छापा खबर


चैतन्य मिश्र भन्छन् : नेपाल देश नरहन पनि सक्छ !

चैतन्य मिश्र भन्छन् : नेपाल देश नरहन पनि सक्छ !

नेपालखबर
भदौ २८, २०७६ शनिबार १:२०,

प्राध्यापक चैतन्य मिश्र नेपालका अग्रणी समाजशास्त्री हुन्।

नेपाली समाज, नेपालको आधुनिक राजनीति र मार्क्सवाद विषयक बौद्धिक विमर्शमा झन्डै चार दशकदेखि उनको नेतृत्वदायी भूमिका रहँदै आएको छ।

हालै उनको नेपाली भाषाको तेस्रो पुस्तक ‘लोकतन्त्र र आजको मार्क्सवाद’ प्रकाशन गरेका छन्।

यसै विषयमा प्राध्यापक मिश्रसँग संगीत दीपक सापकोटाले लिएको अन्तर्वार्ता आजको नयाँ पत्रिका(झन् नयाँ)मा छापिएको छ। त्यसको केही अंश : 

पछिल्लो समय तपाईंले सामाजिक लोकतन्त्रको वकालत गर्दै आउनुभएको छ। अहिले नेपालको लोकतन्त्र तपाईंले भन्नुभएजस्तै सामाजिक लोकतन्त्र हो? यो आफैँमा कत्तिको लोकतान्त्रिक छ?
यो लोकतन्त्र कस्तो छ भनेर हेर्ने कुरा हो, लोकतन्त्र डिग्रीको कुरा हो। थोरै वा धेरैको कुरा हो । लोकतन्त्र भनेको छ र छैन मात्रै होइन। व्यापक लोकतन्त्र, छिपछिपे लोकतन्त्र अथवा बीच–बीचको लोकतन्त्र, यी तीनै हुन सक्छ।

अहिले बेलायतमा संसद् केही समयका लागि भंग गर्न लागियो। त्यसलाई लोकतन्त्र भन्ने कि नभन्ने ? लोकतन्त्रको जननी देशमै त्यस्तो छ। अमेरिकामा ट्रम्पको उदय भएको छ। त्यहाँ जातवाला र गोराहरूको बोलवाला बढ्यो, त्यसले लोकतन्त्र मार्दै छ। त्यसकारण लोकतन्त्र थोरै वा धेरै हुन सक्छ, त्यो डिग्रीको कुरा हो।

हामी प्रारम्भिक चरणमा छौँ। केही लोकतान्त्रिक अवयव हामीकहाँ छ, केही छैन। उदाहरणका लागि– दलितपना अत्यन्त अलोकतान्त्रिक कुरा हो, तर त्यसविरुद्ध हामीले जति पाइला चाल्नुपर्ने त्यति पाइला चालेकै छैनौँ। लोकतन्त्रको सबैभन्दा ठूलो मर्म जन्मिँदै थोपरिने वा प्राप्त हुने हैसियत खारेज गर्दै जाने हो। आफ्नो बुतामा खाने हो, हरेक नागरिकले। दलित, महिला, गरिब सबै नागरिक बराबर हुन् भन्ने लोकतन्त्रको मूल मर्म हो।

दलित पनि रहिरहने, लोकतन्त्र पनि बलियो हुने हुन सक्दैन।

तपाईंले किताबमा पनि संकेतमा ‘यो देश रहन्छ/रहन्न भन्न सकिन्न’ लेख्नुभएको छ। नेपाल रहन्न कि भन्ने शंका कुन पृष्ठभूमिका आधारमा गर्नुभएको हो?
केही कुरा पनि स्थायी हुँदैन। भारतमा पाँच सयभन्दा बढी राज्य थिए, कहाँ बिलाए तिनीहरू ? पछिल्लो कस्मिरसम्म आइपुग्दा ती सबै भारतमै बिलाए, नामेट भए। त्यस्तै थोरै देशमध्येमा नेपाल बच्यो। यो हामीले गर्व गर्ने कुरा हो। यसले केही जिम्मेवारी दिन्छ, त्यो बहन गर्ने कुरा पनि हो।

तर, ‘हामी नरहन सक्छौँ है’ भन्ने कुराले त्यो चेत खुल्छ । यसो भन्दा मानिसलाई ‘यो देशलाई अपहेलना गरेको, भन्नै नहुने, सोच्नै नहुने कुरा’जस्तो लाग्छ। तर, संसारैभरि उथलपुथल त हुन्छ। विश्वको इतिहास हेर्ने हो भने यस्तो धेरै भएको देखिन्छ।

यस्तो विषयले हाम्रो देशको लोकतन्त्रको स्वरूप पनि निर्धारण गर्छ ?
गर्छ। हामी (बाहिरबाट) च्यापिँदै गयौँ भने नेपाल लोकतान्त्रिक कम हुन्छ, यहाँ कन्फ्लिक्ट हुन्छ। नेपाल यथास्थितिमा रहनै सक्दैन, कि अगाडि बढ्छ या विनाशतिर लाग्छ।

एकथरी मान्छे यसै प्रसंगमा राजा महेन्द्रले ‘राष्ट्र र प्रजातन्त्रमध्ये राष्ट्र रोजेको नत्र नेपाल भारतमा गाभिइसक्थ्यो’ भन्छन् । यस्तो तर्कलाई कति औचित्यपूर्ण मान्नुहुन्छ ? 
नेपाल भारतमा गाभिन्थ्यो कि गाभिँदैनथ्यो भन्न सकिँदैन। भारतभन्दा छुट्टै हौँ भन्न, देखाउन र भनाउन महेन्द्रले केही विशिष्ट कदम चाले। 

नेपाललाई भारतको प्रभावबाट महेन्द्रले रोकेका हुन् त ?
सम्भवतः । तर, महेन्द्रकै वेला नेपालले लिपुलेकलगायत केही भूमि छाड्नुपर्‍यो, त्यो अर्को बिर्सन नहुने पाटो हो। भारतको एक किसिमको प्रभाव घटाउन पाठ्यपुस्तक निर्माणदेखि समय निर्धारणसम्म फरक देखाइयो । अहिले हामी भारतभन्दा १५ मिनेट छिटो छौँ । यसलाई हाँसोको कुरा पनि बनाउन सकिएला तर छुट्टै देखाउन महेन्द्रले प्रयत्न गरेकै हुन्।

नेपालले पञ्चायतकालीन ३० वर्षमा लोकतन्त्रको मूल्य त चुकायो । ‘महेन्द्रले राष्ट्र जोगाए, त्यसकारण पञ्चायतै ठीक’ भन्न मिल्छ त ? 
(महेन्द्रले नै राष्ट्र) जोगाएको, नजोगाएको म भन्दिनँ । नेपालको स्वतन्त्रतासहित वा नेपाली भाषासहित हिन्दी पनि यहाँ बोल्न पाउनुपर्छ भन्छु म । महेन्द्र नभएको भए भारतले हामीलाई निलिहाल्थ्यो भन्ने निष्कर्षमा म पुग्दिनँ। जुन धुमिल दिशा थियो, महेन्द्रले त्यसलाई क्लियर गराउन खोजेका हुन्। 

कुनै लोकतान्त्रिक शासन व्यवस्थालेपनि त्यस्तो गर्न सक्थ्यो होला नि ?
सक्थ्यो ।गर्नुपर्थ्यो, चुनाव भएको भए। तर, महेन्द्रले पनि प्रयत्न गरे। 

पछिल्लो समय नेपालमा राष्ट्रवाद फस्टाएको देखिन्छ । यो कस्तो राष्ट्रवाद हो ?
यो नेपालको असुरक्षाभाव हो । भारतसँग हामी सन् १९५० देखि जोडिएका छौँ, लेनदेन धेरै छ । झगडा हुने दाजुभाइसँग हो, नचिनेकोसँग हुँदैन । संविधान ल्याउने वेला भारतले जुन कठिनाइ सिर्जना गर्‍यो र नाकाबन्दी लगायो, त्यसविरुद्ध उठेको हो, अहिलेको नेपाली राष्ट्रवाद। यसको इतिहास त छ, तर तात्कालिक परिवेश त्यो हो।

नेपालको असुरक्षाबोध हामीले बोकेका छौँ । नाकाबन्दीपछि मैले एकजनालाई भनेको थिएँ– एउटा टिसर्ट बनाऊ र त्यसमा प्रिन्ट गर ‘हम नहीँ भुलेङ्गे !’ त्यस्तो पीडा छ। वेलावेला भारतले पेल्छ । पेल्नलाई ऊ हामीभन्दा बलियो पनि छ । त्यसैले नेपालले वेलावेला राष्ट्रवाद देखाइरहन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad