एउटा उमेर थियो- फिल्मका कथा र दृश्य साँच्चै लाग्ने! नायक-नायिकाको विछोड हुँदा, उनीहरू मर्दा/मारिँदा कति रोइयो कति! हिरो कुटिँदा कति दुःखी भइयो कति, गुन्डा चुटिँदा कति खुसी भइयो कति! हारिसकेको हिरो जुरुक्क उठेर गुन्डा ढाल्दा हलभित्रै हर्षले पररर्र ताली पड्काइएन कि, सुसेली हालिएन कि! हाहा र हुहु, के के गरिएन! भनिसाध्य छैन।
त्यसमा पनि नाच्न, गाउन र प्रेम गर्न माहिर, अनि एक्लैले पाँच/सात जना गुन्डा ढाल्न सक्ने हिरोजस्तै हुन मन लाग्ने। आफूलाई मन पर्ने हिरोको नक्कल गरिएन कि! हिरोजस्तै सुन्दर र शक्तिशाली हुन नसकेकामा कैयौँपटक हीन भावनाले ग्रस्त भइएन कि! कसैले तिमी त फलानो हिरोजस्तै देखिन्छौ भनिदिँदा फुरुक्क परिएन कि!
तर उमेर अलि छिप्पिँदै गएपछि, जानकारी र चेतना बढ्दै गएपछि थाहा भयो- फिल्म त काल्पनिक कथा पो रहेछ, रोएको, मरेको, मारेको...कलाकारका कला र अभिनय पो रहेछन्। सायद त्यतिबेला विकट गाउँको बसाइ, अहिलेजस्तो सूचना र प्रविधिको उपलब्धता नभएर पनि होला- मलाई फिल्म कसरी बन्छन् भन्ने कुरा थाहा पाउन अलि समय लाग्यो।
जबदेखि मलाई यो कुराको ज्ञान भयो, तबदेखि फिल्म हेर्ने र त्यसलाई बुझ्ने मेरो दृष्टिकोण नै बदलियो। एक प्रकारले फिल्मप्रतिको आशक्ति केही कम भयो।
तर पनि मनोरञ्जनका लागि चलचित्र हेर्ने क्रम जारी रह्यो। हेर्दा हेर्दा मलाई सबै फिल्मको विषयवस्तु एउटैजस्तो लाग्न थाल्यो। जुन फिल्म हेरे पनि मूल कथा उही- एउटा हिरो हुन्छ, एउटा हिरोइन। हिरोइनलाई गुन्डाहरूले घेर्छन्, अनि हिरो आउँछ र बचाउँछ। त्यसपछि सुरु हुन्छ- प्रेम कहानी। त्यसैमा अन्य केही कुरा थपथाप पार्यो, फिल्म बनायो।
जब उमेर, विचार र व्यवहारले परिपक्व हुँदै गइयो, तब लाग्न थाल्यो- चाहेँ भने यस्ता फिल्म (कथा) त म आफैँ लेख्न सक्छु। यसपछि भने मलाई फिल्मका कथाले छुन छाडे। अर्थात् फिल्म मेरा लागि मनोरञ्जनको साधनसमेत हुन छाड्यो। फिल्म हेर्दाभन्दा कुनै गहन पुस्तक पढ्दा बढी आनन्द लाग्न थाल्यो।
ठ्याक्कै मिति त याद भएन, तर मैले हलमा गएर फिल्म हेर्न छाडेको कम्तीमा १५ वर्ष भइसकेको थियो। फिल्म हल नगएको मात्र होइन, मोबाइल र कम्प्युटरमा समेत फाटफुट रूपमा केही गीत र फिल्मका फुटेजबाहेक कुनै पनि फिल्म पूरा हेरिनँ होला।
तर ‘पूर्ण बहादुरको सारंगी’को चर्चा यति चुलियो कि लामो समयपछि मलाई हलसम्म पुग्न बाध्य बनायो। हेर्ने मानिसहरूले भने- फिल्म यस्तो छ कि हेर्न बसेदेखि नउठ्दासम्म रुवाएको रुवायै गर्छ। त्यसो त म रुनका लागि मात्रै फिल्म हेर्न जाने पक्षमा थिइनँ।
तर कतिपयले के पनि भने भने फिल्ममा दलितको संघर्ष र क्रान्तिको कथा बेजोड छ। त्यसपछि भने म २०८१ कात्तिक २६ गते हलमा पुगेँ।
तर जुन अपेक्षाका साथ फिल्म हेर्न गएको थिएँ, कथा त्यस्तो होइन रहेछ।
पात्र दलित, कथा बाबु-छोराको
‘पूर्ण बहादुरको सारंगी’मा पात्र दलित देखाइए पनि खासमा कथा बाबु-छोराको छ। एउटा गरिब पिताले पुत्रको पढाइका लागि गरेको त्याग र संघर्षको कथा। यो कथा दलितको मात्र होइन, गैरदलित बाउ-छोराको पनि हो।
फिल्मका मुख्य पात्र पूर्णबहादुर गन्धर्व अति गरिब हुन्छन्। सारंगी रेटेर मागेको भरमा बिहान-बेलुका हातमुख जोड्न पनि धौधौ पर्छ। उनका पिता आर्थिक अभावकै कारण उपचार नपाएर संसारबाट बिदा हुन्छन्।
गरिब र बेरोजगार हुँदा आफ्नै पत्नीबाट कति अपहेलित हुनुपर्छ भन्ने प्रसंग जुन छ, यो पनि दलितको मात्र पीडा होइन।
पूर्णबहादुर बाबुको किरिया बसेको मौका पारेर बाटुली बालख छोरोसहित हर्केसँग टाप कस्छिन्। तर छोरो बीच जंगलबाट भागेर घरतिरै फर्केपछि बाटुली पनि फर्कन खोज्छिन्। तर हर्केको भनाइले अगाडि बढ्न सक्दिनन्।
दलित संघर्षको कथा किन होइन?
दलित समुदायले भोग्नुपरिरहेको सबैभन्दा निकृष्ट र अमानवीय अत्याचार हो- जातीय छुवाछूत। जसको उत्पीडन कहीँ कतै देखाइएको छैन। जातीय छुवाछूतलाई छुँदै नछोएको कथा कसरी दलितको हुन्छ?
फिल्ममा शिक्षा आर्जनपछि सामाजिक सम्मान पनि स्वतः पाइन्छ भन्ने सन्देश दिन खोजिएको छ। यो कुरा केही हदसम्म सत्य भए पनि दलितका हकमा भने पूर्ण सत्य होइन। फिल्ममा कमल गन्धर्वलाई एसएलसीमा विशिष्ट श्रेणीमा उत्तीर्ण भएको देखाइन्छ। अब उनलाई यो समाजले अछूत मान्दैन त?
यस विषयमा म आफ्नै उदाहरण दिन चाहन्छु। म स्कुले जीवनमा कहिले दोस्रो (सेकेन्ड) मा पनि झर्नुपरेन अर्थात् सधैँ प्रथम (फर्स्ट) भइरहेँ- भर्ना भएदेखि कक्षा १० सम्मै। शिक्षक र साथीहरूले ‘फर्स्ट ब्वाई’ भनेर प्रशंसा त गर्थे तर सरस्वती पूजाको प्रसाद खाने बेला अलग्गै राख्थे।
एसएलसीमा पनि फर्स्ट डिभिजन ल्याउन नसके पनि त्यही विद्यालयमा पढेका (आगन्तुकबाहेक) परीक्षार्थीमध्ये म एकजना मात्रै उत्तीर्ण भएँ। विद्यालय र गाउँभरि मेरो चर्चा भयो। तर पनि मेरो पानी चलाइएन। अर्थात् जातका हिसाबले म जहाँ थिएँ, त्यहीँ रहेँ। यो त उहिलेको कुरा भयो। अहिलेसम्म पनि मेरो गाउँमा म अरु बराबर ‘मान्छे’ हुन सकेको छैन।
‘पूर्ण बहादुरको सारंगी’मा सेतो पोसाक लगाएपछि अर्थात् डाक्टर बनेपछि विभेदबाट मुक्ति पाइन्छ भन्न खोजिएको छ। तर अहिले त दलितहरू वास्तविक जीवनमै एमबीबीएस डाक्टर मात्र होइन, पीएचडी डाक्टरसमेत भइसकेका छन्। तर तिनले समाजमा बाहुन बराबरको मानवीय सम्मान पाउन सकेका छन् त? यथार्थ आफैँ बोल्छ।
अर्काे कुरा- दलितले मानवीय सम्मान पाउन डाक्टर, मास्टर वा इन्जिनियर नै बन्नुपर्ने हो त? मान्छे भएर जन्मिएर मात्र पुग्दैन? त्यसो हो भने उच्च जात भनिएकाहरू सबै डाक्टर, मास्टर, इन्जिनियर छन् र?
अतः दलित समुदायका मानिस जुन र जस्तो अवस्थामा छन्, त्यही अवस्थामा उनीहरूले पनि अन्य जातका मानिससरह मानवीय/सामाजिक सम्मान पाउनुपर्छ। यसका लागि कुनै सर्त तेर्स्याइनु फेरि पनि विभेद हो, जातिवाद हो।
फिल्ममा पूर्णबहादुरलाई दलित भएका कारणभन्दा पनि गरिब र मगन्ते भएका कारण अपहेलना र घृणा गरिएको देखाइएको छ।
गरिब र माग्ने दलित मात्र छैनन्। जोगीले पनि माग्छन्, फिरी लाउनेले पनि माग्छन्। भागवत कथा वाचन गर्नेले पनि मागेकै हुन्।
पूर्णबहादुरलाई एक जनाले रिसाउँदै भन्छन्- हातखुट्टा सग्ला छन्, काम गरेर खानु नि!
यो एकदमै ठीक कुरा हो। काम/परिश्रम गर्न सक्ने अवस्था हुँदाहुँदै माग्दै हिँड्नु कदापि उचित होइन। दलित समुदायका मानिसले यसलाई त्याग्नैपर्छ र आफ्ना कला, सीप तथा श्रम बेचेर खानुपर्छ।
तर फिल्ममा पुर्ख्यौली पेसाका नाममा सारंगी बोकेर माग्दै हिँड्ने परम्परा छाड्न हुँदैन भन्न खोजिएको हो कि भन्ने भान पर्छ।

किनकि डाक्टर बनिसकेका कमल गन्धर्वसमेत अन्त्यमा त्यही बाउको पुरानो सारंगी बोकेर हिँड्छन्, पहिले बाउले आफूलाई काँधेकुरी गरेजस्तै सानी छोरीलाई काँधमा बोक्दै। अब उनले पनि डाक्टरी पेसा छाडेर सारंगी नै रेट्न थाल्नुपर्ने हो त?
त्यसो त सारंगी बजाउनु आफैँमा नराम्रो कुरा होइन, तर गन्धर्व समुदायले त्यसलाई मागिखाने भाँडो होइन, व्यावसायिक संगीतमा परिणत गर्दै सम्पत्तिसँगै सम्मान आर्जनको महत्त्वपूर्ण माध्यम बनाउनुपर्छ।
बाटुलीको विद्रोह कि विसंगति?
बाटुली छोरोलाई उसका बाबु (पूर्णबहादुर) जस्तो ‘गाइने’ र गरिब नहोस् भन्ने चाहन्छिन्।
तर यस अवस्थाबाट माथि उठ्नका लागि मिलेर के गर्ने भन्ने विषयमा उनले कहिले श्रीमान्सँग सौहार्दपूर्ण सल्लाह गर्दिनन्। बरु घर र पति नै छाडेर परपुरुषसँग सहर भाग्छिन्।
यो विद्रोह हो कि विसंगति?

यसै पनि समाजमा दलित महिलालाई हेर्ने नजर सकारात्मक छैन, त्यसमाथि पति गरिब र बेरोजगार भयो भन्दैमा परपुरुषको साथ लागेको देखाउँदा कस्तो सन्देश जाला?
धन्न! बाटुलीको मुखबाट ‘म पोइला हिँडेको होइन’ बकाएर उनको धेरै बेइज्जत हुन दिइएको छैन। तर त्यसपछि उनको जीवनले कस्तो मोड लियो त? कथा बीचमै अलपत्र छाडिएको छ।
किन रोए दर्शक?
जतिखेर पनि पिलपिल रुने पात्र र वियोगको दृश्य भएपछि दर्शकले कतिखेर हाँस्नु र?
अर्काे कुरा, दर्शक दलितको दुःख र संघर्ष देखेर रोएकै होइनन्। बाबुले छोराका लागि गरेको त्याग, समर्पण र संघर्ष देखेर रोएका हुन्। बाबु-छोराबीचको प्रेम र आत्मीयता देखेर आँशु थाम्न नसकेका हुन्।
यसबाहेक फिल्ममा न कतै दलितलाई दमन गर्नु गलत भनिएको छ, न दलनविरुद्ध आक्रोश र विद्रोहको दृश्य देखाइएको छ।
देशमा लोकतन्त्र/गणतन्त्र ल्याउन राजनीतिक संघर्ष/क्रान्ति भएको कुरा झल्याकझुलुक देखाइएको छ तर त्यसमा दलित सहभागी भएनन् भन्ने सन्देश दिने खालको प्रसंग राखिएको छ।
हिजोका दिनमा ‘गाइने’को छोराले मागेर लगाएको विद्यालय पोसाकसमेत च्यातिदिने शिक्षक पनि त्यस राजनीतिक क्रान्तिमा सामेल हुन्छन् र कमलले एसएसलसी उत्तीर्ण गरेपछि राजनीतिक क्रान्तिमा पठाइदिन पूर्णबहादुरसँग अनुरोध गर्छन्।
तर उनले छोरोलाई युद्धमा पठाउन ठाडै अस्वीकार गर्छन्। सायद एउटा बाबुको छोरोप्रतिको माया देखाउन त्यस्तो दृश्य राखिएको होला।
यसले पनि थप प्रस्ट पार्छ- ‘पूर्णबहादुरको सारंगी’ दलित संघर्ष र क्रान्तिको कथा हुँदै होइन, बाउ-छोरोबीचको मायाको कथा हो।
नत्र नेपालमा राजनीतिक परिवर्तनका लागि भएका निःशस्त्र होस् वा सशस्त्र- हरेक आन्दोलन र युद्धमा दलित सामेल भएका छन्, तिनले रगत बगाएका छन्। तर फिल्ममा दलितलाई रुन्चे र आन्दोलनमा सहभागी हुन डराउने डरछेरुवा बनाउन खोजिएको छ।
फिल्ममा दलितलाई बिजोग र विचरा पात्रका रूपमा प्रस्तुत गरिएको छ।
त्यसमाथि ‘इस्टकोट आफ्नै काटी छोरालाई भोटो, गरिबैको घरमा जन्म लिनु कर्मै खोटो’ भनेर भाग्यकै कारण दलित दलित भएका हुन् भन्ने भाष्यलाई स्थापित गर्न खोजिएको छ।
दलित कुनै कर्म खोटो भएर वा भाग्यले ठगेर दलित भएका होइनन्। सामन्त र शोषक वर्गले जबर्जस्ती जातिप्रथा लादेर, विभेदकारी कानुन नै बनाएर शिक्षा-सम्पत्ति आर्जनबाट वञ्चित गरेकाले मानिसको एउटा ठूलो समूह दलित बन्न बाध्य भएको हो भन्ने सन्देश पो दिनुपर्छ। त्यसतर्फ पो आँखा खोलिदिनुपर्छ।
सारंगीको कथाले त विचरा बनेर आँशु बगाउनबाहेक केही सिकाउँदैन।
यसै सिलसिलामा अर्को प्रसंग पनि भनिहालौँ- सर्तअनुसार गीत गाउने प्रतिस्पर्धामा जितेपछि पूर्णबहादुरले डोकोमा बोकेर बाटुलीलाई ल्याउँदै गर्दा बाटोमा एउटा खोलो तर्नुपर्ने हुन्छ। तर त्यसमा कालो बोको नचढाए वैवाहिक सम्बन्ध बिग्रिने र विछोड हुने भनिन्छ।
त्यसका लागि पूर्णबहादुरका दुई साथी कालो बोको खोज्न गाउँतिर पस्छन्। तर फेला पार्न सक्दैनन् र खोलोमा आएर भन्छन्- पूर्णे बरु भाउजुलाई माइती नै फर्काइदिऊँ।
तर उनी मान्दैनन्। कालो बोको नचढाई बाटुली बोकेरै खोलो तर्छन्। नभन्दै पूर्णबहादुरको वैवाहिक जीवन असफल पनि भएको देखाइन्छ।
यसले अन्धविश्वासलाई प्रोत्साहन गर्दैन र?
अन्त्यमा,
दलित चलचित्रको विषय र पात्र बन्नु सकारात्मक भए पनि त्यसलाई सही रूपमा प्रस्तुत गर्न सकिएन भने समाजमा सकारात्मक होइन, नकारात्मक सन्देश जान्छ।
तसर्थ सिंगो मुलुककै जटिल समस्या जातीय छुवाछूत तथा दलितबारे फिल्म बनाउनुअघि एकपटक दलित विषयका विज्ञ, अधिकारकर्मी र अभियन्तासँग सल्लाह लिने कि?
Shares

प्रतिक्रिया