ad ad

विचार


२०० वर्षअघिको हैसियतमा फर्किँदै एसिया, शक्ति गुमाउँदै पश्चिम

२०० वर्षअघिको हैसियतमा फर्किँदै एसिया, शक्ति गुमाउँदै पश्चिम

मार्टिन वुल्फ
जेठ २६, २०८० शुक्रबार ९:१८,

सम्मानित विश्लेषक पराग खन्नाको तर्क छ– भविष्य एसियाको हो। तर, यसको मिहिन विश्लेषण आवश्यक छ।

भौगोलिक हिसाबले एसिया युरोपभन्दा अलग छैन। ‘एसिया’ आफैँमा एसियाली अवधारणा होइन। यो त युरोपले आविष्कार गरिदिएको हो। एसियालीहरुले आफूलाई एउटै महादेशको अभिन्न हिस्साका रुपमा कल्पना गरेका होइनन्। त्यस्तो कल्पना सम्भव हुनका लागि यो क्षेत्र अति विशाल र विविध छ।

अहिले पनि अवस्था त्यस्तै छ। अहिले ऐतिहासिक सन्दर्भमा हेर्दा छोटो तर विश्वलाई बदलिदिने युरोप अनि यसका सन्ततिको प्रभुत्व क्षीण हुँदै जाँदा विश्वमा एकखालको पुनर्सन्तुलन भइरहेको छ। अहिलेको अवस्थालाई एउटा बहुध्रुवीय र लथालिंग विश्वले विस्थापित गर्नेछ। त्यो विश्वको ठूलो हिस्सा ‘एसिया’ ले ओगट्ला त? निश्चय नै ओगट्नेछ। चीन र भारत त्यसका खेलाडी हुनेछन्। तर, एसिया खेलाडीभन्दा पनि मैदान हुनेछ।

विश्वको मानचित्रमा हेर्नुहोस्। युरोप र एसिया एउटै महादेश हुन्। ऐतिहासिक र सांस्कृतिक कारणले उत्तरी अफ्रिकालाई पनि अफ्रिकाको साटो एसिया महादेशमा समावेश गराउनु उपयुक्त हुन्छ। त्यसो भएमा यो युरेसिया बन्न पुग्छ, जुन मानव सभ्यताहरुको महादेश हो। 

ऐतिहासिक रुपमा हेर्दा यो महादेश विविध सभ्यताहरुको घर थियो। पूर्वमा कन्फ्युसियन सभ्यता, दक्षिणमा हिन्दु सभ्यता, पश्चिमतिर इस्लामिक सभ्यता र सुदूरपूर्वमा क्रिस्चियन। उत्तरतिरको स्तेपीमा फिरन्तेहरु थिए। यी छिमेकीहरुबीचको अन्तर्क्रिया गज्जबको थियो। तर, अस्तित्वमा रहनका लागि वा एक महादेशका रुपमा सोचिन समेत युरेसिया अत्यधिक ठूलो थियो।

यो एक महादेशलाई दुई भागमा विभाजित गर्ने विचार ग्रिसेलीहरुले आविष्कार गरेको देखिन्छ। सर्वप्रथम एसियाको उल्लेख ४४० इसापूर्वमा ग्रिसेली इतिहासकार हेरोडोटसले गरेको पाइन्छ। त्यतिबेला उनले एसिया भनेको भूभाग कति विशाल होला भन्ने कसैलाई थाहा थिएन। 

बेलायती इतिहासकार जोन हेलका अनुसार पुनर्जागरण कालमा ‘युरोप’ नामले ‘इसाइ जगत’ नामलाई विस्थापित गरेको थियो। युरोपलाई अलग महादेशका रुपमा परिकल्पना गरेपछि पूर्वतिरको विस्तृत र विविध क्षेत्रलाई एसिया भनियो। 

तर, गएका केही शताब्दीमा भएका आर्थिक, प्राविधिक र सैन्य परिवर्तनले मात्रै युरोप र उसको उपनिवेशबाट जन्मेका मुलुकहरुको प्रभुत्व स्थापित भयो। युरोप र एसियाको विभाजनलाई सैन्य विजय र धनको स्वामित्वमा रहेको विशाल अन्तरले वास्तविक स्वरुप दियो।

दिवंगत एंगस म्याडिसनका अनुसार १८२० मा पश्चिम युरोपको प्रतिव्यक्ति जीडीपी पूर्वी एसियाको तुलनामा दोब्बरभन्दा बढी थियो। १९५० मा त्यो अन्तर बढेर साढे ६ गुणा पुगेको थियो। तर, २०१८ मा आइपुग्दा त्यो घटेर २.४ गुणा भएको छ। जुन करिब दुई शताब्दीअघिकै जत्तिको हो।

१८२० मा विश्वको समग्र उत्पादनको ६१ प्रतिशत हिस्सा एसियाले उत्पादन गर्थ्यो। जबकि पश्चिम युरोपले २५ प्रतिशत मात्र उत्पादन गर्थ्यो। १९५० मा आइपुग्दा एसियाको त्यो हिस्सा झरेर मात्र २० प्रतिशतमा खुम्चियो। जबकि पश्चिम युरोपको हिस्सा बढेर २६ प्रतिशत पुग्यो। २०१८ मा भने पश्चिम एसियाको हिस्सा पुनः १५ प्रतिशतमा झर्‍यो भने एसियाले आफ्नो हिस्सा बढाएर ४८ प्रतिशत पुर्‍यायो।

युरेसियाले धेरै हदसम्म पुनर्सन्तुलन कायम गरेको छ। उसोभए विश्वमा उसको हैसियत चाहिँ कस्तो छ त? गएका दुई शताब्दीमा एसियाको हैसियत खस्कियो। किनभने अमेरिकी महादेशहरुको उत्पादन र जनसंख्या अनि अफ्रिकाको दक्षिणी हिस्सामा पनि जनसंख्या बढ्न पुग्यो। तथापि, मानव सभ्यताको केन्द्र भने युरेसिया रहिरह्यो। २०१८ मा विश्वको समग्र जनसंख्यामा युरेसियाको हिस्सा ७२ प्रतिशत छ। १८२० मा यो हिस्सा ९१ प्रतिशत थियो। त्यसैगरी विश्व उत्पादनमा युरेसियाको हिस्सा ७० प्रतिशत छ। १८२० मा यो ९२ प्रतिशत थियो। घटेको हिस्सा अधिकांश उत्तर अमेरिका सरेको छ।

त्यसकारण मुख्य कथा एसियाको पुनरोत्थान हो। जसको नेतृत्व पूर्वी एसियाले गरेको छ। १९ औँ शताब्दी र २० औँ शताब्दीको सुरुवाती दशकहरुमा भएको आर्थिक पतनपछि एसियाको पुनरोदय भएको छ। यो प्रक्रियामा युरेसिया धेरै हदसम्म पुनर्सन्तुलित भएको छ। र, स्वाभाविक रुपले समग्र विश्वकै पुनर्सन्तुलन भएको छ। यो ‘महान समागम’ पनि कुनै ‘एसियाली’ संस्कृतिको कारण भएको होइन। एसियाका अलगअलग संस्कृतिहरु, खासगरी पूर्वी र दक्षिण एसियाली संस्कृतिले प्रतिस्पर्धात्मक बजार, स्वतन्त्र उद्यम, उदार व्यापार, शिक्षा र आर्थिक वृद्धिको लक्ष्यजस्ता युरोपेली भनिने अवधारणाहरुलाई अपनाएका छन्।

खास ठाउँहरु फरक छन्। त्यो खास समाजको इतिहास अनि राजनीतिक संस्कारमा निर्भर हुन्छ। उदाहरणका लागि चीन र भारत एकअर्काबाट असाधारण तरिकाले फरक छन्। तर, यी समाजका थुप्रैको चाहना एउटै छ, समृद्ध जीवन। तथापि, यो एसियाली संस्कृति मात्रै होइन। यो विश्वव्यापी हो। तर, अफसोसको कुरा, त्यो लक्ष्य सम्भव पार्ने गरी समाजलाई संगठित गर्ने क्षमता भने यी समाजमा कम छ।  तर, पछिल्ला केही दशकमा एसियाली समाजहरु, खासगरी पूर्वी एसिया यो मामिलामा अत्यधिक सफल भएका छन्।

ठूलो जनसंख्या भएको एसियाले युरोपलाई भेट्टाउँदै गर्दा त्यसले उनीहरुबीच वाणिज्य–व्यापारको विशाल अवसर सिर्जना गर्छ। चीनको नेतृत्वमा रिजनल कम्प्रिहेन्सिभ इकोनोमिक पार्टनरसिप गठन भएको छ (तर भारतबाहेक)। यसले पनि यो प्रक्रिया झन् तीव्र हुने संकेत गर्छ। तथापि, यसमा चीनको केन्द्रीय भूमिका रहने लगभग अवश्यंभावी छ। 

उसोभए युरेसियाको पुनर्सन्तुलन र विश्वको पुनर्सन्तुलनबारे हामी के भन्न सक्छौँ त? सबैभन्दा महत्वपूर्ण कुरा, यो प्रक्रिया स्वाभाविक हो। युरोपेली तथा अमेरिकीहरुले प्राप्त गरेको असाधारण शक्ति घट्दैछ। झण्डै आधा जनसंख्या रहेको र विश्वको सबैभन्दा ऐतिहासिक सभ्यताहरुको भूमि एसियाले यो परिवर्तनको नेतृत्व गर्नु स्वाभाविक हो। यो प्रक्रियाले निरन्तरता पाउने सम्भावना धेरै छ। 

विश्व अर्थतन्त्रको केन्द्र पूर्वतिर सर्दैछ। त्यसपछि एसिया आर्थिक र राजनीतिक हिसाबले अति महत्वपूर्ण बन्नेछ। तर, सँगसँगै एसियाका आफ्नै अप्ठेराहरु हुनेछन्। त्यसमाथि यहाँ ठूलो आन्तरिक प्रतिस्पर्धा पनि चल्नेछ। त्यसैले सिंगो एसियाको एउटा सामूहिक ‘इच्छा’ हुनेछैन। बरु मुलुकहरुले आआफ्नो बाटो पहिल्याउनेछन्।

अर्कोतिर पश्चिमले पनि आफ्नो सामूहिक सोचमा दुई परस्पर विरोधी विचार राख्न जरुरी छ। पहिलो, संसार जस्तो छ, त्यस्तैसँग पश्चिमले कारोबार गर्नुपर्ने हुन्छ। दोस्रो, संसारले जेसुकै सोचोस्, पश्चिमले आफ्ना उत्तम मान्यताहरु, खासगरी लोकतन्त्र र व्यक्तिगत स्वतन्त्रताको रक्षा गर्नैपर्छ। आखिर जीवन सहज हुने आश कसले पो गरेको थियो र!

(फाइनान्सियल टाइम्सबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .