ad ad

विचार


पोखराबाट सिधै भारत, चीन, मलेसिया, हङकङ, सिंगापुर उड्ने हो भने ...

पोखराबाट सिधै भारत, चीन, मलेसिया, हङकङ, सिंगापुर उड्ने हो भने ...

विश्वशंकर पालिखे
फागुन ६, २०७९ शनिबार १९:५, पोखरा

हामी यो धर्तीमा आएको एक–दुई वर्षमा वयस्क भएका थिएनौँ। वयस्क हुन लामो उतारचढाव, घामपानी र दुःख पार गर्नुपरेको थियो। मानव जीवनको यो सत्य अन्य क्षेत्रमा पनि लागू हुन्छ। म यहाँ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विषय उठान गर्न खोजिरहेको छु। 

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बनेको एकदुई सालमै आजको रुपमा परिणत भएको थिएन। कुनै बेला गौचरण भनिने विमानस्थल नै आजको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो। २०२७/०२८ सालतिर डकोटा विमान चढेर पोखराबाट काठमाडौं जानेमध्ये म पनि एक हुँ। त्यो बेला अन्तर्राष्ट्रिय विमान सञ्चालन भनेर भारतबाहेक अन्यत्र थिएन। अहिलेजस्तो ठूला जहाज पनि थिएनन्। तर, आज यसको रुप अन्तर्राष्ट्रिय छ। ठुल्ठूला जहाजहरु आउँछन्/जान्छन्। यो समयले ल्याएको परिवर्तन हो। एक वा दुई सालमा आएको विकास अवश्य पनि हैन।

हो, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन तपाईं–हामी सबैको ठूलो तपस्या र मेहनत परेको छ। हामीले देखेको सपना साकार होस्। अन्तर्राष्ट्रिय विमान आओस्/जाओस्, यो नै हाम्रो सपना हो। यो अपेक्षा राख्नु गलत अवश्य पनि होइन। यसको लक्ष्य नै अन्तर्राष्ट्रिय विमान सञ्चालन हो। तर, यसको सार्थकता कहिले? प्रश्न स्वाभाविक हो।

कुनै बेला नेपालमा वैकल्पिक विमानस्थल थिएन। जसका कारण मौसम बिग्रेको बेला या त्रिभुवन विमानस्थलमा केही प्राविधिक समस्या आइपरे विमानलाई कलकत्ता वा ढाका डाइभर्ट गर्नुपर्ने बाध्यता थियो/छँदैछ। म आफैँसँग पनि विदेशबाट आउँदा दुई–तीनपटक कलकत्ता बसेको अनुभव छ। केही वर्ष अगाडी टर्किस एयरको जहाज काठमाडौं विमानस्थलमा दुर्घटना हुँदा केही दिन हामी अन्तर्राष्ट्रिय जगतबाट टाढिनु पनि परेको थियो। 

नेपालको सन्दर्भमा प्राकृतिक वा अन्य कारणबाट त्रिभुवन विमानस्थल बन्द भएको विषम परिस्थितिमा मुलुक अन्तर्राष्ट्रिय जगतसँगको हवाई सम्पर्कबाट टाढा रहन्छ। यस्तो विषमतामा वैकल्पिक विमानस्थलको आवश्यकतालाई नकार्न सकिँदैन भन्ने मान्यतालाई मध्यनजर राखेर नै वैकल्पिक विमानस्थलको आवश्यकता महसुस भएको हो। यसरी हेर्दा, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बाध्यता र आवश्यकताको उपज हो भन्नु अन्यथा नहोला। 

हुन त भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि पोखरामा किन भन्ने प्रश्न नउठेको हैन। तर, यहाँ म के प्रष्ट पार्न चाहन्छु भने, भैरहवामा भन्दा पहिला पोखरामै अन्तर्राष्ट्रिय विमानस्थलको सम्भावना अध्ययन भएको हो। यसो भनिरहँदा गौतमबुद्धको जन्मस्थलमा विमानस्थल आवश्यक थियो। बनेको छ, राम्रै भएको छ। पोखरा र भैरहवा विमानस्थल निर्माणसँगै यसको दीगो र सफल संचालन कसरी गर्ने भन्ने अहिलेको मूल सवाल हो। 

यी दुईमध्ये कुन सफल हुने र कुन असफल हुने भन्ने प्रश्न गर्ने बेला यो हैन। भौतिक पूर्वाधार निर्माण राज्यको कर्तव्य र जिम्मेवारी हो। पूर्वाधार निर्माणमा नाफा–नोक्सानको हिसाब हुँदैन। सबै पूर्वाधारहरुले नाफा नै दिनुपर्छ भन्ने पनि छैन। मुख्य कुरा हो, योजनाले त्यस क्षेत्रको विकासमा के टेवा पुग्यो? जनताले कति लाभ लिन सके? भविष्यमा यसले कस्तो प्रभाव पार्छ? 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण चिनियाँ सहुलियतपूर्ण ऋण सहयोगबाट सम्भव भएको हो। यसमा २५ प्रतिशत बिनाब्याजी ऋण छ। जसलाई कूटनीतिक पहलकदमीमार्फत् अनुदानमा परिणत गर्न सकिने सम्भावनालाई नकार्न सकिँदैन। पहलकदमी चाहिँ हुनैपर्छ।  

अब रह्यो, यहाँबाट अन्तर्राष्ट्रिय विमान सञ्चालन कहिले भन्ने प्रश्न। नागरिक उड्डयन प्राधिकरण के गरिरहेछ? राज्यले भाषणबाहेक विमानस्थल सञ्चालनको लागि के गरेको छ? गण्डकी प्रदेशवासीका यी स्वाभाविक प्रश्नहरु हुन्। जिम्मेवार निकायले यसको जानकारी जनता जनार्दन लाई दिनैपर्छ। सकारात्मक प्रयास गर्नैपर्छ। आलोचनालाई सकारात्मक रुपमा ग्रहण गर्दै क्रमिक सुधार पनि गर्दै लैजानु पर्छ। 

पार्किङ चार्ज महँगो भयो, ट्याक्सी भाडा महँगो भयो। सडकको स्तर भएन। चराले दुःख दियो भन्ने समस्याको समाधानको जिम्मेवारी स्थानीय सरकारको हो। यो कार्यमा प्रदेश सरकारले पनि तदारुकता देखाउनुपर्यो। अन्तर्राष्ट्रिय उडानको सुनिश्चितता हुनुपर्यो।

गर्नुपर्ने अर्को काम 
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग २५ सय मिटर छ, जसमा बोइङ ७५७ र एयरबस ए ३१९/३२० क्याटगरीका जहाजहरु अवतरण गर्न सकिन्छ। जसलाई न्यारोबडी भनिन्छ। यस विमानस्थलबाट सजिलै भारत, बंगलादेश, चीन, पाकिस्तान, थाइल्यान्ड, मलेसिया, मध्यपूर्व, हङकङ, सिंगापुरसम्म हवाई सेवा सञ्चालन गर्न सकिन्छ।

तर, आजका दिनसम्म अन्तर्राष्ट्रिय जहाज हेर्न नपाउनुमा नेपाल उड्डयन प्राधिकरणको कमी–कमजोरी स्पष्ट देखिन्छ। समयमै यस विमानस्थलको प्रचार–प्रसार गरेको भए, नेपाल आउने अन्तर्राष्ट्रिय विमान सेवा प्रदायक कम्पनीहरुलाई प्रत्यक्ष रुपमा पोखरा आमन्त्रण गरी जानकारी उपलब्ध गराउन सकेको भए, मित्रराष्ट्रहरुसँग राज्यले पहलकदमी गरिदिएको भए, मित्रराष्ट्र भारतसँग समयमै वैकल्पिक हवाइमार्गको सुनिश्चितता गर्न सकेको भए गुनासाहरु आउने थिएनन्। 

संसारका ठुल्ठूला विमान कम्पनीहरु कोभिड १९ को कारण आज पनि समस्याग्रस्त छन्। आज हवाई भाडा अत्यधिक महँगो भएको छ। हवाई कम्पनीहरु नयाँ गन्तव्यमा उडान गर्ने स्थितिमै छैनन्। यस्तो विषम परिस्थितिमा हामीले वैकल्पिक उपाय पनि खोजखबर गर्नु पर्ला कि?

कुनै पनि नयाँ गन्तव्य होस् वा विमानस्थल, यसको सफलताका लागि निजी क्षेत्र, हवाई कम्पनी र राज्यबीचको सहकार्य अति आवश्यक हुन जान्छ। ‘जाऊँ है पोखरा’ अभियानको लामो समयको अनुभवले हामीलाई एउटा पाठ सिकाएको छ– भद्रपुर, विराटनगर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, धनगढीबाट गरिने सडक यात्रा समय र स्वभावको कारण कठिनाइपूर्ण छ। 

यी गन्तव्यहरुबाट पोखराको लागि हवाई सेवा सञ्चालन गर्ने, हवाई सेवा प्रदायक कम्पनीहरुले एक वर्षसम्म सहुलियतपूर्ण भाडा लागू गर्ने, राज्यले रि–फ्युलिङमा नाफा नखाने, पर्यटन व्यवसायीहरुले एक वर्षसम्म ती गन्तव्यबाट आएका पाहुनाहरुलाई विशेष छुट दिने र ती सहरका नजिकका भारतीय सहरहरु, सिक्किम, बंगलादेशमा एक वर्षे प्रचार अभियान चलाउने, राज्यले भारतीय पर्यटक र चिनियाँ पर्यटक आकर्षित गर्न क्यासिनोहरुको रोयल्टीमा सहुलियत दिने काम गरिनुपर्छ। 

कुनै नयाँ गन्तव्य होस वा विमानस्थल, यसको सफलताको लागि निजी क्षेत्र, हवाई कम्पनी र राज्यबीच सहकार्य गर्नु अति आवश्यक हुन जान्छ। सायद, यी क्रियाकलाप गर्न सकिए ‘चीनले मिटर ब्याजमा बनाइदिएको पोखरा विमानस्थलमा दिउँसो चरा र राति स्यालको रजाइँ’ जस्ता समाचार मिथ्या सावित् हुन्थे कि!

(पालिखे पोखरा उद्योग वाणिज्य संघ र पश्चिमाञ्चल होटल संघ पोखराका पूर्वअध्यक्ष तथा विकास अभियन्ता हुन्) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .