प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भदौ ३ गते सर्वदलीय बैठक बसिरहेको थियो।
साँझ छिप्पिँदै गयो, बैठक सकिएन। बाहिर बैठकका निर्णय कुरेर बसिरहेका सञ्चारकर्मीहरूजस्तै नेताहरू कुरेर बसेका उनीहरूका स्वकीय सचिवहरू आत्तिन थाले, यताउता चलमलाउन सुरु गरे।
त्यहीबेला नेकपाका अध्यक्ष पुष्पकमल दाहालको सचिवालयका दुई सदस्य पनि चौरतिर हिँड्दै थिए, उनीहरूलाई सुरक्षाकर्मीले बोलाए र, भने– ‘त्यतातिर जान पाइँदैन सर।’
सुरक्षाकर्मीलाई जवाफ दिँदै अर्का सदस्यले भने, ‘हामी पनि अध्यक्षको सचिवालयकै मान्छे हौं। भित्र त बस्ने ठाउँ छैन, बाहिर पनि हप्कीदप्की नगर्नुस्।’
उनले प्रधानमन्त्री कार्यालयमा बारम्बार पुगिरहनुपर्ने भए तापनि बस्ने ठाउँको व्यवस्था नहुँदा समस्या परेको बताए। बाहिर दाहालको सचिवालयका सदस्यहरूले यो गुनासो गरिरहँदा ओलीको सचिवालय सदस्यहरू प्रधानमन्त्री निवासभित्रै थिए।
प्रधानमन्त्री निवास मात्रै होइन, कार्यालय र मन्त्रालयहरूमा पनि साविक एमाले र माओवादीका नेताहरू आफ्ना मन्त्री भएतिरै जान्छन्। भलाकुसारी गर्छन्, दुःखसुख पोख्छन्।
वन तथा वातावरणमन्त्री शक्ति बस्नेत यसलाई स्वाभाविक रूपमा लिनुपर्ने तर्क गर्छन्। तर अहिले आफ्नो मन्त्रालयमा पूर्वएमाले तर्फका नेताहरू पनि आउन थालेको उनको दाबी छ। यो खबर आजको कान्तिपुर दैनिकमा बिनु सुवेदीले लेखेका छन्।
‘पुरानो चिनजानका हिसाबले आफ्ना पूर्वपार्टीका मन्त्रीहरू नै खोज्दै आउनु स्वाभाविक पनि हो, तर अहिले त्यो चलन चिरिँदै गएको छ,’ उनले भने, ‘कामका हिसाबले सबैतिरका साथीहरू आउनुहुन्छ।’
त्यसो त पूर्वमाओवादीतर्फका मन्त्रीहरू पनि मन्त्रालयसम्बद्ध काममै साह्रोगाह्रो पर्दा पनि प्रधानमन्त्रीसँग भन्दा अध्यक्ष दाहालसँग छलफल र परामर्श गर्न रुचाउँछन्, सल्लाह लिन्छन्। मन्त्रालयहरूमा मात्रै होइन, नेकपाभित्रको दुई कित्ता जताततै छ। यसको सुरुवात संसद्बाट भयो।
पार्टी एक भएपछि संसदीय दलका नेता, प्रतिनिधिसभा र राष्ट्रिय सभाका दलका नेता, दुवै सदनका प्रमुख सचेतक र सचेतकका लागि आवश्यक कार्यकक्षको व्यवस्था भयो।
तर कार्यकक्षहरू रोज्दा पूर्वएमाले र पूर्वमाओवादीतर्फका नेताहरूका बीचमा कित्ताकाट गरियो। उनीहरू आ–आफ्ना पूर्ववत् पार्टीका संसदीय दलको कार्यालयमा बस्न थाले। किन यस्तो भयो त?
प्रतिनिधिसभा संसदीय दलका मुख्य सचेतक देव गुरुङको जवाफ छ, ‘जहाँ बसे पनि भेट दिनदिनै हुन्छ, केही फरक पर्दैनरु।’
उनीलगायत पूर्वमाओवादी नेताहरू पूर्वएमालेको संसदीय दलमै बनाएको कार्यकक्षमा बस्न पनि गएनन्। गुरुङ र राष्ट्रिय सभा संसदीय दलका नेता दीनानाथ शर्माका लागि छुट्याइएको कोठामा अहिले ताला झुन्डिएको छ।

प्रतिक्रिया