मकवानपुरको हेटौंडामा आज (शुक्रबार) बिहान तेल ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा पत्नीको मृत्यु भएको छ भने पति घाइते भएका छन्।
प्रहरीका अनुसार हेटौंडा उपमहानगरपालिका–१ चाइनागेट नजिक बिहान साढे ६ बजे भएको सवारी दुर्घटनामा हेटौंडा १ की ३५ वर्षीया सीता न्यौपानेको मृत्यु भएको हो।
हेटौंडा–११ बाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना८ख ३८७२ नंको तेल ट्यांकरले सोही दिशाबाट आउँदै गरेको ना५६प ४९३५ नंको मोटरसाइकललाई ठक्कर दिएको हो।
प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल सवार सीताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै उनका पति मोटरसाइकल चालक ४५ वर्षीय शशी न्यौपाने सामान्य घाइते भएका छन्।
ठक्कर दिने ट्यांकरका चालक भीमफेदी गाउँपालिका–१ त्रिखण्डी बस्ने २४ वर्षीय मुकेश विकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया