विचार


लोकतन्त्रको तेस्रो प्रतिलहरको हिस्सा हो नेपालमा राजतन्त्र ल्याउने प्रयास

जब प्रतिलहर आउँछ, तब नेपाली लोकतन्त्र झन् बलियो हुने गर्छ
लोकतन्त्रको तेस्रो प्रतिलहरको हिस्सा हो नेपालमा राजतन्त्र ल्याउने प्रयास

आशिष रेग्मी
चैत २१, २०८१ बिहिबार १५:४५, काठमाडौँ

लोकतन्त्र कुनै विचारधारा मात्र नभई यो एक प्रक्रिया पनि हो। राजनीतिक दलहरू विभिन्न विचार र सिद्धान्तको जगमा निर्माण भएका हुन्छन्। तीमध्ये अहिले बढी चर्चामा रहेका विचार हुन्, समाजवाद र पुँजीवाद।

पुँजीवादी या अझ भनौँ उदारवादीहरूले त आफूलाई मात्र लोकतन्त्रवादी दाबी गर्छन्। तर, यो पूर्ण सत्य नभई अर्धसत्य मात्र हो। पुँजीवादी शक्तिहरूले समाजवादी कार्यक्रमलाई पपुलिस्ट र समाजवादी या साम्यवादी विचारलाई गैरलोकतान्त्रिक भनेर गर्ने सतही दाबीलाई खारेज गर्दै यहाँ लोकतन्त्रलाई जनताको शासन मानी लोकतन्त्रका विभिन्न चरणहरूको विश्लेषण गर्ने प्रयास गरिएको छ।    

जुनसुकै सिद्धान्त बोक्ने राजनीतिक दलले पनि आफू राज्यसत्तामा पुगेर सोही विचार लागू गर्ने सोच बोकेको हुन्छ। त्यसरी आफ्नो विचार लागू गर्ने विभिन्न तरिकाहरू हुन सक्छन्। त्यसमध्येको एक विधि लोकतान्त्र हो। तसर्थ, लोकतान्त्रिक हुनु भनेको पुँजीवादी हुनु मात्र होइन। समाजवादी र अझ भनौँ संवर्द्धनवादीहरू पनि लोकतान्त्रिक हुन सक्छन्। लोकतान्त्रिक हुँदै गर्दा प्रगतिशील हुने कि नहुने, त्यो महत्त्वपूर्ण बहसको विषय भने हो।

लोकतन्त्र आफैँमा कमजोरीरहित छैन तर भएका व्यवस्थाहरूमध्ये लोकतन्त्र सबैभन्दा उन्नत व्यवस्था हो भनेर दाबी गर्न भने अप्ठेरो छैन। कमीकमजोरी भएरै होला, लोकतान्त्रिक व्यवस्थामाथि समय-समयमा प्रहार हुने गरेको छ।

सभ्यताहरूको संघर्ष सिद्धान्तका लागि चिनिएका अमेरिकी राजनीतिशास्त्री स्यामुएल पी हन्टिङटनले आफ्नो १९९१ को कृति द थर्ड वेभ: डेमोक्रेटाइजेसन इन द लेट ट्वेन्टिथ सेन्चुरीमा लोकतन्त्रको लहर र प्रतिलहरबारे व्याख्या गरेका छन्।

उनका अनुसार लोकतन्त्रको पहिलो लहर १९ औँ शताब्दीको सुरुवातदेखि २०औँ शताब्दीको मध्यसम्म रहेको मानिन्छ। यस समयमा अमेरिकी र फ्रान्सेली क्रान्तिहरूले गर्दा पश्चिमा लोकतन्त्रमा प्रगति भएको देख्न सकिन्छ। यस समयको प्रमुख विशेषता भनेको पश्चिमा लोकतन्त्रमा मताधिकारको विस्तार थियो। यो सुरुवाती लोकतन्त्रको चरण पहिलो विश्वयुद्धपछि वृद्धि हुँदै जाँदा सन् १९२६ सम्म २९ वटा देशले लोकतान्त्रिक व्यवस्था अपनाइसकेका थिए। यो चरण प्रमुखरूपमा पश्चिमा देशहरूमा मात्र सीमित रहेको थियो।

सन् १९१८ मा पहिलो विश्वयुद्धको अन्त्यसँगै गति लिएको लोकतान्त्रिक व्यवस्थालाई फासीवाद र सैनिक शासनहरूले चुनौती दिएका थिए। लोकतन्त्रविरुद्धको यो पहिलो प्रतिलहर थियो, जुन सन् १९२० देखि १९४० को दशकसम्म रह्यो र दोस्रो विश्वयुद्धको अन्तसँगै परास्त भएको पाइन्छ। यही प्रतिलहरका बेला हिटलर र मुसोलिनीजस्ता फासिस्ट नेताहरूको उदय भएको थियो।

लोकतन्त्रको दोस्रो लहर सन् १९४३ देखि १९६२ को अवधिमा चलेको पाइन्छ। दोस्रो विश्वयुद्धमा मित्र राष्ट्रहरूले धुरी राष्ट्रमाथि विजय प्राप्त गरेपश्चात् लोकतन्त्रको नयाँ युगको सुरूवात भएको मानिन्छ।। मित्र शक्तिहरूले लोकतन्त्रलाई प्रवर्द्धन गरेकाले नयाँ बनेका र धुरी राष्ट्रहरूमा पनि लोकतन्त्रको सुरूवात भयो। यही अवधिमा एसिया र अफ्रिकाका अधिकांश ठाउँमा उपनिवेशको पनि अन्त भएको थियो।  यसरी उपनिवेशबाट मुक्त भएका देशहरूमा पनि लोकतन्त्रको स्थापना भएको पाइन्छ। हाम्रै छिमेकी देश भारत पनि यसको एक उदाहरण हो। नेपालमा पनि यही अवधिमा जहानियाँ राणा शासनविरुद्ध आन्दोलन हुँदै पहिलो चरणको लोकतन्त्र स्थापना भएको थियो।

लोकतन्त्रको दोस्रो प्रतिलहर भने १९५० को दशकदेखि १९७० को  दशकको अवधिमा चल्यो। यस अवधिमा ल्याटिन अमेरिका, अफ्रिका र एसियामा सैनिक कु र तानाशाही शासनहरू देख्न पाइयो। अर्जेन्टिना, ब्राजिल र पाकिस्तान केही उदाहरण हुन्। नेपालकै सन्दर्भमा पनि सन् १९६० मा तत्कालीन राजा महेन्द्रले शिशु प्रजातन्त्रको हत्या गरेका थिए।

सन् १९७४ को पोर्चुगिज कार्नेसन क्रान्तिसँगै सुरु भएको लोकतन्त्रको तेस्रो लहर मानिन्छ १९९० को दशकसम्म रहेको मानिन्छ। यो अवधिमा दक्षिण युरोप, ल्याटिन अमेरिका र एसियाका केही देशहरूमा लोकतन्त्रिक परिवर्तनहरू देखिए। स्पेन, पोर्चुगल र चिलीजस्ता देशहरूको लोकतान्त्रीकरण यही अवधिमा भएको थियो। नेपालले पनि यही अवधिमा निर्दलीय पञ्चायती व्यवस्था विरुद्ध आन्दोलन देखेको थियो। नेपालमा १९९० मा बहुदलीय प्रजातन्त्र स्थापना भएको यही तेस्रो लहरको बेला हो।

यस आधारमा अहिले विश्वमा देखिएका नकारात्मक परिवर्तनहरूलाइ लोकतन्त्रको तेस्रो प्रतिलहरका रूपमा पनि अर्थ्याउन सकिन्छ। अमेरिकामा डोनाल्ड ट्रम्पको उदय, हंगेरीमा भिक्टर अर्बानद्वारा लोकतन्त्रको हत्या, भारतमै पनि धार्मिक कट्टरपन्थको बोलवाला आदिलाई उदाहरण मान्न सकिन्छ। विश्वका धेरै मुलुकहरूमा लोकतन्त्रमा गम्भीर क्षय देखिएका छन्।

नेपालकै सन्दर्भमा पनि लोकप्रियतावादको आड लिएर केहीले नवफासीवादको अभ्यास गर्न खोजिरहेका छन् भने केही जनताले मृत घोषित गरेको राजतन्त्रलाई फेरि ब्युँताउने दुष्प्रयास गर्दैछन्। यसका पछाडि आर्थिक मन्दी, सांस्कृतिक अतिक्रमण, प्रविधिको विकास, स्थापित संस्था र राजनीतिक दलहरूप्रतिको अविश्वाश जस्ता अनेक कारणहरू छन्। तर, कारण जे भए पनि लोकतन्त्र विश्वव्यापीरूपमा फेरि एकपटक रक्षात्मक अवस्थामा पुगेको छ।

यस्तो बेला धर्म/संस्कृतिको रक्षा, उग्र राष्ट्रवादका नारा, सुन्दा आनन्द आउने विषयका उठान, सामाजिक अराजकता भड्काउने व्यवहारहरू विभिन्न माध्यमबाट भएको देख्न सकिन्छ। यसमा लोकतान्त्रिक शक्तिहरूको केही गल्ती नै हुँदैन भन्ने पनि होइन।  स्थापित राजनीतिक दलहरू र त्यससँग आबद्ध नेतृत्वमा आइरहेको विचलनले पनि यस्तो परिस्थिति निम्त्याइरहेको हुनसक्छ।

तर, लोकतन्त्र सुन्दरता भनेकै प्रश्न गर्न पाउने अधिकार हो। आफ्ना प्रतिनिधिलाई जवाफदेही बनाउन पाउने अधिकार हो। आफ्ना चाहना खुलस्त रूपले राख्न पाउने अधिकार हो। अर्थात्, दार्शनिक जोन लकका अनुसार सबै व्यक्तिलाई जन्मजातरूपमा जीवन, स्वतन्त्रता र सम्पत्तिको अधिकार छ। यो प्राकृतिक अधिकारलाई सुरक्षित गर्न मानिसले सरकार गठन गर्छन्। यदि सरकारले यो प्राकृतिक अधिकार सुरक्षित गर्न सकेन भने विद्रोह हुन्छ।

विश्वभर फैलिएको पपुलिजम र अधिनायकवादी नेतृत्वको उदयले नेपाली समाजमा पनि 'सशक्त नेतृत्व' को इच्छा बढाएको हुन सक्छ। तर, राजनीतिक स्थिरता र तीव्र विकासको चाहनालाई नेपालमा राजावादीहरूले राजतन्त्र पुनर्स्थापनाको बहससँग जोडेर आन्दोलन अगाडि बढाउन खोजिरहेका छन्। इतिहासले देखाएजस्तो एक व्यक्ति वा परिवारको शासनले दीर्घकालीन समाधान भने दिन सक्दैन।

लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र मात्र हो। लोकतन्त्रलाई निरन्तर विकसित हुने प्रक्रिया र व्यवस्था हो भनेर पनि बुझ्न जरुरी छ। राजनीतिक दलहरूले जुनसुकै विचारलाई समर्थन गरे पनि नागरिक सर्वोच्चता, आवधिक निर्वाचन, प्रश्न उठाउन पाउने अधिकार, खुला बहस र आलोचनात्मक सोचजस्ता सकारात्मक पक्षहरू भएको लोकतान्त्रिक व्यवस्था भने अत्यावश्यक छ। वंशीय शासन, सैनिक शासन वा अधिनायकवाद जस्ता शासन व्यवस्थाले यी गुणहरूलाई स्वीकार्दैन, जसकारण लोकतान्त्रिक प्रक्रियामा दीर्घकालीन संकट निम्त्याउने सम्भावना रहन्छ।

समग्रमा, लोकतन्त्रका लहर र प्रतिलहरका सिद्धान्तले स्पष्ट रूपमा देखाउँछ- राजनीतिक व्यवस्था कहिलेकाहीँ जनताको असन्तुष्टि र बाह्य-आन्तरिक दबाबका कारण फेरबदलको सामना गर्न बाध्य हुन्छ। नेपालमा राजतन्त्र पुन:स्थापनाको बहस पनि यसै परिवर्तनशील विश्वव्यापी परिप्रेक्ष्यको एक अंश हो। तर, इतिहासले सिकाएको पाठ यही हो कि लोकतन्त्रलाई सँधै नवीकरण गर्ने, सुधार गर्ने र जनताको सहभागिता मार्फत सुदृढ बनाउने प्रयासमा मात्रै यसको स्थिरता सम्भव छ। नेपालमा पनि जबजब लोकतन्त्रले प्रतिलहरको सामना गरेको छ, तबतब लोकतन्त्रवादी शक्तिहरूले अझ सुदृढ रूपमा लोकतन्त्रलाई स्थापित गर्न सफल भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad