आज हरितालिका तीज पर्व। नेपालका हिन्दु धर्माबलम्बी महिलाले नाचगान र पूजाअर्चनासहित धुमधामसँग यो पर्व मनाउँदैछन्।
तीजका अबसरमा बिहानैदेखि देशैभरीका शिव मन्दिरहरुमा दर्शनार्थीको घुइँचो लागेको छ। काठमाडौँको पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको बिहानैदेखि घुइँचो छ।
पशुपति दर्शनका लागि आवश्यक सबै व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
कोषका अनुसार मन्दिर प्रवेश गर्ने भक्तजनका लागि ४ वटा दर्शन मार्गको व्यवस्था गरिएको छ। पहिलो लाम गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तर ढोकाबाट, दोस्रो लाम जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठ हुँदै फलामेपुल–पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने व्यवस्था मिलाइएको कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिए।
यसैगरी तेस्रो लाम एयरपोर्टतर्फबाट–पिङ्गलास्थान–वनकाली–चार शिवालय हुँदै पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकाबाट, चौथो लाम बत्तीसपुतली–गौशालातर्फबाट पिङ्गलास्थान–वनकाली–चार शिवालय हुँदै पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने व्यवस्था मिलाइएको छ।
वैकल्पिकरूपमा विसं २०६५ देखि भक्तजनका लागि बन्द गरिएको पूर्वी ढोका पनि उपयोग गर्न लागिएको कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले बताए।
कोषले लामो समयदेखि पूर्वी ढोका पशुपतिनाथ मन्दिरमा जल ल्याउन मात्र उपयोग गर्दै आएको थियो। तीजमा महिला भक्तजनको भीडलाई छिटो पशुपतिनाथ मन्दिरमा दर्शन गराउने उद्देश्यले पूर्वी मूल ढोकालाई वैकल्पिकरूपमा उपयोग गर्न लागिएको हो।
सामान्यतया आधा घण्टामा भक्तजनले दर्शन गरिसक्ने गरी स्वयंसेवकलगायत सुरक्षाकर्मी र कर्मचारीलाई परिचालन गरिएको छ।
नेपाल प्रहरीसँगको समन्वयमा पशुपति क्षेत्रमा तीज पर्वलाई ध्यान दिँदै शनिबारदेखि सादा पोशाकका प्रहरी खटाइसकिएको छ। मेला अवधिभर चार हजार सुरक्षाकर्मी पशुपति क्षेत्रमा खटिनेछन्।
शान्तिसुरक्षालाई ध्यानमा राखी मन्दिर आउँदा बहुमूल्य गरगहना नलगाई आउन कोषले भक्तजनमा आह्वान गरेको छ। पशुपति परिसरमा कम्तीमा पनि सात लाख दर्शनार्थी प्रवेश गर्ने प्रारम्भिक अनुमान गरिएकाले बहुमूल्य सामग्री घरमै राखी दर्शनमा आउन अनुरोध गरिएको छ। साना बालबालिकालाई मन्दिरमा नल्याउन पनि अनुरोध गरिएको छ।
पशुपतिमा दर्शन गर्न आउने भक्तजनको सवारी पार्किङका लागि गुह्येश्वरी पारी, सिफलचौर, तिलगङ्गाको खाली स्थान, कोषको कार्यालय परिसर र गौशालास्थित महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालयमा व्यवस्था गरिएको छ।
सरकारी नम्बर प्लेटका सवारीलाई कोष कार्यालय र सुरक्षा निकायलाई प्रहरी प्रभाग एवं अन्यत्रका स्थलमा बाँकी सवारी पार्किङ गर्ने प्रबन्ध गरिएको छ।
जुत्ता–चप्पल राख्ने व्यवस्थाका लागि वरुणधारा, कैलाशडाँडामुनि, कोषको कार्यालय, भुवनेश्वरी, बागमती पारी राममन्दिरको मुनि लगायत स्थान छुट्याइएको छ। नाचगान एवं भक्ति सङ्गीत प्रस्तुतिका लागि हंशमण्डप, वनकाली, गौशाला, जयवागेश्वरी, मित्रपार्क तोकिएको छ।
सुरक्षाकर्मी र स्वयंसेवकको सहयोगमा पशुपति क्षेत्रमा पर्ने चक्रपथ सडक बन्द नगर्ने गरी व्यवस्थापन गर्न लागिएको पनि कोषले जनाएको छ।
तीजका अवसरमा भदौ १६ गते बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खोलिएको छ। दर्शनार्थीका लागि चन्दन वितरणको व्यवस्था सानो सदावर्त सत्तल, तिलगङ्गा, उमाकुण्ड, जयवागेश्वरी र गौशालामा व्यवस्था गरिएको छ।
तीजमा माइतीले दिदीबहिनीलाई बोलाएर दर खुवाउने गर्छन्। महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत तिजलाई उपयोग गर्ने गरेका छन्।
तर, पछिल्लो समय तीजका नाममा उच्छृङ्खलता र तडकभडक बढ्दै गएको भनेर संस्कृतिविदले चिन्ता ब्यक्त गर्न थालेका छन्।
Shares

प्रतिक्रिया