ad ad

विचार


राजतन्त्रबारे ओलीले मारेको छलाङ

ओली राजतन्त्रप्रति आक्रामक हुनुका ३ कारण
राजतन्त्रबारे ओलीले मारेको छलाङ

सीताराम बराल
पुस १८, २०८० बुधबार १७:५४, काठमाडौँ

‘कहिलेकाहीँ त कस्तो वेभलेन्थ मिल्ने भन्या!’ राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेलले खुसी हुँदै सोमबार (१६ पुस) आफ्नो फेसबुक पेजमा लेखे। 

उनको फेसबुक स्टाटस नेपाली कांग्रेसद्वारा १६ पुसमा आयोजित ४८ औँ मेलमिलाप दिवसतर्फ लक्षित थियो, जहाँ एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘मुलुकको रक्षा राजा वा राजतन्त्रले होइन, जनताले मात्र गर्न सक्छन्’ भन्ने अभिव्यक्ति दिएका थिए। 

ओलीको उपरोक्त भनाइको प्रशंसा गर्दै राजनीतिशास्त्री प्राध्यापक पोखरेलले उपरोक्त स्टाटस पोस्ट गरेका थिए।  

गणतन्त्र स्थापनापछि राजतन्त्रवादीको आरोप सबैभन्दा बढी खेपेका नेता हुन् ओली। तर, विसं २०६२–०६३ को आन्दोलनताकाको एउटा अभिव्यक्ति ओलीका विरोधीहरुलाई ‘उनी राजतन्त्रवादी हुन्’ भन्ने आरोप लगाउन सहयोगी बन्यो।

‘अहिलेको कमजोर आन्दोलनबाट गणतन्त्रमा पुगिन्छ भन्नु बयलगाडा चढेर अमेरिका पुगिन्छ भनेजस्तै हो’ आन्दोलनका क्रममा दिएको एउटा टेलिभिजन अन्तर्वार्तामा ओलीले त्यो आन्दोलनको प्रकृतिको आलोचना गर्दै भनेका थिए। 

खासगरी माओवादी पंक्ति र एमालेभित्रकै ओली इतर पक्षले उपरोक्त भनाइलाई आधार बनाएर ‘ओली गणतन्त्र विरोधी (वा राजतन्त्रवादी) हुन्’ भन्ने ‘न्यारेटिभ’ निर्माण गर्न थाल्यो।  

विगत केही महिनायता भने राजतन्त्र पुनर्स्थापनाका लागि भइरहेको आन्दोलनविरुद्ध सबैभन्दा बढी मुखर ओली नै देखिन्छन्। उनी आफूविरुद्धको त्यो ‘न्यारेटिभ’ मेटाउने गरी राजतन्त्रविरुद्ध कठोर रुपमा प्रस्तुत भइरहेका छन्। 

पछिल्लो समय ओली राजावादीहरुसँग जसरी भिडिरहेका छन्, यो हेर्दा २०६२–६३ को आन्दोलनको आलोचना गर्ने वा २०७४ र ०७९ को चुनावमा राजतन्त्र पुनर्स्थापनाको वकालत गर्ने राजेन्द्र लिङ्देनलाई झापाबाट चुनाव जिताउने ओली एकै व्यक्ति हुन् र भन्ने समेत लाग्न सक्छ।

राजतन्त्रविरुद्ध सर्वाधिक कठोर
एमालेले मंसिर महिनामा आयोजना गरेको दुई हप्ता लामो पुष्पलाल मध्यपहाडी लोकमार्ग अभियानका क्रममा ओली राजावादीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भए। अभियानका क्रममा उनले सत्तारुढ गठबन्धन र राजावादी दुवैलाई समान रुपमा प्रहार गरे। 

सोही अभियानको तयारीको क्रममा एमाले सम्बद्ध जनवर्गीय संगठनहरुले ८ मंसिरमा राजधानीमा एउटा कार्यक्रम आयोजना गरेका थिए। राजतन्त्रविरुद्ध ओलीको जेहाद त्यही कार्यक्रमबाट सुरु भएको थियो।   

‘मरेको प्रेतका पछाडि नलीखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भन्ने कुरा मूर्खतासिवाय केही होइन,’ त्यो कार्यक्रममा ओलीले भनेका थिए, ‘एउटा मान्छेको छोरो जन्मिँदै राष्ट्रप्रमुख भएर जन्मिने, अरुको छोराछोरीले मरिमेटेर हुन नपाउने! यस्तो अन्यायपूर्ण विचार बोक्नेहरुका पछिल्तिर नेपाली जनता लाग्दैनन्।’ 

बीपी कोइराला २०३३ मा स्वदेश फर्केको अवसर पारेर नेपाली कांग्रेसले सोमबार (१६ पुस) आयोजना गरेको कार्यक्रममा ओली राजतन्त्रविरुद्ध अझै कठोर रुपमा प्रस्तुत भए।  

‘एकथरी मानिसहरु छन्, तिनीहरु राजतन्त्र भयो भने देश बलियो हुन्छ भन्छन्,’ ओलीले भने, ‘भारतमा पनि लगभग ५ सय ६५ राजा रजौटा थिए। राजा हुँदा देश कायम हुने भए ती राज्य कायम हुनुुपथ्र्याे होला नि त!’   

त्यसक्रममा उनले सिक्किमको उदाहरण पनि दिए। ‘स्वतन्त्र देश थियो सिक्किम, राजा थिए त्यहाँ’ भन्दै उनले प्रश्न गरे, ‘राजा हुँदा देश बच्दो रहेछ त? देश बचाउने जनताले हो कि राजाले हो? 

ओलीका भनाइमा वैज्ञानिक आधार नरहेको, तथ्यले समेत पुष्टि गर्न नसक्ने, कुनै तर्कमा आधारित नभएको तर्कहीन पाखण्डी सिद्धान्त हो– राजतन्त्र। 

‘जन्मँदै शासक हुने सिद्धान्त कि अन्धविश्वासको पराकाष्ठा हो, कि त पाखण्डी सिद्धान्त हो,’ उनले थपे, ‘नागरिक सर्वाेच्चतामा विश्वास गर्ने स्वाभिमानी नागरिकले जन्मँदै शासक हुने सिद्धान्तलाई कदापि स्वीकार गर्न सक्दैन।’ 

रोचक त के भने, दरबार हत्याकाण्ड र राजतन्त्रका सम्बन्धमा ओलीले कुनैबेलाको माओवादीको  ‘लाइन’ को नजिकसमेत आफूलाई पुर्याए। 

दरबार हत्याकाण्डलगत्तै माओवादीले परम्परागत राजतन्त्रको अन्त्य भएको विश्लेषण प्रस्तुत गरेको थियो। यसै आधारमा उसले संसदवादी राजनीतिक दलहरुलाई गणतन्त्रमा जान प्रस्ताव गरेको थियो। 

‘हुन त राजतन्त्र दरबार हत्याकाण्डकै बेला सिद्धिएको हो, हामीले अलिकति पर्याप्त, उपयुक्त कदम नचाल्ने कमजोरी गरेको हुनाले अलिक दिन एउटा डमी राजतन्त्र चल्यो,’ ओलीले भने, ‘तर, त्यसले तमासा देखायो। अनि हटाउनु पर्यो। संविधान सभाले निर्णय गर्यो, अनि (राजतन्त्र) हट्यो।’ 

कुनै प्रगतिशील कुरा गल्तीबस हटाइएको भए गल्ती सच्याउन फर्काउन सकिने भए पनि राजतन्त्र त्यसरी फर्काउनै पर्ने प्रगतिशील चिज नभएको ओलीको तर्क थियो।   

‘अढाई सय वर्षसम्म चुसेर नेपाली जनतालाई गरिब बनाउने चिजलाई फेरि ल्याउने भन्ने कुरा कहीँ हुन्छ?’ उनले थपे, ‘दार्शनिक, राजनीतिक, सैद्धान्तिक र वैचारिक कुनै पनि हिसाबले राजतन्त्र फिर्ता गर्ने कुरा हुनै सक्दैन।’ 

‘केही गरेनन् भनेर यी दलहरुलाई जेलमा हालेर शासन चलाउने एकदम तानाशाह राजा बनाउन खोजेको? त्यो चाहिँ होइन भन्छन् फेरि।’ राजतन्त्र पुनस्र्थापना गर्न चाहनेहरुप्रति व्यङ्ग कस्दै उनले भने, ‘तानाशाह होइन, संवैधानिक–सेरमोनियल राजा बनाउन खोजेको पनि भन्छन्। सेरमोनियल त रामचन्द्रजी हुँदै हुनुहुन्छ त!’

‘अनि त्यो सेरमोनियल राजाले के गर्छ? गद्दीमा ट्वाल्ल हेर्नेबाहेक के गर्छ त त्यसले?’ उनको प्रश्न थियो, ‘ट्वाल्ल परेर हेर्नेबाहेक केही गर्ने त होइन त! अनि त्यहाँ लगेर राख्नेबित्तिकै के हुन्छ त!’ 

राजतन्त्रवादी होइनन्, तर चुके 
खासमा पञ्चायतकालमा राजतन्त्रबाट अत्याधिक प्रताडित हुने नेताहरुको अग्रपंक्तिमै पर्छन् ओली। झापा संघर्षमा संलग्न भएबापत पक्राउ परेका उनले लगातार १४ वर्ष त जेलमा नै बिताए।    

तर, २०६२–०६३ को आन्दोलनका क्रममा एउटा टेलिभिजन च्यानललाई उनले दिएको अन्तर्वार्ता उनी गणतन्त्रप्रति प्रतिबद्ध होइनन् भनेर आरोपित गर्नेहरुका लागि बलियो अस्त्र बन्न पुग्यो। 

त्यो अन्तर्वार्तामा उनले आन्दोलनलाई बयलगाडासँग दाँज्दै ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भनेका थिए।  

ओलीको भनाइको आशय ‘दुई सय वर्षभन्दा बढी लामो शासनको जग रहेको राजतन्त्रलाई अन्त्य गर्ने हो भने त्यो आन्दोलन शक्तिशाली र प्रभावकारी हुनुपर्छ’ भन्ने हुँदो हो। तर, अन्य पक्षले व्याख्यामार्फत् उनको आशय बङ्ग्याइदिए। 

आफ्नो आशयलाई प्रष्ट पार्ने प्रयासमा उनी आफैँले पनि जाँगर गरेजस्तो देखिएन।  

उनको आशय बङ्ग्याइनुको एउटा कारण एमालेभित्र चलिरहेको पेचिलो शक्ति संघर्ष थियो। त्यो पेचिलो संघर्षका मुख्यपात्र तत्कालीन महासचिव माधव नेपाल र वरिष्ठ नेता ओली थिए। 
 
पार्टीभित्रको शक्तिसंघर्षमा आफ्नो हात माथि पार्न दुवै (नेपाल र ओली) पक्षले अर्काेलाई राजावादी करार गर्न तँछाडमछाड गरे।  

महासचिव नेपाललाई राजावादी करार गर्न ओली पक्षले महासचिव नेपालले दरबार हत्याकाण्डपछि राजा ज्ञानेन्द्रलाई दाम चढाउँदै गरेको तस्बिर प्रयोग गर्यो।

पहिलो संविधान सभा चुनावमा माओवादीले एमालेविरुद्ध प्रयोग गरेको त्यो तस्बिर खासमा ओली पक्षीय नेताहरुले नै माओवादीकहाँ पुर्याएका थिए।  

राजा ज्ञानेन्द्रलाई दाम चढाएको तस्बिरलाई ओली पक्षले आफूविरुद्ध प्रयोग गर्न थालेपछि नेपाल पक्षले पनि ओलीको अन्तर्वार्ताको त्यही ‘क्लिप’ प्रयोग गरेर ओलीलाई गणतन्त्रविरोधी करार गर्न प्रयोग गर्न थाल्यो।  

आन्दोलनमा सक्रिय सहभागिता जनाएर ओलीले आफूविरुद्ध निर्माण गरिएको त्यो ‘न्यारेटिभ’ लाई निस्तेज बनाउन सक्थे। तर, माधव नेपालको रिसका कारण हो वा अरु नै कारण– ओली एमालेका अन्य नेताजसरी आन्दोलनको अग्रमोर्चामा देखिएनन्। 

अर्थात् आफूलाई राजतन्त्रविरोधी देखाउने अवसरबाट ओली त्यो बेला नराम्ररी व्यावहारिक रुपमै चुके।   

२०६२–०६३ को आन्दोलनबाट राजतन्त्र कमजोर बन्यो। संविधान सभाले गणतन्त्रको घोषणा गर्ने काम भने बाँकी नै थियो। 

राजनीतिक दल र शीर्ष नेताहरुको त्यो बेलाको मुख्य कर्तव्य गणतन्त्रको घोषणा थियो। दरबारले गर्ने षडयन्त्रलाई निष्फल बनाउनु थियो। 

यहाँनिर पनि ओली थोरै चुके। ०६४ को चुनावमा आफै हारेको झोँकमा माओवादीविरुद्ध खनिए। राजतन्त्रविरुद्ध चुँक्क गरेनन्। 

यसले गर्दा माओवादी पनि उनीप्रति आक्रामक भयो। र, उसले पनि अन्तर्वार्ताको त्यही क्लिप प्रयोग गरेर ओलीलाई ‘गणतन्त्र विरोधी’ करार गर्न थाल्यो।  

राष्ट्रपति छँदा विद्या भण्डारी र पूर्व राजपरिवारबीचको सम्बन्ध पनि ओलीको गणतन्त्रप्रतिको निष्ठाप्रति प्रश्न उठाउने अर्काे आधार बन्यो। 

राष्ट्रपति भण्डारीकी छोरीको बिहेमा पूर्वराजा ज्ञानेन्द्र शाहले निम्ता पाए। पूर्वराजा शाहका नाति हृदयेन्द्र शाहको व्रतबन्धमा राष्ट्रपति विद्या भण्डारीले पनि निर्मल निवासबाट निम्तो पाइन्।  

त्यो बेला राष्ट्रपति भण्डारीका निर्णय ओलीको सरसल्लाहमा निर्धारित हुने गर्छन् भन्ने आमधारणा थियो। भण्डारीबाट पूर्वराजा शाहले पाएको निम्तोलाई पनि यही कोणबाट हेरियो।  

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग ओलीको सहकार्यले पनि गणतन्त्रप्रति उनको निष्ठामा प्रश्न उठाउने थप कारण बन्यो। 

जस्तो कि, निर्मल निवासले राजतन्त्र पुनर्स्थापनाका लागि भरपर्दाे सारथी ठानेका पात्र हुन्, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन। तिनै लिङ्देनलाई २०७४ र २०७९ का दुवै निर्वाचनमा विजयी गराउन ओलीकै निर्णायक भूमिका रह्यो।  

राजतन्त्रबाट प्रताडित नेता भए पनि यी घटनाक्रमका कारण ओलीको गणतन्त्रप्रतिको निष्ठामा प्रश्न उठाउनेहरुलाई बल मिलिरह्यो। ‘ओली गणतन्त्रप्रति निष्ठावान नेता होइनन्’ भन्ने ‘न्यारेटिभ’ यिनै कारणले बलियोसँग निर्माण हुन पुग्यो। 

ओलीले हिँड्न खोजेको बाटो
राजतन्त्र पुनर्स्थापनाका लागि भएका क्रियाकलापविरुद्ध यतिबेला सबैभन्दा बढी आक्रामक कोही नेता छन् भने ओली नै छन्। आफूविरुद्ध यसअघि निर्माण भएको ‘न्यारेटिभ’ ओलीले भत्काउँदै लगेका छन्। 

राजतन्त्रविरुद्ध ओलीमा देखिएको आक्रामक रुप पछिल्लो समय उनमा देखिएको सबैभन्दा महत्वपूर्ण परिवर्तन हो। 

हो, ओलीबारे लिङ्देन मौन देखिन्छन्। आगामी चुनावलाई मध्यनजर गर्दै लिङ्देनले ओलीबारे मौनता साँधेका होलान्। किनकि, झापा–३ को चुनाव जित्न लिङ्देनलाई फेरि पनि ओलीको सहयोग निर्णायक हुनसक्छ। 

तर, लिङ्देनलाई छाड्ने हो भने राजावादीहरुको सर्वाधिक निसानामा यतिबेला कुनै नेता छन् भने ओली नै छन्।  राजतन्त्रप्रतिको आक्रामकता नै ओली राजावादीहरुको निसानामा पर्नुको मुख्य कारण हो। 

हिजोको अवस्था भिन्दै थियो। ओली पनि राजतन्त्रप्रति मौन थिए। यहीकारण राजतन्त्रवादीहरु पनि उनीप्रति मौन देखिन्थे। अब त्यो स्थिति उल्टिएको छ। 

लामो समय राजतन्त्रबारे मौनता साँधेका र राजतन्त्रवादीहरुसँग सबैभन्दा घनिष्ट सम्बन्ध रहेका अध्यक्ष ओलीमा अहिले देखिएको बदलावका मुख्यतः तीन कारण हुन सक्छन्। 

पहिलो कारण भारतसँगको ओलीको तिक्ततापूर्ण सम्बन्ध हो। 

जस्तो कि, भारतमा सत्तारुढ भाजपाको मातृसंस्था राष्ट्रिय स्वयंसेवक संघ नेपालमा हिन्दू राजतन्त्र पुनर्स्थापना चाहन्छ। यस्तो बेला कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले भने त्यही भाजपासँग सम्बन्ध विस्तार गरेका छन्।  

ओली भने अहिले पनि भारतका कडा आलोचक छन्। सोमबार (१६ पुस) कै कार्यक्रमको कुरा गरौँ, उनले राजतन्त्रको मात्र होइन, नेपालप्रति भारतीय नीतिको समेत तीखो आलोचना गरे। 

हिन्दू धर्मको आडमा नेपालमा राजतन्त्र पुनर्स्थापनाको जुन प्रयास हुँदैछ, परोक्षरुपमा नयाँदिल्लीको यसमा भूमिका छ नै। यो स्थितिमा ओली राजतन्त्रप्रति आक्रामक बन्नु स्वाभाविक हो। 

दोस्रो कारण विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई निर्मल निवासले आफूविरुद्ध प्रयोग गरिदिनु हो। 

प्रचण्डको काखमा रहेका प्रसाईंलाई त्यहाँबाट छुटाउन ओलीले आफ्नो काँध थापे। तर, प्रसाईं ओलीको काँधमा दुई वर्ष पनि टिकेनन्। प्रसाईं ओलीलाई लात मार्दै राजतन्त्र पुनर्स्थापनाको आन्दोलनमा होमिए। 

आफूविरुद्ध खनिनेहरुविरुद्ध कठोररुपमा प्रस्तुत हुनु ओलीको स्वभावै हो। प्रसाईंलाई निर्मल निवासले प्रयोग गरिरहेको छ भन्ने लागेपछि ओली पनि राजतन्त्रविरुद्ध खरो रुपमा उत्रिएका छन्।  
 
ओलीको बदलावको तेस्रो कारण गणतन्त्र र राजतन्त्रबीच पेचिलो बन्दै गइरहेको लडाइँ हो। यो लडाइँ ओलीका लागि आफूविरुद्धको ‘न्यारेटिभ’ भत्काउने सुनौलो अवसर हो। यो अवसर यसपटक ओलीले गुमाउन चाहेका छैनन्।  

गणतान्त्रिक व्यवस्थाका बाहक अहिलेका मुख्य राजनीतिक दलहरु हुन्। तर, उनीहरु नै एक अर्कालाई खुइल्याउन तल्लीन छन्। यहीकारण गणतन्त्र स्थापना भएपछिका उपलब्धिसमेत छायामा परेका छन्। गणतन्त्रवादीहरुको एकले अर्काेलाई खुइल्याउने यो खेल राजतन्त्रवादीहरुलाई वरदान साबित भएको छ।  

गणतन्त्रवादी जमात यस्तो नेताको खोजीमा छन्, जसले राजतन्त्रविरुद्ध कठोर धावा सुरु गरोस्। 

त्यस्तो धावा ओलीले सुरु गरेका छन्। त्यसपछि गणतन्त्रवादी जमातसँग उनको ‘वेभलेन्थ’ मिल्न थालेको छ। राजनीतिशास्त्री प्राध्यापक पोखरेलको फेसबुक स्टाटस त्यसैको संकेत हो। 

के आफैमा देखिएको बदलाव ओलीले कायम राखिरहलान्? यसको परीक्षण हुन भने बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .