मैले उनलाई महरासँगको सम्बन्धबारे जिज्ञासा राखें। रोशनीले आफूहरू दुई जनाबीच हार्दिक र आत्मीय सम्बन्ध रहेको बयान गरिन्।
कहिलेकाहीँ आफू महरासँग रिसाउने र उनले फकाउने गरेको सुनाइन्। ‘म डिप्रेसनको औषधि खाइरहन्छु, मेरो स्वभाव बदलिइरहन्छ भन्ने उहाँलाई थाहा थियो,’ रोशनीले भनिन्, ‘म हाम्रो सम्बन्ध, अफिसका काम र उहाँले गरेको बेवास्ताबारे उहाँसँग कराउँथें, गाली पनि गर्थें।’
यसअघि पुसमा रोशनीले आत्महत्याको प्रयास गर्दा महराले सबैभन्दा पहिले थाहा पाएका थिए। उनले आफ्नो स्वकीय सचिवालयका एक सदस्यलाई रोशनीबारे बुझ्न पनि पठाएका थिए।
रोशनीको अस्वाभाविक स्वास्थ्य अवस्थाबारे जानकार महरा उनी एक्लै घरमा भएका बेला किन गए? १ घण्टा १९ मिनेटसम्म रोशनी कुन अवस्थाबाट गुज्रिइन्? घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले महरालाई बोलाएर यही प्रश्न सोध्न सक्ला? या रोशनीले ‘म डिप्रेसनको रोगी हुँ’ भनेर दिएको निवेदनकै आधारमा चुपचाप बस्ला?
आजको कान्तिपुरमा बिनु सुवेदीले लेखेकी छन्– उदेकलाग्दो के छ भने ‘म डिप्रेसनको रोगी हुँ, महरा सर निर्दोष हुनुहुन्छ’ भनेर निवेदन दिन उनलाई श्रीमान् चित्रजंगले महानगरीय प्रहरी वृत्त बानेश्वर लिएर गएका थिए।
कुराकानीका लागि म उनको कोठामा पुग्दा नै रोशनीले ‘क्लोनाज’ नामक औषधिको आठवटा गोली खाइसकेकी थिइन्। त्यसैले उनको बोली लरबरिएको थियो। ‘साह्रै टेन्सन हुन्छ, निदाउन सक्दिनँ, धेरै औषधि खानुपर्छ,’ उनले भनिन्। उक्त औषधि कति मात्रामा खानुपर्ने हो भनेर उनलाई डाक्टरले लेखिदिएका छैनन्। जति मन लाग्छ र जतिबेला मन लाग्छ, त्यो औषधि खाइहाल्छिन्।
रातमा औषधिको साथमा अलिकति रक्सी खानु नियमित जस्तै भइसक्यो। चिकित्सकहरूका अनुसार एक ट्याब्लेट ‘क्लोनाज’ सँग एक पेग रक्सी खाँदा त्यसको असर तीन गुणा बढी हुन्छ। त्यसपछि बिरामी सुस्ताउँछन् या उत्तेजक बन्छन्। असर व्यक्तिपिच्छे फरक हुन सक्छ।
महरा गएको दिन पनि रोशनीले यो ट्याब्लेट खाइसकेकी थिइन्। उनीहरूले सँगै रक्सी खाए, घटना भयो, महरा निस्किए। झोंकमा भएकी रोशनीले प्रहरी, नेकपाका नेत्रीहरू ओनसरी घर्ती र पम्फा भुसाल तथा नेपाली कांग्रेसकी नेत्री उमा रेग्मीलाई खबर गरिन्।
नेकपाका नेत्रीहरू प्रतिक्रियाविहीन रहे, उनीहरू अहिले पनि यो विषयमा बोल्न चाहँदैनन्। रेग्मीले सुरक्षा संयन्त्रमा यही जानकारी गराउनुको साटो आफूनिकट नेता र पत्रकारहरूलाई सुनाइन्। सबैको जोड घटना लुकाउने या सनसनी मच्चाउनेमै केन्द्रित रह्यो, रोशनीको मनोदशातर्फ कसैले ध्यान दिएन।

प्रतिक्रिया