ad ad

विचार


‘भावनाको खेती’ का ‘मास्टरमाइन्ड’, जो जवाफ दिने ठाउँमा पुग्दा अत्तालिए

‘भावनाको खेती’ का ‘मास्टरमाइन्ड’, जो जवाफ दिने ठाउँमा पुग्दा अत्तालिए

जेवी पुन मगर
माघ २६, २०७९ बिहिबार १५:२८, काठमाडौँ

अहिलेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००२ मा गुजरातका मुख्यमन्त्री थिए, जतिबेला धार्मिक आस्थाकै कारण त्यहाँ ३ हजारभन्दा बढी मान्छेको संहार भएको थियो। कोहीलाई हिन्दु भएकै कारण चलिरहेको रेलको डिम्बाभित्र जलाएर मारिएको थियो भने त्यसको बदला लिन गरिएको हिंस्रक आक्रमणमा परी सयौँ मुसलमानलाई लखेटीलखेटी हत्या गरिएको थियो। भीड कति उन्मादी थियो भने कयौँ मुसलमान महिलालाई सार्वजनिक थलोमा बलात्कार गर्दै मारिएको थियो। नृसंशताको हद पार गरिएको त्यो उन्मादमा बालबालिकादेखि महिला, वृद्ध र अपांग कोही बाँकी बचेका थिएनन्। राज्यले ‘हिन्दु–मुस्लिम दंगा’ नाम दिएको त्यो दुर्दान्त घटनालाई समेटेर बीबीसीद्वारा २० वर्षपछि बनाइएको वृत्तचित्रमा त्यस घटनालाई ‘राज्यदरा संरक्षित नियोजित जातीय नरसंहार‘ को रुपमा चित्रण गरिएको छ। दुई भागमा बाँडिएको ‘इन्डिया : द मोदी क्वेस्चन’ नामक उक्त वृत्तचित्रमा तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीलाई मुख्य खलपात्रको रुपमा प्रस्तुत गरिएको छ। 

दुई साताअघि रिलिज गरिएको उक्त वृत्तचित्र भारत सरकारको निर्देशनमा पहिला युट्युब र पछि ट्विटरबाट समेत हटाउन लगाइसकिएको छ। भारतीय विदेश मन्त्रालयले ‘एउटा खास भाष्य स्थापित गर्न बनाइएको प्रोपोगान्डा’ भनी आरोपित गरेको सो वृत्तचित्रलाई ‘औपनिवेशिक मानसिकताबाट निर्मित झुठा कथावाचन’ भनी खण्डन गरेको छ। र, भारतमा यसको प्रसारणमा रोक लगाइएको छ। वृत्तचित्रमा ‘गुजरात नरसंहार‘ मा मोदीको संलग्नतालाई लिएर गरिएको बीबीसीका पत्रकारको ठाडो प्रश्नबाट क्रुद्ध मुख्यमन्त्री मोदीलाई उनको राजकाजमाथिको चुस्त व्यवस्थापन सम्बन्धि प्रश्न पनि सोधिन्छ। पत्रकारको जवाफमा मोदी भन्छन्, ‘एउटा क्षेत्र छ मिडिया, जसलाई कसरी व्यवस्थापन गर्ने भन्ने ठूलो टाउको दुखाइ छ।’

२० वर्षअघिको गुजरातको त्यो मुख्यमन्त्री र अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीको राजकाज व्यवस्थापनलाई तुलना गरी अध्ययन गर्नेहरुले के निष्कर्ष निकालेका छन् भने मोदीको उदयको पछाडि उन्मादी हिन्दुत्व वैचारिकीको जगमा जन्मिएको ‘गुजरात नरसंहार‘ को ठूलो भूमिका छ। तिनको विश्लेषण छ, मोदी (हिन्दु भर्सेस मुस्लिम) घृणाको राजनीतिबाट उदाएका यस्ता वाकपटु पात्र हुन्, जसले भारतलाई आस्थाको आधारमा बाँडिदिएका छन्। आस्था भावनासँग जोडिएको हुन्छ। मगजले भन्दा भावनाले निर्दिष्ट हुने आस्थाले घृणा र अन्ततः कट्टरता जन्माउँछ। त्यो कट्टरता अन्धो हुन्छ। अन्धताले गुजरात नरसंहार जस्ता नृसंशता जन्माउँछ। विश्वकै ठूलो लोकतान्त्रिक देशको उपमा पाएको मोदीराज भारत अहिले त्यस्तै अन्धमार्गमा हिँडिरहेको छ, जहाँ लोकतन्त्रका आधारभूत स्तम्भ नै हल्लिन थालेको विश्वास गरिन्छ।

धार्मिक र सांस्कृतिक आस्थालाई राजनीतिक अस्त्र बनाई भारतमा राज गरिरहेका मोदीले सुरुमा गुजरातमा चीनबाट विकास मोडल आयात गरी सबैको ध्यान तान्ने प्रयत्न गरे, जसलाई त्यतिबेला गुजरात मोडल नामाकरण गरियो। त्यो मोडलले आर्थिक समृद्धिका नारा लगायो। गाँस, बास, कपासको आश्वासन दियो। गुजरातमा मोदीले चीनबाट विकास मोडल मात्र आयात गरेनन्, उनले ‘एकदलीय चिन्तन’ पनि सँगै बोकी ल्याए, जसको बलमा अहिलेको मोदीराज चलिरहेको विश्वास गरिन्छ। बीबीसीकै वृत्तचित्रमा भनिएझैँ सुरुमा बहुसंख्यक हिन्दुहरुको भावना भजाएर गुजरातको राजकाज व्यवस्थापनमा कौशल देखाएका मोदी कालान्तरमा त्यही सूत्र प्रयोग गरी केन्द्रीय सत्ता पनि हत्याउन सफल भए। 

सत्ता सारथीको रुपमा चुस्त व्यवस्थापनमा पोख्त कट्टर हिन्दुत्ववादी संङ्गठन राष्ट्रिय स्वंयसेवक संघ (आरएसएस) को बलमा वाककलामा र कार्यशैलीले आक्रामक मोदी सन् २०१४ मा भारतको केन्द्रीय सत्तामा उक्लिए। त्यसपछि विस्तारै उनले बीबीसीकी पत्रकारलाई भनेझैँ आफूलाई ‘व्यवस्थापन गर्न गाह्रो’ भैरहेको प्रभावशाली मिडिया आउटलेटहरुलाई धमाधम व्यवस्थापन गर्न थाले। गुजरात नरसंहारको बलमा उदाएका मोदीलाई सञ्चारकर्मीहरुले बारम्बार त्यसको दोषीको रुपमा जनताको कठघरामा उभ्याइरहेका कारण उनी शक्तिशाली मिडिया हस्तक्षेपबाट निकै चिढिएका थिए। सत्तामा उक्लिएपछि मिडिया म्यानेजमेन्टका निम्ति मोदीले हिन्दुशास्त्रमा भेटिने ‘साम, दाम, दण्ड, भेद’ नीति अख्तियार गर्न थाले। उनले आफ्नो विकास मोडलबाट लाभान्वित मुकेश अम्बानी र गौतम अदानीजस्ता उद्यमीहरु मार्फत मिडिया उद्योग नै खरिद गर्न थाले। त्यहाँ काम गरिरहेका व्यावसायिक सञ्चारकर्मीहरुलाई किनाराकृत गर्न थाले। अटेरीहरुलाई राज्यसंयन्त्र प्रयोग गरी मुद्दामामिलामा फसाइदिन थाले।

त्यसको योगफल हाम्रो सामु छ– अहिले भारतीय मूलधारका मिडिया उद्योग सबै राज्यको गौरवगाथा गाउँदै बसिरहेको छ भने स्वतन्त्ररुपमा काम गरिरहेका खोज पत्रकारहरुको अवस्था दिनप्रतिदिन डरलाग्दो हुँदै गइरहेको छ। केही वर्ष अगाडिसम्म स्वतन्त्र मिडियाको रोलमोडल मानिएको भारतीय मिडियाको अहिलेको अवस्था कारुणिक रहेको रिपोर्टस विदआउट बोडर्सको ‘विश्व प्रेस स्वतन्त्रता सूचकांक–२०२२‘ ले नै प्रष्ट देखाउँदछ। संस्थाले विश्वका एक सय ८० वटा देशमा प्रेस स्वतन्त्रता सम्बन्धी गरेको अध्ययनमा भारत एक सय पचासौं नम्बरमा दरिएको छ।

यसरी लोकतन्त्रको स्तम्भ मानिएको मिडिया उद्योगलाई सूक्ष्म व्यवस्थापनमा लगेर ‘ल्यापडग’ (भारतमा गोदी मिडिया भनिने गरिन्छ) मा परिणत गरिदिएका मोदीले उनलाई निकै आकर्षित गर्ने चिनियाँ मोडलको केन्द्रीकृत र एकदलीय शासन व्यवस्थाको ‘ब्रान्ड एम्बासडर‘ को रुपमा आफूलाई निर्धक्क अगाडि सारेर राजकाज सञ्चालन गरिरहेका छन्।

मोदीसँग सिधा कुरा
गएको संघीय चुनावबाट राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी भूमिकामा देखिन आइपुगेका थिए राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने। तर, नागरिकता प्रकरणमा अदालतबाट दोषी ठहर भएपछि उनको गृहमन्त्री र सांसद पद खुस्कियो। लामिछानेले २२ माघमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनै नरेन्द्र मोदीलाई अंग्रेजी र हिन्दीभाषाबाट सम्बोधन गर्दै भने– ‘मोदीजी जसले तपाईंको नाममा यहाँ लुटिरहेका छन्, तिनले नेपाल र भारतको सम्बन्ध अगाडि बढाउने सोचिरहेका छैनन्। तपाईंलाई लागिरहेको होला, हाम्रो सम्बन्ध निकै उचाइमा पुगेको छ, यी भन्ने कुरा मात्र हुन। जसले दलाल बनेर काम गरिरहेका छन उनीहरुलाई विश्वास नगर्नाेस्। यो भारतीय लाइन हो भन्दै तिनले गरिरहेको धन्दा बन्द गरिदिनोस्। यदि साँच्चिकै दुई देशबीचको सम्बन्ध सुधार्नु छ भने पत्रकार र प्रकाशकलाई दलालको रुपमा नपठाउनोस्। सिधै कुरा गर्नाेस्।’

एमालेका केही शीर्ष नेता र रविलाई के लागेको छ भने निर्वाचन परिणामलगत्तै एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबैलाई चकित पार्दै लामिछानेलाई महत्वपूर्ण जिम्मेवारी सहित अगाडि सारेर काङ्ग्रेस–माओवादी गठबन्धन भताभुङ्ग पारी ‘वाम–गठबन्धन’ बनाएदेखि नै भारतीय संस्थापन पक्ष ओलीसँग क्रुद्ध छ। र, जसरी हुन्छ, ऊ वाम–गठबन्धन भत्काउन प्रयत्नशील छ। भारत–अमेरिकी स्वार्थमा बनाइएको ‘लोकतान्त्रिक–वाम गठबन्धन’ देउवाको पदलोलुपताका कारण चिनियाँ पोल्टामा गई वाम–गठबन्धन बन्न पुगेकोले भारतीय संस्थापन पक्षले ओलीको वायुपङ्खी घोडा रविमाथि नै आक्रमण गरी ओलीको वेग रोक्न खोजेको तिनको बुझाइ छ। त्यसैले रविले मोदीलाई ‘दलाल मार्फत नभई सिधै कुरा गर‘ भनि अनुनय गरेका हुन्। उनले कुरा नचपाई मोदीलाई विश्वास दिलाउन खोजेका छन्– ‘तिमीले विश्वास गरेका पत्रकार र प्रकाशकभन्दा म विश्वासिलो छु, म (हामी) सँग कुरा गर।’ 

रास्वपाका सभापतिको हैसियतले दर्जनौँ मिडियाका अगाडि बसेर लामिछानेले धाराप्रवाह रुपमा दिएको डेढ घण्टा लामो गालीगलौजको केन्द्रबिन्दुमा थियो सञ्चारमाध्यम र त्यसका प्रकाशक अनि सम्पादकहरु, जसलाई उनले १२ भाइ नामाकरण गरेका छन्। उनी ‘आफूजस्तो इमान्दार र केही गरौँ भनी अमेरिकी नागरिकता त्यागी जन्मभूमि फर्किएको नागरिक विरुद्ध ठूला मिडिया हाउसका प्रमुखहरुले नियोजित रुपमा कपोलकल्पित सामग्री उत्पादन गर्दै खेदिरहेको’ आरोप लगाउँदै उनीहरुविरुद्ध व्यक्तिगत आक्षेप सहित गालीगलौजमा उत्रिन पुगे।

सञ्चारकर्मबाटै ‘सेलेब्रिटी’ हुँदै राजनीतिक रुपमा जनमत बलियो बनाएका लामिछाने सञ्चारमाध्यम र त्यसका कर्मीहरुप्रति कति असहिष्णु देखिए भने उनी केही सञ्चारकर्मी विरुद्ध व्यक्तिगत आक्षेप लगाउँदै सार्वजनिक थलोमै ‘तँ तँ र म म’ मा झर्न पुगे। विश्वभरका नेपालीले प्रत्यक्ष प्रसारणमार्फत सुनिरहेका/हेरिरहेका लामिछानेको त्यो प्रस्तुति विक्षिप्तताको तहसम्म झरेको देखिन्थ्यो। रविले डेढ घण्टाको पूरै समय मिडिया हाउस र सञ्चारकर्मीमाथि खर्चेको देख्दा उनको पत्रकार सम्मेलन नेपाली मिडियाकर्मीहरुलाई सत्तोसराप गर्न आयोजना गरिएको प्रष्टै बुझ्न सकिन्थ्यो। छोटो समयमै चामत्कारिक रुपमा रविले आर्जन गरेको उपप्रधानमन्त्री, गृहमन्त्री, सांसद र अध्यक्ष पदको उचाइ रातारात शून्यमा झरेपछि उनी मिडियामाथि खनिएका थिए। कार्यक्रममा उनी स्वंयले स्विकारेका छन्, ‘सबै पद गुमेपछि कम्ता रिस उठ्दैन र!’ 

सञ्चारकर्मबाटै शक्ति आर्जन गरेका रविलाई जति मिडियाको शक्ति अरु कसलाई थाहा होला र? त्यही शक्तिकै बलमा पहिला प्रश्न गर्ने ठाउँमा रहेका रवि अहिले जवाफ दिने ठाउँमा पुगेका हुन्। पत्रकारिताका आधारभूत चरित्र पढाउन अग्रसर हुने रविले बुझेका छन्, सही प्रश्न सोध्न सजिलो छैन तर त्यो भन्दा पनि दुरुह सम्यक प्रश्नको जवाफ फर्काउनुमा छ। रवि फेरिएको यो भूमिकासँगै सञ्चारकर्मीका कारण आफू ‘चक्रव्यूहमा परेको’ निष्कर्ष लगत्तै तारन्तार आफ्ना पूर्व सहयात्रीहरुमाथि विषवमन गर्ने निष्कर्षमा पुगेको देखिन्छ। यो कमोवेश रविले विश्वास गर्ने विचारधाराका अग्ला प्रतिमान नरेन्द्र मोदीले २० वर्षअघि र मोदीका नेपाली रुपान्तरण जस्ता देखिने ओलीले संसद् विघटनताका भोगेको माथि चर्चा गरिएको ‘अप्ठेरो’सँग ठ्याक्क मिल्न आउँछ, जसलाई मोदीले चतुर्याइँपूर्वक व्यवस्थापन गरे र न्वारान गरिएको ‘गोदी मिडिया’को बुइ चढेर ‘विश्वगुरु’ को शयरमा निस्किए। अर्कोतिर मिडियाकैसमेत कारण ओली सत्ताच्यूत हुन पुगे। ओलीझैँ रवि पनि मिडिया व्यवस्थापनमा कौशल प्रदर्शन गर्न नसकेपछि आफैँले चढेको सञ्चारमाध्यमरुपी सिँढी भत्काउँदै अगाडि बढ्न खोजेको देखिन्छ। त्यसका निम्ति उनी निम्नस्तरको हदसम्म ओर्लन हिच्किचाएका छैनन्। कम्तीमा पत्रकार सम्मेलनमा देखिएको रविको प्रस्तुतिले त्यस्तै देखाउँछ।

