रुसी सेना युक्रेनबाट हतारहतार पछि हट्दै गरेको दृश्य असाधारण हो। तर, यसलाई आश्चर्यजनक मानिनु हुँदैन।
सुरुवातदेखि नै रुसले सोचेजस्तो भएन यो युद्ध। २४ फेब्रुअरीमा आक्रमण सुरु गर्दा भ्लादिमिर पुटिनले जसरी तीव्र गतिमा विजय हात पार्ने योजना बुनेका थिए, त्यो प्राप्त गर्न उनी असफल रहे। अप्रिलसम्ममा किभवरिपरि घुसपैठ गरेका रुसी सेनाहरु अपमानजनक ढंगले पछि हट्न बाध्य भए।
गएको ६ महिनामा रुसले प्राप्त गरेको सीमित सफलताको बदलामा पनि उसले ठूलो मूल्य चुकाएको छ। युद्धको सुरुमा आक्रमणका लागि रुसले तयार गरेको सैनिकको संख्या करिब २ लाख थियो। आक्रमण सुरु भएयता उसका ७० हजारदेखि ८० हजार सैनिक मारिएको वा घाइते भएको आकलन अमेरिकाले गरेको छ।
आफू युद्धमा सहभागी भएको तथ्य रुसले स्वीकार गर्न चाहेको छैन। त्यसैकारण पुटिनले अनिवार्य भर्तीको आदेश दिन मानेका छैनन्। त्यसविपरीत युक्रेनले भने उमेर पुगेका सम्पूर्ण पुरुष जनसंख्यालाई युद्धमा परिचालन गरेको छ। फलस्वरुप, यतिबेला लडाइँको मैदानमा सम्भवतः रुसको भन्दा युक्रेनका सैनिक ज्यादा छन्।
इच्छाशक्ति र गोलीगठ्ठामा पनि रुसभन्दा युक्रेनको हात माथिबाट छ। उनीहरु आफ्नो देशको रक्षाका लागि लडिरहेका छन्। त्यस्तै, उनीहरुलाई अमेरिका र युरोपले आधुनिक हतियार आपूर्ति गरिरहेका छन्। खासगरी टाढैबाट अचुक निसाना लगाउन सकिने क्षेप्यास्त्रहरु। जसका कारण अहिले युक्रेनी सैनिकको हातहतियार रुसको भन्दा राम्रो छ।
यो युद्धमा रुस हार्ने सम्भावना वास्तविक र उत्साहजनक छ। तर, युद्धमैदानमा युक्रेनको प्रगतिले द्वन्द्वमा एउटा नयाँ र खतरनाक चरणको सुरुवात पनि गर्छ।
रुसी सेनाबाट मुक्त गरेको क्षेत्रमा सर्वसाधारणले युक्रेनी सैनिकहरुलाई रुँदै अँगालेको तस्बिरले यो युद्ध केका लागि लडिँदैछ भन्ने देखाउँछ। स्थायी रुसी नियन्त्रण हुने हो भने राजनीतिक स्वतन्त्रता रहने छैन र हत्या, यातना र निर्वासन लादिनेछ।
रुसले युक्रेनलाई सजिलै जितेको भए त्यसले युक्रेनका छिमेकीहरुमाथि रुसी आक्रमणको बाटो खोलिदिने थियो। जसमा मोल्दोभा र सायद नेटो सदस्य इस्टोनिया, लाट्भिया र लिथुवानिया समेत पर्थे। त्यही सम्भावनाका कारण फिनल्यान्ड र स्विडेनले नेटो सदस्यताका लागि आवेदन दिए।
यदि रुस पराजित भयो भने बाँकी युरोपमाथि छाइरहेको आक्रमणको खतरा कम हुनेछ। विश्वको राजनीतिक वातावरण पनि परिवर्तन हुनेछ। रुसको पराजयले बेइजिङ र मार ए लागो (ट्रम्पको घर) मा नराम्रो असर पार्नेछ। आक्रमण सुरु हुनुभन्दा केही साताअघि चीनले रुससँग ‘सीमाहीन’ मित्रताको घोषणा गरेको थियो। डोनाल्ड ट्रम्पले खितखिताउँदै भ्लादिमिर पुटिन ‘विलक्षण’ भएको बताएका थिए। त्यो मूल्यांकन अहिले अनैतिक मात्र होइन, सरासर मूर्खतापूर्ण पनि सुनिन्छ।
तर, केही होसियारी अपनाउन आवश्यक छ। युक्रेनको झण्डै २० प्रतिशत हिस्सामा रुसको कब्जा कायम छ। रुसले पुनर्संगठित भएर आक्रमण गर्ने प्रयास गर्न सक्छ र त्यसलाई युक्रेनीहरुको क्षमताले नधान्न सक्छ।
तर, खास जटिल प्रश्न हो– यदि रुस अपमानजनक ढंगले हार्न थाल्यो भने के हुन्छ? अझ उसले २०१४ मा कब्जा गरेको क्रिमिया समेत गुमाउने अवस्था आयो भने के होला?
हार स्वीकार गर्नुको सट्टा त्यस्तो अवस्थामा पुटिनले संकट चर्काउने प्रयास गर्न सक्छन्। तथापि, उनका विकल्पहरु सीमित र अनाकर्षक देखिन्छन्। युद्धका लागि आम सैन्य परिचालन गर्न अस्वीकार गर्नुले पनि पुटिनको घबराहटलाई प्रस्ट पार्छ, जसले रुसी समाजमा हलचल पैदा गर्न सक्छ। सैन्य भर्तीको आह्वान, तालिम र तिनको सशस्त्रीकरणमा हप्तौँ लाग्न सक्छ। तर, युद्ध तीव्र गतिमा परिवर्तन भइरहेको छ।
द्वन्द्वको सुरुवातदेखि नै रुसले आणविक हतियार प्रयोग गर्नसक्ने संकेत पुटिनले दिँदै आएका छन्। यो सम्भाव्यतालाई ह्वाइट हाउसले सधैँ गम्भीरतापूर्वक लिएको छ। युद्ध लम्बिँदै जाँदा र रुसलाई क्षति पुग्दै जाँदा पुटिनले आणविक हतियार प्रयोग गर्लान् भन्ने भय अलिकति कम भएको छ। तर, त्यो भय अन्त्य भएको छैन। गत साता एक वरिष्ठ पश्चिमा नीति निर्माताले मसँग भने, ‘हामीले सम्झिनुपर्ने कुरा के छ भने हामीले नियालेका लगभग प्रत्येकजसो सैन्य अभ्यासमा रुसी सेनाले आणविक हतियार पनि समावेश गरेको छ।’
तथापि, युक्रेनमा आणविक हतियार प्रयोग गर्दा जुन परिणाम उत्पन्न हुन्छ, त्यसबाट रुसलाई नै क्षति पुग्छ। विश्वव्यापी राजनीतिक प्रतिक्रिया रुसका लागि नकारात्मक हुनेछ र पश्चिमा सैन्य प्रतिक्रिया पनि अवश्यंभावी बन्न पुग्छ।
विगतका अरु रुसी नेताहरु झैँ पुटिन पनि आउँदो हिउँदले आफ्नो उद्धार गर्ने आशामा छन्। आगामी दिनमा युरोपको सम्पूर्ण ग्यास आपूर्ति रोकिदिने रुसको हालैको घोषणा युक्रेनका पश्चिमा समर्थकहरुलाई घुँडा टेकाउने उदेश्यले गरिएको स्पष्ट छ।
तर, ग्यास रोक्ने यो चाल सफल हुन पुटिनलाई अरु थुप्रै कुराले साथ दिनुपर्ने हुन्छ। अत्यन्त जाडो हिउँद र पश्चिमा मुलुकहरुमा राजनीतिक विरोध प्रदर्शनहरु बढे भने अलिकति सहयोग पुग्छ। तर, दुवै कुरा भर पर्न सकिने होइनन्। हालै जर्मन सरकारले रुसी ग्यास रोक्का भए त्यसका लागि पहिलेभन्दा राम्ररी तयार भएको जनाएको छ। उसको ग्यास भण्डारण ८७ प्रतिशत छ। युरोपभर उर्जाको मूल्य बढ्न नदिन अनुदान घोषणा गरिँदैछ।
त्यसैले पुटिन अप्ठेरो र खतरनाक अवस्थामा देखिन्छन्। सुरुदेखि नै पश्चिमा नेताहरु पुटिन सत्ताच्यूत भइदिए हुन्थ्यो भन्ने कामना मनमनै गरिरहेका थिए। अमेरिकी राष्ट्रपति जो बाइडेनले त त्यसलाई अभिव्यक्त नै गरिदिए।
तर, आन्तरिक कू का कारण सत्ताच्यूत नै भए भने पनि उनलाई विस्थापित गर्ने व्यक्ति उदार होइन उनीभन्दा कट्टर राष्ट्रवादी हुने सम्भावना ज्यादा छ। अहिले रुसमा सबैभन्दा चर्को असन्तुष्टिको स्वर सैन्यवादी र राष्ट्रवादीहरुले नै घन्काउँदै छन्। उनीहरु युद्धलाई थप चर्काउनुपर्ने आह्वान गरिरहेका छन्। पश्चिमा गुप्तचर निकायहरुमा अहिले के चर्चा चलिरहेको छ भने रुसकी एक राष्ट्रवादी पत्रकार दारिया दुगिनाको हत्या पुटिनका अति दक्षिणपन्थी आलोचकहरुलाई चेतावनी दिन रुसका सुरक्षा निकायले नै गरेका हुन्।
रुस पराजित नै भए पनि त्यो मुलुक नक्साबाट नामेट हुने छैन। र, सो मुलुकसँग त्यसपछि पनि ठूलो संख्यामा आणविक हतियार र गुनासोहरुको भरिभराउ भण्डार हुनेछ।
अघिल्तिर यतिधेरै खतराहरु छन्। तर, कहिलेकाहीँ शुभखबरलाई शुभ नै मान्नुपर्ने हुन्छ। यतिञ्जेलसम्म उजाड रहेको यो वर्षमा गएको साता युक्रेनी सेनाले प्राप्त गरेको विजय निश्चय नै शुभखबर हो।
(फाइनान्सियल टाइम्सबाट)
Shares
प्रतिक्रिया