छापा खबर


आइसियूमा राख्नुपर्ने बिरामी टेकुको चिसो भुइँमा, वीर र शिक्षण अस्पतालका अत्याधुनिक भवन भने खाली

आइसियूमा राख्नुपर्ने बिरामी टेकुको चिसो भुइँमा, वीर र शिक्षण अस्पतालका अत्याधुनिक भवन भने खाली

नेपालखबर
बैशाख ३१, २०७८ शुक्रबार २३:४९,

महामारीले आक्रान्त जनताको चाप धान्न नसकेर टेकु अस्पतालले पेटीमा बेन्चमा मात्र होइन, भुइँमा समेत राखेर उपचार गराइरहेको छ । जम्मा पाँच बेड क्षमताको इमर्जेन्सी वार्डमा ५२ जना बिरामी छन् ।

पटक–पटक परिरहेको पानीले भुइँका बिरामी भिज्न थालेपछि अस्पताल प्रशासनले पार्किङ खाली गरेर बेड थपेको छ । अस्पतालले पार्किङ खाली गरेर १० बेड राखेको छ । तैपनि धेरै बिरामी अझै पनि बाहिरै छन् । यीमध्ये २७ बिरामी गम्भीर छन् जसलाई आइसियूमा राख्न आवश्यक छ, तर बेडसमेत नपाएर पेटीमै सुतेर जीवनका लागि संघर्ष गरिरहेका छन् ।

टेकुको इमर्जेन्सी वार्डका प्र्रमुख लीलानाथ भण्डारी भन्छन्, ‘सकेसम्म हाइफ्लो अक्सिजन आवश्यक पर्ने बिरामीलाई वार्डमा सार्ने कोसिस गरिरहेका छौँ । तर, वार्डमा सबैजना गम्भीर बिरामी भएकाले निको हुने दर कम छ, अपेक्षित बेड खाली हुन सकेको छैन । त्यसैले आइसियूमा राख्नुपर्ने बिरामीसमेत तीन–चार दिन बाहिरै हुनुहुन्छ।’

एकातिर निमोनियाले ग्रसित बिरामी टेकुको चिसो भुइँमा छन्, उता दुई किलोमिटर पर वीर अस्पतालमा भर्खरै निर्माण गरिएको भव्य सर्जिकल भवन खाली छ । दुई अर्ब २६ करोड लगानीमा भर्खरै निर्माण भएको यो भवनमा ६ सय ५० बेड राख्ने योजना छ । कम्तीमा दुई सय ७० बेडमा तत्कालै बिरामी राख्न सकिने स्वास्थ्य मन्त्रालयले नै स्पष्ट पारेको छ।

टेकु वा अन्य अस्पतालको पेटीमा रहेका बिरामी वीरमा सार्न सकिए कम्तीमा न्यानो बेडमा उपचार पाउँथे । तर, सरकारले अक्सिजन नदिएको भन्दै वीरले नयाँ बेड सञ्चालन गर्न नसकेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

वीरको सर्जिकल भवनमा कम्तीमा एक सय नयाँ बेडमा मंगलबारदेखि नै कोभिडका बिरामी राख्ने तयारी गरिएको थियो । तर, अक्सिजन नपाएकाले बिरामी राख्न नसकिएको अस्पतालले जनाएको छ । स्वास्थ्य मन्त्रालयले सर्जिकल भवन सञ्चालन गर्न वीरलाई पटकपटक निर्देशन दिएको छ । तर, सरकारले अक्सिजन नदिएका भन्दै वीरले नयाँ बेडमा बिरामी राख्न मानेको छैन ।

‘एक सय नयाँ बेड अहिले नै सञ्चालन गर्न सकिन्छ । तर, पुरानै भवनमा भएका बिरामीलाई पनि पुग्ने अक्सिजन आएको छैन । थप बिरामी भर्ना गर्ने, तर भोलि अक्सिजन नपाएर उनीहरूको मृत्यु भयो भने जिम्मेवारी कसले लिने?’ निमित्त निर्देशक शान्ता सापकोटाले प्रश्न गरिन् । यो विषयमा स्वास्थ्य मन्त्रालयसँग पटकपटक छलफल भए पनि अक्सिजनको विषयमा भरपर्दो जवाफ नआएको उनले बताइन्।

वीर अस्पतालको पुरानो भवनमा दुई सय ६१ बिरामी छन् । ‘शुक्रबार साँझसम्म एक सय ६१ जना संक्रमित अस्पतालको वार्डमा भर्ना भएका छन्,’ डा। सापकोटाले भनिन्, ‘इमर्जेन्सीमा एक सय छन् । बेड कुरेर इमर्जेन्सीमा बसिरहेका बिरामीसमेत अक्सिजन नपुगेर छटपटाइरहेका छन् । अक्सिजन थप आउने सुनिश्चित नभएम्म नयाँ भवनमा बिरामी कसरी थप्ने?’

एक वर्षदेखि बिग्रिएको अक्सिजन प्लान्ट भर्खरै बनाएर सञ्चालनमा ल्याइएको छ । दैनिक एक सय ५० सिलिन्डर भर्दै आएको प्लान्टले वीरको माग धान्न सकेको छैन । नयाँ भवन सञ्चालन गर्न बाहिरबाटै अक्सिजन आउनुपर्ने उनको भनाइ छ । यसरी सरकारले पर्याप्त अक्सिजन जोहो गर्न नसक्दा वीर अस्पतालको नयाँ र भव्य पूर्वाधार यो महामारीमा उपयोगविहीन भएको छ । जब कि बिरामीले अथाह दुःख पाएका छन् ।

शिक्षण अस्पतालले पनि बेड नभएकाले बिरामी भर्ना गर्न सकेको छैन । बेडको प्रतीक्षामा शुक्रबार पनि ७० बिरामी इमर्जेन्सी वार्डमा थिए । भित्र नअटेका बिरामी बाहिर पेटीमै छन् । तर, शिक्षण अस्पतालमै भर्खरै निर्माण भएको सुरेश वाग्ले स्मृति क्यान्सर भवन आठ तलाको छ, तर जम्मा ४० बेड मात्र सञ्चालन गरिएको छ ।

‘यो विशाल भवनमा हामीले तत्काल दुई सय बेड थप्ने योजना बनाएका थियौँ । तर , ४० बेड मात्रै प्रयोग गरिएको छ । अरू सबै खाली छन् । अक्सिजन नभएकाले बेडमा बिरामी राख्न सकिएको छैन,’ शिक्षण अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दास भन्छन्, ‘हामीले हाल अस्पतालमा भर्ना गरेका बिरामीलाई समेत अक्सिजन पु¥याउन सकेका छैनौँ, यो वेला नयाँ बेड थप्ने योजना टाढाको विषय भयो ।’ नयाँ भवनका नयाँ बेडमा बिरामी कहिले राख्ने भन्ने विषय अहिले स्पष्ट गर्न नसकिने उनले बताए । ‘अक्सिजन भए छिट्टै राख्न सकिन्छ, तर त्यसको जिम्मेवारी कसले लिने?’ उनले भने ।

शिक्षणकै मनमोहन सेन्टरको नवनिर्मित ‘एनएक्स’ भवनमा भने कोरोना संक्रमितको उपचार सुरु गरिएको छ । यो भवनमा जनरल बेड र आइसियूमा बिरामी राखेर उपचार थालिएको अस्पतालका चिकित्सक डा। रत्नमणि गजुरेलले बताए । ‘एनएक्स भवनमा अहिले जनरल बेड २०, क्याबिन १० बेड र १२ बेड आइसियू सञ्चालनमा छ । अहिले सबै बिरामीले भरिएका छन्,’ डा. गजुरेलले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .