छापा खबर


एक लाख दिएर १० लाखको तमसुक बनाउने सर्लाहीका सुदखोरले पत्रकारलाई दिए यस्तो बयान

एक लाख दिएर १० लाखको तमसुक बनाउने सर्लाहीका सुदखोरले पत्रकारलाई दिए यस्तो बयान

नेपालखबर
भदौ १६, २०७६ सोमबार २:१४,

एक लाख ऋण दिएकालाई १० लाखको र पाँच लाख ऋण दिएकालाई करोडसम्मको तमसुक बनाएर गाउँलेको उठिवास गराएका सर्लाही मलंगवाका श्यामकृष्ण साह कलवार (श्याम परदेशी) अन्ततः पक्राउ परेका छन्।

न्याय माग्न काठमाडौं पुगेका पीडितले दबाब सिर्जना गरेपछि प्रहरीले आइतबार साँझ सर्लाहीबाटै उनलाई पक्राउ गरेको हो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा विनोद विष्ट र वीरेन्द्र ओलीले लेखेका छन्।

पक्राउ पर्नुअघि सुदखोर साहले पत्रकारसँग यसो भनेका थिएः

म देशभक्त नेपाली नागरिक हुँ, नट फ्रम बिहार । राणाकालदेखिको अभिलेख मेरो घरमा छ । इकोनोमिक्समा मास्टर गरेको व्यक्ति हुँ । देशका जति पनि अर्थशास्त्री छन् उनीहरू मेरा साथी हुन् ।

यो ब्याग (लेनदनेसम्बन्धी कागजपत्र राखिएको झोला देखाउँदै) म टुँडिखेलमा राख्छु र भन्छु, मलाई अपराधी साबित गर, कोही मर्दको बच्चा छ भने । भिडले होइन, मिडियाले होइन, नाटकले होइन कानुनले मलाई अपराधी देखाऊ । कानुनभन्दा एक रुपैयाँ पनि लोभ गरेको रहेछु भने म सजाय भोग्न तयार छु।

पहाडतिर के कसो हो मलाई थाहा छैन, मधेसतिर पैसा यसरी नै ब्याजमा लगाइन्छ । हामी यो पेसामा बाजेका पालादेखि छौँ । मैले पनि ०३८(४० सालदेखि लेनदेनको काम गर्दै आएको हुँ । हो, मैले एक सय २० प्रतिशतसम्म ब्याज लिएको छु । तर, कानुनबाहिर गएको छैन।

लेनदेन गर्ने क्रममा मैले लगाएको ऋण ठीक हो कि होइन, मैले गरेको दाबी ठीक हो कि होइन भनेर निर्णय गर्ने दुईवटा पक्ष छ  । एउटा इजलास र अर्को घरासयी व्यवहार । मैले लगाएको पैसा फिर्ता नदिएबापत मैले अदालतमा मुद्दा दिएको छु र मुद्दा जितेको छु । अदालतले निर्दोष भन्छ भने दोषी भन्ने को हो?

देश सिस्टममा चल्नुपर्छ । म पनि सिस्टम र कानुनमा विश्वास गर्छु । नेपालको कानुनले दिएको अधिकार प्रयोग गरेर नेपाली नागरिकको हैसियतले मैले काम गर्न पाउनुपर्छ कि पर्दैन रु कानुनले दिएसम्म म यो काम गरिरहन्छु । कानुनले जुन दिन बन्देज गर्छ, त्यो दिन रोक्छु।

माओवादी पिरियडमा मलाई माओवादीले लगेका थिए । यही कुरा मैले बाबुराम भट्टराई, प्रभु साह र गंगा श्रेष्ठलाई पनि भनेको थिएँ । मलाई मार्नुहुन्छ भने मार्नुस्, तर कानुन अर्को बनाउनुस् भनेको थिएँ ।

कानुनमा टेकेर कुनै काम गर्नु अपराध हो भने पत्रकार अपराधी हो, मन्त्री अपराधी हो, प्रधानमन्त्री अपराधी हो।

गाउँघरमा पैसा लगाउँदा कसैले दुई रुपैयाँ, कसैले तीन रुपैयाँ, कसैले चार रुपैयाँका दरले लिन्छ । अझ जग्गा रजिस्ट्रेसन पास गराएरै ३६ प्रतिशतसम्म ब्याज लिने चलन छ । मैले के गरेँ भने मालपोतमा खर्च नगर्नोस् बरु त्यो पैसा मलाई नै दिनुस् भने बढी ब्याज लिन थालेको हुँ । त्यसैगरी पैसा लिन्छन्।

सुरुमा एक लाख लिन्छन् । एक–दुई महिनाको ब्याज तिर्छन् फेरि दुई लाख चाहियो भन्छन् । ब्याज पाएपछि त असल मान्छे रहेछ भनेर दुई लाख रुपैयाँ फेरि दिन्छु । दुई लाखको अर्को कागज गराउँछु ।

त्यसपछि ऊ ब्याज दिनै छाड्छ । मोबाइलसमेत स्विच अफ गरेर भाग्छ । सम्पर्कविहीन भएपछि म मुद्दामा जानै पर्‍यो।

२–३ वर्षपछि अदालत धाएपछि फैसला भयो । ऊ दोषी ठहर भयो । प्रहरीले पनि पक्राउ गर्न सहयोग गर्दैन । पक्राउ पर्‍यो भने पनि जेल बस्ने पैसा आफैँले तिर्नुपर्छ । अब भन्नुहोस् को पीडित छ ?

मैले कुनै महिलालाई दुव्र्यवहार गरेको भए किन त्यहीवेला मलाई चप्पलले हान्न सकेनन् रु किन अहिले आएर कुरा उठाउने?

मलाई अहिलेसम्म कुनै पत्रकार सोध्न आएनन् । तपाईंहरू नै पहिलोपटक आउनुभयो । तर, अहिलेसम्म कोही किन आएनन्? यही हो पत्रकारिताको धर्म? एकतर्फी कुरा मात्र किन आउँछ? कस्तो प्रधानमन्त्री हो? कस्तो देश हो? सेम सेम सेम ।

उच्च अदालतले समेत मलाई पक्राउ नगर्न निषेधाज्ञा दिएको छ । मेरो ज्वाइँसहित परिवारकै नाममा निषेधाज्ञा जारी भएको छ। देवानी मुद्दामा मलाई प्रहरीले पक्राउ गर्न पाउँदैन । म गलत भए किन अदालतले पक्राउ नगर्नु भन्थ्यो?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad