विचार


राष्ट्रपति, बालेन सरकारलाई पहेँलो कार्ड देखाउनुस्

राष्ट्रपति, बालेन सरकारलाई पहेँलो कार्ड देखाउनुस्

सन्जय घिमिरे
साउन १०, २०८३ आइतबार १७:५५, टेक्सस, अमेरिका

अलिक समयको अन्तरपछि आज फेरि म ‘टाढाबाट’ लेख्दैछु।

लेख्न वा टिप्पणी गर्नका लागि अरूले जस्तो म सरकारको ‘हनिमुन पिरियड’ सकिने दिन पर्खेर बसिरहेको थिइनँ। जसले विवाहअघि नै सबै अनुशासनहरू तोडेको छ, त्यसलाई केको ‘हनिमुन पिरियड’?

बरु म, फुटबल विश्वकपको हुरी शान्त हुने दिन पर्खिरहेको थिएँ।

विश्वकप पनि सकियो।

जित्यो स्पेनले।

ठिकै भयो।

कुनै एक खेलाडीलाई भगवान् ठान्नेहरूलाई धक्का लाग्यो। म त खेलमा कोही भगवान् हुँदैन भन्ने कुरामा सुरुदेखि नै विश्वास गर्छु। खेलमा मात्र किन, अन्यत्र पनि मान्छे कहाँ भगवान् हुन्छ र?

राजनीतिमा त झन् भगवान् हुन सम्भव नै छैन। बन्छु भनेर सकिँदैन, बनाउँछु भनेर पनि सकिँदैन।

यसै, कोही कसैले कसैलाई भगवान् मान्छ र ‘क्रेजी’ हुन्छ भने, तिनका प्रति मेरो त्यति साह्रो भन्नु केही छैन। यत्ति चाहिँ भन्न सक्छु– आफैले बनाएका भगवानलाई समयक्रममा तिनैले कि त बिगार्छन्, कि त, सत्यानाश गर्छन्।

राजनीतिमा जहिले जहिले ज–जसलाई भगवान् बनाउन खोजियो वा कसैले आफूलाई भगवान् भनाउन लगायो, ती समयक्रममा अक्सर सबै सकिएका मात्र छन्।

बरु, खेलमा कसैले कसैको आरती उतार्दा त्यति ठूलो बिगार हुँदैन। किनकि खेल, एक हिसाबले जुवा हो। खेलमा राष्ट्रलाई बिगार्न सक्ने तत्त्व त्यति हुँदैन। फुटबलको परिणाम बल र खेलाडीको समय र स्थानमा भरपर्छ। सही समय र स्थानमा खेलाडी भए, सही समय र स्थानमा बल खुट्टामा परे, विपक्षीको गोलकिपरको समय र स्थान नमिले. गोल हुने हो। जम्माजम्मी बढीजसो खेल, ‘टाइम एन्ड स्पेस’को कुरा हो, अलिअलि भूमिका निरन्तरको अभ्यास र अनुभवको त हुने नै भयो। यति बुझे खेल आनन्दमय हुन्छ, तनावबाट मुक्त भइन्छ।

देश र राजनीतिका कुरा अलि बेग्लै छ।

राजनीति ‘टाइम एन्ड स्पेस’को मात्र कुरा होइन। ज्ञान वा सिद्धान्तको, दृष्टिकोणको, त्यसको अभ्यासको र त्यो अभ्यासको निरन्तरताको कुरा हो राजनीति भनेको। विकास राजनीति होइन, कस्तो विकास भन्ने चाहिँ राजनीति हो।

खेलको तनावबाट मुक्त भएर आज म खेलकै भाषामा त्यही राजनीति र एक सय दिन कटाइसकेको सरकारमाथि केही लेख्दैछु।

यो लेख्दै गर्दा म नुसरत फतेह अली खानको एउटा गीत सुनिरहेको छु, बडो घत परेको छ– ‘तुम एक गोरख धन्दा हो। आप ही अपना पर्दा हो।’

सँगसँगै सम्झिरहेको छु, अब्राहम लिंकनको एउटा प्रसिद्ध वाक्य– ‘पहिले हामी कहाँ छौँ र कहाँ जाँदैछौँ भन्ने थााह पाउन सके के गर्ने र कसरी गर्ने राम्रोसँग थाहा पाउन सक्छौँ।’

कहाँ छौँ भन्ने थाहा पाउनु भनेको सजिलो कुरा होइन। यो असाध्यै ठूलो आत्मचिन्तन वा आत्मबोधको विषय हो। कहाँ छौँ भन्ने थाहा पाउन आफू र आफू उभिएको ठाउँ मात्र जानेर पुग्दैन। घर, छिमेक, समाज र देश–दुनियाँ पनि थाहा पाउनु पर्छ। आफू र ती सबैको अवस्था र मनोविज्ञान पनि थाहा पाउनु पर्छ।

मलाई लागेको थियो– के गर्ने र कसरी गर्ने भन्ने त्यति थाहा नभए पनि कमसेकम कहाँ छौँ र कहाँ जाँदैछौँ भन्ने चाहिँ बालेन सरकारलाई थाहा छ। सरकारमा बस्नेहरूलाई थाहा छ। नयाँ भनेर गुड्डी हाँक्नेहरूलाई थाहा छ।

के को हुनु?

अरू त अरू, शिक्षा र स्वास्थ्यमा कर धान्न सक्ने अवस्थामा नेपाली जनता छैनन् भन्ने सम्म थाहा रहेनछ। धुरन्धर जानेका अर्थमन्त्रीले नेपाल नै जान्न बाँकी रहेछ। देश–दुनियाँको गुड्डी हाँकेर मात्र के गर्नु?

सरकारका पहिलो दिनदेखिकै काम र चालढालहरू हेरेर भन्न सकिन्छ– यो सरकारलाई कहाँ छौँ भन्ने नै थाहा छैन। कहाँ जाँदैछौँ भन्ने त झन् थाहा छैन। के गर्ने भन्ने अलिअलि थाहा जस्तो देखिन्छ तर कसरी गर्ने भन्नेमा ठूलै समस्या देख्छु म।

यिनीहरूलाई गोल गर्नु पर्छ भन्ने थाहा छ, तर जतिसुकै सुन्दर गोल भए पनि ‘अफसाइड’ भएपछि त्यो काम लाग्दैन भन्ने थाहा छैन वा त्यसमा मतलब छैन। ‘फाउल’ त यी खेलेरै यहाँसम्म आएका हुन्, ‘फाउल’ त यिनको जन्मजात गुण हो।

पहिलो दिनदेखि नै सरकार कहिले ‘अफसाइड’, कहिले ‘फाउल’ खेल्दै छ।

अब त यो डर छ– फाइनल खेलमा हारपछि जसरी अर्जेन्टिनाका खेलाडीहरूले मैदानमै स्पेनका खेलाडीको घाँटी च्यापे, ठिक त्यस्तै सरकार वा त्यसका समर्थकहरूले गर्नेछन्। सङ्केत त तिनले देखाइसकेका छन्– मिडियाका गेटमा गाडी तेर्स्याएर।

सङ्केत त तिनले देखाइसकेका छन्– अख्तियारका पदाधिकारीहरूलाई हकारपकार गरेर।

सङ्केत त तिनले देखाइसकेका छन्– पार लगाउन नसक्ने राजनीतिक धरपकड गरेर।

जुन दिन तिनले मिडियाका गेटमा गाडी तेर्स्याए, त्यो दिन म सोचिरहेको थिएँ– के अमेरिकामा राष्ट्रपति ट्रम्पका मान्छेले कुनै दिन न्युयोर्क टाइम्स वा सीएनएनको कार्यालयका गेटअगाडि गाडी तेस्र्याऊलान्? र त्यहाँको प्रहरी चार घण्टापछि मात्र पुग्ला? 

असम्भव।

कसैले गाडी तेर्स्याइहालेछ भने पनि न्युयोर्क टाइम्सले वा सीएनएनले फोन गरेको दुई मिनेटमा प्रहरी पुग्नेछ, टिकट त दिनेछ नै, त्यसको नियतमाथि पनि अनेक चार्ज लगाइनेछ। त्यसका अनेक ‘कन्सिक्वेन्स’हरू हुनेछन्।

तपाईंहरूलाई थाहा नै छ– राष्ट्रपति ट्रम्प न्युयोर्क टाइम्स, सीएनएन जस्ता मिडियाको घोर विरोध गर्छन्, असाध्यै ठूलो दुस्मनी छ। नेपालका कान्तिपुर, अनलाइनखबर र बालेन नेतृत्वको सरकारबीच के त्यत्रो ठूलो दुस्मनी छ र? तै, राष्ट्रपति ट्रम्प र उनका समर्थकहरूले मिडियाका कार्यालयका गेटमा गाडी तेर्स्याउने आँट गर्दैनन्, जो बालेनका आफ्नाहरूले कम दुस्मनीमा पनि गरे। आँट त के भन्नु र त्यसलाई? त्यो असाध्यै कच्चा काम हो।

त्यस्ता थुप्रै कच्चा काम भएका छन् सरकारकै तर्फबाट यो बीचमा। यस्तै कच्चा कदमहरूका कारण यस्तो बलियो र ‘पपुलर’ मत पाएको सरकार पनि शङ्काको घेरामा छ।

मूल शङ्का के भने– यसले लोकतन्त्रलाई कुन भड्खालोमा लगेर जाक्ने हो? सरकार बनेको केही महिनामै यो शङ्का दिनप्रतिदिन बढ्दो छ। यो सरकारले लोकतन्त्रलाई थप संस्थागत गर्ला भन्दा पनि कहाँनेर लगेर खसाल्छ भन्नेमा भित्रभित्रै डर हुर्किंदो छ।

झण्डै दुई तिहाइको बलियो सरकार हुँदा लोकतन्त्र बलियो हुन्छ भन्ने विश्वास ह्वात्तै बढ्नुपर्ने हो। विश्वास ह्वात्तै गिर्दो छ। यो बडो खतरनाक कुरा हो। यति बलियो भएर पनि यो सरकारले लोकतन्त्र संस्थागत गर्छ भन्ने विश्वास दिलाउनै सकिरहेको छैन। बितेका सय दिनभित्रै नै अनेक टिप्पणी र विरोधहरू भएका छन्। सरकार बनेको दिनदेखि नै यत्ति धेरै विवाद र विरोधका स्वरहरू दुनियाँमा कमै सुनिन्छन्।

किन यस्तो भइरहेको छ, सरकार र सत्तारुढ दलले बेलैमा विचार गर्नुपर्छ।

उसको अन्यथा अरू बेग्लै चाहना छ भने छुट्टै कुरा। बेग्लै चाहना छ भने भन्न सक्नु पर्छ। होइन भने सुशासन र नयाँका नाममा लोकतन्त्रमाथि छेडखानी गर्न पाइँदैन। संसदीय अभ्यासका मर्यादाहरू तोड्न पाइँदैन। संसदीय अभ्यास मजाक होइन।

हिजोआज देशभित्र र देशबाहिर पनि अलि सचेतबाट सुनिन थालेको छ– नेपालको लोकतन्त्र आज सही ट्र्याकमा छैन।

सही ट्र्याकमा होस् पनि कसरी?

आजसम्म बालेन सरकारको लोकतन्त्रको बुझाइ र धारणा कतै सुन्न वा पढ्न पाइएको छैन। बालेन सरकार कस्तो लोकतन्त्रको कल्पना गरिरहेको छ? र, उसले कसरी त्यसलाई संस्थागत गर्दैछ, बुझ्न पाइएको छैन।

हिँड्छु र दौडिन्छु भनेर मात्र हुन्छ र?

हिँड्नु र दौडनुका पनि काइदा हुन्छन्। सरकारका हिँड्ने र दौडिने काइदामा कहीँ न कहीँ समस्या देखिएका छन्।

–प्रधानमन्त्री सोसल मिडियाबाट काम चलाउँछन्। संसदमा गएर कि त बोल्दैनन्, बोले पनि बिगार्छन्।

–सल्लाहकारहरू कच्चा छन्।

–देश–दुनियाँ बुझेका, नेपाल नबुझेका अर्थमन्त्री छन् (बुझेको भए कार्यान्वयनमा आएको चार दिनमै शिक्षा र स्वास्थ्यमा लगाएको कर फिर्ता लिनु पर्ने थिएन)।

–गृहमन्त्रीको त के कुरा गर्नु?

–प्रधानमन्त्री बालेन र सत्तारुढ दलका सभापति रवि लामिछाने एउटै होइनन्, फरकफरक हुन् भन्ने दर्शाउने अनेक रेखाहरू कोरिँदै गएका छन्।

–एकाधबाहेक अधिकांश मन्त्री र सांसदहरू हराएका जस्ता छन्।

–प्रतिपक्षी, पुराना भनिएका दलहरू, आआफ्नै लफडामा छन्।

–यो बीचमा चार जनाले आत्मदाह गरेका छन्।

यी सबै देख्दा मनमा प्रश्न उठिरहेको छ– नेपालमा लोकतन्त्र संस्थागत हुँदैछ कि अ–संस्थागत? कतिपयले भनेको सुन्छु– सरकार वा प्रधानमन्त्रीको नियत ठिक छ। तिनलाई मेरो प्रश्न छ– गोल गर्ने नियत ठिक छ भन्दैमा ‘अफसाइड’ खेल्न पाइन्छ?

जित्ने नियत ठिक छ भन्दैमा ‘फाउल’ खेल्न पाइन्छ?

‘प्रि–मच्योर’ धरपकड, राष्ट्रपतिको अपमान, सरकारले खेलेका ‘अफसाइड’ हुन्। अख्तियारका पदाधिकारीहरूलाई हकारपकार, मिडियाका कार्यालयका गेटमा गाडी पार्क, सरकारले खेलेका ‘फाउल’ हुन्। यस्ता अरू पनि उदाहरणहरू छन्।

नियतकै कुरामा अर्को तरिकाले भनौँ है त। मलाई हेलिकप्टर आफैँले उडाएर दीनदुःखीको सेवामा विश्वभर जान मन छ। मेरो नियत बडो सफा छ। तर म पाइलट होइन। के तपाईं मलाई पत्याउनुहुन्छ? के तपाईं मसँग हेलिकप्टर चढ्न तयार हुनुहुन्छ?

तपाईंहरू जे भन्नुस्, मलाई त यस्तो लागिरहेको छ– आज नेपाली ‘लोकतान्त्रिक हेलिकप्टर’को भविष्य अन्योलमा छ। कारण तपाईंहरू नै बुझ्नुस्।

पहिले जति अविश्वास र शङ्का भए पनि, सरकार बनिसकेपछि म ठानिरहेको थिएँ– सरकारले बडो अनुशासित ढङ्गले, विगतका गल्तीहरू सच्याउँदै, परिपक्व निर्णयहरू गर्दै जानेछ। वाह भन्ने सल्लाहकारहरू हुनेछन्, वाह भन्ने खालका परिपक्व र विश्वासिला मन्त्रीहरू हुनेछन्, वाह भन्ने खालका नियुक्तिहरू हुनेछन्। र, यो पो लोकतन्त्र भन्ने हुनेछ।

भइरहेको छ ठिक उल्टो। न वाह भन्ने सल्लाहकारहरू छन्, न वाह भन्ने मन्त्रीहरू छन्, न वाह भन्ने नियुक्तिहरू छन्। कतिपय नियुक्तिहरू त पदीय शब्दको ओज सुहाउने खालकै छैनन्।

यस्तैयस्तै कारणले पैदा भइरहेको छ– हत्तेरी लोकतन्त्र कहाँ पो जाने हो भन्ने डर। प्रधानमन्त्री एकातिर, पार्टी अर्कोतिर, अपरिपक्व निर्णय र गतिविधिहरू। यी सबै हेर्दा यो सरकार किनकिन मलाई संख्याले बलियो भएर पनि कच्चा लागिरहेको छ। बाक्लो सिसाजस्तो, जो बाक्लो भएर पनि कुनै पनि दिन आफैँ झुरुम्म फुट्छ। र देशलाई पनि घाइते बनाउँछ।

यो त भयो भित्रको कुरा।

कतिपयलाई लागेको होला– बालेन सरकारले अन्तर्राष्ट्रिय कूटनीतिमा धुरन्धरको खेल खेलिरहेको छ। यो भ्रमबाट जतिसक्दो मुक्त हुन सक्यो, त्यति देशलाई फाइदा हुन्छ। नेपालमा एउटा पपुलर, अत्यधिक बहुमतको सरकार छ, त्यसलाई उपयोग गर्नुपर्छ भन्ने हरेक अन्तर्राष्ट्रिय खेलाडीहरूलाई लाग्छ। यसको मतलब यो होइन कि उनीहरूले बालेन सरकारलाई ‘सिरियस्ली’ लिइरहेका छन्।

मेरो बुझाइले भन्छ– आजको नेपाल सरकारलाई कुनै पनि शक्तिराष्ट्रले ‘सिरियस्ली’ लिएकै छैन। आजको अन्तर्राष्ट्रिय कूटनीति कुमार बेनको वशको विषय हो भन्ने मलाई लाग्दैन।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई भारतले दिएको सम्मान देखेर कतिपय दङ्गदास भए, हर्षोल्लास पनि मनाए। त्यो सम्मान देखेर मेरो मनमा उत्पन्न भएको एउटै भाव थियो– भारतले फेरि पनि खेल्यो।

अरूले खेल्छ, हामी रमाउँछौँ।

हामी कुन खेल हो, कुन खेल होइन भन्ने छुट्याउने ताकत राख्दैनौँ। हामीलाई कसैले झ्याइँ पारेको पत्तै हुँदैन। अहिले शक्तिराष्ट्रहरू कहिले बालेनलाई, कहिले रविलाई झ्याइँ पार्ने चक्करमा छन्। तिनलाई थाहा छ– यी कमजोर कडी हुन्।

आफैँ कमजोर कडीहरू फेरि एक अर्कालाई झ्याइँ पार्ने दाउमा छन्।

आन्तरिक र बाह्य अनेक गतिविधिहरू देखेर कहिलेकाहीँ म सोच्छु– जुक्ति लगाएर यो संविधान र लोकतन्त्र जोगाएका राष्ट्रपति यो सरकारका चालढाल देखेर एक्लै बसेर के सोच्दै होलान्? उनका मनमा कुन हदसम्म गुनासाहरू पैदा भइरहेका होलान्? लोकतन्त्र ठिकै चलिरहेको छ भन्ने लाग्दो होला कि हत्तेरी के पो हुने हो भन्ने डर लागिरहेको होला?

प्रजातन्त्र र संसदीय व्यवस्था राम्ररी बुझेका राष्ट्रपति अहिलेको सरकार र खासगरी प्रधानमन्त्रीका गतिविधिबाट सन्तुष्ट छन् जस्तो मलाई लाग्दैन। राष्ट्रपतिलाई राम्ररी जानेका एकजना जानकारसँग कुरा गर्दा मलाई आभास भइरहेको छ– राष्ट्रपति पनि गुम्सिएका छन्। हुन त यो समय राष्ट्रपतिको समय होइन। ‘एल्गोरिदम’ र ‘फ्यान्टेसी मोड’को जमानामा आदर्श, मूल्य र सिद्धान्तका कुरा गर्न पनि डर मान्नुपर्ने अवस्थामा छन् राष्ट्रपति पनि।

यसैले सायद उनी मौन छन्। उनलाई केही संविधानले, बढी अहिलेको ‘एल्गोरिदम’ वाला लहडले मौन रहन भनेको छ।

तर आज म टाढाबाट नेपालका राष्ट्रपतिलाई आग्रह गर्छु– बालेन सरकारलाई पहेँलो कार्ड देखाउनुहोस् राष्ट्रपतिज्यू। तपाईं संविधानको रेफ्री हो, तपाईंको अनादर गर्ने, जताततै ‘फाउल’ खेल्ने खेलाडीलाई पहेँलो कार्ड दिनुस्। सचेत गराउनुस्। 

होइन भने दुइटा कुरामध्ये एउटा हुनेछ– कि त जनताले फेरि रेड कार्ड देखाउनेछन्, कि त तपाईंको जुक्तिले जोगाएको यो संविधानको खेल नै समाप्त हुनेछ। जनताले रेड कार्ड देखाउँदा अब के हुन्छ, कसलाई थाहा र? यो संविधानको खेल समाप्त हुँदा के हुन्छ, त्यसपछि के हुन्छ, कसलाई थाहा र?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad