'सीमित व्यक्तिमा निहित असीमित अधिकार क्रूर हुन्छ' : अलेक्जान्डर सोल्झेनित्सिन
डोनाल्ड ट्रम्प राष्ट्रपतिका रूपमा ह्वाइट हाउस छिरेको दुई सातामा देखिएको ताण्डव उथलपुथल कुनै आश्चर्य होइन। उनी यसै गर्छु भनेर आएका हुन्। बहुसंख्यक गोरा अमेरिकी मतदाताले उनलाई यसैका लागि जिताएका हुन्।
समशीतोष्ण भूमिमा उम्रिने प्राकृतिक मसला खोज्दै इटलीमा जन्मिएर स्पेनको दरबारमा हाजिरी बजाउने क्रिस्टोफर कोलम्बस वास्तवमा भारत खोज्दै समुद्री यात्रामा हेलिएका थिए। पन्ध्रौँ शताब्दीमा झुक्किएर ती दुस्साहासी नाविक अहिलेको अमेरिका नपुगेको भए आजको संसारको अवस्था सायद अर्कै हुने थियो।
कोलम्बस अमेरिका पुग्नुभन्दा पाँच सय वर्षअघि नै उत्तरी गोलार्धका 'स्क्यान्डिनेभियन'हरू अहिलेको अमेरिका पुगेको कुरा इतिहासमा स्थापित छ। वर्षको सात महिना हिउँले छोपिने भूभागबाट आलु, पिँडालु र मकै फल्ने समथर भूमि देखेर उनीहरूलाई पनि लोभ त पक्कै लागेको थियो होला!
तर उनीहरूसँग आदिवासी वास्तविक अमेरिकीहरूसँग लड्ने भिड्ने क्षमता थिएन। उनीहरूको भूमि कब्जा नगरुन्जेल जहाजमा लादेको खाद्यान्नले पुगेन। कब्जा गर्ने सामर्थ्य भएन। उनीहरूले आदिवासी अमेरिकीहरूसँग जनावरको छालाको सट्टामा फलामका भाँडाकुँडा र सामान्य हतियार साटासाट गरे।
त्यसपछि उनीहरू फर्किएर अहिलेको अमेरिका कब्जा गर्न आएनन्।
अमेरिकामा दासप्रथाविरुद्द गृहयुद्धको बाछिटा कायमै रहँदा सन् १८८५ मा डोनाल्ड ट्रम्पका हजुरबुवा फ्रेडरिक ट्रम्प १६ वर्षको उमेरमा जर्मनीबाट अमेरिका आए। सन् १८९२ मा उनले अमेरिकी नागरिकता प्राप्त गरे। सन् १९०५ मा न्युयोर्कमा जन्मिएका डोनाल्ड ट्रम्पका पिता पहिलो पुस्ताका अमेरिकी नागरिक हुन् जसले घरजग्गा बेचबिखन व्यवसायमा आफ्नो नामको झण्डा गाडे। त्यो भन्दापहिले वर्तमान राष्ट्रपतिका पिता अमेरिकामा सुन खोज्न आउने खानी मजदुरका निम्ति भोजनालय र वेश्यालय चलाउँथे। डोनाल्ड ट्रम्पकी आमा मेरी ट्रम्प बेलायत अधीनस्थ स्कटल्यान्डमा व्याप्त भोकमरीको प्रकोपबाट भागेर पहिले क्यानडा र पछि अमेरिकामा घरेलु नोकर्नीको रूपमा छिरेकी थिइन्।
अहिलेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दोश्रो पुस्ताका अमेरिकी हुन्। अर्थात् उनी आप्रवासीका सन्तान हुन्। तीन पत्नीका पति र पाँच सन्तानका पिता ट्रम्पकी कान्छी पत्नी मेलानिया ट्रम्प युरोपको बाल्टिक क्षेत्र स्लोभानियाकी एक संघर्षरत मोडल हुन्। पत्रिकाहरूमा अर्धनग्न तस्बिर छापिन थालेपछि मात्रै उनी वर्तमान राष्ट्रपतिको आँखामा परेकी हुन्। डोनाल्ड ट्रम्पले मेलानियाका मातापितालाई 'चेन माइग्रेसन' को आप्रवासी नीति अनुसार नै अमेरिकी नागरिकता दिलाए, जसको अहिले उनी धुँवादार विरोध गर्दैछन्।
श्वेत इसाई अभियान
पहिलो शपथग्रहण समारोहमा उनका पूर्ववर्ती बाराक ओबामाको पालामा भन्दा कम मान्छे उपस्थित भएकोमा डोनाल्ड ट्रम्पको मन कुँडिएको थियो। त्यो बेला ओबामाको भन्दा आफ्नो पालामा बढी मान्छे उपस्थित थिए भन्ने साबित गर्न उनले शपथग्रहण स्थलको रेखदेख गर्ने पार्क पुलिसलाई नक्कली तस्बिरको आविष्कार गर्ने आदेश नै दिएका थिए। तर त्यसो हुन सकेन। दोस्रोपटक उनले यो अवस्था टार्न जाडो मौसमको बहानामा अमेरिकी संसद् भवनभित्र शपथग्रहण गरे।
पारम्परिक तामझामबाहेक यसपटक उनको शपथग्रहण समारोहमा चर्चका पादरीहरूको उल्लेख्य उपस्थिति थियो। उनीहरूले भने, 'डोनाल्ड ट्रम्पलाई भगवानले हामीलाई आशीर्वादका रूपमा दिएका हुन्।' ट्रम्पले पनि भने, 'मलाई भगवानले यसै दिनका लागि बचाएका हुन्।'
चुनाव अभियानमा ट्रम्पमाथि दुईपटक हत्या प्रयास भएको पनि हो। डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेको दुई सातामा उनले गरेका निर्णयले देखाएको छ, यी राष्ट्रपतिको धारणा श्वेत सर्वोच्च्तावादी क्याथोलिक चर्चको धार्मिक मान्यतासँग मेल खाने खालको छ। अमेरिकी चर्च र ट्रम्प महिलाको गर्भपतनको अधिकारविरोधी हुन्। चर्चले महिला र पुरुषबाहेक तेस्रो वा समलिंगीको अधिकारलाई मान्यता दिँदैन। ट्रम्पले यो कुरामा बल दिएर भने, 'आजदेखि अमेरिकामा केवल दुई लिङ्गको अस्तित्व रहनेछ- एक महिला, अर्को पुरुष।'
श्वेत सर्वोच्चतावादी चर्चको अडान छ, 'अभिभावकलाई आफ्ना सन्तानलाई के पढाउने र नपढाउने भन्ने कुराको निर्क्यौल गर्ने अधिकार हुनुपर्छ।' डोनाल्ड ट्रम्प अब अमेरिकी शिक्षा मन्त्रालय नै खारेज गर्ने तयारीमा छन्।
ट्रम्पको मन्त्रिमण्डलमा उपराष्ट्रपति जेडी भान्सबाहेक अरु एक दर्जन सदस्यहरू कट्टर क्याथोलिक चर्चसँग आबद्द छन्।
शपथग्रहण समारोहमा एकजना इसाई पादरी मेरियन बडले अपेक्षाकृत विपरीत अभिव्यक्ति दिइन्, 'राष्ट्रपतिज्यू, तपाईंसँग एकथरी अमेरिकीहरू तर्सिएका छन्। उनीहरू अपहेलित अल्पसंख्यकहरू हुन्। उनीहरूको आत्मसम्मान र सुरक्षा तपाईंको जिम्मेवारी हो।'
ट्रम्पले उनलाई घुरेर हेरे। पछि भने, 'उनले जे बोलिन्, त्यसको क्षमायाचना जरुरी छ।' अमेरिकी राष्ट्रपति राज्य र धर्मका बीच अमेरिकी संस्थापकहरूले कोरेको विभाजन रेखा मेट्ने प्रयासमा छन्। अमेरिकी जनजीवनको विविधता अब खतरामा छ।
सत्तामा धनाढ्यहरूको कब्जा
डोनाल्ड ट्रम्पको शपथग्रहणमा उनको पछिल्तिर उभिएका थिए, टेस्ला र स्पेस एक्सका मालिक इलोन मस्क, फेसबुकका मालिक मार्क जकरबर्ग र अमेजनका मालिक जेफ बेजोस। यी तीनजनाको कुल सम्पत्ति नौ सय अर्ब डलरभन्दा बढी छ। यो रकम अमेरिकाका आधा जनसंख्याको सम्पत्तिभन्दा बढी हो। यी तीनैजनाले चुनावमा ट्रम्पलाई मनग्गे आर्थिक सहयोग गरेका थिए। यी तीनमध्ये इलोन मस्क अहिले चर्चाको शिखरमा छन्। ट्रम्पको चुनावमा २५ करोड डलर चन्दा दिएर ट्रम्पकै घरमा दुई हजार डलर प्रतिदिन भाडा तिरेर बसेका मस्क अहिले 'छाया राष्ट्रपति'का रूपमा कुख्यात छन्।
संसारका सबैभन्दा धनी मस्कका लागि यो रकम कुनै ठूलो कुरा होइन। किनकि, ट्रम्प विजयी भएको दिनदेखि अहिलेसम्म उनले त्यसको हजारौँ गुणा बढी आम्दानी गरिसकेका छन्। मस्क दक्षिण अफ्रिकामा जन्मिएर अमेरिकामा विद्यार्थीका रूपमा प्रवेश गरेका हुन्। उनले आप्रवासी कानुन उल्लंघन गरेको आरोप छ। तर उनी अहिले राष्ट्रपति ट्रम्पले आफ्नो तजबीजमा खडा गरेको 'सरकारी खर्च कटौती' विभागका प्रमुख हुन्।
टेस्ला र स्पेस एक्स, अहिले एक्स भनिने पुरानो सामाजिक सञ्जाल ट्विटर बाहेक उनको अरु चारओटा कम्पनीले अमेरिकी रक्षा मन्त्रालय र जासुसी संस्थासँग मिलेर काम गर्न अर्बौँ डलरको ठेक्का हात पारेका छन्। उनी त्यही हैसियतमा आफ्नो व्यापार पनि गर्दैछन्। सँगसँगै ट्रम्पले उनलाई आफ्ना प्रतिस्पर्धीहरूको वित्तीय सूचना समेत हात पार्ने गरी राष्ट्रिय ढुकुटीका कागजात खोज्ने, त्यसको कोड परिवर्तन गर्ने आदि सम्पूर्ण अधिकार दिएका छन्। मस्कलाई अमेरिकी जनताले कुनै पदमा निर्वाचित गरेका छैनन्। तर उनी ट्रम्पविरोधी आशंका गरिएका झन्डै बीस लाख सरकारी कर्मचारीलाई अवकाश दिने तयारीमा छन्।
पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा ट्रम्पविरुद्द अनुसन्धान गर्ने ६ हजार एफबीआई अधिकृतहरूको जागिर धरापमा छ। अमेरिकी विदेश सहयोग संस्था यूएसएड बन्द हुने सम्भावना छ। यो विवादास्पद संस्थाले अमेरिकी नीतिविरुद्द आफूखुसी करदाताको पैसा खर्च गरेको आरोप छ। नेपालका वामपन्थी बुद्धिजीवीहरूले यो पैसाबाट आफ्नो घर ठड्याएको कुरा अहिले नेपाली सामाजिक सञ्जालमै छताछुल्ल हुँदैछ।
शपथग्रहण समारोहमा इलोन मस्कले गरेको हिटलर शैलीको 'नाजी सलाम'ले धेरैको मनमा संशय पैदा गरेको छ भने त्यो अस्वाभाविक होइन। मस्कको पृष्ठभूमि सङ्लो छैन। उनी व्यापारमा राज्यको एक अंश पनि हस्तक्षेप हुनुहुँदैन भन्ने मान्यताका पक्षपाती नवउदारवादी हुन्। उनी कर्मचारीतन्त्रलाई 'जनताको शत्रु' ठान्छन्। ट्रम्पसँग उनको धारणा यस मामिलामा ठ्याक्कै मिलेको छ।
ट्रम्पले आफ्नो पहिलो कार्यकालको सुरुवातसँगै २०१७ मा भर्जिनियाको सार्लोट्स्भिलमा आयोजित नवनाजी जुलुस र भोलिपल्ट भएको हत्या प्रकरणमा श्वेतवादी कट्टरपन्थीहरूलाई जिम्मेवार ठहर्याउन अस्वीकार गरे। मस्कले जर्मनीको चुनावमा कट्टरपन्थी दक्षिणपन्थी दलका नेता एलिस बिडेललाई खुलेर समर्थन गरेका छन्। इटलीकी दक्षिणपन्थी प्रधानमन्त्री जर्जिया मेलोनीसँग मस्कको नङ र मासुको सम्बन्ध छ। उनको स्टार लिंक र इटालीको दूरसञ्चार प्रणालीका बीच अर्बौं डलरको सम्झौता हुने तयारी छ। मस्क बेलायतका लेबर पार्टीका वर्तमान प्रधानमन्त्री किअर स्टार्मरविरुद्द सार्वजनिक रूपमै आक्रामक देखिन्छन्।
के जर्मन मूलका डोनाल्ड ट्रम्पको आत्मामा जर्मनीकै नरसंहारक तानाशाह एडोल्फ हिटलरको आत्मा बास गर्न आइपुगेको हो? एउटा जर्मन किंवदन्ती अनुसार फाउस्ट नामक एक विद्वानले धनी र लोकप्रिय हुने लोभमा आफ्नो आत्मा शैतानलाई बेचेका थिए। फाउस्ट धनी र लोकप्रिय त भए, तर उनको बडो दुखान्त भयो। के शैतानको रूपमा ट्रम्पको आत्मा किन्न मस्क अघि सरेका हुन्?
ब्रोमान्स कहिलेसम्म?
डोनाल्ड ट्रम्प आफ्नै वैकल्पिक सत्यमा विश्वास गर्ने एक आत्ममुग्ध व्यक्ति हुन्। आफ्नो भागको लोकप्रियता अरुले खोस्न आएको उनलाई मन पर्दैन। उनको पहिलो कार्यकालमा सल्लाहकार बनेर ह्वाइट हाउस छिरेका एकजना थिए, स्टिभ बेनन। कट्टर परम्परावादी रिपब्लिकन बेननलाई ट्रम्पविरोधी सञ्चारयन्त्रले 'वास्तविक राष्ट्रपति' को पगरी गुथाएर दैनिक लेख्न बोल्न थाल्यो। रिसको झोँकमा ट्रम्पले बेननलाई कुनै स्पष्टीकरण दिने मौकाबिनै गलहत्याइदिए।
मस्कले जतिसुकै चन्दा दिए पनि, उनको हविगत पनि स्टिभ बेननकै जस्तो भएमा कुनै आश्चर्य हुने छैन।
न्युयोर्क टाइम्सकी ह्वाइट हाउस संवाददाता म्यागी हेबरम्यानको एउटा रिपोर्ट अनुसार बेनन अहिले मस्कविरुद्द डोनाल्ड ट्रम्पको कान फुक्न ज्यान दिएर लागेका छ। उनको रिपोर्ट अनुसार, 'मस्कको बेला न कुबेला बिनासूचना ट्रम्पको अफिसमा छिर्ने र बसेपछि उठदै नउठ्ने बानीले ट्रम्पलाई अहिले नै झर्को लाग्न थालिसकेको छ।'
ट्रम्प र मस्क दुवै आआफ्नै प्रकारका घमण्डका महारथी हुन्। दुवैको 'इगो' बेलुनको छालाभन्दा पनि पातलो छ। दुवैको आआफ्नै एजेन्डा छ। सवाल बेलुन पड्किन्छ कि पड्किँदैन भन्ने होइन, कहिले पड्किन्छ भन्ने हो। अमेरिकी सञ्चारजगतको आकलन यस्तै छ।
बन्द आँखा बन्द कान
आफ्नो चर्चित पुस्तक १९८४ मा जर्ज अरवेलले लेखेका छन् , '… त्यसपछि आफ्नो राजनीतिक दलले उनीहरूलाई आदेश दियो, तिमीहरू आफ्नो आँखाले देखेको र कानले सुनेको सत्यको अवहेलना गर्ने बानी बसाऊ। यो तिमीहरूको लागि सर्वाधिक महत्त्वपूर्ण र अन्तिम निर्देश हो।'
अमेरिकामा अहिले त्यस्तै हुँदैछ। मेक्सिको र क्यानडालाई २५ प्रतिशत कर लगाएको भोलिपल्ट ट्रम्पले अमेरिकीहरूलाई भने, 'तिमीहरूलाई केही दिन कष्ट हुनसक्छ। तर यो तिमीहरूकै भलाइका लागि हो।'
ट्रम्पका मतदाताका आँखा र कान यतिबेला आफ्नो प्राकृतिक अभ्यास गर्न असमर्थ छन्।
अरवेलको कुरालाई 'फिक्सन' भनेर बिर्सिने स्वतन्त्रता छ। सोल्झेनित्सिनको अनुभवलाई 'फिलोसोफी' भनेर उडाउने छुट पनि छ। तर ट्रम्प र मस्कको संकीर्ण कुत्सीत सोचबाट बिस्तारित सर्वसत्तावादको मूल्य सम्पूर्ण विश्वले चुकाउनु पर्नेछ। अब आतंकको भूमण्डलीकरण हुँदैछ।
डोनाल्ड ट्रम्पको 'गजा पट्टीलाई खाली गरेर त्यहाँका प्यालेस्टिनी नागरिकलाई अन्यत्र सार्ने र त्यो जमिनलाई मध्यपूर्वको स्वर्ग बनाउने' खतरनाक अभिव्यक्ति यो आतंकको सुरुवात हो।
'सीमित व्यक्तिमा निहित असीमित अधिकार क्रूरता हो।'
(राजेश मिश्र हाल अमेरिकाको सान डिएगो, क्यालिफोर्नियामा बसोबास गर्छन्)
Shares

प्रतिक्रिया