विचार


एजेन्डा पुनर्निर्माण गर्दै यसरी लिन सक्छ वाम आन्दोलनले नयाँ अध्याय

एजेन्डा पुनर्निर्माण गर्दै यसरी लिन सक्छ वाम आन्दोलनले नयाँ अध्याय

आशिष रेग्मी
जेठ ६, २०८३ बुधबार ७:३२, काठमाडौँ

मानव समाजको विकासलाई बुझ्ने क्रममा कार्ल मार्क्सले प्रतिपादन गरेको वर्ग सङ्घर्षको सिद्धान्त आज पनि विश्व राजनीतिका सबैभन्दा प्रभावशाली वैचारिक सिद्धान्तमध्ये एक मानिन्छ। मार्क्सले समाजलाई स्थिर होइन, निरन्तर परिवर्तनशील संरचनाका रूपमा हेरे। उनका अनुसार समाजको विकास विचारको द्वन्द्वबाट होइन, भौतिक उत्पादन सम्बन्धभित्रको द्वन्द्वबाट हुन्छ। यही कारण उनले हेगेलको वैचारिक द्वन्द्ववादलाई भौतिक आधारमा पुनर्व्याख्या गर्दै द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादको सिद्धान्त अगाडि सारे।

मार्क्सका अनुसार मानव सभ्यताको विकास वर्गीय सङ्घर्षको इतिहास हो। दास युगमा मालिक र दासबीचको द्वन्द्व, सामन्तवादी युगमा सामन्त र किसानबीचको द्वन्द्व तथा पुँजीवादी समाजमा बुर्जुवा र सर्वहारा वर्गबीचको द्वन्द्व समाज परिवर्तनका प्रमुख कारक बने। उत्पादनका साधनमाथि नियन्त्रण गर्ने वर्गले सधैँ प्रभुत्व जमायो भने श्रम बेचेर बाँच्ने वर्ग शोषित रह्यो। यही शोषणको संरचनालाई मार्क्सले ‘अतिरिक्त मूल्य’को अवधारणाबाट व्याख्या गरे भने समाजको विकासलाई थेसिस र एन्टिथेसिसबीचको सङ्घर्षबाट सिन्थेसिसतर्फको यात्रासँग जोडे। सिन्थेसिस नयाँ समाजको थेसिस बन्न पुग्यो भने त्यसै थेसिसका आधारमा नयाँ एन्टिथेसिसको विकास हुन्छ। यो प्रक्रिया निरन्तर चलिरहन्छ।

तर, आज प्रश्न यो छ कि के एक्काइसौँ शताब्दीको समाज अझै पनि उही पारम्परिक पुँजीवादी संरचनाभित्र छ? वा चौथो औद्योगिक क्रान्तिपछि विश्व नयाँ प्रकारको सामाजिक–आर्थिक संरचनातर्फ प्रवेश गरिरहेको छ? आज विश्व कृत्रिम बुद्धिमत्ता (एआई), बिग डेटा, एल्गोरिद्मिक व्यवस्थापन, प्लाटफर्म अर्थतन्त्र, डिजिटल निगरानी र सामाजिक सञ्जालद्वारा निर्देशित समाजतर्फ अघि बढिरहेको छ। विश्व आर्थिक मञ्चका संस्थापक क्लाउस स्वाबले सन् २०१६ मा अगाडि सारेको चौथो औद्योगिक क्रान्तिको अवधारणाले भौतिक, डिजिटल र जैविक संसारबीचको सीमारेखा बिलाउँदै गएको तथ्यलाई औँल्याउँछ। त्यसैगरी जापानले प्रतिपादन गरेको ‘सोसाइटी ५.०’ को अवधारणाले प्रविधि र मानव जीवनको एकीकरणलाई सङ्केत गर्छ। यसले मानव जीवनलाई सहज बनाउने सम्भावना बोकेको भए पनि शक्ति र सम्पत्तिको केन्द्रीकरणलाई नयाँ स्तरमा पुर्‍याएको छ।

तथ्याङ्कले यो केन्द्रीकरणको गहिराइ स्पष्ट देखाउँछ। अक्सफामको सन् २०२४ को प्रतिवेदनअनुसार विश्वका पाँच जना सबैभन्दा धनी व्यक्तिको सम्पत्ति सन् २०२० देखि दोब्बर भएको छ, जब कि विश्वका झन्डै पाँच अर्ब मानिस झन् गरिब बनेका छन्। यी पाँचमध्ये अधिकांश प्रविधि क्षेत्रसँग सम्बन्धित छन्।

टेक्नोफ्युडलिजमको उदय
यही परिवर्तित सन्दर्भमा ग्रिसका पूर्वअर्थमन्त्री तथा अर्थशास्त्रका प्राध्यापक यानिस भारुफाकिसले आफ्नो पुस्तक टेक्नोफ्युडलिजम : ह्वाट किल्ड क्यापिटलिजम? मा ‘टेक्नो–फ्युडलिजम’को अवधारणा अगाडि सारेका छन्। उनका अनुसार आजको विश्व परम्परागत पुँजीवादबाट क्रमशः नयाँ प्रकारको डिजिटल सामन्तवादतर्फ गइरहेको छ। पुँजीवादमा बजार मुख्य शक्ति थियो तर आज डिजिटल प्लाटफर्महरूले बजारलाई नै नियन्त्रण गर्न थालेका छन्। प्रविधि कम्पनीहरूले डेटा, एल्गोरिद्म र डिजिटल पूर्वाधारमाथिको नियन्त्रणमार्फत विश्व अर्थतन्त्र र जनमतलाई निर्देशित गरिरहेका छन्।

भारुफाकिसको तर्क छ कि यी प्लाटफर्महरू अब बजार होइनन्, क्लाउड–जागिर हुन्। यहाँ प्रयोगकर्ता र साना व्यवसायीहरूले पहुँचको बदलामा क्लाउड रेन्ट तिर्न बाध्य छन्। यो ठ्याक्कै मध्ययुगीन सामन्तले जमिनको पहुँच दिएबापत किसानबाट उठाएको लगानको आधुनिक संस्करण हो।

तर यो दृष्टिकोणका आलोचक पनि छन्। एभ्गेनी मोरोजोभ लगायतका विद्वानहरूले भारुफाकिसको ‘सामन्तवाद’ शब्दको प्रयोगमा प्रश्न उठाएका छन्। उनी यसलाई पुँजीवादको अन्त्य होइन बरु यसको नयाँ चरण अर्थात् ‘प्लाटफर्म पुँजीवाद’ वा ‘निगरानी पुँजीवाद’ मात्र हो भनेर तर्क गर्छन्। यो वैचारिक बहसले उत्पादन सम्बन्ध र शक्ति संरचनामा रूपान्तरण भएको कुरामा एकमत रहेको देखाउँछ।

यदि सामन्तवादी युगमा जमिन उत्पादनको मुख्य साधन थियो भने आज डेटा नयाँ जमिन बनेको छ। जसरी सामन्तहरूले किसानको श्रम र उत्पादनमाथि नियन्त्रण गर्थे, त्यसरी नै आजका टेक एलिटहरूले डिजिटल प्लाटफर्म, एल्गोरिद्म र सूचनामाथिको नियन्त्रणमार्फत नयाँ प्रकारको प्रभुत्व कायम गर्न खोजिरहेका छन्। सामाजिक सञ्जाल प्रयोग गर्ने साधारण प्रयोगकर्ता निःशुल्क सेवा उपभोग गरिरहेको जस्तो देखिए पनि वास्तवमा उसले आफ्नो व्यवहार, रुचि, समय र डेटालाई उत्पादनका साधनका रूपमा हस्तान्तरण गरिरहेको हुन्छ। हार्भर्ड बिजनेस स्कुलकी प्राध्यापक सोसाना जुबोफले यसैलाई ‘निगरानी पुँजीवाद’ भन्दै मानव अनुभव नै कच्चा मालका रूपमा रूपान्तरण भइरहेको तथ्यलाई औँल्याएकी छन्।

आजको शोषण परम्परागत कारखानाभित्र सीमित छैन। यो एल्गोरिद्मिक छ। प्लाटफर्महरूले कामदारलाई प्रत्यक्ष मालिकको आदेशबाट होइन एल्गोरिद्मको आदेशबाट नियन्त्रण गरिरहेका छन्। राइड–सेयरिङ कम्पनीका चालक, फुड डेलिभरी गर्ने श्रमिक वा डिजिटल कन्टेन्ट निर्माता सबै अदृश्य एल्गोरिद्मिक व्यवस्थापनअन्तर्गत काम गरिरहेका छन्। उनीहरूको श्रमको मूल्य, पहुँच, दृश्यता र अवसर सबै एल्गोरिद्मले निर्धारण गर्छ। यसले श्रमिकमाथिको नियन्त्रणलाई अझ सूक्ष्म, अदृश्य र प्रभावकारी बनाएको छ।

नेपाली सन्दर्भमा पनि यो यथार्थ बनिरहेको छ। काठमाडौँका प्लाटफर्ममा आधारित भएर काम गर्ने हजारौँ चालकहरू कुनै निश्चित मालिक होइन बरु एप्लिकेसनको एल्गोरिद्मद्वारा निर्देशित छन्। फुडमान्डु, भोजडिल, दराजजस्ता प्लाटफर्ममा निर्भर डेलिभरी श्रमिकहरूको कमाइ, कार्यघण्टा, ग्राहक मूल्याङ्कन र निरन्तरताको प्रश्न एल्गोरिद्मले तय गर्छ। टिकटक, युट्युब र फेसबुकमार्फत आय आर्जन गर्ने नेपाली कन्टेन्ट निर्माताहरू पनि सिलिकन भ्यालीका कम्पनीहरूले निर्धारण गरेका नीति र एल्गोरिद्ममा निर्भर छन्। यी नयाँ श्रमिकहरूको कुनै ट्रेड युनियन छैन, श्रम कानुनको स्पष्ट सुरक्षा छैन र सामूहिक सौदाबाजीको कुनै औपचारिक संरचना छैन।

नयाँ सर्वहारा को हो?
विडम्बना के छ भने आज धेरै वामपन्थी तथा मार्क्सवादी आन्दोलनहरूले यही संरचनात्मक परिवर्तनलाई पर्याप्त रूपमा बुझ्न सकेका छैनन्। उनीहरू अझै पनि औद्योगिक युगकै वर्ग संरचनाभित्र राजनीतिक एजेन्डा खोजिरहेका छन्। जब कि समाजको वर्गीय संरचना नै बदलिइसकेको छ। आजको सर्वहारा कारखानाको मजदुर मात्र होइन, ऊ डेटा उत्पादन गर्ने डिजिटल प्रयोगकर्ता पनि हो। ऊ गिग इकनोमीको असुरक्षित श्रमिक पनि हो। ऊ एल्गोरिद्मिक नियन्त्रणभित्र बाँचेको मध्यमवर्गीय युवा पनि हो जसको चेतना सामाजिक सञ्जालद्वारा निर्माण भइरहेको छ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सन् २०२१ को विश्व रोजगार र सामाजिक परिदृश्य प्रतिवेदनअनुसार विगत एक दशकमा डिजिटल श्रम प्लाटफर्महरूको सङ्ख्या पाँच गुणाले बढेको छ, र विश्वभर करोडौँ कामदार यस्ता प्लाटफर्ममा निर्भर भइसकेका छन्। यी श्रमिकहरू औपचारिक रोजगारीका कानुनी सुरक्षाभन्दा बाहिर छन्। उनीहरूका लागि न त निश्चित ज्याला छ, न त सामाजिक सुरक्षा, न त सामूहिक सौदाबाजीको अधिकार। यो आधुनिक ‘डिजिटल कुल्ली’ वर्गको उदय हो।

वास्तवमा आजको वर्ग सङ्घर्षलाई बुझ्न उत्पादनका साधनको परम्परागत व्याख्या पर्याप्त छैन। आज उत्पादनका साधन उद्योग, मेसिन वा पुँजी मात्र होइनन्। डेटा, नेटवर्क, क्लाउड, कृत्रिम बुद्धिमत्ता र एल्गोरिद्मिक संरचना पनि हुन्। जसले यी संरचनामाथि नियन्त्रण गर्छ, उसैले शक्ति नियन्त्रण गर्छ। यसैले आजको वर्गीय विभाजन ‘हुनेखाने’ र ‘हुँदा खाने’ बीच अझ नयाँ स्वरूपमा देखा परेको छ। एकातिर प्रविधि, डाटा र एल्गोरिद्मिक संरचनामाथि नियन्त्रण गर्ने टेक एलिट वर्ग छ। अर्कोतिर आफ्नो श्रम, समय, व्यवहार र चेतनालाई डिजिटल संरचनामा समर्पण गर्न बाध्य विशाल जनसमूह छ। यो सम्बन्ध परम्परागत मजदुर–पुँजीपति सम्बन्धभन्दा अझ जटिल र अदृश्य छ।

सामाजिक सञ्जालको उदयले राजनीतिक चेतनाको निर्माण प्रक्रियालाई पनि पूर्ण रूपमा बदलिदिएको छ। विगतमा राजनीतिक दल, ट्रेड युनियन वा वैचारिक सङ्गठनहरू जनमत निर्माणका मुख्य माध्यम थिए। आज जनमत निर्माणको ठूलो हिस्सा डिजिटल प्लाटफर्मद्वारा निर्देशित भइरहेको छ। कुन विषय ट्रेन्ड हुन्छ, कुन विचार दृश्यमा आउँछ, कुन आवाज दबाइन्छ यी सबै कुरा एल्गोरिद्मले तय गरिरहेको छ। यसले लोकतन्त्रको स्वरूपलाई समेत चुनौती दिएको छ।

सन् २०१८ मा सार्वजनिक भएको क्याम्ब्रिज एनालिटिका काण्डले देखाएको थियो कि कसरी फेसबुकका करोडौँ प्रयोगकर्ताको डाटा अनधिकृत रूपमा प्रयोग गरी अमेरिकी राष्ट्रपतीय निर्वाचन र ब्रेक्जिटसम्ममा राजनीतिक प्रभाव पारियो। यो एउटा बाहिर देखिएको महत्वपूर्ण घटना थियो। नदेखिएका कतिपय अरू पनि होलान्। यसले देखाउँछ, डिजिटल युगमा लोकतन्त्रको खतरा खुला तानाशाहीबाट होइन बरु अदृश्य एल्गोरिद्मिक हेरफेरबाट सिर्जना भइरहेको छ।

नेपाली वाम आन्दोलनको चुनौती
यही कारण आजको प्रगतिशील राजनीति वा वाम आन्दोलनले पुराना नाराहरू दोहोर्‍याएर समाज परिवर्तन गर्न सक्दैन। इतिहासमा हरेक आन्दोलनले आफ्नो समयको भौतिक यथार्थलाई बुझेर एजेन्डा निर्माण गरेको हुन्छ। औद्योगिक युगको आन्दोलनले श्रमिक अधिकार, आठ घण्टा काम, न्यूनतम पारिश्रमिक र उत्पादनका साधनमाथिको स्वामित्वको प्रश्न उठायो। ती आन्दोलनहरूले धेरै उपलब्धि पनि हासिल गरे। तर जब समाजको संरचना बदलिन्छ, आन्दोलनका एजेन्डा पनि बदलिनुपर्छ।

नेपालको सन्दर्भमा यो प्रश्न झन् तीखो छ। संसारमा सायदै यस्तो अर्को मुलुक होला जहाँ कम्युनिस्ट पार्टीहरूले पटक–पटक सरकार बनाएका छन् तर डेटा सार्वभौमिकता, डिजिटल श्रमिकको अधिकार, प्लाटफर्म नियमन, कृत्रिम बुद्धिमत्ताको लोकतान्त्रिक नियन्त्रण र साइबर सुरक्षाजस्ता विषयमा गम्भीर बहसको चरम अभाव छ। नेपाली वाम आन्दोलनको वैचारिक केन्द्रमा अझै पनि बीसौँ शताब्दीको कारखाना–आधारित वर्ग कल्पना हावी देखिन्छ जबकि बाहिर सडकमा पठाओका चालक, टिकटकका कन्टेन्ट निर्माता र फ्रिल्यान्सरहरूको नयाँ श्रमिक वर्ग आफ्ना समस्या लिएर एक्लै उभिएका छन्।

आजको आन्दोलनले डाटा स्वामित्व, डिजिटल गोपनीयता, एल्गोरिद्मिक पारदर्शिता, कृत्रिम बुद्धिमत्तामाथिको लोकतान्त्रिक नियन्त्रण, प्लाटफर्म श्रमिकको अधिकार, डिजिटल एकाधिकारको नियन्त्रण र प्रविधिमाथिको सार्वजनिक पहुँचजस्ता विषयलाई आफ्नो केन्द्रमा राख्नुपर्छ। युरोपेली सङ्घले सन् २०२४ मा पारित गरेको एआई कानुन र सन् २०१८ देखि लागू भएको जीडीपीअरले डिजिटल अधिकारको कानुनी ढाँचा कस्तो हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्। नेपालले पनि आफ्नै सन्दर्भमा त्यस्ता ढाँचाहरू निर्माण गर्न ढिलाइ गर्नु हुँदैन। यदि वाम आन्दोलनले आजको मध्यम वर्ग, डिजिटल श्रमिक र प्रविधिद्वारा प्रभावित नयाँ पुस्ताको आकाङ्क्षा बुझ्न सकेन भने ऊ इतिहासको किनारमा पुग्नेछ।

परिवर्तित यथार्थ, परिवर्तनशील सिद्धान्त
मार्क्सवादको मूल आत्मा स्थिरता होइन, परिवर्तनको वैज्ञानिक अध्ययन हो। त्यसैले आजको आवश्यकता मार्क्सवादलाई पाठ्यपुस्तकीय रूपमा दोहोर्‍याउनुभन्दा पनि वर्तमान समाजको भौतिक संरचनालाई मार्क्सवादी दृष्टिकोणबाट पुनर्पाठ गर्नु हो। मार्क्स स्वयं आज जीवित भएको भए सम्भवतः उनले कारखानाको धुवाँभन्दा बढी डेटा सेन्टर, एल्गोरिद्म र डिजिटल प्लेटफर्महरूको अध्ययन गरिरहेका हुन्थे। ग्रन्ड्रिसेमा मार्क्सले लेखेका थिए कि एक दिन ‘सामान्य बौद्धिकता’ अर्थात् सामूहिक ज्ञान नै उत्पादनको प्रमुख शक्ति बन्नेछ। आज कृत्रिम बुद्धिमत्ता र डाटा अर्थतन्त्रको रूपमा त्यो भविष्यवाणी यथार्थ बनिरहेको छ।

अन्ततः, वर्ग सङ्घर्ष समाप्त भएको छैन। यसको स्वरूप मात्र बदलिएको छ। आजको वर्ग सङ्घर्ष कारखानाभित्र मात्र होइन, डिजिटल स्पेसभित्र पनि भइरहेको छ। आजको शोषण केबल श्रमको होइन, चेतनाको पनि हो। आजको प्रभुत्व केबल आर्थिक होइन, एल्गोरिद्मिक पनि हो। त्यसैले एक्काइसौँ शताब्दीको प्रगतिशील आन्दोलनले प्रविधिलाई केवल उपकरणका रूपमा होइन शक्ति संरचनाका रूपमा बुझ्नुपर्छ।

यदि वाम आन्दोलनले चौथो औद्योगिक क्रान्तिपछिको समाजलाई सही ढङ्गले पढ्न सकेन भने उसले भविष्य गुमाउनेछ। तर यदि उसले टेक्नो–फ्युडल संरचनालाई बुझ्दै नयाँ वर्गीय यथार्थअनुसार आफ्नो एजेन्डा पुनर्निर्माण गर्न सक्यो भने वर्ग सङ्घर्षको नयाँ अध्याय सुरु हुन सक्छ। इतिहासको गति कहिल्यै रोकिँदैन। प्रश्न केवल यति हो– हामी त्यो गतिलाई बुझिरहेका छौँ कि छैनौँ, बुझ्न चाहिरहेका छौँ कि छैनौँ?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad