ad ad

छापा खबर


१४ वर्षमै छोराको आमा बनेकी १५ वर्षीया किशोरी भन्छिन्- ७ कक्षा पढ्दै गर्दा लभ पर्‍यो, अनि बिहे गरेँ

१४ वर्षमै छोराको आमा बनेकी १५ वर्षीया किशोरी भन्छिन्- ७ कक्षा पढ्दै गर्दा लभ पर्‍यो, अनि बिहे गरेँ

नेपालखबर
असार ११, २०७८ शुक्रबार १:४२,

बाजुराको हिमाली गाउँपालिका–१ वामकी पुष्पकला रोकाया उमेरले १५ की भइन् । उनले पिठ्युँमा दुधे बालक बोकेकी छिन् । झट्ट हेर्दा उनी कुनै अर्कैको बच्चा डुलाउँदै गरेकीजस्तो देखिन्थिन्।

हिन्दुु परम्पराअनुसार बिहेवारी नगरी महिलाको सिउँदोमा सिन्दुर विरलैको देखिन्छ । तर, पुष्पकलाको विवाहको पहिचान त्यही सिउँदाको सिन्दुर र पिठ्युँको तोते बालकले दिएको छ। यो खबर आजको समाचारपत्र दैनिकले छापेको छ।

‘बहिनी यो बच्चा तिम्रै हो?’, पुुष्पकलाले प्रश्नको सटिक जवाफ दिइन्– ‘अरूको भए बोक्दी हुँ ?’ ‘मेरो उमेर १५ वर्ष भयो, १३ वर्षमै छुई (मिन्स) भएँ, सात कक्षा पढ्दै थियौं गाउँकै इष्टमित्रको केटासँग फोनमा कुराकानी हुँदा लभ प¥यो बिहे भयो’ –उनले भनिन्।

‘पढ्ने लेख्ने उमेरमा नै आमा बन्नुभएछ, पश्चाताप छैन?’ भन्ने प्रश्नमा उनले भनिन्, ‘पश्चाताप मानेर के गर्नु र हाम्रो गाउँको चलन नै यस्तै छ। मैले मात्र हो र सानो उमेरमा बिहे गरेको? गाउँमा प्रायः सबैको १५/१६ वर्षको उमेर विवाह भइसक्छ।’

त्यसै गरी विछ्याँकी देवकन्या भण्डारी पनि १८ वर्ष पुगेकी छैनन्, पेटमा अर्को गर्भ छ । उनले पिठ्युँमा करिब एक वर्षको बच्चा बोकेकी छिन् । बालविवाह त्यसमा पनि अपरिपक्क उमेरमा वर्षेनी बच्चा पाउनुको कम्ती सास्ती छैन उनलाई । ‘वाममा ५६ घरपरिवार छन्, यहाँ कसैका पनि छाउगोठ छैनन् महिला घरकै कोठामा बस्छन् । तर, वालविवाह त घरघरमा छन्’, स्थानीय सुुरलाल रोकायाले भने।

यहाँ १५ वर्ष नपुुग्दै विवाह गरिहाल्ने चलन छ । मागी विवाहभन्दा भागी विवाह बढी हुने रोकायाको कथन छ।

‘मलाई बिहे गरेको याद छैन, हामी गर्भमै हुँदा बुवाले ज्वाइँ खोज्ने परम्परा छ । १०/१२ वर्षको उमेरमै बिहे गरिदिन्छन् । कतिखेर पढ्ने लेख्ने? फोन नम्बर सेभ गर्न पनि अरूलाई गुहार्नुपर्छ’, लम्पाटाकी ३२ वर्षीया लक्ष्मी गुुरुङले दुःखेसो गरिन्, ‘सानो उमेरमा बा–आमाले बिहे गरी दिए । २५ वर्षको उमेरमा पाँच बच्चा पाएँ । आजकाल आङ खस्ने पेट दुख्ने समस्याले थला परेकी छुु।’

यी त बाजुराको एक गाउँका प्रतिनिधिमूलक घटना मात्र हुन् । बाजुराका गाउँगाउँमा यस्ता सयौं उदाहरण छन् । बडिमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेकबहादुर खड्काका अनुसार बडिमालिकामा यो वर्ष मात्र चार सय ४९ महिलाले गर्भ जाँच गराएका छन्, जसमा एक सय ६२ महिला २० वर्षमुनिका छन् ।बडिमालिका नगरपालिका महिला विकास शाखा प्रमुख केशरी रोकाया भने बालविवाह हुनमा थुप्रै कारण भएको बताउछन्।

तीमध्ये बढ्दो सञ्चार र सामाजिक सञ्जाल फेसबुकको दुुरुपयोग, उमेर नपुुग्दै भागेर विवाह गर्ने चलनका कारण जिल्लामा दिनप्रतिदिन बालविवाह बढेका छन् । त्यस्तै नागरिकता बनाउँदा र स्कुल भर्ना गर्दा तीन देखि पाँच वर्षसम्म उमेर घटाउने प्रचलन छ । यसले पनि जिल्लामा बालविवाह गर्ने संख्यामा बढोत्तरी भएको उहाँको बुुझाइ छ।

‘खासगरी, बालविवाहका उजुर नै पर्दैनन्, गाउँघरमै गुपचुप हुन्छन् । यो वर्ष जम्मा दुुई उजुरी आएका थिए, महिला सेभ हाउस र प्रहरीको रोहवरमा अभिभावकको जिम्मा लगाएका छौं’, रोकायाले भनिन्।

जिल्लामा कुल गर्भवतीमा २५ देखि ३० प्रतिशत २० वर्षमुनिका महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले जानकारी दिए। उमेर नपुुगी विवाह गर्दा अपरिपक्क प्रजनन् अंगमा असर पर्ने जोखिमले बाल तथा मातृ मृत्यू बढी हुने, बच्चामा कम तौल र कुपोषणले मृत्युको जोखिम बढ्छ, पढ्ने लेख्ने उमेरमा बच्चाको स्याहारसुसार गर्नुपरेकाले पछि आर्थिक तथा शैक्षिक जीवनस्तरमा नराम्रो असर पर्ने पन्तको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .