विचार


युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पलाई पुटिनले दिन सक्ने ३ सहुलियत

युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पलाई पुटिनले दिन सक्ने ३ सहुलियत

रोज गटमुलर
कात्तिक ३०, २०८१ शुक्रबार २०:७,

राष्ट्रपति भएको २४ घण्टाभित्र युक्रेन युद्ध अन्त्य गरिदिने वाचा डोनाल्ड ट्रम्पले चुनाव प्रचारको क्रममा गरेका थिए। सेप्टेम्बरमा उनका उपराष्ट्रपति जेडी भान्सले यसबारे विचार व्यक्त गर्न थाले। जुन ट्रम्पको भनाइको अर्थ हुनसक्थ्यो– पूर्वी हिस्सा रुसको अधीनमा रहनेगरी युक्रेनको विभाजन अनि नेटो सदस्यताको सम्भावना अन्त्य।

अन्य रिपब्लिकन रणनीतिकारले पनि यस्तै किसिमका धारणा अघि सारेका छन्। यद्यपि, नेटोको सवालमा उनीहरू अलि नरम छन्। युक्रेनको सदस्यतालाई अनिश्चित कालका लागि रोक्नुपर्ने उनीहरूको भनाइ छ।

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले अघि सारेको शान्ति योजनाभन्दा यी विचार बिल्कुल विपरीत छन्। तर, यस्तो प्रस्ताव निस्सन्देह रुसी राष्ट्रपति भ्लादिमर पुटिनलाई भने मन पर्ने छ। किनकि यो प्रस्ताव युद्ध अन्त्य गर्ने पुटिनको आफ्नै प्रस्तावसँग नजिक छ।

जे भए पनि वार्ताका सम्बन्धमा ट्रम्पले गम्भीर भएर सोच्न जरुरी छ। पुटिन युक्रेनलाई नराम्ररी पराजित गर्न चाहन्छन्। र, त्यसका माध्यमबाट उसको नेटो साझेदार, खासगरी अमेरिकालाई हराउन चाहन्छन्। प्राचीन कालदेखिका अन्य रुसी नेताहरूजस्तै पुटिन पनि ‘जिरो सम गेम’लाई प्राथमिकता दिन्छन्– मेरो जित, तिम्रो हार। उनको नजरमा दुवैको जित सम्भव छैन। जित्नेकै रजाइँ चल्छ।

तर, यस्तै हुनुपर्छ भन्ने छैन। ट्रम्पसँग समीकरण बदल्ने अवसर छ। किनकि पुटिनसँग अमेरिकासँगको सम्बन्धलाई बलियो पार्नुपर्ने पर्याप्त कारण छन्। पुटिन विश्वमञ्चमा फर्किन चाहन्छन्, अमेरिकी समकक्षीसँग कुम जोडेर। यसले घरेलु र अन्तर्राष्ट्रिय दुवै हिसाबले उनको हैसियतलाई सुधार गर्ने छ। र, उनी कठोर नाकाबन्दीबाट पनि राहत चाहन्छन्, जसले देशको अर्थतन्त्र पूरै ध्वस्त नपारे पनि ठूलो क्षति गरेको छ।

त्यसकारण, ट्रम्पले पुटिनसँग सहुलियतको माग गर्न सक्छन्। र, चलाखीपूर्वक तयारी गर्ने हो भने त्यस्तो सहुलियत दिन पुटिनका लागि पनि असम्भव हुने छैन। पुटिनले खासगरी तीन किसिमका सहुलियत दिन सक्छन्।

पहिलो, सम्झौतापछि युक्रेनको भौगोलिक स्वरूप बदलिने भए पनि अमेरिकाले युद्धविराम सम्झौताको भाषा त्यस्तै बनाउन प्रस्ताव गर्नुपर्छ, जस्तो दोस्रो विश्वयुद्धपछि पश्चिम जर्मनीको अवस्था जनाउन प्रयोग गरिएको थियो। त्यसबेला जर्मनीको भौगोलिक अखण्डता अक्षुण्ण राखिएको थियो। र, यसको पूर्वी हिस्सामा संघीय गणतन्त्र जर्मनीको स्थापना र मुलुक विभाजनलाई स्थायी मानिएको थिएन।

जर्मनी पुनर्एकीकरणको ३५ औँ वर्षगाँठ मनाइरहँदा त्यो उदाहरण सम्झिनलायक छ। विभाजन लामो समय कायम रहन सक्छ। तर, त्यसलाई कहिल्यै पनि स्थायी मानिनु हुँदैन। राष्ट्रसंघको घोषणामा समावेश क्षेत्रीय अखण्डता र सार्वभौमसत्ता यसको मार्गदर्शक सिद्धान्त हो।

दोस्रो, अमेरिकाले युक्रेनको नेटो सदस्यतालाई अनिश्चितकालका लागि स्थगित गर्ने कुरा स्वीकार्नु हुँदैन। त्यसको सट्टा अमेरिकाले नेटोमा सामेल हुने कार्य अनिश्चित समयमा सम्पन्न गरिनेछ भन्ने प्रावधान राख्न प्रस्ताव गर्नुपर्छ। 

सँगसँगै अमेरिका र उसका नेटो सहयोगीहरूले युक्रेनलाई नेटोमा सामेल हुनका लागि वार्तामा बोलाउनु पर्छ। यो प्रक्रियालाई जुन २०२४ मा सुरु भएको युक्रेनको ईयू सदस्यतासम्बन्धी वार्ताको समानान्तर अघि बढाउनु पर्छ। 

यी छलफल कहिले टुंगिन्छन्, कसैले अनुमान गर्न सक्दैन। किनकि, ईयू र नेटो दुवैको पूर्वसर्त पूरा गर्न युक्रेनलाई कठिन हुने छ। तर, जे भए पनि युक्रेन ईयू र नेटोको सदस्यताको मार्गमा हुने छ। यदि युक्रेनलाई कुनै आश्वासनको आवश्यकता पर्‍यो भने एउटा अन्तिम मिति तय गर्न सकिन्छ, सायद २० वर्षपछिको।

यस्तो प्रस्ताव पुटिनले किन स्वीकार्लान् जस्तो लाग्छ मलाई ? किनकि, ईयूमा युक्रेनको सहभागिताको कुरालाई उनले बिना कुनै गुनासो स्वीकार गरेका थिए। अब ईयूसँगसँगै नेटो सदस्यताको कुरा सुरु गर्दा यी दुवै छलफल एकअर्काको छायामा चल्छन्। यी प्रक्रिया सधैँ नै धिमा हुन्छन्। त्यसकारण कुनै आश्चर्यजनक घटना हुने छैन भनेर पुटिनलाई आश्वस्त तुल्याउन सकिन्छ।

तेस्रो, रुस आणविक हतियार नियन्त्रण र रणनीतिक स्थायित्वसम्बन्धी छलफलमा सहभागी हुनुपर्ने कुरालाई अमेरिकाले वार्तामा बस्ने सर्तका रूपमा अघि सार्नसक्छ। यी वार्तालाई पुटिनले अमेरिका र नेटो मुलुकले युक्रेनलाई सहायता दिउञ्जेलका लागि स्थगित गरिदिएका छन्। नेटो र अमेरिकाले युक्रेनलाई दिँदै आएको सहायताको निरन्तरतामा जोड दिनुपर्छ। तर, आणविक स्थिरता र आणविक हतियार नियन्त्रणका लागि द्विपक्षीय वार्तामा फर्किने उचित समय यही हो।

हो, पुटिनलाई आफ्नो सर्त छाड्न मन पर्दैन। तर, स्पष्ट कुरा के हो भने उनी ट्रम्पका लागि केही न केही सहुलियत दिन चाहन्छन्। आणविक वार्ता फेरि सुरु गरे उनलाई आन्तरिक रूपमा कुनै घाटा हुने छैन। र, त्यसले एकपटक फेरि उनलाई विश्वमञ्चमा ल्याउन सक्छ। 

ट्रम्पका हकमा युक्रेनमा शान्ति र नयाँ आणविक सहमति– यी दुई ठूला सम्झौताले उनको परम सौदागर र परम शान्तिदूतको छवि स्थापित हुने छ। आफ्ना पूर्ववर्तीले गर्न नसकेको लक्ष्य उनले प्राप्त गर्न सक्ने छन्।

महत्त्वपूर्ण कुरा के हो भने ट्रम्पले युक्रेन मामिलामा पुटिनसँगको वार्तामा आफू हरूवा नठहरिने सुनिश्चित गर्नुपर्छ। उनलाई थाहा हुनुपर्छ, पुटिन कुनै न कुनै सहुलियत दिन तयार छन्, आफ्नै, ट्रम्पको र जेलेन्स्कीको पनि साख बचाउनका लागि। यो युद्धमा कसैले पनि सर्वस्व हार्न आवश्यक छैन।

(फाइनान्सियल टाइम्सबाट। रोज गटमुलर स्ट्यानफोर्ड युनिभर्सिटीकी लेक्चरर तथा नेटोकी पूर्वउपमहासचिव हुन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad