ad ad

विचार


खड्गप्रसादमा राजयोग परेको छ : मोहनप्रसाद ओली

खड्गप्रसादमा राजयोग परेको छ : मोहनप्रसाद ओली

जस्मिन ओझा
भदौ ९, २०७९ बिहिबार ८:२४, काठमाडौँ

धेरै मानिसहरु पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बूढो हुनुभयो भन्ने ठान्छन्। हामी उहाँलाई ‘केपी बा’ भन्छौं। तर, केपी बाका पनि बा मोहनप्रसाद ओली अहिलेसम्म तगडै हुनुहुन्छ। हिँडडुल गर्न र बोल्न राम्रोसँग सक्नुहुन्छ।

भनिन्छ, आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको। भक्तपुरको बालकोटमा ९३ वर्षीय हजुरबुबा मोहन प्रसाद ओलीलाई दिनचर्या कसरी बिताउँदै हुनुहुन्छ भनेर सोध्दा उहाँले टोल छिमेकमा साथीभाइसँग गफगाफ गर्ने र केपीको भाषण (भिडिओमा) सुन्ने गरेको बताउनुभयो।

केपी ओली वाल्यावस्थामै हुँदा आमा बितेको र हजुरआमाले हुर्काएको उहाँले सुनाउनुभभयो। वाल्यकालमा छोराले केपीलाई विद्यालय पढाउँदाको भुक्तमान सुनाउनुभयो। ओलीले एमएसम्म पढेको मोहनप्रसादको भनाइ छ।

मोहनप्रसाद चिना टिप्पनसमेत हेर्नुहुन्छ। केपी ओलीमा जन्मँदै राज योग परेको र राजा बन्ने ग्रह रहेकाले प्रधानमन्त्री बनेको मोहनप्रसादको विश्वास छ।

केही समय अघिसम्म शनि ग्रह रहेको र अब फेरि सूर्य अगाडि आएको बुबा मोहनप्रसादले सुनाउनुभयो।

एमाले अध्यक्ष ओलीको वाल्यकालको कहानी पिता मोहनप्रसादको ओलीबाटै सुनौं – 

मोहनप्रसाद ओलीसँग जस्मिन ओझा

म अहिले ९३ वर्ष पुगें। केपी ओली जन्मँदा २२ वर्षको थिएँ, आमा मनमाया ओली २० वर्षकी थिई। खड्गप्रसाद ११ वर्षको हुँदा उसकी आमाले छाडेर गई।

मनमाया निकै कुरा जान्ने थिई। निकै सिपालु थिई। ऊ ३१ वर्षकी हुँदा गई। ऊ भएको भए म कहाँ पुग्थें पुग्थें। बाठी पनि थिई। कुरा गर्न सिपालु थिई। समाजमा गएर बोल्थी।

पहिले हाम्रो चलन केटी माग्न जाने थियो। फलाना ठाउँमा केटी छ अरे भनेपछि केटी माग्न जान्थे। केटो लिएर आउनू भनेको छ भनेर मलाई पनि लगे।

एक बिहानको बाटो। खोलो तरेर अलिकति उकालो जानुपर्थ्यो। म पनि गएँ। त्यहीँ ज्योतिषी बोलाएर चिना भिडाए, मिल्यो। यति गते बिहे गर्ने भनेर त्यहीँ अठोट गरेर विसं. १९९९ साल फागुन १७ गते हाम्रो बिहे भयो।

मेरी आमाले केपीलाई हुर्काएको। मेरी आमाको नाम राममाया हो। मेरी आमालाई गाउँलेले महतारी भन्थे, हामी पनि महतारी भन्थ्यौं। उनैले केपीलाई हुर्काइन्।

केपी पहिलेदेखि नै राम्रै हुँदैथियो। स्कुल पढाउन हालें। झापा गरामुनीमा स्कुल थियो।

पाँच कक्षाबाट ६ कक्षामा जाने थियो। आज फेल–पास छिन्ने दिन छ, म पास हुन्छु भन्दै बिहान खाना खाएर स्कुलतिर हिँड्यो।

भरे अँध्यारो–अँध्यारो मुख लगाएर घर आयो।

मैले ‘पास भइएन छ कि क्या हो’ भनें।

‘मलाईचाहिँ फेल पारेर आफ्नै मान्छेलाई पास पारे’ भन्यो।

मैले त्यसो त नहुनुपर्ने भनें। जो पास भयो त्यो पास, जो फेल भो त्यो फेल हुनुपर्ने हो भनें।

उसले ‘मलाई थाहा छ’ भन्यो।

त्यसपछि मेरी आमाले आइज यहाँ मैले खाजा राखिदिएको छु भनिन्। ‘आउँछु’ भनेर यस्सो घर पछाडि लागेको थियो, आएन। कता गयो।

एकछिन पछाडि आयो।

‘बुबाले जन्तरे मुखियासँग एकछिन भेट गर्नु अरे’ भन्यो।

जन्तरे मुखिया भनेका त्यहाँका ठूला मान्छे थिए।

किन बोलाए भनेर म गएँ।

तपाईंको छोरो त म पास भएको थिएँ, मलाई फेल पारे, फेल भएकालाई चाहिँ पास पारे भन्छ त भने।

मैले त्यसो त नहुनुपर्ने, होइन होला भनें।

त्यहाँ गएर हेर्नुपर्यो नि, फेलपास के हो भन्दै जन्तरे मुखिया स्वाट्टै हिँडे।

गरामुनी भन्ने स्कुल थियो। अधिकारी भन्ने हेडमास्टर थिए। ६ जना मास्टर थिए। हेटमास्टरलाई टहलदास भन्थे।

मुखियाले जाऔं, बुझौं भने। मैले पत्याइनँ। हामी सरर गयौं।

मुखियाले हैन यो खड्गप्रसाद ओली त म पास भएको थिएँ फेल पारे भन्छ नि त भने हेडमास्टरलाई।

ती हेडमास्टरले भने, यो पास–फेल अर्काले भन्दा हुन्छ र?

जन्तरे मुखिया यस्सो हेडमास्टरतिर हेरेर स्वाट्टै उतातिर लागे। अलि पर गएर ऊ त्यो खाता लेले भने। खाता पल्टाउँदै हेरे।

एउटै कक्षामा पढ्ने केटीले ७० अंक ल्याउँदा पास हुने रहिछ, ६८ मात्रै ल्याएकी रहिछ। केपी पनि ७० ल्याउँदा पास हुने, ७२ ल्याएको रहेछ। ७२ ल्याउनेलाई फेल पारेछन्, ६८ ल्याउनेलाई पास पारेछन्।

त्यो खाता ल्याएर मुखियाले हेडमास्टरलाई देखाए। ७२ ल्याउने चाहिँ फेल, ६८ ल्याउने पास?

टहलदास हेडमास्टरलाई मुखियाले पड्याङ्ग कुटि त हाले। तेरिमा, पास भएकालाई फेल पार्ने, फेल भएकालाई पास पार्ने? तेरो काम छैन जा, तैंले मास्टरी काम गर्नुपर्दैन, घरमा गएर श्रीमतीको सारी धुँदै बस् जा भनेर घोक्राइदिए। हेडमास्टर स्वात्त निस्केर हिँड्यो।

त्यसपछि भोलिपल्ट केपीले म यो स्कुलमा पढ्दिनँ, मलाई सबैले रीस गर्छन् भन्यो। अनि घैलाडुब्बा स्कुल पो लानुपर्यो भनेर घैलाडुब्बा गएँ।

त्यहाँ एउटा ओलीकै घर थियो। मेरो छोरालाई यस्तो यस्तो भयो, गरामुनीमा पढ्दिनँ, सबैले मेरो रीस गर्छन् भन्छ भनें।

ए... यहाँ ले न, मेरोमा बसेर पढ्छ भन्यो। अनि भोलिपल्ट लिएर गएँ।

अब उहाँबाट यहाँ आउन टाढा भयो, लुगा फाटो पनि लिएर आउँछ भनें। लुगाफाटो चाहिँदैन, एक वर्षलाई केही पनि चाहिँदैन, म एक वर्ष फ्री पढाइदिन्छु भन्यो उसले। रत्नलाल ओली भन्ने हाम्रो दाजुभाइ थियो। त्यहीँ बसेर एक वर्ष पढ्यो।

झापामा रामनाथ दाहाल भन्ने थिए, उनले मेरामा जाऔं, मेरामा जाऔं, मेरामा जाऔं भनेर उता लगेछन्। रामनाथ दाहालकहाँ अर्को वर्ष पढ्दैथियो, रामनाथ दाहाललाई के भयो, के भयो, पक्रेर झ्यालखानामा हाले। हाम्रो केटोचाहिँ रामनाथलाई पक्रिन्छन् अरे भन्ने सुनेर त्यहाँबाट भागेर अर्कातिर हिँड्यो।

रामनाथलाई ६ महिना जेल हाले। ६ महिना पछाडि इलाम जेलमा सरुवा गर्ने भनेर सुखानीको जंगलमा लगेर ड्याम ड्याम गोली हानेर मारिदिए। उसका साथीलाई पनि मारे।  

रामनाथको घरबाट हाम्रो केटो चाहिँ भाग्यो। त्यहाँबाट निस्केर उ रत्नलाल ओलीको घरतिर गएको थियो। त्यहाँबाट भागेर कता गयो गयो। ६ महिनापछाडि आयो। अनि फेरि घैलाडुब्बामा पढ्यो।

घैलाडुब्बामा एसएलसी पास गर्यो अनि आइए, बीए त्यहाँ नभएको हुनाले मैले भद्रपुर लगें। भद्रपुरबाट आइए, बीए पास गर्यो। उसले एमएसम्म पढ्यो।

बलियाले दुब्लालाई नहेप्नू, धनी छु भनेर गरीबलाई नहेप्नु भन्थ्यो। त्यसो भन्यो भनेर धनीहरुले उसलाई रीस गरे। हामीलाई रीस गर्छ यो केटो भन्थे।

त्यसबेलै केपी राजनीतिमै थियो। यस्तो गर्नु हुँदैन, उस्तो गर्नु हुँदैन, मान्छेले गरीबलाई हेप्नुहँदैन, धनीले गरीबलाई हेप्न पाइँदैन, बलियाले दुब्लालाई घँच्याड्न पाइँदैन भन्ने कुरा गर्थ्यो। यस्तो कुरा गर्दागर्दै यसले हाम्रो रीस गर्छ भनेर जेल हाले। १८–१९ वर्षको हुँदा जेल हाले।

ऊ जेल परेपछि मेरी आमा पहाडबाट आइन्। त्यसबेला मदन रानी भन्ने थिइन्, उनीसँग गएर यो मेरो नाति हो, यो यति वर्षको हुँदा यसकी आमा मरी, मैले हुर्काएँ, पढाएँ, आज यस्तो गरे भनेर मेरी आमाले मदन रानीसँग भनिन्।

यो खड्गप्रसाद ओलीले कसको के गर्यो र जेल हाल्यौ भनेर मदन रानीले सोधिछन्। केही गरेको छैन, जेल हाल्नलाई त कि ज्यान मारेको हुनुपर्यो, कि चोरी गर्नुपर्छ, त्यसै जेल हाल्न पाइन्छ मान्छे? तुरुन्त आजै छोड भनेर मदन रानीले हल्लाइदिएपछि ९ महिनामा छोडिदिए।

 

बुवासँग आशिर्वाद थाप्दै केपी शर्मा ओली

पछाडि (पञ्चायती व्यवस्था ढलेपछि) त केपी गृहमन्त्री भइगयो। उपप्रधानमन्त्री र गृहमन्त्री एकैचोटि भयो फेरि। त्यहाँबाट दुई वर्षमा छोड्यो, अनि प्रधानमन्त्री भयो।

उसको ग्रहदशा अलिकति अगाडि शनि अघि सरेको थियो। अब शनि हट्दै गयो। सूर्य अगाडि सर्दैछ।

अस्ति सूर्य वृहस्पतिसँग भएर प्रधानमन्त्री भयो। अब फेरि सूर्य अघि सरेर वृहस्पतिको घेरामा जाँदैछ। फेरि पनि केही लक्ष राम्रो देखाएको छ। अब फेरि प्रधानमन्त्री हुने नहुने उही जानोस्। चुनावमा अब कुन ग्रह अघि सर्छ।

मैले इङलिस पढेको थिएन। नेपाली मात्रै पढेको मान्छे। नेपालीमा यसो ग्रह गुनेर हेर्दा राजा हुने ग्रह छ।

विसं २००८ सालमा म स्कुलमा मास्टर भएर केटा पढाउँथें। त्यहाँ एउटा ढुंगेल भन्ने बाहुन थिए ज्योतिषी। तिनले मेरो घरमा चिना हेरेछन्। छोरो त जन्मिँदैन, छोरी जन्मिन्छे, छोरो जन्म्यो भने त राम्रो हुँदैन भनेछन् ती ढुंगेलले।

उनले त्यसो भनेको १०–२० दिन पछाडि छोरो (केपी) जन्मियो। राम्रो हुँदैन भनेको थियो, छोरै जन्मियो भनेर मेरी आमालाई अलि पिर परेछ। हुर्र म भएका ठाउँ आइन्।

म इङलिस नपढेको, नेपाली हिउँदे स्कुलमा केटाकेटी पढाउने ठाउँमा आइन्। ढुंगेल ज्योतिषीले छोरी जमिन्छे भनेको थियो, छोरै जन्मियो भनिन्।

मैले गोजीबाट पात्रो फुत्त झिकेर हेरें। कतिखेर जन्मियो भनेर सोधें। यत्तिखेर भनिन्।

यसो गनेर हेरें, यो ग्रहले के भन्छ? ‘राजा हुन्छ कमारीको कुलमहा जन्मै भए तापनि।’ कमारीकै छोरो भए पनि राजा हुन्छ भन्छ यो ग्रहले। मर्ने त कुरै आएन भनें।

फलानो ग्रह फलानो ठाउँमा, फलानो ग्रह फलानो ठाउँमा छ भने यो मान्छे कमारीकै छोरो भए पनि राजा हुन्छ भन्छ ग्रहले भनेर आमालाई चित्त बुझाएर पठाइदिएँ। पछाडि त्यस्तै हुँदै हुँदै राम्रै भयो।  

मनमाया बितेको दुई वर्षपछाडि मैले अर्को बिहे गरें। अर्को बिहे गरेको २५ वर्ष पछाडि आमा गई।

अर्कीपट्टि पहिले छोरी जन्मिई, त्यसपछि छोरो, फेरि अर्की छोरी जन्मिई। दुईटी छोरी र एउटा छोरो छँदैछन्। केपीका भाइचाहिँ सामान्य किसान छन्। भाइका छोरा बुहारी इङ्ल्याण्ड पुगेका छन्।

(जस्मिन ओझा सामाजिक अभियन्ता एवं अनेरास्ववियू केन्द्रीय सदस्य हुन्)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .