विचार


चीनसँगको सम्बन्धलाई नयाँ चरणमा लैजान तयार मोदी

‘२०२० अघिको स्थिति बहाल गर्न खोज्दै छौँ’
चीनसँगको सम्बन्धलाई नयाँ चरणमा लैजान तयार मोदी

माइकल कुगलम्यान
चैत ८, २०८१ शुक्रबार १८:१२,

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै एउटा पडकास्टलाई दिएको अन्तर्वार्ताले भारतमा धेरैको ध्यान आकर्षित गरेको छ। उनले लेक्स फ्रिडम्यान पडकास्टमा तीन घण्टा लामो कुराकानी गरेका छन्। सञ्चारमाध्यमबाट टाढा रहन रुचाउने नेताका रूपमा कुख्यात मोदीका लागि यो निकै लामो अन्तर्वार्ता थियो। पडकास्टमा मोदीले विदेशनीतिका विषयमा विस्तृत चर्चा गरेका छन्। तर, चीनप्रति उनको टिप्पणी सबैभन्दा खास छ।

मोदीले नयाँ दिल्लीको प्रमुख रणनीतिक प्रतिद्वन्द्वन्द्वी चीनका बारेमा सकारात्मक धारणा राखेका छन्। जबकि २०२० मा लद्दाखस्थित सीमा क्षेत्रमा भएको झडपपछि यी दुई छिमेकीको सम्बन्ध तनावपूर्ण रहँदै आएको छ। मोदीले द्विपक्षीय सम्बन्ध सुधारमा जोड दिएका छन् र दुई देशको सीमामा सामान्य अवस्था फर्केको बताएका छन्। तथापि, सीमा विवाद कायम छ।

मोदीको एक दशकभन्दा लामो शासनकाल र खासगरी लद्दाखको झडपपछि भारतले भन्दै आएको थियो– जबसम्म सीमाको मुद्दा उचित रूपले सम्बोधन हुँदैन, तबसम्म चीनसँगको सम्बन्ध स्थिर बन्न सक्दैन। तर, मोदीले अन्तर्वार्तामा आफू सम्बन्धलाई नयाँ चरणमा लैजान तयार रहेको संकेत गरेका छन्। लामो समयदेखि सहकार्य बढाउनुपर्ने बताउँदै आएको बेइजिङले सकारात्मक प्रतिक्रिया दिएको छ। 

मोदीले यो कुरा अहिले नै किन भने त? त्यसका केही कारण हुन सक्छन्। चीन र भारतको सम्बन्धमा हालै विकसित भएका घटनाक्रम, भारतको आर्थिक अवस्था र राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका नीतिहरू यसका लागि जिम्मेवार हुन सक्छन्। 

पछिल्ला महिनाहरूमा भारत–चीन सम्बन्धमा बिना हल्लाखल्ला सुधार आउन थालेको छ। गत अक्टोबरमा दुई पक्षबीच सेनाले लद्दाखवरिपरि सीमा गस्ती सुरु गर्ने विषयमा सहमति भयो। वर्षको अन्त्यमा अनेकौँ उच्चस्तरीय बैठक भए। ब्रिक्स सम्मेलनको साइडलाइनमा मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेट भयो। जनवरीमा भारत र चीन सिधा उडान पुनः सुरु गर्न सहमत भए।

यो बदलाव पूरै आश्चर्यजनक भने होइन। सीमा विवादका बाबजुद भारत–चीन सम्बन्ध विरलै शत्रुतापूर्ण बन्ने गर्छ। बहुपक्षीय हिसाबले पनि यी दुई देश साझेदार हुन्। र, उनीहरूको विश्वव्यापी हित पनि साझा छ। दुवैले गैरपश्चिमा आर्थिक मोडल अँगालेका छन् भने दुवै इस्लामिक आतंकवादको मुकाबिला गरिरहेका छन्। लद्दाख झडपपछि पनि यी दुई देशका सैनिकहरूले नियमित संवाद जारी राखे, जसको नतिजास्वरूप अक्टोबरमा गस्ती सम्झौता भयो। 

भारत सायद यो सानो सहमतिबाट तयार भएको कूटनीतिक परिस्थितिलाई आर्थिक सहकार्य अघि बढाउने मौकाका रूपमा उपयोग गर्न चाहन्छ। लद्दाख झडपपछि पनि भारत–चीन व्यापार चलिरह्यो। तर, भारतले कडाइ गरेपछि चिनियाँ प्रत्यक्ष वैदेशिक लगानी घट्यो। गत वर्ष भारतका प्रमुख आर्थिक सल्लाहकारले त्यो कडाइ खुकुलो पार्न आह्वान गरेका थिए।

भारतमा चिनियाँ लगानी बढ्दा कमजोर हुँदै गएका तर महत्त्वपूर्ण क्षेत्रहरूलाई सुदृढ गर्न मद्दत पुग्छ। खासगरी उत्पादन, नवीकरणीय उर्जालगायत क्षेत्र। यसले चीनसँग भारतको व्यापार घाटा कम गर्न पनि सघाउँछ। चीन भारतको आयातको प्रमुख स्रोत हो। द्विपक्षीय सम्बन्ध सहज हुँदा नयाँ दिल्लीका लागि थप लगानीका मार्गप्रशस्त हुन्छ। 

मोदीले चीनबारे यस्तो टिप्पणी गर्नुमा ट्रम्पको दृष्टिकोणले पनि योगदान दिएको हुनुपर्छ। ट्रम्पले चीनसँग तनाव घटाउने इच्छा व्यक्त गरेका छन् शान्ति तथा सुरक्षामा सीसँग साझेदारी गर्ने आशा व्यक्त गरेका छन्। चीनलाई ‘काउन्टर’ दिनका लागि अमेरिका नै भारतको सहयोग लिन अघि सर्दैन भने नयाँ दिल्ली पनि त चीनसँग गम्भीर तनावबाट जोगिन चाहन्छ।

अमेरिका–चीन तनाव घट्नु भारतका लागि राम्रो कुरा हुन सक्छ। यसले नयाँ दिल्ली वासिङ्टनसँग नजिक भएकाले सीमामा आक्रामक गतिविधि गरेर चीनले भारतविरुद्ध बदला लिने जोखिम घटाउँछ। सँगसँगै चीनविरुद्ध ट्रम्पले घोषणा गरेको भन्सार महसुल र भारतविरुद्ध पनि महसुल लगाउने धम्कीले नयाँ दिल्लीलाई व्यापार सहकार्यका लागि बेइजिङतर्फ फर्किन प्रोत्साहित गरेको छ।

यति सबै हुँदाहुँदै पनि मोदीको टिप्पणीलाई चीनसँग मेलमिलापको घोषणाका रूपमा बुझ्ने गल्ती गर्नु हुँदैन। भारत र चीनबीच असहमतिका कयौँ मुद्दा छन्। उदाहरणका लागि पाकिस्तानसँग चीनको निटकता, अमेरिकासँग भारतको सुरक्षा साझेदारी, भारतमा लामो समयदेखि दलाई लामाको उपस्थिति र हिन्द महासागमा चीनको बलियो नौसैनिक उपस्थितिलाई लिन सकिन्छ।

भारत र चीन एसियाका दुई सबैभन्दा ठूला मुलुक पनि हुन्। र, दुवैले आफूलाई सभ्यतागत राज्य मान्छन्। यसले उनीहरूलाई स्वाभाविक प्रतिस्पर्धी बनाउँछ। 

तथापि, बेइजिङसँग साझेदारी वृद्धिका लागि मोदीले वकालत गर्नु अत्यन्त महत्त्वपूर्ण कुरा हो। राम्रो द्विपक्षीय सम्बन्धले उनको देशको अर्थतन्त्र बलियो बनाउन सक्छ, नयाँ दिल्लीले आफ्नो निकटतम छिमेकका चुनौतीमा ध्यान केन्द्रित गर्न सक्छ र महाशक्ति मुलुक बन्ने भारतको आकांक्षाको एउटा प्रमुख बाधा पनि टर्छ।

(फरेन पोलिसीबाट)

के भनेका थिए मोदीले?
हेर्नुस्, भारत र चीनबीचको सम्बन्ध कुनै नयाँ कुरा होइन। दुवै राष्ट्रको संस्कृति र सभ्यता प्राचीन हुन्। आधुनिक युगमा समेत उनीहरू महत्त्वपूर्ण भूमिकामा छन्। तपाईंले ऐतिहासिक अभिलेख हेर्नुभयो भने शताब्दियौँदेखि भारत र चीनले एकअर्कासँग सिक्दै आएका छन्। मिलेर उनीहरूले विश्वको भलाइमा योगदान दिएका छन्। एक समय विश्वको जीडीपीको आधाभन्दा बढी हिस्सा भारत र चीनले मात्र ओगट्थे। भारतको योगदान त्यति विशाल थियो। 

र, मलाई विश्वास छ, गहिरो सांस्कृतिक सम्बन्धका साथ हाम्रो सम्बन्ध अत्यन्त बलियो छ। पछाडि फर्केर शताब्दियौँसम्म हेर्ने हो भने हामीबीच द्वन्द्वको इतिहास देखिँदैन। सधैँ हामी एकअर्काबाट सिक्न र एकअर्कालाई बुझ्न केन्द्रित भएका छौँ। एक समय चीनमा बौद्ध दर्शनको गहिरो प्रभाव थियो र त्यो दर्शन मूल रूपमा यहीँ उब्जिएको थियो।

हाम्रो सम्बन्ध भविष्यमा पनि उत्तिकै मजबुत रहन जरुरी छ। अझ बलियो बन्दै जानुपर्छ। निस्सन्देह, मतभेद स्वाभाविक छ। जब छिमेकमा दुई देश हुन्छन्, तब कहिलेकाहीँ असमझदारी भइहाल्छ। एउटा परिवारभित्र पनि सधैँ सबै कुरा मिल्दैन। तर, हाम्रो ध्यान मतभेद विवादमा नबदिलियोस् भन्ने सुनिश्चित गर्नमा केन्द्रित छ। हामी यही दिशातर्फ सक्रियतापूर्वक काम गर्छौं। झगडाको सट्टा हामी संवादमा जोड दिन्छौँ किनकि संवादको माध्यमबाट मात्रै हामी स्थिर र सहकार्यमा आधारित सम्बन्ध निर्माण गर्न सक्छौँ, जसले दुवै देशको सर्वोत्तम हितको सेवा गर्छ।

हामीबीच सीमा विवाद चलिरहेको सत्य हो। र, २०२० को घटनाले सीमामा हाम्रा देशहरूबीच निकै ठूलो तनाव सिर्जना गर्‍यो। तर, राष्ट्रपति सीसँगको मेरो पछिल्लो बैठकपछि हामीले सीमामा सामान्य अवस्था फर्किएको देखेका छौँ। अहिले हामी २०२० अघिको अवस्था बहाल गर्न काम गरिरहेका छौँ। विस्तारैविस्तारै तर निश्चित रूपले विश्वास, उत्साह र ऊर्जा फर्किनेछ। तर, पक्कै पनि यसका लागि केही समय लाग्ने छ। किनकि रिक्तता भएको ५ वर्ष भइसक्यो। हामीबीचको सहकार्य लाभदायक मात्र होइन, विश्वको स्थिरता र समृद्धिका लागि आवश्यक पनि छ। २१ औँ शताब्दी एसियाको शताब्दी हुनाले  भारत र चीनले स्वस्थ र स्वाभाविक तरिकाले प्रतिस्पर्धा गरुन् भन्ने हामी चाहन्छौँ। प्रतिस्पर्धा खराब चिज होइन, तर त्यो कहिल्यै पनि द्वन्द्वमा बदलिनु हुँदैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad