छापा खबर


कोरोनाका बिरामीको उपचार : सरकारी अस्पतालहरुले गराउन थाले मृत्युको कबुलियतनामा  

कोरोनाका बिरामीको उपचार : सरकारी अस्पतालहरुले गराउन थाले मृत्युको कबुलियतनामा   

नेपालखबर
बैशाख २९, २०७८ बुधबार २३:४०,

३५ वर्षका बिरामी गम्भीर भएपछि भक्तपुर अस्पतालमा उपचार भइरहेको थियो । तर, अक्सिजन नभएर अस्पतालको अवस्था झन् गम्भीर भयो ।

बुधबार बिहान ११ः१५ बजे बिरामीको दाजुलाई बोलाएर अस्पतालले यस्तो कागज गरायो– ‘कोभिड संक्रमित बिरामीका लागि अत्यधिक अक्सिजन आवश्यकता परेको, तर यस विषम परिस्थितिमा राज्यले प्रशस्त अक्सिजनको व्यवस्था मिलाउन नसकी अक्सिजनको चरम अभाव भएको हुँदा अस्पतालले पनि अक्सिजनको पर्याप्त मात्रामा व्यवस्थापन गर्न नसकेको, वार्ड तथा इमर्जेन्सीमा भएको बिरामीहरूलाई चाहिने मात्रामा अक्सिजन दिन नसकिरहेको अवस्थामा बिरामीहरूको ज्यान तल–माथि भएमा अस्पताल तथा कुनै पनि कर्मचारीहरू जवाफदेही हुनेछैन । जे–जस्तो छ, त्यसैमा उपचार गर्न तयार छु भनी सहीछाप गर्न मञ्जुर छु।’

भक्तपुर मात्र होइन, देशैभरका सरकारी अस्पतालले बिरामीका आफन्तलाई यस्तै कागज गराउन थालेका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

‘मेरो बिरामीले अक्सिजन नपाएर मृत्यु भएमा जवाफदेही कोही पनि हुनेछैन’ भन्ने कागजमा औँठाछापसमेत लगाउन बिरामीका आफन्त बाध्य भएका छन् । यहीबीच अक्सिजन रोकिएर बुधबार मात्रै रुपन्देहीमा नौजना र नेपालगन्जमा ६ जना बिरामीको मृत्यु भएको छ ।

 

कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को हस्तक्षेपले अस्पतालमा अक्सिजन आपूर्ति झन् जटिल बनाएको छ । सिसिएमसीको हस्तक्षेपले अक्सिजनको आपूर्ति बढाएको छैन, उल्टै अस्पतालमा आपूर्ति भइरहेको अक्सिजनसमेत घटाएर संक्रमितको जीवनमाथि झन् ठूलो खेलबाड गरिरहेको छ ।

महामारी सुरु भएको एक वर्षसम्म अक्सिजन आपूर्ति बढाउन कुनै पहल नगरेको सिसिएमसी अहिले अक्सिजन व्यवस्थापनमा उत्रिएको छ । तर, वीर, पाटन, पोखरा र धरानजस्ता देशका प्रमुख अस्पतालमा एक वर्षअघि नै बिग्रिएका अक्सिजन प्लान्ट मर्मत गर्नसमेत सिसिएमसीले कुनै पहल गरेको थिएन ।

नयाँ प्लान्ट बनाउन र अक्सिजनको उत्पादन तथा आपूर्ति बढाउन पनि सार्थक तयारी भएन । अहिले हाहाकार भएपछि हस्तक्षेपमा उत्रिएर समस्या झन् बढाएको छ ।

अर्कोतिर उपत्यकाका कोभिड अस्पतालहरूले अक्सिजनको अभावका कारण देखाएर थप बिरामी भर्ना गर्न नसकिने भन्दै विज्ञप्ति निकाल्न थालेका छन् । प्लान्ट उपलब्ध केही सरकारी अस्पतालले अक्सिजनको माग थामिरहे पनि निजी अस्पतालले अक्सिजन नै उपलब्ध नभएकाले बिरामीको उपचार गर्न नसकिने बताएका छन् । बिरामीको माग थेग्नै नसक्ने गरी बढेपछि अस्पतालमा अक्सिजनको अभाव हुन थालेको छ ।

अस्पताल प्रशासनका अनुसार आइसियू र भेन्टिलेटरमा राखिएका बिरामीबाहेक अन्य संक्रमितलाई डिस्चार्ज गरिएको थियो । यस्तै, मेडिसिटी, ह्याम्स र स्टार अस्पतालमा पनि अक्सिजनको अभावका कारण परिपूर्ति गर्न नसकिएको बताइएको छ । अक्सिजनको माग दिनानुदिन बढिरहे पनि सिसिएमसीले पाइरहेको अक्सिजन पनि कटौती गर्दा अस्पतालमा अक्सिजनको अभाव हुन थालेको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .