छापा खबर


काबुलमा भएको आत्मघाती हमलामा २ नेपालीसहित १६ जनाको मृत्यु, ११९ घाइते

काबुलमा भएको आत्मघाती हमलामा २ नेपालीसहित १६ जनाको मृत्यु, ११९ घाइते

नेपालखबर
भदौ १७, २०७६ मंगलबार २३:५१,

अफगानिस्तानको राजधानी काबुलस्थित ग्रीन भिलेज क्याम्पमा सोमबार राति पौने १० बजे भएको बम बिस्फोटमा परी २ जना नेपालीसहित कम्तीमा १६ जनाको ज्यान गएको छ। एक सय १९ जना घाइते छन्।

स्रोतका अनुसार बिस्फोटमा परी चितवन घर भएका कृष्ण थापा र रोल्पा घर भएका चन्द्र पुनको मृत्यु भएको हो।

यो खबर आजको कान्तिपुर दैनिकमा स्वरुप आचार्यले लेखेका छन्।

पाकिस्तानको इस्लामावादस्थित नेपाली दूतावास स्रोतले समेत आत्मघाती हमलामा २ नेपालीको मृत्यु भएको अनौपचारिक जानकारी आएको बताएको छ। केही समय यता अफगानिस्तान समेत दिल्ली दूतावासले हेर्ने गरेको छ।

मृत्यु भएका दुवै नेपाली ग्रीन भिलेज क्याम्पको सुरक्षाको जिम्मा पाएको ‘गार्दा वर्ल्ड’ नामक क्यानेडियन सुरक्षा कम्पनीमा कार्यरत थिए।

घाइतेमा कोही पनि नेपाली नरहेको स्रोतले जनाएको छ। सोही स्थानमा लामो समय काम गरेर करिब पाँच महिनाअघि फर्किएका एक नेपालीका अनुसार त्यति बेला त्यहाँ करिब ११८ जना नेपाली र केही नेपालीभाषी भारतीय नागरिक सुरक्षा गार्डका रुपमा तैनाथ थिए।

‘बिस्फोटमा परी १२ जना अफगानी र २ जना अर्को देशका सुरक्षा गार्डको पनि ज्यान गएको जानकारी छ,’ उनले भने। उनले पाएको सूचनाअनुसार बाहिरी पोस्टमा बिस्फोट गरेर ४–५ जना तालिबानी आतंकवादी क्याम्प भित्र प्रवेश गरी अन्धाधुन्द गोलीबारी गरेका थिए। मृत्यु हुनेमा अधिकांश क्याम्प नजिकैको वस्तीका बासिन्दा छन्।’

बिस्फोटका लागि ट्रक नै प्रयोग गरिएको त्यहाँ कार्यरत नेपाली साथीहरुले आफूलाई जानकारी दिएको उनले बताए।

उनका अनुसार गार्दा वर्ल्ड तथा दिल्लीस्थित नेपाली दूतावास कुनैले पनि मृतकको परिवारलाई औपचारिक जानकारी गराएका छैनन्। थापा र पुन दुवैको घटनास्थलमा नै मृत्यु भएको हो।

‘कृष्ण थापा तैनाथ रहेकै पोष्ट नजिक बिस्फोट भएपछि उनको तत्कालै मृत्यु भएछ,’ स्रोतले भन्यो, ‘चन्द्र पुन भने अफ ड्युटीमा रहेछन्। बिस्फोटपछि कभर दिन जाँदा आतंकवादीको गोली लागेछ।’

ग्रीन भिलेज क्याम्प विदेशीहरू बस्ने भवन परिसर हो। काबुलबाट जलालावाद जाने राजमार्गको किनारमै रहेको क्याम्प जाने बाटोको दाँयातर्फ भने स्थानीय वस्ती छ। क्याम्पमा भएको आत्मघाती बिस्फोटपछि त्यहाँ रहेका ४ सय जना विदेशीलाई अर्को सुरक्षित स्थानमा सारिएको थियो।

आत्मघाती हमलाको जिम्मा तालिवान समूहले लिएको छ। उसले विदेशी सैनिकलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ। तालिवानले उक्त भवनमा सशस्त्र लडाकुहरू रहेको दाबी गरेको रोयटर्सले उल्लेख गरेको छ। ग्रीन पार्कमा भएको यो पाँचौं ठूलो हमला हो।

२०७३ असार ६ गते काबुलमै नेपाली सुरक्षा गार्ड सवार मिनिबसमा बम बिस्फोट हुँदा १४ नेपालीको मृत्यु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad