छापा खबर


कांग्रेसमा छलफलबिनै एजेन्डा पारित !

कांग्रेसमा छलफलबिनै एजेन्डा पारित !

नेपालखबर
भदौ ४, २०७६ बुधबार १:२८,

कांग्रेस केन्द्रीय समितिको असार २२ गतेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४ बुँदे एजेन्डा पेस गरेका थिए।

बैठकमा संघीयताअनुसार पार्टीको अन्तरिम संरचना गठनदेखि भ्रातृसंस्थाका विधान संशोधन र विधानअनुसार अवधि समाप्त भएका भ्रातृ संघबारे छलफल गर्ने कार्यसूची थियो।

कांग्रेस बैठक डेढ महिनाको बीचमा एक दर्जन पटक बस्यो। जारी बैठकमा १४ एजेन्डामध्ये आधा पनि छलफल हुन सकेको छैन।

तीमध्ये तीन एजेन्डा बैठकले पारित गरेको छ भने कतिपय एजेन्डा बैठकमा प्रस्तुत भए पनि छलफल बिनै पारित भएका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा खगेन्द्र भण्डारीले लेखेका छन्।

असार २९ को बैठकले पार्टीको संशोधित नियमावलीको मस्यौदाउपर आवश्यक सल्लाह गरी प्राप्त सुझावलाई मस्यौदा समितिले सहमतिमा परिमार्जन गर्ने गरी पारित गरेको थियो।

साउन २६ को बैठकले ‘नेपाली कांग्रेस स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका, २०७६’ सर्वसम्मत पारित गरी लागू गर्ने निर्णय गरेको थियो। बैठकले तनहुँमा गठित पार्टीको समानान्तर समिति खारेज गर्ने निर्णय गरेको थियो।

यीबाहेक बैठकमा पेस भएका अधिकांश एजेन्डा छलफलबिनै पारित भएका हुन्। ‘निर्देशिका र नियमावली पार्टीबाट पारित भएका हुन्। अरू एजेन्डा केन्द्रीय समिति बैठकमा पेस भए पनि छलफलकै क्रममा छन्,’ केन्द्रीय सदस्य डा। नारायण खड्काले भने, ‘छलफलकै क्रममा रहेका विषयलाई त कसरी पारित भयो भन्ने? मलाई जानकारी भएको नहुन पनि सक्छ।’

बैठकमा वैशाख २५ देखि जेष्ठ २५ सम्म सञ्चालित ‘हिमाल, पहाड, तराई मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ को एकीकृत प्रतिवेदन पेस भए पनि छलफल भएको छैन।

बैठकमा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रगति विवरण, केन्द्रीय अनुशासन समितिको प्रगति प्रतिवेदन, कांग्रेस र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी समायोजनका सन्दर्भमा भएका कामको प्रगति प्रतिवेदन पेस भएका छन्।

तर यी कुनै एजेन्डामा छलफल भएको छैन। ‘बैठकमा पेस भएका कतिपय विषयमा धेरै छलफल आवश्यक देखिँदैन। पारित भएसरह नै हुन्,’ केन्द्रीय सदस्य प्रदीप पौडेलले भने, ‘महत्वपूर्ण विषयमा छलफल सुरु भएको छैन।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad