ?
पोखरा महानगरले प्रहरीलाई बुझायो गृहमन्त्री लामिछाने जोडिएको सूर्यदर्शन सहकारीसम्बन्धी प्रतिवेदन

वाशुदेव मिश्र
बैशाख २७, २०८१ बिहिबार २१:१३, पोखरा

पोखरा महानगरपालिकाले उपप्रधान तथा गृहमन्त्रीसमेत जोडिएको पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको वित्तीय स्थितिको विश्लेषणात्मक प्रतिवेदन नेपाल प्रहरीलाई बुझाएको छ।

पोखराका मेयर धनराज आचार्यसहित उपमेयर मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले  बिहीबार ३ हजार ४१९ पृष्ठ लामो प्रतिवेदन जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्तकुमार शर्मालाई बुझाएका हुन्।

समस्याग्रस्त सहकारी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वित्तीय स्थितिको विश्लेषणात्मक प्रतिवेदन नेपाल प्रहरीलाई बुझाइएको छ।

विशेषज्ञका रूपमा नियुक्त एफसीए अनिल लामिछाने, सहकारी विज्ञ दीपकप्रकाश आचार्य, पोखरा महानगरपालिका सहकारी शाखा, महानगर सहकारी व्यवस्थापन समितिलगायतले लामो समय लगाएर यो प्रतिवेदन तयार पारेको मेयर धनराज आचार्यले बताए।

यसअघि पनि महानगरको सहकारी शाखाले सूर्यदर्शनको वित्तीय अवस्थाको अध्ययन गरेको थियो। महानगरको प्रतिवेदनले सहकारीको रकम अपचलन गर्नेको सूचीमा गृहमन्त्री रवि लामिछानेको नाम पनि किटान गरेको थियो।

यद्यपि, गृहमन्त्रीले त्यो आरोप अस्वीकार गर्दै आएका छन्। अहिलेको विस्तृत प्रतिवेदनमा पनि गृहमन्त्रीको नाम रहेको आशंका गरिएको छ तर महानगर एवं प्रहरी दुवैले सो प्रतिवेदनमा के छ भन्ने कुरा बाहिर ल्याएका छैनन्।  

मेयर आचार्यले प्रतिवेदनमा सहकारीको वित्तीय अवस्थाको विस्तृत अध्ययन तथा विश्लेषण गरिएको बताए पनि गृहमन्त्रीको नाम भए÷नभएकोबारे आफूलाई जानकारी नभएको बताए।

पोखराका रहेका सूर्यदर्शन बचत तथा ऋण सहकारी पीडितहरुले छानविन समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेकाले उनीविरुद्ध पनि थप अनुसन्धान हुनुपर्ने भन्दै कास्की प्रहरीमा पुरक निवेदनसमेत दिएका थिए। अहिले उनीहरु सडक संघर्षमै छन्।  

छानबिन समितिको सिफारिसको आधारमा सरकारी वकिलको कार्यालयले १९ जनालाई मात्र प्रतिवादी बनाएको तर प्रतिवेदनमा समेटिएका २ देखि ३ सय व्यक्तिलाई प्रतिवादी बनाएर जानुपर्ने संघर्ष समितिको माग छ। सहकारी पीडित संयुक्त संघर्ष समितिका संयोजक तथा सूर्यदर्शन सहकारीपीडित किरण श्रेष्ठका अनुसार यो माग लिएर उनीहरुले स्वयं गृहमन्त्री लामिछानेदेखि सबैजसो दलका शीर्ष नेताहरु गुहारिसकेका छन्।  

सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई (जिबी) सहित १९ जनाविरूद्ध भदौ २५ गते पक्राउ पुर्जी जारी भएको थियो। गितेन्द्र अहिलेसम्म फरार छन् भने हालसम्म सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र उपाध्यक्ष कैलाश दर्लामी, पूर्व संचालक समिति सदस्य शिवकुमार गुरुङ (महेन्द्र भोटे) र गल्याङ ९,स्याङ्जाका बासिन्दा तथा संचालक समितिका सदस्य भविश्वर अर्याल पुर्पक्षको लागि थुनामा छन्। 

गीतेन्द्र बाबु (जीवी) राईको समूहले कास्कीमा मात्रै १९ हजार बचतकर्ताहरुको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना गरेको अभियोग छ।

महानगर सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले चाहिँ सहकारीपीडितले माघ २० गते ठगी प्रकरणको पुनः छानबिन हुनुपर्ने माग गरेपछि पछिल्लो छानबिन गरिएको हो।

अघिल्लो प्रतिवेदनमा समावेश नामहरुलाई जस्ताको तस्तै राखेर नयाँ प्रतिवेदन तयार गरिएको र यो प्रतिवेदनमा ठगीमा संलग्नदेखि यहाँबाट ऋण लिनेहरुसम्मको नामावली समावेश गरिएको छानबिनमा संलग्न एक अधिकारीले बताए।

‘पुरानो प्रतिवेदन पनि महानगरले नै तयार पारेको हो, त्यसमा तलमाथि त के हुने भयो र?’,ती अधिकारीले भने,‘थप कुरा भने (रविको सम्बन्धमा) भए/नभएको मलाई पनि याद भएन।’

‘खासगरी सूर्यदर्शन सहकारी लिमिटेडबाट पीडित हुनुभएका साथीहरुले हामीलाई निवेदन दिनुभएको थियो। निवेदनपश्चात विस्तृत रुपमा के भएको हो भनेर हामीले चार्टर एकाउन्टेन्ट, वित्तीय क्षेत्रका साथीहरु र नेपाल प्रहरीको सिआइबीबाट तोकेर आउनुभएको साथीहरुले पोखरा महानगरपालिकाको सहकारी समितिको रोहवरमा उसले तोकेको प्रतिनिधिको सहभागितामा यसको छानविन गरेर एउटा प्रतिवेदन प्राप्त भएको छ,’ मेयर आचार्यले भने।

‘जम्मा ३४ सय १९ पेजको ९ वटा ठेली प्रतिवेदन प्राप्त भएको छ,’ उनले थपे, ‘यसमा के छ भन्ने कुरा हामीलाई थाहा छैन। अब प्रहरीलाई हामीले प्रदान गरेका छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .