छापा खबर


सरकार ! कहाँ छन् ३३०० नागरिक ?

सरकार ! कहाँ छन् ३३०० नागरिक ?

नेपालखबर
भदौ १३, २०७६ शुक्रबार १:४१,

देवीसरा ओलीलाई थाहा छैन, उनी सधवा हुन् कि विधवा । ‘भात पकाउँदै गर, मासु लिएर आउँछु’ भनी हिँडेका पति सुरेशकुमार ओली अहिलेसम्म फर्किएका छैनन् । देवीसराको जीवनमा ०५९ पुस ७ का दिन अस्ताएको सूर्य फेरि उदाएको छैन ।

‘उहाँलाई त प्रहरीले बजारमै पक्राउ गरेछ,’ उनी भन्छिन्, ‘साथमा ससुरा पनि हुनुहुन्थ्यो, दुवैलाई लगेर कुट्नुसम्म कुटेछ।’

देवीसरालाई भने यो घटनाको अत्तोपत्तो थिएन । मासु लिन गएका पति दुई दिनसम्म नफर्किंदा उनी बिलखबन्दमा थिइन् ।

बर्दियाको भुरी बजारबाट सुरेश र उनका बाबु पदमबहादुरलाई प्रहरीले भ्यानमा हालेर लगेको देख्ने केयर नेपालका कर्मचारी मायानाथ घिमिरेले नभनेको भए देवीसरा अझै बिलखबन्दमै हुन्थिन् । खबर पाएपछि उनी जिल्ला प्रहरी कार्यालय गुलरिया पुगिन्।

‘११ गते प्रहरीले ससुरालाई सासू हरिमाया ओलीको जिम्मा लगाएर छाडिदिएछन्,’ देवीसरा भन्छिन्, ‘उहाँलाई भने छाडेनन् ।’

पक्राउ गरेको २० दिनपछि पत्रिकामा सुरेशलाई गोली हानेर मारिएको समाचार छापिएपछि देवीसराको होसहवास उड्यो । ‘लौ मलाई पनि गोली ठोकेर मार अब,’ तत्कालीन डीएसपी रणबहादुर गौतमको कठालो समातेर उनी कराइन्, ‘किन मार्‍यौ मेरा बूढालाई ?’

प्रहरीले मारेको होइन, सुरेश हिरासतबाट भागे भन्ने जवाफ दिए । सरकारले हालसम्म सुरेशलाई बेपत्ताकै सूचीमा राखेको छ । देवीसरा न्याय खोज्न जिल्ला हुँदै पुनरावेदन अदालतसम्म पुगिन् ।

मानव अधिकार आयोग, इन्सेक, आईसीआरसी सबैतिर उजुरी गरिन् । जवाफ कतैबाट आएन । त्यतिखेर उनी २८ वर्षकी थिइन् । साथमा तीन स–साना छोरी थिए।

बेपत्ता पतिलाई खोज्नेदेखि छोरी हुर्काउनेसम्मका काममा आफैं खटिनुपर्थ्यो । यता छोरा नभएको भनेर ससुराले वर्षौंसम्म उनलाई अंश दिएनन् ।

अभाव, एक्लोपन र अनिश्चयको जिन्दगीले दिएको असह्य हन्डर आज पनि उस्तै छ । ‘के हाम्रो जीवन यसैगरी रोएर बिताउनका लागि हो ?’ उनी प्रश्न गर्छिन्, ‘होइन भने राज्यले मेरा पति मरे–बाँचेको निधो गर्नु पर्दैन ?’

यो खबर आजको कान्तिपुर दैनिकमा घनश्याम खड्काले लेखेका छन्।

देवीसराजस्तै बेपत्ताका पत्नीहरूलाई आफू सधवा हो कि विधवा भन्ने थाहा छैन । कम्तीमा ३३ सय बेपत्ताका परिवार नेपालमा न्याय कुरेर बसेका छन् । राष्ट्रसंघका अनुसार द्वन्द्वकालमा सबैभन्दा धेरै २४२ जना बर्दियाबाट बेपत्ता पारिएको देखिन्छ । तिनैमध्येका हुन् चैतेलाल चौधरी ।

०५८ पुस ५ को चिसो र घुर्मैलो बिहान २८ वर्षीय चौधरी अलि परको फुपूको घरबाट साइकल लिएर आफ्नो गाउँतिर निक्लेका थिए । पछाडि बसेकी थिइन् श्रीमती सीता जानकी चौधरी ।

उनीहरूको लगनगाँठो बाँधिएको तीन महिना पुग्दै थियो । फुपूका छोरा जनक चौधरी पनि सँगै आएका थिए ।

बर्दियाको जगदौहा पुग्दा चौधरी दम्पती र जनकलाई सेनाले पक्राउ गर्‍यो । उनीहरूसँगै अरू पाँच गाउँलेलाई पनि सेनाले समातेर लग्यो । चैतेलालको परिवारले यो खबर भोलिपल्ट मात्रै थाहा पायो।

जेठा दाजु बोटिलालले भाइको ज्यान रक्षा गरिपाऊँ भनी आईसीआरसी र मानव अधिकार आयोगमा निवेदन दर्ता गरे । पुनरावेदन अदालत नेपालगन्जमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिए । तर सेनाले पक्राउ नै नगरेको दाबी गर्‍यो ।

त्यसबेलादेखि चौधरी परिवारले बुताले भ्याएसम्म खोजबिन गर्‍यो । दाजु बेपत्ता हुँदा १९ वर्ष लागेका भाइ भागीराम चौधरी न्यायको खोजीमा जुटेको १८ वर्ष लागिसक्यो । तर न चौधरी परिवारले न्याय पाएको छ न चैतेलाल दम्पतीको अत्तोपत्तो मिलेको छ ।

‘धेरैपछि सेनाले आईसीआरसीलाई हाम्रा दाजु भिडन्तमा मारिएको भनी पत्र पठाएछ,’ पीडितहरूको साझा संगठन द्वन्द्वपीडित साझा
चौतारीका अध्यक्ष भागीराम भन्छन्, ‘भिडन्तमा परेको भन्ने कुरो पूरै झूटो थियो किनभने सँगै पक्राउ परेर पछि रिहा भएका महेश चौधरी र दुई गाउँका अरू व्यक्तिले दाजु–भाउजू र फुपूका छोरालाई चिसापानी ब्यारेकमा राखेको हामीलाई बताइसकेका थिए, सेनाको हिरासतमाभएको मान्छेसँग दोहोरो भिडन्त कसरी हुन्छ ?’

आईसीआरसीलाई भिडन्तमा मारिएको भने पनि चौधरी परिवारलाईपक्राउ नगरेको जवाफ सेनाले दिँदै आएको छ । त्यही आसमा चैतेलालकी आमा उनको बाटो हेर्दै बसिरहिन् ।

‘दाजु फेला पर्‍यो त बाबु ?’ आमा पियारी चौधरी भागीरामलाई रोजै सोध्ने गर्थिन् । ‘जवाफ दिन नसकेर म मरेतुल्य हुन्थें,’ भागीराम भन्छन्, ‘६ वर्षअघि उहाँको पनि सास गयो।’

दसवर्षे सशस्त्र द्वन्द्वका बेला बेपत्ता बनाइएका चैतेलाल एक्ला होइनन् । बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा परेका उजुरीअनुसार देशभर ३३ सय मानिसको आजसम्म अत्तोपत्तो छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad