छापा खबर


विवादमा भिडियो कन्फरेन्स क्याबिनेटः हेलो गरेको कि मन्त्रिपरिषद् बैठक बसेको ?

विवादमा भिडियो कन्फरेन्स क्याबिनेटः हेलो गरेको कि मन्त्रिपरिषद् बैठक बसेको ?

नेपालखबर
भदौ १३, २०७६ शुक्रबार १:५६,

सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद् बैठक नबसेको र कुनै निर्णय पनि नगरेको दाबी गरेका छन्।

कन्फरेन्समा कुनै एजेन्डा प्रस्तुत नगरेको जिकिर गर्दै उनले सामान्य विषयलाई आधार बनाएर विपक्षीले भ्रम फैलाएको तर्क गरे ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा ऋषिराम पौडेलले लेखेका छन्।

प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेसले गत सोमबार भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद् बैठक गरेर मुलुकको सार्वभौमिकतामाथि खेलबाड गरेको आरोप लगाएपछि मन्त्री बाँस्कोटाले बिहीबार समय माग गरेर बोलेका थिए ।

कांग्रेसले मुलुकको सूचना बाहिर चुहाएको र गलत नियतले मन्त्रिपरिषदको कार्यविधि परिवर्तन गरेको बताउँदै आएको छ । त्यसको जवाफमा उनले सरकारले भविष्यमा लागू हुने सम्भावना भएकाले कार्यविधि परिवर्तन गरेको र यो कानुनसम्मत भएको बताए ।

उनले प्रतिपक्षीलाई इंगित गर्दै भने, ‘प्रधानमन्त्री उपचारका लागि विदेश जानुभएको हो, नगारिकता विदेशीलाई दिनुभएको छैन।’

उनले सामान्य विषयलाई विपक्षीले अतिरञ्जित प्रचार गरेको आरोप लगाए । ‘कन्फरेन्समा प्रधानमन्त्रीले हेलो भन्नुभयो, हामीले सामूहिक रूपमा फर्कायौं । यो पहिलो प्रयोग थियो,’ उनले भने, ‘कुनै एजेन्डा थिएन । यत्तिले सार्वभौमिकतामा संकट पर्दैन।’

अमेरिका र चीनका राष्ट्रपतिले जहाजमा उड्दाउड्दै बैठक गरेको उदाहरण दिँदै मन्त्री बाँस्कोटाले भिडियो कन्फरेन्समार्फत प्रधानमन्त्री र मन्त्रिपरिषदका सदस्यबीचको कुराकानीको विषयमा संसद्मा प्रश्न, भ्रम र आलोचना गर्न आवश्यक नभएको बताए।

विपक्षीले सार्वभौमिकता र प्रधानमन्त्रीको देशभक्तिको विषय उठाएकामा खेद व्यक्त गर्दै उनले लोकतन्त्र, कम्युनिस्ट आन्दोलन र राष्ट्रवादी आन्दोलनमा लडेका ओलीलाई देशभक्तिको परीक्षण कसरी गर्ने भनी प्रश्न गरे।

भिडियो कन्फरेन्सपछि प्रधानमन्त्री ओलीले ‘आज पहिलोचोटि सिंगापुरबाट टेलिप्रिजेन्समार्फत मन्त्रिपरिषद् बैठक बस्न सकियो, मन्त्रिपरिषदका सबै सहभागी साथीहरूलाई धन्यवाद’ भनेर ट्वीट गरेका थिए।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि मन्त्रिपरिषद् बैठक भइरहेका बेला ‘सिंगापुरदेखि काठमाडौं पहिलोपटक टेलिकन्फरेन्समार्फत मन्त्रिपरिषद् बैठक बस्दै’ भनेर टवीट गरेका थिए ।

बाँस्कोटाले भने बैठक बसेकै होइन भनेर अड्डी कसिरहे । ‘हामीले कन्फरेन्समा प्रविधि प्रयोग गरेका हौं । प्रविधिको सुरक्षाका विषयमा पनि कुरा उठेको छ । संसार विज्ञान र प्रविधिको चमत्कारिक विकासद्वारा चौथो औद्योगिक क्रान्तिमा अघि बढेको छ,’ उनले भने ।

उनले सदनलाई जानकारी दिएरै प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर गएको र त्यहाँ उपचार चलिरहेको बताए । प्रवक्ता बाँस्कोटाले उपचार क्रममा प्रधानमन्त्रीलाई तेस्रो डोज औषधि दिइएको र थप चार डोज दिन बाँकी रहेको जानकारी दिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad