कवि टीएस इलियटले लेखेका छन्, ‘अन्त्य त्यहीँ हुन्छ, जहाँबाट हामी सुरु गर्छौँ।’ यो साता म अमेरिका छाडेर नयाँ यात्रा सुरु गर्न जानै लाग्दा यो देशमा मैले बिताएको समयका स्मरणीय दृश्यहरु मेरो मनमा झुल्किरहेका छन्।
मैले अमेरिकाका २२ राज्यहरु भ्रमण गरेँ र वासिङ्टन डीसीमा बसेर मैले जे जानेको थिएँ, त्योभन्दा फरक देश फेला पारेँ। वसन्तमा मैले आयोवास्थित किम्बर्ली फार्म भ्रमण गरेँ। जुन स्थान राष्ट्रपति सी चिनफिङले २०१२ मा भ्रमण गर्नुभएको थियो। मैले जोन डिअर ट्रयाक्टर चलाउने प्रयास गरेँ, स्थानीय उत्पादन चाखेँ। हिउँदमा मैले मिजोरीमा मकै र भटमास खेती भ्रमण गरेँ। अमेरिकीहरुको विनम्रता र आतिथ्यबाट म गहिरोगरी प्रभावित भएँ।
चिनियाँ र अमेरिकी कृषि सहकार्यले दुवै देशलाई कसरी फाइदा पुगेको छ भनेर मैले आफ्नै आँखाले देखेँ। त्यसले विश्वभरको खाद्यान्न आपूर्ति तथा जलवायु परिवर्तनविरुद्धको लडाइँमा योगदान पुर्याएको छ। मिनियापलिसमा चिनियाँ भाषा स्कुलको एउटा कक्षामा मैले केटाकेटीलाई पढाएँ। त्यहाँका एक विद्यार्थीले भर्खरै चिनियाँ भाषा प्रतिस्पर्धा जितेका थिए।
मैले ओहायो र क्यालिफोर्नियामा चिनियाँहरुको स्वामित्वमा रहेको कारखाना पनि भ्रमण गरेँ। अमेरिकी कामदारहरुले बताएअनुसार चिनियाँ लगानीले उनीहरुलाई गुजारा टार्न सघाएको छ। बोस्टन र लङ बिचका बन्दरगाहहरुमा मैले चीनबाट जहाजमा हालेर ल्याइएका र चीन लैजान लागिएका कन्टेनरहरुको खात देखेँ। जुन यी दुई मुलुकबीचको आर्थिक अन्तर्निर्भरताको प्रमाण हो। र, आर्थिक सम्बन्ध टुटाउँदा कुनै पनि पक्षको हित हुँदैन भनेर याद दिलाउने स्मारक पनि हो।
नान्चिङ र सेन्ट लुइबीच सिस्टर सिटी सम्बन्ध स्थापना भएको ४३ औँ वर्षगाँठको अवसरमा म सेन्ट लुइस्थित बुस रंगशालामा आयोजित बेसबल खेलमा सहभागी भएँ। चीनबाट जायन्ट पान्डा अमेरिका आइपुगेको ५० औँ वर्षगाँठ मैले अमेरिकी साथीहरुसँग मनाएँ।
मेरा लागि यी क्षणहरु यो मुलुकमा हुँदाको महत्वपूर्ण स्मृतिहरु हुन्। तिनलाई म आफ्नो मुटुमा सँगालेर राख्नेछु। अमेरिकामा भएको मेरो पोस्टिङले एक कूटनीतिज्ञका रुपमा मलाई अन्त्यन्त ठूलो शक्ति प्रदान गर्नेछ। आगामी दिनमा चीन–अमेरिका सम्बन्ध विकास मेरो नयाँ पदको एक महत्वपूर्ण मिसन कायम रहनेछ।
चीन–अमेरिका सम्बन्ध एकदम कठिन र जटिल विन्दुमा पुगेको बेला म अमेरिकाका लागि राजदूत भएँ। त्यसबेला लगभग सबै संवाद र आदानप्रदानको संयन्त्र बन्द थियो। चिनियाँ उद्यमहरुलाई अन्यायपूर्ण तरिकाले प्रतिबन्ध लगाइएको थियो। महामारीका कारणले समेत गर्दा जनस्तरको आदानप्रदान नराम्ररी प्रभावित बनेको थियो। चीनलाई प्रायः अमेरिकाको ‘सबैभन्दा गम्भीर प्रतिस्पर्धी’ भन्ने गरिन्थ्यो।
राजदूतका रुपमा मैले अनेक क्षेत्रमा आदानप्रदान र सहकार्य बढाउने तथा चीन–अमेरिका सम्बन्धको स्थायित्व, सुधार र विकासलाई आफ्नो मिसन बनाएँ। सम्बन्ध सुधारका लागि दुवै पक्षले काम गर्न जरुरी हुन्छ। मैले खुला संवाद गरेँ र अमेरिकी सरकारका अधिकारीहरुसँग राम्रो सम्बन्ध कायम गरेँ। ताकि ताइवान प्रश्नलगायत जटिल विषयलाई राम्ररी सम्हाल्न सकियोस् र महत्वपूर्ण क्षेत्रमा सहकार्यलाई अगाडि बढाउन सकियोस्।
कंग्रेसका ८० भन्दा बढी सदस्यसँग मैले भेट गरेँ। जसमा केही चीनप्रति एकदम उग्र विचार राख्नेहरु पनि थिए। मैले उनीहरुलाई चीनको अडान र चासो सुनाएँ भने उनीहरुको पनि चासो र चिन्ता सुनेँ। द्विपक्षीय सम्बन्धमा बलियो, अनुमेय र रचनात्मक फ्रेमवर्क कसरी निर्माण गर्ने भन्नेबारे मैले थिंक ट्यांकहरुसँग विमर्श गरेँ।
चीनको बजारप्रति व्यापारिक समुदायको विश्वास र सहकार्यलाई निरन्तरता दिने सो समुदायको बलियो इच्छाले मलाई उत्प्रेरित गर्यो। मैले थुप्रै अमेरिकी विश्वविद्यालयहरु भ्रमण गरेँ र महामारीका कारण चीन जानबाट रोकिएका अमेरिकी विद्यार्थीहरुलाई चिनियाँ क्याम्पसहरुमा फर्किन सहयोग गरेँ। अमेरिकी सञ्चारमाध्यमसँग मैले थुप्रै अन्तर्वार्ता गरेँ। हो, हामी सधैँ एकअर्कासँग सहमत भएनौँ। तर, चिनियाँ धारणा सुन्न उनीहरु सधैँ तयार थिए। जसको मैले सराहाना गरेँ।
अमेरिका छाड्दै गर्दा चीन–अमेरिका सम्बन्धको ढोका खुला रहनेछ र त्यसलाई बन्द गर्न सकिँदैन भन्नेमा म अझ धेरै विश्वस्त छु। अमेरिकीहरु चिनियाँ जनताजस्तै उदार मन भएका, मित्रवत् र मेहनती छन् भन्नेमा म अझ धेरै विश्वस्त छु। दुवै देशका हाम्रा जनता, साँच्चै भन्ने हो भने समग्र पृथ्वीको भविष्य चीन–अमेरिकाबीचको स्वस्थ र स्थिर सम्बन्धमा निर्भर छ।
मैले यहाँ बिताएको समयले मलाई के पनि याद दिलाउँछ भने चीन–अमेरिका सम्बन्ध ‘जिरो सम गेम’ बन्नु हुँदैन। जसमा एक पक्षले जित्दा अर्को पक्ष हार्छ वा एक देशको उन्नति हुँदा अर्को देश नासिन्छ। यो संसार फराकिलो छ, जहाँ चीन र अमेरिका दुवै विकसित र समृद्ध बन्न सक्छन्।
हाम्रा दुई मुलुकको सफलता भनेको साझा अवसर हो। नकि जित्नेले सबै हडप्ने चुनौती। हामीले पूर्वाग्रह वा गलत धारणालाई दुई महान् जनताबीच द्वन्द्व वा टकरावको आगो सल्काउने अनुमति दिनुहुँदैन। हाम्रा राष्ट्रपतिहरुले प्रदान गरेको रणनीतिक मार्गदर्शनलाई हामीले पालना गर्नुपर्छ र विश्वको भलाइका लागि एकअर्कासँग मिल्ने सही बाटो फेला पार्नुपर्छ।
यो काम अमेरिकीहरुले भन्ने गरेझैँ ‘पार्कमा डुलेजति सजिलो’ हुनेछैन। यसका लागि सबैले निरन्तर प्रयास गरिरहनुपर्छ। तथापि, हामीले जे सुरु गरेका छौँ, त्यो अत्यावश्यक र सार्थक छ भन्ने इतिहासले प्रमाणित गर्नेछ।
म चीन फर्किंदा यी सबै स्मृतिहरुलाई सँगै लिएर जानेछु। कवि इलियटले यो पनि लेखेका छन्, ‘अन्त्य गर्नु भनेको सुरुवात गर्नु हो।’ मलाई विश्वास छ, हाम्रा दुई मुलुकबीचको सम्बन्धले त्यही बाटो पछ्याउनेछ।
(द वासिङ्टन पोस्टबाट। अमेरिकाका लागि चिनियाँ राजदूत छिन काङ गत हप्ता चीनको विदेशमन्त्री नियुक्त भएका छन्)
प्रतिक्रिया