ओली क्लबका प्रवक्ता
एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग रविको सम्बन्ध संघीय निर्वाचनले मात्र गाढा बनाएको होइन। नेपाल फिर्तीपछि रविको करिअर उकास्न तत्कालीन प्रधानमन्त्री ओलीले उनलाई निकै ठूलो सहयोग गरेका थिए। ओलीको सहयोगमा रविले नेपाल टेलिभिजनमा सञ्चालन गरेको प्रायोजित कार्यक्रम ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ ले उनको करिअरलाई एउटा उचाइ दिएको थियो। पछि ओली र रविबीचको सम्बन्धमा आएको बिगारका कारण उनी उक्त कार्यक्रमबाट बाहिरिएर ‘सिधा कुरा जनतासँग’ चलाउन थाले, जसले उनलाई जनतामाझ निकै चर्चित बनाइदियो। आज उनी जे छन् त्यही कार्यक्रमको बलमा स्थापित भएका हुन्। तर त्यसरी सञ्चारकर्मबाटै शक्ति आर्जन गरेका रवि राजनीतिक स्वरुपमा रुपान्तरण हुनासाथ किन मिडियामाथि आक्रामक रुपमा जाइलागेका होलान्? यसको जवाफ मैले माथि उदृत गरेको भारतीय राजनीतिका एउटा सशक्त पात्रको वैचारिकीभित्र लुकेको छ, जसलाई रविका पछाडि संरक्षकको रुपमा उभिएका नेपाली राजनीतिका बलशाली पात्र ओलीले नेपाली सन्दर्भमा भावानुवाद गर्ने प्रयत्न गर्दै आइरहेका छन्। 

राम्ररी अध्ययन गर्ने हो भने मोदीको कार्यशैली र ओलीको राजकाज सञ्चालन विधिमा धेरै समानता भेटिन्छ, त्यसमध्ये प्रमुख हो व्यक्ति शक्तिशाली बनाउने शक्ति केन्द्रीकरणको विद्रुप अभ्यास, जसका कारण हामीले धेरै ठूलो मूल्य चुकाउनुपरेको धेरै भएको छैन। त्यति मात्र नभई बहुसंख्यक जनताको भावना भजाउन जसरी मोदीराजमा घृणाको राजनीति मार्फत आस्थावानहरुको उन्मादी जमात तयार पारिएको छ, हाम्रोमा पनि एक समय राष्ट्रवादको नाममा ओलीको अगुवाइमा त्यस्तै अभ्यास सफल पार्ने प्रयत्न गरिँदा मधेशमा चार दर्जनभन्दा बढी मान्छेको अनाहकमा ज्यान गएको छ। यस्तो उन्मादी राष्ट्रवादको शिक्षा हामीलाई मोदीराजबाट प्राप्त भएको थियो। ओलीको यस्तो वैचारिकीलाई रविले नयाँ कलेवरमा हाम्रो सामु ल्याइदिएका मात्र हुन्।

त्यतिबेला गरिएको राष्ट्रवादको यस्तो डरलाग्दो अभ्यास लगत्तै देशमा फेरि अर्काे घृणाको राजनीति फैलाउन खोजिँदैछ, जसले भारतीय समाजलाई तहसनहस बनाउँदै लगिरहेको छ। माथि उल्लेख गरिएझैँ भारतमा सत्ता सञ्चालन गरिरहेको मोदीराजका राजनीतिक संयन्त्रहरुले बहुसंख्यक हिन्दुहरुलाई ‘हिन्दुत्व राजनीति’को साँचोमा ढाल्न जसरी ‘मुसलमान आतंकवादी तथा अराष्ट्रिय तत्व हुन्, नक्सल आन्दोलनमा संलग्न दलित र आदिवासी समाज र देशका शत्रु हुन्’ भन्ने संगठित भाष्य निर्माण गर्ने काम गर्यो, त्यसलाई बहुसांस्कृतिक नेपाली समाजमा पनि भावानुवाद गर्ने धृष्टता गरिँदैछ। यस्तो घृणाको राजनीतिको नेतृत्व लिन पछिल्लो समय चलिरहेको एक खालको दौडमा ओली क्लबमा प्रचण्ड र रवि लामिछाने पनि समाहित हुन आइपुगेका छन्। 

तपाईंले सूक्ष्म रुपमा हेर्नुभयो भने ओलीले परिकल्पना गरेको नेपाली संस्करणको राष्ट्रवादको साँचोभित्र हिजोका ‘क्रान्तिकारी’ नेता पुष्पकमल दाहाल प्रचण्ड एउटा छोउमा उभिएर हिजो आफैँले घृणा गर्न सिकाएको दौरा सुरुवाल र पृथ्वीनारायण शाहको महिमागान गाइरहेका देखिन्छन् भने अर्काे किनारमा रवि लामिछाने हिन्दुत्वको घण्टी हल्लाउँदै चिच्याइरहेको देख्न सकिन्छ। यो मिलाप संयोग र आकस्मिक होइन, विचारको नियोजित संगम हो। तपाईं पुराना दलले ‘केही लछारपटार गरेनन्, हामी नयाँ पुस्ताले गरेर देखाइदिन्छौँ’ भन्दै राजनीतिमा हामफालेका रविको नेतृत्वको पार्टीभित्रको धुरी संरचना हेर्नाेस्, उसले सरकारमा पठाएका मान्छेका अनुहार र पृष्ठभूमि खोतल्नोस, उसले बनाएको सांगठनिक संरचनाको खाकाभित्र छिर्नाेस्, त्यहाँभित्र हामीले तिरस्कार गरेर मिल्काएको तन्त्रभन्दा पनि बेसी असमावेसी र असहिष्णु अभ्यास ढलिमली गरेको पाउनुहुनेछ। 

यो व्यवहारतः हाम्रो संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधानले परिकल्पना गरेको समावेशी समानुपातिक सिद्धान्तको ठिक उल्टो अभ्यास हो। आरक्षण अर्थात् सकारात्मक विभेदको ठाडो बर्खिलाफ हो। एकथरी बुझक्कडहरुलाई अगाडि सारी हिजोसम्म संघीय राज्यव्यवस्था विरुद्धको ‘क्याम्पेन’ अन्तर्गत ‘प्रदेश सभाले काम गर्न सकेन। यो भ्रष्टाचारको अखडा भयो। निकै खर्चिलो भयो। त्यसैले संघीयता खारेज गरौँ’ भन्दै उफ्रिरहेकाहरुलाई काँध थाप्न आइपुगेका रवि र उनको पार्टीले प्रारम्भदेखि नै जनताको आवाजको नाममा संघीयता विरुद्ध विषवमन गर्दै हिँडिरहेको छ। जसरी ओलीले बेलाबखत संघीयता विरुद्ध अभिमत दिँदै आइरहेका छन्। लामिछानेले आवरणमा जति नै लोकतान्त्रिक र संविधान पालकको रुपमा आफूलाई प्रस्तुत गरे पनि उनको व्यवहार देशले लामो संघर्ष गरेर ल्याएको व्यवस्थाले परिकल्पना गरेको मार्गभन्दा ठिक उल्टो दिशातर्फ मोडिएको छ। रविलाई काँधमा बोक्ने शिक्षित र मध्यमवर्गीय शिक्षितहरुको वैचारिक धार पढ्नु भयो भने उनले के र कस्तो व्यवस्थाको वकालत गरिरहेका छन्, प्रष्ट देखिन्छ।

मोदीले भारतमा लोकतन्त्रको स्तम्भ मानिएको मिडिया शक्तिलाई भुत्ते बनाई अभ्यास गरिरहेको एकदलीय स्वेच्छाचारितामा भइरहेका बेथिति विरुद्ध बोल्दा आतंककारीको बिल्ला भिराइन्छ, शस्त्रधारी कम्युनिस्ट भइन्छ, अराष्ट्रिय तत्व भनी ट्रोल गरिन्छ। यतिको राज्य सेन्सरसिपका बाबजुद लोकतन्त्रका धरोहर जोगाउन ज्यान हत्केलामा राखेर वैकल्पिक मिडियामार्फत तथ्य उजागर गरिरहेका सञ्चारकर्मीहरुका रिपोर्टले भन्छ– कस्मिरका जनता राज्य आतंकद्वारा बोल्नबाट वञ्चित पारिएका छन। अस्तित्व मेटाउन लागेको भन्दै लद्दाखका जनता सरकार विरुद्ध अनसन बस्न बाध्य छन्। किसान आत्महत्या गर्न अभिशप्त छन। न्यायालय मरेतुल्य बनाइएको छ। गरिबीको ग्राफले उचाइ छुँदो छ तर महाजनहरुको प्रगति विवरणले रेकर्ड ब्रेक गर्दैछ। यी सब तथ्य बाहिर ल्याउनुपर्ने भारतीय मूलधारका सञ्चारमाध्यम हिन्दु मुस्लिम र राष्ट्रवादी बहसमा मुद्दा विषयान्तर गर्दै लोकलाई उल्लु बनाउने उद्यम गरी बसिरहेका आरोप लगाइन्छ। 

रविहरु पनि नेपालमा ०४६ सालपछि बलियो हुँदै गइरहेको मिडिया संरचना भारतको जस्तै पंगु भएको हेर्न चाहन्छन्। उनले गरेको नयाँ केही होइन। अहिले विश्व राजनीतिक परिदृश्यमा उदय भइरहेको ‘एकदलीय र अधिनायकवादी’ वाकपटु नेताहरुले सुरुमा आफ्नो मार्गमा अवरोध ठान्ने मिडिया भुत्ते बनाउन र सञ्चारकर्मीको मुख थुन्ने प्रयत्न गर्दै आइरहेको प्रवृत्ति बुझ्नेले यो तथ्य राम्ररी मनन गरिरहेकै होलान्। सञ्चारकर्मीले गर्ने प्रश्नले अधिनायकवादी नेताको मनोमानीमा लगाम लगाउने हुँदा तिनले सञ्चारकर्मीहरुमाथि आक्रमण गर्नुलाई नै आधारभूत योग्यता मान्छन्। 

हाम्रोमा पनि संघीयता, समावेशिता, धर्मनिरपेक्षता र गणतन्त्र खारेज गरी केन्द्रीकृत शासन व्यवस्था ल्याउन बनाइएको संगठित क्लबका अध्यक्ष ओलीले यसअघि छुच्चो मुखले सञ्चारकर्मीप्रति कटाक्ष गर्दै आइरहेकै हुन्। अहिले उनका क्लबका प्रवक्ता रविले त्यही सिको गर्दै तल्लोस्तरमा गिरेर सञ्चारकर्मीको विरोध गरेकोले त्यसको डिजिटल प्रभाव बेसी पर्न गएको हो। भावनाको खेतीका ‘मास्टरमाइन्ड’ रविलाई नेपाली समाजको मनोविज्ञान राम्ररी थाहा छ, त्यसैले रविले आफ्नो डेढ घण्टा लामो आक्रोशमा देशलाई यहाँसम्म ल्याइपुर्याउने दलका नेता र कर्मचारीतन्त्रमाथि एक शब्द खर्च नगरी तारन्तार मिडियामाथि आक्रमण गरेका हुन्। 

दक्षिणपन्थका हिमायती रविहरुको स्वतन्त्र मिडियामाथि संगठित प्रहार हामीले अभ्यास गरिरहेको लोकतन्त्रका निम्ति चुनौती मात्र नभई यो सञ्चारजगतका निम्ति आत्मसमीक्षा गर्ने एउटा गतिलो पाठ पनि हो। रविको उत्तेजनात्मक आक्रमणपछि मिडिया हाउस र सम्पादकहरुमाथि सामाजिक सञ्जालमा रविकै शैलीमा भइरहेका टिप्पणीले समाजको मनोविज्ञान धेरै हदसम्म बुझ्न सघाउँदछ। यस्तोबेला सञ्चारजगतले आवेगमा आइ उत्तेजनात्मक प्रतिक्रिया दिएर समाजमा आफ्नो छवि बिगार्न लाग्नु भन्दा सारगर्भित विमर्शको टेबलमा बसेर शान्त दिमागले उत्पन्न परिस्थतिको सामना गर्न तयार रहनु बुद्धिमता ठहर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .