ad ad

छापा खबर


सर्वोच्चको फैसला पर्खिरहेका माधव नेपाल ओलीसँग सम्बन्ध विच्छेदको अन्तिम तयारीमा

सर्वोच्चको फैसला पर्खिरहेका माधव नेपाल ओलीसँग सम्बन्ध विच्छेदको अन्तिम तयारीमा

नेपालखबर
जेठ २६, २०७८ बुधबार १:४०,

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको ६ बुँदे प्रस्ताव जालझेल, अन्योल र भ्रमका आधारमा अरूलाई अलमल्याउने र विभाजित गर्ने दुराशय प्रेरित रहेको निष्कर्षसहित वरिष्ठ नेता माधवकुमार नेपालले ‘बृहत् कम्युनिस्ट एकता’को अवधारणासहित वैकल्पिक पार्टी निर्माणको अन्तिम तयारी अघि बढाएका छन्।

जवाफी प्रस्तावमा नेता नेपालले पार्टी विधानअनुरूप पार्टीलाई एकताबद्ध बनाउने ओलीको सोच नै नरहेको देखिएकाले उनको वक्तव्यको भ्रममा नपरी सशक्त रूपमा पार्टीको समग्र एकता, संगठन निर्माण र सञ्चालनको मार्गमा अघि बढ्न देशभरका नेता–कार्यकर्तासँग आह्वान गरेका छन् ।

खनाल–नेपाल समूहका एक प्रभावशाली नेताले पनि प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा सुनुवाइकै चरणमा रहेको रिट टुंगिने वेलासम्म वैकिल्पक ढोका खुला हुने बताए।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली पक्षसँगको वार्ताले सार्थक निष्कर्ष निकाल्ने सम्भावना कमजोर बनेको निष्कर्षसहित केन्द्रीय कमिटी र स्थायी कमिटीको पछिल्लो बैठकपछि वरिष्ठ नेता नेपाल एमालेसहित अन्य वाम पार्टीसमेतको बृहत् कम्युनिस्ट पार्टी निर्माणको अवधारणासहित नयाँ पार्टी गठनको गृहकार्यमा अगाडि बढेका हुन् । नेता केही समययता लगातार कार्यकर्तालाई देशभर सबै तहमा कमिटी गठन अगाडि बढाउन निर्देशन दिँदै आएका छन्।

नेपालले बिहीबार र शुक्रबार केन्द्रीय सदस्य तथा शनिबार स्थायी कमिटी सदस्यहरूको बैठक राखेर आगामी रणनीतिबारे सुझाब लिएका थिए । ती बैठकले वार्ता र पार्टी पुनर्गठन अभियान दुवैलाई समानान्तर रूपमा अघि बढाउने, तर समयसीमा तोकेर ओली पक्षसँगको वार्ताको दाउपेचमा लामो समय फस्न नहुने निष्कर्ष निकालेको थियो ।

वरिष्ठ नेता नेपालले अहिले ओलीसँग संघर्षको नीति चलिरहे पनि एकताको सम्भावना कमजोर देखिएकाले धेरै समय धैर्य गर्ने पक्षमा नरहेको प्रस्ट्याए । ‘अहिले हामी संघर्ष, रूपान्तरण र एकता वा संघर्षबाट रूपान्तरण नभए निषेधको नीतिसहित अघि बढ्ने मान्यतामा छौँ, संघर्ष चलिरहेकै बीचमा केपी ओली रूपान्तरित भएको अवस्थामा एकता हुने हो, तर उनी सच्चिएर रूपान्तरित होलान् भन्ने लागेको छैन,’ नेपालले भने, ‘तर, अब यसरी धेरै दिन चल्ने स्थिति छैन, अन्तिम बिन्दुतिरै पुग्न लागेको छ, उहाँ रूपान्तरित नभए संघर्षकै नीतिसहित अगाडि बढ्न बाध्य हुनेछौँ ।’

अहिलेलाई नेपाल–खनाल समूहले वैकल्पिक पार्टी निर्माण गर्ने कि नगर्ने अन्तिम निर्णयका लागि सर्वोच्च अदालतको फैसलासम्म कुर्ने रणनीति तय गरेको छ । फैसलाअघि पार्टी गठन गर्दा दल त्याग गरेको ठहरिने र सर्वोच्च अदालतमा रिट कायमै रहेका वेला आफ्ना सांसदहरूको पद जाने सम्भावना रहेकाले पनि कम्तीमा फैसलासम्म कुर्नु उपयुक्त हुने नेपाल स्वयंले केन्द्र, प्रदेश र जिल्ला तहको समूहको बैठकमा ब्रिफिङ गर्दै आएका छन्।

संसद् पुनर्स्थापनाको फैसला भए ओली राजनीतिक एजेन्डाका हिसाबले पनि कमजोर भएर पार्टी एकता मिलाउनका लागि समर्पणकै तहमा ‘ब्याक’ हुन सक्ने र त्यसले एमालेभित्रको अन्तर्संघर्षमा ‘पोजिसन’ बलियो बन्न सक्ने नेपाल–खनाल पक्षको आकलन छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

यदि पुनस्र्थापनापछि पनि ओलीले पार्टी मिलाउन खोजेनन् भने राजनीतिक एजेन्डा बलियो बन्ने भएकाले नयाँ पार्टी बनाएर चुनावी मोर्चा बनाएर पनि सहज हुने उनीहरूको बुझाइ छ । त्यसअनुसार नै अहिले नेपालले वैकल्पिक पार्टी निर्माण गर्दा कांग्रेस र माओवादी केन्द्रसँग सम्मानजनक चुनावी तालमेल हुने गरी प्रारम्भिक छलफलसमेत भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .