अमेरिकाले इलोन मस्कलाई चुनेको होइन। तैपनि उनी डोनाल्ड ट्रम्पको ‘डिफ्याक्टो’ सहराष्ट्रपतिका रूपमा काम गरिरहेका छन्। र, उनी अमेरिकाका सहयोगी लोकतान्त्रिक मुलुकहरूमा सत्ता परिवर्तनको प्रयास पनि गरिरहेका छन्।
उनले बारम्बार भनेका छन्, अर्को महिना हुने चुनावमा चरम दक्षिणपन्थी पार्टी अल्टरनेटिभ फर जर्मनी (एएफडी) विजय भए मात्रै जर्मनी जोगिन्छ। बेलायतमा सर किअर स्टार्मरको लेबर पार्टीको सरकार ढाल्न उनी आह्वान गरिरहेका छन्। उनले एक्समा आफ्ना २१ करोडभन्दा बढी फलोअर्सलाई सोधेका छन् : ‘के अमेरिकाले बेलायती जनतालाई अत्याचारी सरकारबाट मुक्त पार्नुपर्छ?’ पर्छ भन्ने पक्षमा सर्वसम्मति रहेको प्रतीत हुन्छ।
अमेरिकाको राष्ट्रपति र संसारको सबैभन्दा धनी व्यक्तिबीच यसप्रकारको सम्बन्ध कहिल्यै देखिएको थिएन। इतिहासमा यस्तो जोडीसँग कस्तो व्यवहार गर्ने भन्ने मार्गदर्शन कतै पाइँदैन। त्यो जोडीको पैसावाल आधा हिस्साले सहयोगीहरूको सरकार ढाल्ने प्रयत्न गरेको उदाहरणको त कुरै छाडौँ।
रकफेलर, भान्डरविल्ट र कार्नेगीजस्ता अमेरिकाका ‘रबर ब्यारोन’हरूले आफ्नो पालामा कहिल्यै राष्ट्रपतिको बराबरीका रूपमा काम गरेनन्। न त उनीहरूको सम्पत्ति मस्कको जति नै थियो। आजको डलरका हिसाबले पनि जेपी मोर्गनको सम्पत्ति ४९ अर्ब डलर मात्र थियो। युरोपेली फासीवादप्रति नरम रहेका हेनरी फोर्डको सम्पत्ति करिब २ सय अर्ब थियो। मस्कको सम्पत्ति त्यसको दोब्बर छ। त्यसमाथि, फोर्डका समकालीन राष्ट्रपति फ्र्यांकलिन रुजबेल्टले उनको प्रशंसा गर्दैनथे।
त्यसविपरीत, विगतमा अमेरिकाले अन्य मुलुकको राजनीतिमा हस्तक्षेप गरेको उदाहरण धेरै छन्। यद्यपि, दोस्रो विश्वयुद्धपछि युरोपको सत्ताबाट कम्युनिस्टहरूलाई सत्ताबाहिर राख्ने सीआईएको चालबाजीलाई अपवाद मान्ने हो भने वासिङ्टनले आफ्ना सहयोगी मुलुकहरूमा भने हस्तक्षेप गरेको छैन।
बर्लिन, लन्डन र सायद चाँडै नै पेरिसका पनि सरकारहरूसामु एउटा प्रश्न उभिनेछ– यो नयाँ खतराको जवाफ कसरी दिने? के मस्क ट्रम्पकै आवाज बोलिरहेका छन्? त्यसो हो भने त पश्चिम मरेसरह हुन्छ। कि मस्क परीक्षण मात्र गर्दै छन्? यदि त्यसो हो भने युरोपेली मुलुकहरूले ट्रम्प र मस्कबीचको मतभेदको फाइदा उठाउने सम्भावना रहन्छ।
मस्क के भनिरहेका छन् जत्तिकै महत्त्वपूर्ण कुरा हो– उनी के भनिरहेका छैनन्। जर्मनी र बेलायतमाथि गालीबेइज्जतीको बमवर्षा गरिरहेका उनी रुस र चीनप्रति मौन छन्। यसले धेरै कुरा बताउँछ। यी दुवै मुलुकका राजनीतिक कैदी वा दमनको विरोधमा मस्कले कहिल्यै मुख खोलेका छैनन्। तैपनि उनी बेलायतमा पाँचौँ कैद सजाय भुक्तान गरिरहेका चरम दक्षिणपन्थी गुन्डा टमी रोबिन्सनलाई राजनीतिक बन्दी भनेर महिमामण्डन गरिरहेका छन्। मस्क अधिकांश पाकिस्तानी मूलका पुरुषहरूको गिरोहबाट पीडित बेलायती बालबालिकाको उपकारबाट प्रेरित भएका होइनन्। बेलायतमा बालिकाहरूमाथिको दुर्व्यवहारको यो काण्ड दुई दशकपहिलेदेखि चल्दै आएको छ। जुन अवधिमा लगभग सबै समय कन्जरभेटिव पार्टी सत्तामा थियो। त्यसबेला मस्कले केही भनेनन्।
तर, जबदेखि लेबर पार्टी सत्तामा आयो, तबदेखि अचानक बेलायती बालबालिकाको उपकार उनको सनक बन्न पुग्यो। उनले स्टार्मर सरकारका मन्त्री जेस फिलिप्सलाई ‘बलात्कार समर्थक’ भने। उनले अढाई लाख बेलायती बालबालिकामाथि दुर्व्यवहार भइरहेको दाबी पनि गरे। मस्कको दुष्प्रचार पक्रिन एआईजडित पोलिग्राफ आवश्यक पर्छ। हरेक केही मिनेटमा उनी पोस्ट गरिरहन्छन्। उनको पोस्टको गतिलाई त्यसले सिर्जना गर्ने झट्काले मात्रै उछिन्न सक्छ। अपहरण गरेर रुसी परिवारमा पुर्याइएका अनुमानित २० हजार युक्रेनी बालबालिकाबारे मस्कले केही बोलेका छैनन्।
यो आक्रोश मस्कको मात्रै हुन्थ्यो भने बेलायत, जर्मनी र अन्य देशले त्यसलाई सम्हाल्न सक्थे। बेलायती जनता मस्कलाई मन पराउँदैनन्, जसले उनको प्रभावलाई सीमित तुल्याउँछ। हालैको एक सर्वेक्षणमा जवाफ दिने पाँचमध्ये एकभन्दा पनि कमले मात्रै मस्कलाई मन पराएको देखिन्छ। मस्कलाई उनको अज्ञानताले पनि क्षति पुगेको छ। दक्षिणपन्थी रिफर्म यूके पार्टीको नेताबाट नाइजल फराजलाई हटाउन आह्वान उनले गरेका छन्। तर, रिफर्म यूके फराजको निजी पार्टी हो भन्ने तथ्य उनले मेसो पाएनन्।
त्यस्तै, राजा चार्ल्सलाई संसद् भंग गर्न आग्रह गरे। यसले पनि उनको अज्ञानता पुष्टि गर्छ। बेलायतमा आम चुनाव कहिले गर्ने भनेर निर्वाचित सरकारले समय तोक्छ, राजाले होइन। जर्मनीमा त मस्कको प्रभाव सायद अझ कम हुन सक्छ।
चीनप्रति मस्क किन मौन छन्, बुझ्न सजिलो छ। उनको टेस्ला कम्पनीको ठूलो कारखाना छ त्यहाँ, जसमा उनी कुनै जोखिम निम्त्याउन चाहँदैनन्।
विश्वप्रतिको ट्रम्पको दृष्टिकोण लेनदेनमा आधारित छ। उनको चीन नीति अझै अनिर्णीत देखिन्छ। त्यसविपरीत रुसका भ्लादिमिर पुटिनप्रति ट्रम्पको प्रशंसा र युरोपप्रतिको तिरस्कारको मस्कले प्रचार गरिरहेका छन्। त्यसैले, मस्क ट्रोल मात्रै गर्दैछन् भन्ठान्नु हतार हुन्छ। न त यो सब पैसाका लागि मात्र हो। युरोपेली उदार लोकतन्त्रप्रति ट्रम्प–मस्कको दुस्मनी वास्तविक हो।
रुसलाई फाइदा हुने सर्तमा भए पनि युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पजत्तिकै अधीर छन् उनी। एएफडीले युक्रेनलाई जर्मनीले दिँदै आएको समर्थन रोक्ने वाचा गरेको छ। युक्रेनलाई दिँदै आएको बेलायती सहयोग स्टार्मरले वृद्धि गरेका छन्।
त्यसकारण एटलान्टिक गठबन्धनको पूर्वी हिस्साले अब नक्साबिनाको यात्रा गर्नुपर्ने देखिन्छ। सधैँ सबैभन्दा उत्तम विकल्पको आशा गर्ने बानी युरोपलाई छ। तर, यसपटक उसले सबैभन्दा खराब स्थितिका लागि योजना बनाउनुपर्ने देखिन्छ।
(फाइनान्सियल टाइम्सबाट)
Shares

प्रतिक्रिया