‘कुनै पनि सौदामा तपाईंले गर्नसक्ने सबैभन्दा नराम्रो गल्ती भनेको सौदा गर्न उत्ताउलो देखिनु हो। यसबाट अर्को पक्षले तपाईंको कमजोरी सुइँको पाउँछ। त्यसपछि तपाईंको हार निश्चित हुन्छ। तपाईंले गर्नसक्ने सबैभन्दा राम्रो काम भनेको शक्तिशाली हैसियतमा रहेर सौदा गर्नु हो। तपाईंको सबैभन्दा बलियो हतियार भनेको आफ्नो शक्तिको सही उपयोग हो।’
डोनाल्ड ट्रम्प (वा उनको गोस्टराइटर)ले १९८७ मा प्रकाशित द आर्ट अफ द डिल पुस्तकमा अघि सारेको सिद्धान्त हो यो। अप्रिल ५ मा सामाजिक सञ्जालमा गालीगलौजसहित हर्मुज जलमार्ग खोल्न, नभए इरानलाई नर्क बनाइदिने धम्की दिनुअघि उनले आफ्नै किताब एक पटक फेरि पढेको भए राम्रो हुने थियो।
किनकि उनको त्यो माग अत्यन्तै उत्ताउलो र हतास स्थितिको उपजजस्तो लाग्थ्यो। खासगरी इरानलाई नरकतुल्य बनाइदिने धम्की उनले पूरा गर्न नसकेको अवस्थामा।
तितो सत्य के हो भने इरानसँगको युद्ध अन्त्य गर्ने प्रयासमा भइरहेको वार्तामा तेहरानको हात प्रस्ट रूपमै माथि देखिन्छ। इरानले हर्मुज जलमार्ग बन्द गर्दा विश्व अर्थतन्त्रमा निकै चर्को दबाब पर्न गयो। अमेरिकामा जति पेट्रोलको भाउ बढ्यो, उति ट्रम्पप्रतिको समर्थन गिर्न पुग्यो। फलस्वरूप यो आलेख तयार पार्दासम्मको अवस्थामा अमेरिकाले गर्न लागेको सम्झौताले इरानलाई युद्धअघिको भन्दा अझ मजबुत स्थितिमा पुर्याउने अवस्था छ।
यो नयाँ सम्झौताअनुसार इरान बिनाकुनै शुल्क हर्मुज जलमार्ग खोल्न तयार देखिन्छ। बदलामा चरणबद्ध रूपमा उसले आर्थिक नाकाबन्दीबाट राहत प्राप्त गर्नेछ। जसमा रोक्का रहेको इरानको अर्बौं डलर सम्पत्ति फुकुवा पनि समावेश छ। इरानले आणविक कार्यक्रम रोक्न प्रतिबद्धता जनाउनेछ। तर, त्यसको विस्तृत विवरणबारे भविष्यमा छलफल हुँदै जानेछ। त्यस हिसाबले आणविक मुद्दा सल्टिसकेको छैन।
ट्रम्पले जोड दिएर भनेका छन्– मलाई हतार छैन, खराब सौदा स्वीकार्दिनँ। तर, अहिले हुन लागेको भनिएको सौदाबारे कट्टरपन्थी रिपब्लिकनहरूको प्रतिक्रियाले धेरैथोक खुलासा गर्छ।
सिनेटर टेड क्रुजले यो ‘भयानक गल्ती’ हुनसक्ने बताए। किनकि यसबाट इरान ‘युरेनियम प्रशोधन गरेर आणविक हतियार निर्माण गर्न र हर्मुज जलमार्गमाथि प्रभावकारी नियन्त्रण कायम गर्न’ सक्षम हुने उनको भनाइ छ। सिनेटर तथा सिनेटको सशस्त्र सेवा समितिका प्रमुख रोजर विकरले यो सौदाको मूल्य ‘लेखिएको कागजजतिको पनि नहुने’ चेतावनी दिएका छन्।
ट्रम्पलाई युद्धमा जान उल्क्याउने इजरायली सरकार सार्वजनिक रूपमा कुनै पनि सौदाबारे विनम्र रूपमा प्रस्तुत हुनेछ। किनकि बेन्यामिन नेतन्याहुले यो इरानमा सत्ता पल्टाउने सुनौलो मौका हो भनेर ट्रम्पलाई युद्धमा तानेका थिए।
तर, अहिले युद्ध अन्त्यको सँघारमा आइपुग्दा नेतन्याहुले इरानको सत्ता सबुत देखिरहेका छन्, जो पहिलेभन्दा ज्यादा विश्वस्त, पहिलेभन्दा ज्यादा कट्टर बनेको छ। आणविक हतियार कार्यक्रम पुनर्निर्माण गर्न तथा मध्यपूर्वभर आफ्ना छद्म शक्तिहरूको सञ्जाल विस्तार गर्न इरानसँग नयाँ वित्तीय स्रोत पनि हुनेछ।
नेतन्याहुको कार्यालयका पूर्वमहानिर्देशक एली ग्रोनरले इरानले अब जुनसुकै समय हर्मुज जलमार्ग बन्द गर्न सक्ने बताए। यो ‘अहिलेसम्मका जुनसुकै सैन्य उपलब्धिभन्दा पनि ठूलो रणनीतिक विजय’ भएको उनको भनाइ छ। एक शब्दमा उनको निष्कर्ष छ– ‘बरबाद।’
इरानको खराब आर्थिक हालतमा सुधार गर्नुका साथै यो सम्झौताले क्षेत्रीय शक्ति सन्तुलन पनि इरानको पक्षमा ढल्काउने सम्भावना ज्यादा छ।
इजरायलका लागि पूर्व अमेरिकी राजदूत ड्यान सापिरोले एक्समा लेखेका छन्, ‘हर्मुज जलमार्ग नियन्त्रण गरेर, आफ्ना छिमेकी मुलुकहरू र सो क्षेत्रमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरी ठूलो क्षति पुर्यायो। अमेरिका र इजरायलको सबैभन्दा घातक आक्रमण पनि उसले झेल्यो र टिक्यो। यो सबै गरेर इरानले भविष्यका लागि निकै ठूलो लाभ प्राप्त गरेको छ।’
तैपनि सापिरोका अनुसार ट्रम्प यसरी फसेका छन् कि युद्ध जारी राख्नुभन्दा खराबै सही, सौदा स्वीकार गर्नु उनका लागि हितकर हुनेछ। ऊर्जा क्षेत्रमा देखिएको संकट र विश्वभर आउनसक्ने मन्दीलाई हेर्दा यो हिसाब सही नै हो। त्यसमाथि भियतनाम र अफगानिस्तानजस्ता युद्धहरूको स्मृति अमेरिकालाई ताजै छ। अमेरिकाले आफ्नो हारको अवस्था उल्ट्याउन खोज्दाखोज्दै ती युद्ध ज्यादै लामो समयसम्म चल्न पुगेका थिए।
आफूसँग कुनै गतिलो विकल्प नरहेपछि ट्रम्पले खराब नै भए पनि सौदा स्वीकार गर्नेछन्। सिनेटर विकरको प्रस्ताव छ, ‘अमेरिकाको दक्ष सैन्य शक्तिलाई इरानको सैन्य क्षमता नष्ट गर्न दिऊँ अनि हर्मुज जलमार्ग खोलौँ।’
तर, सेना लगाएर जलमार्ग खोल्ने कोसिस गर्दा इरानी जमिनमा सैनिक उतार्नुपर्ने हुन्छ। त्यसको अर्थ ठूलो सैन्य क्षति स्वीकार्नु पर्ने हुन्छ। त्यसपछि पनि ड्रोन वा क्षेप्यास्त्रको मद्दतले इरानले सो जलमार्गमा खतरा उत्पन्न गरिराख्न सक्छ।
ट्रम्पले कहिलेकाहीँ इरानलाई नरकतुल्य बनाउने धम्की दिँदै आएका छन्। तर, त्यो धम्की खोक्रो लाग्छ। किनभने उनी स्थल युद्धमा सहभागी हुन चाहँदैनन्। त्यस्तै, खाडी मुलुकमाथि इरानले लिने बदला र तिनको ऊर्जा पूर्वाधारमा गर्न सक्ने आक्रमणका कारण उनी हिच्किचाइरहेका छन्। सैन्य विश्लेषकहरूले प्रयोग गर्ने शब्दमा भन्नुपर्दा खाडी मुलुकको कमजोरीले संकट वृद्धि गर्ने क्षमतामा इरानको प्रभुत्व स्थापित गरिदिएको छ।
ट्रम्प आफूलाई बारम्बार राष्ट्रपति बाराक ओबामासँग तुलना गरिरहन्छन्। २०१५ मा ओबामाले इरानसँग गरेको आणविक सम्झौताको मजाक उडाउन उनलाई मन पर्छ। ट्रम्पले भनेका छन्, ‘त्यो सम्झौता सबैभन्दा खराबमध्ये एक र अमेरिकाले हालसम्म गरेकोमध्ये सबैभन्दा एकपक्षीय सौदा हो।’
उनको दाबी छ, ‘यस्तो असक्षम तारिकाले वार्ता गरेर गरिएको कारोबार मैले आफ्नो जिन्दगीमा कहिल्यै, कहिल्यै, कहिल्यै देखेको थिइनँ।’
तर, यतिबेला ट्रम्प आफैँ एउटा यस्तो सम्झौताका लागि कुराकानी गरिरहेका छन्, जुन धेरै हिसाबले ओबामाले गरेको सम्झौताभन्दा खराब देखिन्छ। किनकि अब प्रस्ट भएको छ– इरानले चाह्यो भने जुनसुकै बेला हर्मुज जलमार्ग बन्द गरिदिन सक्छ। आफूलाई सौदाबाजीको राजा ठान्ने ट्रम्पको यो उपलब्धिलाई पनि ठूलो सफलता मानिदिनुपर्ने होला।
Shares

प्रतिक्रिया