छापा खबर


पुँजीगत खर्च गर्न सरकार असफल

पुँजीगत खर्च गर्न सरकार असफल

नेपालखबर
जेठ २, २०७८ आइतबार ०:३४,

कोभिड–१९ को दोस्रो लहर चल्दै गर्दा चालू आर्थिक वर्ष २०७७–७८ को पहिलो १० महिनामा आधा पनि पुँजीगत खर्च भएको छैन।

सरकारले चालू आर्थिक वर्षमा ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो । तर, आर्थिक वर्ष सकिन दुई महिना मात्र बाँकी रहँदा १ खर्ब ७५ अर्ब ७७ करोड ७ लाख रुपैयाँमात्र खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार १० महिनामा जम्मा ३५।६४ प्रतिशतमात्र खर्च भएको छ । जसमा वैशाख महिनामा मात्र लक्ष्यको ५।६८ प्रतिशत पुँजीगत रकम खर्च भएको छ। यो खबर आजको कारोबार दैनिकमा सुमित सुवेदीले लेखेका छन्।

नेपालमा असारे विकासको रुपमा बजेट खर्च हुने गरेता पनि गत वर्ष पनि आर्थिक वर्षको अन्त्य हुने समयमा लकडाउन हुँदा सरकारले बजेट खर्च गर्न सकेन । लक्ष्यअनुसार पुँजीगत खर्च गर्न नसक्दा संरचनात्मक हिसाबले समस्या बल्झिँदै गएको अर्थशास्त्री डा. डिल्लीराज खनाल बताउँछन् । ‘एक त कोरोना नियन्त्रणका लागि गरिएको लकडाउन र त्यसमा पनि पुँजीगत खर्च गर्न नसक्ने पुरानै प्रवृतिले पनि यस्तो अवस्था आएको हो,’ उनी भन्छन्।

सरकारले खनालको संयोजकत्वमा तीन वर्ष पहिले सार्वजनिक खर्च पुनरावलोकन आयोगसमेत गठन गरेको थियो । तर, आयोगका सुझावहरु कार्यान्वयन हुन नक्दा समेत समस्या थपिएको उनी बताउँछन् । उनका अनुसार, कोरोना माहामारीले अर्थतन्त्रमा संकुचन ल्याइरहेको समयमा बजेट खर्च गर्न नसक्नु निकै चिन्ताजनक विषय हो।

‘कोरोनाले गर्दा समस्या भयो भन्ने एउटा पक्ष हो,’ उनी भन्छन्, ‘तर, उच्च आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिइरहेको समयमा पुँजीगत खर्च नहुनु ज्यादै गम्भिर संरचनात्मक समस्या हो।’ खर्च नहुने प्रवृतिले लक्ष्य पूरा नहुने मात्र नभएर मध्य र पूर्वकालिन हिसाबले नै बहुप्राकृतिक असर पार्ने उनी बताउँछन्।

१० महिनामा चालू खर्च पनि मात्र ६ खर्ब ३० अर्ब ४ करोड ७९ लाख रुपैयाँ भएको छ, जुन लक्ष्यको ६६.३९ प्रतिशत हो । सरकारले आर्थिक वर्षको सुरुमा चालू तर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड ६ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको थियो। त्यस्तै वित्तिय व्यवस्थापनतर्फ सरकारले ३९.७७ प्रतिशत मात्र खर्च गरेको छ।

सरकारले आर्थिक वर्षको सुरुमा १ खर्ब ७२ अर्ब ८८ करोड ७३ लाख रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य लिएकोमा पहिलो १० महिनामा मात्र ६८ अर्ब ७२ करोड १० लाख रुपैयाँ खर्च गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .