छापा खबर


मसानघाटमा घरैघर, दाहसंस्कार गर्न लगिएको शव तानातान!

मसानघाटमा घरैघर, दाहसंस्कार गर्न लगिएको शव तानातान!

नेपालखबर
असोज ११, २०७६ शनिबार २:५०,

काठमाडौंको चाबहिलका तीर्थमान डंगोलकी पत्नी लक्ष्मीको दाहसंस्कार गर्ने बेलामा तनाव बेहोर्नुपर्‍याे। घाटमा लैजाँदै गर्दा लक्ष्मीको शवै तान्न आए स्थानीय बासिन्दा।

चार जनाको समूहमा आएका उनीहरूले अवरोध गर्न खोजेकोमा मलामी जबरजस्ती अगाडि बढेपछि उनीहरू शव तान्न आएका थिए। उनीहरूलाई पेलेरै मलामीले शव दाहसंस्कार गर्ने दीप नजिक पुर्‍याउनुपरेको थियो।

‘शोकको बेलामा पनि यस्तो तनाव व्यहोर्नुपरेको छ,’ डंगोलले सुनाए, ‘यहाँभन्दा ज्यादती के होस् अरू?’

एक वर्षमा दाहसंस्कारमा अवरोध गरेको यो तेस्रो पटक हो। यसअघि ४९ वर्षीय भीममाया डंगोलको दाहसंस्कारमा पनि त्यसै गरेका थिए। यो खबर आजको कान्तिपुरमा दामोदर न्यौपानेले लेखेका छन्।

‘पहिला अवरोध गर्न हूलका हूल आउँथे । मोटरै तेर्साउँथे,’ स्थानीयबासी हेम डंगोल भन्छन्, ‘यसपालि थोरै आए । एक घण्टाजसो तनाव दिए । हामीले तिनीहरूलाई जबरबजस्ती धकेलेर शव घाटमा पुर्‍यायौं।’

यसअघि दाहसंस्कार गर्ने दीप नजिकका घरधनी मिलन जोशीको अगुवाइमा दाहसंस्कारमा अवरोध पुर्‍याइएको थियो । झन्डै तीन घण्टा तनावग्रस्त भएको थियो मसान घाट। तनाव बढ्दै गएपछि प्रहरीको उपस्थितिमा दाहसंस्कार गरिएको थियो।

त्यसपछि त्यहाँ नयाँ घर बनाउनेहरू, स्थानीयबासी, प्रहरीलगायत बसेर समस्या समाधान गर्न छलफल भएको थियो। छलफलमा नयाँ बस्तीका मिलन जोशी, रामेश्वर केसी, कांग्रेस सांसद नरोत्तम वैद्यलगायत सहभागी थिए। दुई सातामा समस्या समाधान गर्ने सहमति भएको थियो।

‘दुई साता त परैको कुरा,’ स्थानीयबासी तथा पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव परमानन्द शाक्य भन्छन्, ‘९ महिना बित्दासमेत समस्याजस्ताको तस्तै छ।’

धोबीखोला किनारामै छ चाबहिलका नेवारका सात जातिको दाहसंस्कार गर्ने दीप । सात जातिमध्येका अलगअलग घाट छन् । पहिला सातैवटा घाट अस्तित्वमा थियो । अहिले भने त्यसमध्ये दुई वटा मात्र घाट सञ्चालनमा रहेको शाक्य बताउँछन् । शाक्यका अनुसार शाक्य, वज्राचार्य, डंगोल, महर्जन, श्रेष्ठलगायतको मसानघाट हो यो । ‘पहिला ७ वटा थिए । अहिले वरिपरिको बस्तीले बाँकी घाट मिचेका छन्,’ शाक्य भन्छन्, ‘वरिपरि नयाँ बस्ती बस्दै गयो, घाट पनि मिचिँदै गयो ।’

ओम हस्पिटलसँगै जोडिएका छन् यी घाट । काठमाडौं महानगरपालिका वडा ७ को कित्ता १०१ र १०२ मा छन् घाट । कित्ता १०१ शाक्य, वज्राचार्य र श्रेष्ठको हो । त्यसैगरी १०२ डंगोल, प्रजापति, महर्जनलगायतको हो। विनोदको घर कित्ता नम्बर १ सय १ को घाटसँग जोडिएको छ । उनले गत वर्ष मात्रै घर किनेका हुन् । शाक्यका अनुसार उनी आएपछि यो घाट हटाएरै छाड्छु भनेर हिँडेका छन् । विनोदले घर किनेपछि दाहसंस्कारमा समस्या भएको यो दोस्रो पटक हो । ‘अब तनाव नदोरिएला भन्ने लागेको थियो,’ नानी मैयाका छोरा कृष्ण भन्छन्, ‘फेरि उही अवस्था आयो । यो हाम्रो पुस्तौंदेखि प्रयोग हुँदै आएको घाट हो । मृत्यु संस्कारमा पनि अवरोध हुनु!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad