छापा खबर


वरिष्ठता खोसेपछि माधव नेपाल रुष्टः ओलीलाई एक पद मात्रै रोज्न चेतावनी

वरिष्ठता खोसेपछि माधव नेपाल रुष्टः ओलीलाई एक पद मात्रै रोज्न चेतावनी

नेपालखबर
भदौ ४, २०७६ बुधबार १:२२,

नेकपाका वरिष्ठ नेता माधव नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई एउटा मुख्य जिम्मेवारी रोज्न लिखित प्रस्ताव गरेका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले नेकपाको पछिल्लो सचिवालय बैठकको निर्णयमा सातबुँदे ‘असहमतिपत्र’ जाहेर गर्दै ओलीलाई अध्यक्ष र प्रधानमन्त्री पदमध्ये एउटा रोज्न माग गरेका हुन्।

पार्टी अध्यक्षदेखि सबै नेतामा एक व्यक्ति एक प्रमुख जिम्मेवारीको वैधानिक व्यवस्था लागू गर्नुपर्ने माग उनको छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन्।

नेता नेपालले पार्टी विधानको धारा ४६ (क) बमोजिम स्थानीय तहदेखि संघीय सरकारसम्मका कार्यकारी जिम्मेवारी वहन गरेका नेतालाई दोहोरो मुख्य जिम्मेवारी दिन नहुने अडान राख्दै आएका छन्। उनले पार्टी अध्यक्षदेखि नै त्यो विधि कार्यान्वयन गर्न माग गरेका हुन्।

नेकपामा नेताबीचमा देखिएको खटपटका कारण अन्तरविरोध चर्किने देखिएको छ। तत्कालीन एमालेभित्र यो विवाद तल्लो तहसम्मै फैलने लक्षण देखापरेको छ।

पार्टीको पछिल्लो सचिवालय बैठकले नेता नेपालको वरीयता खोसेको थियो। पार्टी एकतापछि तेस्रो वरीयतामा रहेका नेपाललाई आइतबारको सचिवालय बैठकले घटुवा गर्दै चौथो वरीयतामा पुर्‍याएको थियो। उनको वरीयतामा अर्का पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनाललाई ल्याइएको छ।

त्यसपछि नेता नेपाल अध्यक्ष ओलीसँग रुष्ट बनेका हुन्। १ भदौको सचिवालय बैठकमा प्रधानमन्त्रीले वरीयताको विषय प्रस्तावका रूपमा ल्याएपछि नेपालले ओलीलाई प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद रोज्न आग्रह गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad