ad ad

छापा खबर


इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच मर्जरको तयारी, चुक्ता पुँजी २६ अर्ब ९४ करोड हुने

इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच मर्जरको तयारी, चुक्ता पुँजी २६ अर्ब ९४ करोड हुने

नेपालखबर
बैशाख ३१, २०७८ शुक्रबार ३:१४,

नेपाली बैंकिङ इतिहासकै सबैभन्दा ठूलो मर्जरसम्बन्धी सम्झौता भएको छ । नेपालका पुराना र ठूला दुई वाणिज्य बैंक नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच बिहीबार मर्जरको सम्झौता भएको हो।

लामो अवधिदेखि मर्जरको चर्चा चलिरहेको भए पनि आगामी दुई महिनाभित्र मर्जर सम्पन्न गर्ने गरी दुई बैंकका अध्यक्षबीच प्रारम्भिक समझदारी भएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

समझदारीपत्रमा नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा हिमालयन बैंकको तर्फबाट अध्यक्ष तुलसीप्रसाद गौतमले हस्ताक्षर गरेर मर्जरका लागि औपचारिक प्रक्रिया शुभारम्भ गरेका छन् । मर्जरपछि बैंकको नाम हिमालयन एन्ड नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड हुनेछ।

बैंकको सञ्चालक समितिको अध्यक्षमा पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृतमा हाल हिमालयन बैंकमा प्रमुख रहेका अशोकशमशेर राणा रहने सहमति भएको छ । मर्जरपछि बन्ने बैंकको सञ्चालक समितिमा दुवै बैंकको तर्फबाट ३–३ जना सञ्चालक नियुक्त हुनेछन् । स्वतन्त्र सञ्चालकको नियुक्ति भने नयाँ संचालक समितिले गर्नेछ।

दुवै बैंकको सेयर स्वाप रेसियो एकबराबर एक हुने प्रारम्भिक सहमति भएको छ । हाल नेपाल इन्भेष्टमेन्टको चुक्ता पुँजी १६ अर्ब २६ करोड छ भने हिमालयन बैंकको १० अर्ब ६८ करोड चुक्ता पुँजी रहेको छ । दुई बैंकको मर्जरपछि चुक्ता पुँजी २६ अर्ब ९४ करोड हुनेछ । तर, पुनः विस्तृत ड्यु डेलिजेन्स रिपोर्ट (सम्पत्ति दायित्वको प्रारम्भिक मूल्यांकन प्रतिवेदन) तयार गरेपछि बैंकमा दुवै बैंकको सम्पत्ति र दायित्वको विस्तृत जानकारी आउनेछ ।

विस्तृत डिडिएले १० प्रतिशतसम्म प्रतिसेयर मूल्यमा तलमाथि देखाए पनि एकबराबर एक अनुपातमै मर्जर हुने बैंकहरूबीच आन्तरिक सहमति भएको छ ।

हाल नेपाल इन्भेष्टमेन्टको जगेडा तथा कोष १४ अर्ब १० करोड र हिमालयनको ७ अर्ब ६७ करोड छ । कर्जा लगानीका हिसाबले नेपाल इन्भेष्टमेन्टको १ खर्ब ६० अर्ब र हिमालयनको १ खर्ब २७ अर्ब रुपैयाँ छ । त्यस्तै, इन्भेष्टमेन्टले १ खर्ब ६८ अर्ब र हिमालयनले १ खर्ब ४३ अर्ब निक्षेप संकलन गरेका छन् । चुक्ता पुँजी, कर्जा लगानी र निक्षेप संकलन सबैका आधारमा यो बैंक नेपालकै सबैभन्दा ठूलो बन्नेछ ।

हिमालयन र नेपाल इन्भेष्टमेन्टमा अप्रत्यक्ष रूपमा पाँडे र राणा दुवै समूहको क्रस होल्डिङसमेत छ । हिमालयन बैंकमा पाँडेको लगानी रहेको छाया इन्टरनेसनलको ८ दशमलव ८९ प्रतिशत सेयर स्वामित्व छ । पारिवारिक सम्बन्ध रहेका यी दुई बैंकलाई मर्जरमा राष्ट्र बैंकले जोड दिँदै आएको थियो । हाल हिमालयन बैंकमा हबिब बैंक, कर्मचारी सञ्चय कोष, एन ट्रेडिङ कम्पनी, म्युचुअल ट्रेडिङ कम्पनी, अभा इटरनेसनल, छाया इन्टरनेसनल र शशिकान्त अग्रवालको एक प्रतिशतमाथि लगानी छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरूबीच मर्जर गराउने प्रयास विगत केही वर्षदेखि गर्दै आएको भए पनि हालसम्म पाँच जोडी वाणिज्य बैंकहरू मर्जर हुँदा पाँच वाणिज्य बैंक विलय नै भएका छन् । यसअघि वाणिज्य बैंकहरूमा कमर्ज एन्ड ट्रस्ट बैंक र ग्लोबल आइएमई बैंक, जनता बैंक र ग्लोबल आइएमई बैंक, बैंक अफ एसिया र नेपाल इन्डस्ट्रियल एन्ड कमर्सियल बैंक, लुम्बिनी बैंक र बैंक अफ काठमाण्डू तथा किस्ट बैंक र ग्रान्ड बैंक (हाल प्रभु बैंक) बीच मर्जर भएका थिए ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .