ad ad

विचार


निहारिका प्रकरण : अनशन तोड्यौं, न्यायको लडाइँ जारी छ

निहारिका प्रकरण : अनशन तोड्यौं, न्यायको लडाइँ जारी छ

जस्मिन ओझा
असार ११, २०७९ शनिबार १४:१६, काठमाडौँ

नाबालिग गायिकाको मुद्दामा म तनहुँ जिल्ला अदालत पुगेकी थिएँ। मार्च १ तारिख अपरिचित नम्बरबाट फोन आयो। म निकै व्यस्त भएकाले फोन उठाइनँ। त्यसपछि फोनमा मेसेज आयो– म कुमारी आमा निहारिका राजपुत। प्लिज, मेरो कुरा सुन्नु न।

मेरो मोबाइलमा पहिले पनि धेरैपटक फोन आएको रहेछ, निहारिकाको। विभिन्न कारण मैले फोन उठाइनँ।

उनको मेसेज देखेपछि मैले फोन गरेँ। लरबराएको स्वरमा भनिन्, ‘नमस्ते दिदी ! मेरो नाम निहारिका राजपुत हो। मलाई एकजना पत्रकारले हजुरको नम्बर दिनुभएको। म हिंसामा परेको छु। मलाई भेट्नु न। मैले ‘हुन्छ बहिनी ! म पोखरामा छु, फर्किएपछि भेट्छु’ भनेँ।

ठ्याक्कै सम्झना छैन, करिब डेढ हप्तापछि काठमाडौं फर्किएर मैले ती पत्रकारलाई फोन गरेँ। पीडितलाई मैतीदेवी लिएर आउनू, म भेट्छु र सक्ने सहयोग गर्छु, भनेँ। मैतीदेवीको एउटा क्याफेमा एउटी फुच्ची केटी सानु बच्चा च्यापेर आइन्। त्यो दृश्यले मेरो मन चिसो भयो।

मैले उनीसँग लामो कुरा गरेँ। अनि अन्तिममा अरू सबैलाई जस्तै एउटा प्रश्न गरेँ– तिमीलाई थाहा छ, न्यायको लडाइँ सजिलो छैन, तिमी लड्न तयार छौ? भोलि तिमीले कुरा फेर्यौ भने?

उनले भनिन्, ‘म तयार छु, म हरदम लड्छु। हजुरले मलाई साथ दिनुपर्यो।’

निहारिकाको त्यो प्रतिबद्धता र हिम्मत उनको आँखामै झल्किन्थ्यो। त्यो देखेर उनको न्यायको लडाइँमा मैले सहयोग गर्नुपर्छ भन्ने लाग्यो।

भोलिपल्ट मुद्दाको फाइल पढेँ र विभिन्न निकायसँग कुराकानी थालेँ। पहिलो काम प्रहरी प्रधान कार्यकालमा निवेदन हाल भनेर प्रहरी हेटक्वाटर पठाएँ। उनको घरको स्थिति निकै कमजोर भएका कारण बास खोजदिनुपर्छ भनेर लागिरहेँ। विडम्बना, परिस्थितिजन्य समस्याका कारण उनी आश्रय दिने संस्थामा बस्न तयार भइनन्।

उनले ‘दिदी मलाई यो ठाउँ जाँदा ठीक होला’ भन्ने गर्थिन्। म पनि समय मिलेसम्म उनलाई विभिन्न निकायमा लिएर जान्थेँ।

घटनाक्रम बुझ्दै जाँदा यो कुरा एकपटक राष्ट्रपतिसम्म पुग्नुपर्छ भन्ने लाग्यो। यसै क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी– जो मदन भण्डारी फाउनडेसनकी अध्यक्ष पनि हुनुहुन्छ, उहाँसँग मुद्दाको विषयमा कुरा भयो। उहाँले राष्ट्रपति सचिवालयसँग कुरा गरिदिनुभयो र त्यहाँको सचिवालयमा रहेकी लक्ष्मी कार्की लगायतसँग भेट भयो। मैले विस्तृत रूपमा घटना सुनाएँ। लक्ष्मी म्यामले एकपटक महिला आयोगमा कुरा गर्नू, मैले पनि के गर्नुपर्छ गर्छु भनेर आश्वासन दिनुभयो।

त्यसपछि महिला आयोगकी अध्यक्ष कमला पराजुलीलाई भेट्यौं। निहारिकाले धैरैपटक आयोगमा आफ्ना कुरा राखेको भए पनि कारणवश उनलाई त्यहाँ जान मन लागेको थिएन। तर मेरो अनुरोधमा उनी त्यहाँ गइन्। अध्यक्षसँगको पहिलो भेट भए पनि उनी आयोगमा गएको पहिलोपटक थिएन। उनको भनाइअनुसार आयोगकी एक काउन्सिलरले गर्भवती हुँदा नै उनलाई बच्चा फाल्नु भनेर सुझाव दिएकी रहेछिन्।
अध्यक्षसँग कुरा गर्दा पनि निकै झर्केको महसुस गरिरहेकी थिएँ। अध्यक्ष कमला पराजुलीले मुद्दा अदालतमा भएकाले त्यसमा त केही गर्न नसकिने, अरू सहयोग गर्न भने आफू तयार रहेको बताउनुभयो।

त्यहाँबाट हामी अनलाइन पत्रिका नेपाल प्रेसको कार्यालय पुग्यौं। उक्त अनलाइनमा निहारिकाको कथा उनकै शब्दमा प्रकाशन भयो। मेरो फेसबुक वालमा सेयर भएको उनको कथा पढेर राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापाले फोन गर्नुभयो।

‘जस्मिन मैले तपाईंले सेयर गरेको घटना पढेँ, मैले कसरी सहयोग गर्न सक्छु’, उहाँले सोध्नुभयो । 

मैले ‘दिदी ! भोलि हजुरकोमा लिएर आउँछु भनेँ।’ त्यसपछि  हामी आयोगमा गयौं। उनले आफ्नो मुद्दाको फाइल लिली थापालाई दिइन्। दिदीले अर्थिक सहयोग पनि गर्ने र निहारिकासहित उनको बच्चा पढाउन पनि पहल गर्ने प्रतिबद्धता गर्नुभयो। त्यहाँबाट हामी राम्रो वार्ता गरेर फर्कियौं। यी सबै कुरा राष्ट्रपतिकहाँ ब्रिफिङ भइरहेको थियो।

सबै पहल अगाडि बढिरहँदा निहारिकालाई भने निराशाले छोपिरहेको थियो। एकदिन उनले अचानक भनिन्, ‘अब म आफ्नो बच्चा लिएर आमरण अनशन बस्छु।’

सुरुमा त मलाई उनले क्षणिक आक्रोशमा भनेकोजस्तो लागेको थियो। तर, उनको अनुहारमा दृढता देखेपछि पत्याउन कर लाग्यो। तर, मैले यतिञ्जेल सँगै लिएर हिँडेकी किशोरीलाई एक्लै सडकमा अनशनका लागि छोड्न मेरो मन मानेन। त्यसैले उनको अनशनमा आफूले पनि साथ दिने निर्णय गरेँ।

त्यसदिन हामी एउटा सामान्य ब्यानर बनाएर माइतीघरको खाली सडकमा अनशन सुरु गर्यौं। अनशन बसेको कुरा मैले परिवारलाई पनि बताएको थिइनँ। मेरो आफ्नै स्वास्थ्य स्थिति ठीक नरहेको हुँदा मम्मीले सहमति नदिने निश्चित थियो। तर म आफू घरमा बसेर निहारिकालाई सडकमा छोड्न सक्दिनँथेँ। त्यसैले परिवारलाई नसोधीकन उनीसँगै अनशन सुरु गरेँ।

पहिलो रात हामीलाई माइतीघरमा अनशन बस्न दिइएन। अनामनगरबाट आएको प्रहरीले बच्चासहित हामी दुवैलाई लछारपछार गर्दै भ्यानमा हाल्यो। दुवैलाई चोटपटक पनि लाग्यो। निहारिकाको हातमा त कुनै अपराधिलाई झैं हत्कडी नै लगाइदिए। त्यो दृश्यले मेरो मन धेरै रोयो। न्यायका लागि सडकमा गुहार मागिरहेकी किशोरीको हातमा हत्कडी लगाइदिने प्रहरीप्रति निकै रिस उठ्यो। तर, हामीसँग प्रहरीले जता लैजान्छन्, उतै जानुबाहेक विकल्प थिएन। ​

त्यस रात हामीलाई १२ बजे सिंहदरबार वृत्तले छाड्यो तर अनशन जारी राख्ने हाम्रो न्यायको लडाइँ सम्झेर वसन्तपुर पुग्यौं। खाली भुइँमा एउटा गलैँचा राखेर रात गुजार्ने विचार गरेका थियौं। तर १५ मिनेट ढल्केका के थियौं, त्यहाँबाट पनि उठाएर विशाल बजारको प्रहरीले लिएर गयो। विशाल बजारको प्रहरी चौकीमा रात बितायौं। निहारिकाको २१ महिनाको बच्चाको बेहाल भयो।

भोलिपल्ट अनेक ठाउँमा बिन्तिभाउ गरेपछि बल्लबल्ल वसन्तपुरमा अनशन बस्न अनुमति दिइयो। त्यहाँ पनि ओढ्ने, ओछ्याउनेको राम्रो प्रबन्ध गर्न सकिएन। पानी परिरहेको थियो, सामान्य पालको सहारामा रात काट्यौं। यसरी हामी ५ दिनसम्म पानी पनि नखाईकन अनशन बस्यौं।

म्रोबारे सञ्चारमाध्यमले व्यापक मात्रामा खबर लेखेपछि सरकारका विभिन्न निकायका प्रतिनिधि अनशनस्थलमा आए र वार्ताको प्रस्ताव राखे। निहारिकाको तर्फबाट म आफैं वार्तामा बस्नुपर्ने भयो। उनले मलाई वार्तामा बस्न आग्रह गर्दै अनशन तोड्न सल्लाह दिइन्। उनकै भनाइबमोजिम मैले पाँचौं दिनमा उनकै हातबाट जुस पिएर अनशन तोडेँ। निहारिका भने थप ३ दिन अनशनमै रहिन्।

आठौं दिन हामी गृह मन्त्रालय, महिला आयोग, मानव अधिकार आयोगसँग वार्तामा बस्यौं। निहारिका स्वयम् वार्तामा थिइन्। कारणवश म वार्ताबाट अलि चाँडै निस्किएँ। त्यसै दिन सहमति भयो। विभिन्न पाँचवटा बुँदामा सहमति भएपछि निहारिकाले अनशन तोडिन्। 

अनशन सकाए पनि न्यायको लडाइँ सकिएको छैन। सहमति कार्यान्वयनका लागि सरकारी निकायले इमान्दारिता देखाउने आशा छ तर ढुक्क हुने अवस्था छैन। निहारिकाको अनशनमा ‘राजनीति’ गर्ने प्रयास पनि नभएका होइनन्। उनलाई अनशन तोडाएको जस लिन प्रतिस्पर्धा नै भयो। तर हाम्रा लागि मुख्य कुरा– उनले उठाएका मुद्दाको सम्बोधन हो।

निहारिकाकाले कुनै ठूला र पूरा गर्न नसकिने माग राखेकी छैनन्। बच्चाको डीएनए जाँच गर्नुपर्ने र आरोपितलाई पक्राउ गरी उच्च अदालतमा दिइएको पुनरावेदनको पेसी तोक्नुपर्नेजस्ता एकदमै सामान्य माग छन्। तर, सरकारी निकाय आलटाल गरिरहेका छन्। 

सरकारी निकाय अझै पनि निहारिकालाई आर्थिक प्रलोभन देखाएर न्यायको लडाइँ कमजोर बनाउन चाहन्छन्। तर, उनी यत्तिकै कमजोर हुनेवाला छैनन्। उनका लागि पैसा भन्दा न्याय महत्त्वपूर्ण छ। जबसम्म न्याय पाउँदिनन् तबसम्म लडिरहने आँट र हिम्मत उनमा छ। उनको यो साहसलाई मेरो सधैँ साथ रहनेछ, चाहे जोसुकैले हामीबीच असमझदारी सिर्जना गर्ने प्रयास किन नगरुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .