विचार


बदलिँदो परिवेशमा युवाले चाहेको राजनीति*

क्रान्तिबाट नवप्रवर्तनतर्फ : २०६२/६३ देखि २०८४ सम्म नेपालको पुस्तागत परिवर्तन
बदलिँदो परिवेशमा युवाले चाहेको राजनीति*

पृथ्वीसुब्बा गुरुङ
बैशाख ११, २०८२ बिहिबार १८:५२, काठमाडौँ

१. २०६२/६३ को जनआन्दोलन – नयाँ युगको आरम्भ
२०६२ चैत २२ देखि २०६३ वैशाख ११ गरी उन्नाइस दिनसम्म चलेको नेपालको ऐतिहासिक जनआन्दोलन २०६२/२०६३ जसलाई आज पनि इतिहासका सुनौलो पानामा उल्लिखित गरिन्छ। सोही आन्दोलनले नेपालको २ सय ३८ वर्ष पुरानो राजतन्त्र ढालेर देशमा लोकतान्त्रिक गणतन्त्रको जग बसालेको थियो। आन्दोलनमा सात राजनीतिक दल र सशस्त्र युद्ध गरिरहेको तत्कालीन माओवादी समेत सम्मिलित भएका थिए। २०६२/६३ को ऐतिहासिक जनआन्दोलनले एक यस्तो प्रेरणा स्रोत बनेको छ जसले हाम्रो संकल्प र देशप्रेमलाई नयाँ उर्जा प्रदान गरेको थियो।

२०४६ मा भएको जनआन्दोलनबाट पञ्चायती व्यवस्था ढलेर संसदीय व्यवस्था र संवैधानिक राजतन्त्र स्थापना भएको थियो। बहुदलीय संसदीय व्यवस्था नेपालमा लामो समयसम्म चल्न सकेन। वि.स‌. २०५२ मा सुरू भएको माओवादी जनयुद्धका कारण देश झन् अस्थिरतातर्फ बढेको थियो। २०५८ सालमा नेपालका राष्ट्र प्रमुख रहेका राजा वीरेन्द्र लगायत उनको परिवारका सबै सदस्यहरूको नारायणहिटी दरबारमा हत्या भएको थियो। त्यसपछि उनका माइला भाइ ज्ञानेन्द्र नेपालका नयाँ राजाका रूपमा गद्दीमा बसेका थिए।

राजा ज्ञानेन्द्रले जनताका मौलिक हक निलम्बन गर्दै संचार तथा सूचनाका माध्यमहरू नियन्त्रण गर्दै देशमा संकटकालीन अवस्था लागू गरेका थिए। फलतः राजाले निर्वाचित संसद भङ्ग गरेर सत्ता आफ्नो हातमा लिए।

नेपाल अधिराज्यको संविधान २०४७ मा राजकीय सत्ता तथा राजाको अधिकारको विषयमा केही व्यवस्थाहरू स्पष्ट नभएकाले राजाले यो कदम उठाउन सकेका थिए। विनासंसदको देशमा विभिन्न व्यक्तिहरूको प्रधानमन्त्रित्वमा राजाले मन्त्रिमण्डल फेर्दै गए र अन्ततः राजा ज्ञानेन्द्रले २०६१ माघ १९ का दिन एउटा घोषणा मार्फत सम्पूर्ण राज्यसत्ता आफ्नो हातमा लिएर आफ्नै अध्यक्षतामा नयाँ मन्त्रिमण्डल गठन गरेका थिए। त्यसपछि देशभरका टेलिफोन तथा मोबाइलहरूका प्रसारण लाइन काटिएको थियो। रेडियो, टीभी, पत्रपत्रिका लगायतका सञ्चार माध्यमहरूमा नियन्त्रण गरिएको थियो। मौलिक हकमा समेत प्रतिबन्ध लागेको थियो। राजा ज्ञानेन्द्रको यो कदमको देशभित्र मात्र नभएर विश्वव्यापी रूपमा विरोध भएको थियो। राजनीतिक दलहरू आन्दोलनमा उत्रिएका थिए।

सात राजनीतिक दलहरूको गठबन्धनले राजाको कदम विरूद्ध आन्दोलन गरिरह्यो। तर लामो समयसम्म पनि यसले कुनै परिवर्तन ल्याउन चाहेन। यसै क्रममा सशस्त्र युद्ध गरिरहेको नेकपा माओवादी र आन्दोलनरत सात राजनीतिक पार्टीहरूबीच २०६२ फागुनमा नयाँ दिल्लीमा वार्ता भई १२ बुँदे सहमति भयो। त्यसपछि अन्य राजनीतिक दलसँगै माओवादीले पनि हतियार बिसाई जनआन्दोलनमा सहभागी भयो। सबै मिलेर आन्दोलन भयो सुरक्षाकर्मीको व्यापक दमनका बाबजुद मानव सागर सडकमा उत्रियो।

२०६२ चैत्र २४ बाट सुरु भएको आन्दोलनले सात दलद्वारा आम हड्तालको सुरुवातसँगै जनताको आवाजलाई उच्चारण गर्‍यो। २०६२ चैत्र २५ मा प्रहरीले पाटन र कीर्तिपुरमा आन्दोलनकारीहरूमाथि रबरको गोली चलाउँदा केही जनालाई घाइते बनाएको तथ्यले जनताको क्रोध र असन्तुष्टिलाई थप तेज बनायो। यसको साथसाथै, नेपाल राष्ट्र बैंक, राष्ट्रिय बाणिज्य बैंक, नेपाल टेलिकम र नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरूले काम बन्द गरेका थिए।

२०६२ चैत्र २७ मा सात दल सम्बद्ध संयुक्त जनआन्दोलन केन्द्रीय संयोजन समितिले कर्फ्यु र निषेधाज्ञाको अवज्ञा गर्दै आन्दोलन जारी राख्ने निर्णय गर्‍यो। चैत्र २८ मा वीर अस्पतालका चिकित्सकहरूले पनि स्वास्थ्यकर्मीको रूपमा जनता र विरोधी पक्षका प्रतिकूल परिस्थितिबाट मुक्ति पाउनका लागि आन्दोलनमा सहभागिता जनाए। चैत्र ३१ मा कानुन व्यवसायीहरूले निकालेको जुलुसमा प्रहरीले गोली र लाठी चार्ज गर्दा २८ भन्दा बढी जनालाई घाइते भए। आन्दोलनको तीव्रता यसैक्रममा बढ्दै २०६३ वैशाख १ देखि वैशाख ११ सम्म जनताको व्यापक प्रदर्शनहरू हुँदै गए, जसमा वैशाख ३ गते पाटन, बल्खु र अन्य स्थानहरूमा प्रहरीको अन्धाधुन्ध गोलीप्रहारका कारण १३ जना गम्भीर घाइते भएका थिए। वैशाख ५ गते अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरूले नेपालमा मानवाधिकार स्थितिबारे अन्तर्राष्ट्रिय मञ्चमा आलोचना गरेपछि, वैशाख ७ मा पाँच लाखभन्दा बढी आन्दोलनकारीहरूले कर्फ्यु आदेशको अवज्ञा गर्दै जनताको आवाजलाई बुलन्द गरे। अन्ततः वैशाख ८ मा राजा ज्ञानेन्द्रले विघटित संसद पुन:स्थापना गरी जनताको शक्ति जनतालाई नै सुम्पिने भन्दै राज्यसत्ता जनतामा फिर्ता गरे। वैशाख ११ मा राति ११:३० बजे राजा ज्ञानेन्द्रको सम्बोधनमा उनले राष्ट्रको सार्वभौम सत्ता नेपाली जनतामा नै निहित रहेको भन्दै राज्यसत्ता जनतामा सुम्पे। त्यसपछि सात राजनैतिक दलहरूको सहमतिमा विघटित संसद पुनर्स्थापित गरी नयाँ प्रतिनिधि सभाको मार्गचित्र तय भयो।

जनआन्दोलनपछि विस्तृत शान्ति सम्झौतामा आधारित नेपालको अन्तरिम संविधान २०६३ तयार पारियो र माओवादी समेतका विभिन्न दलहरूलाई समावेश गर्दै संयुक्त सरकार गठन भए। यस प्रक्रियामा नागरिक, राजनीतिज्ञ र विशेषज्ञहरूको उल्लेखनीय सहभागिताले नेपालको नयाँ संवैधानिक, राजनीतिक र सामाजिक ढाँचालाई मजबुत बनाउन महत्वपूर्ण भूमिका निभायो। हालका राजनीतिक घटनाक्रम, जसमा नयाँ दलहरूको उदय र युवा नेतृत्वको बढ्दो प्रभावले पुराना ढाँचालाई चुनौती दिँदै आएका छन्, २०६२/२०६३ को क्रान्तिको आदर्श र विरासतलाई अझ प्रासंगिक बनाइरहेका छन्। सामाजिक सञ्जाल र डिजिटल मञ्चहरूले भ्रष्टाचार, बेरोजगारी र शासनप्रतिको असन्तुष्टिलाई उजागर गर्दै रहेका छन् जसले हामीलाई विगतको गौरवशाली संघर्षलाई सम्झाउन र वर्तमानका समस्याहरूलाई समाधान गर्ने प्रेरणा प्रदान गर्छ।

२०६२/६३ को जनआन्दोलनले राजतन्त्रविरुद्ध जनताको आवाजलाई निर्णायक मोडमा पुर्‍यायो। २०६३ जेठ ४ गते संसद्ले राजाको धेरै अधिकारहरू खारेज गर्दै धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्‍यो। त्यसैको निरन्तरता स्वरूप २०६३ मंसिर ५ मा सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता भयो जसले दशक लामो सशस्त्र द्वन्द्वलाई औपचारिक रूपमा अन्त्य गर्‍यो।

२०६४ चैत २८ मा सम्पन्न संविधानसभा निर्वाचनमा माओवादीहरू पहिलो शक्तिशाली पार्टीका रूपमा उदाए। ऐतिहासिक संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ मा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्दै २३९ वर्ष पुरानो राजतन्त्रको औपचारिक अन्त्य गर्‍यो।

तर, यो परिवर्तनको लगभग दुई दशकपछि पनि केही सामाजिक र राजनीतिक वर्गहरू राजतन्त्र पुनर्स्थापनाको माग गर्दै सक्रिय भइरहेका छन्। यसकै उदाहरण २०८१ चैत १५ मा काठमाडौंमा भएको राजतन्त्र समर्थक प्रदर्शन हो, जसले पुनः एकपटक राष्ट्रको राजनीतिक संवेदनशीलता सतहमा ल्यायो। प्रदर्शनका क्रममा दुई जनाको मृत्यु र दर्जनौं घाइते भएपछि स्थिति तनावग्रस्त बन्यो। सार्वजनिक सम्पत्तिमाथि आगजनी र तोडफोड, निजी सम्पत्तिको लुटपाट, हिंसा, द्वन्द्व र अराजक प्रदर्शन भए। यसले राजा र राजसंस्थावादी प्रतिगामी शक्तिहरूको हैसियत प्रष्ट भयो। यसले राजाको पुन: स्थापनाको औचित्य पुष्टि गर्न राजनैतिकरूपमा तत्कालीन प्रतिगामी शक्ति असफल भयो।

यस घटनापछि २०८१ चैत १६ मा सरकारले हिंसात्मक झडपको छानबिन गर्ने घोषणा गर्‍यो। तर यो घटनाले एउटा गम्भीर प्रश्न उठाएको छ 'लोकतन्त्रको यात्राले के जनताको सबै अपेक्षा पूरा गर्न सकेको छ?' यदि द्वन्द्वपछिका परिवर्तनहरूले केही वर्गलाई अझै असन्तुष्ट बनाइरहेको छ भने लोकतान्त्रिक संस्थाहरू अझ जवाफदेही, समावेशी र दूरदर्शी बन्न जरुरी देखिन्छ।

समग्रमा, २०६२/६३ को जनआन्दोलनले हाम्रो देशलाई राजतन्त्रबाट गणतन्त्रमा रूपान्तरण गर्‍यो। माओवादी विद्रोहीहरू मूलधारको राजनीतिमा आए, संविधान निर्माणको प्रक्रिया सुरु भयो, र २०७२ मा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान कार्यान्वयनमा आयो। तर आज देशमा जुन नयाँ पुस्ता बाँचिरहेको छ उनीहरूका लागि यो शान्तिपूर्ण जनक्रान्ति इतिहासको विषय हो, अनुभव होइन।

२. आकांक्षी तर असन्तुष्ट नयाँ पुस्ता : उर्लंदो ऊर्जा, तर दिशाविहीन?
आजको युवा पुस्ता केवल हाम्रो वर्तमान समाजको हिस्सा मात्र होइन, भविष्यको मार्गनिर्देशक पनि हो। तिनीहरूले हामीलाई देखाएको सामाजिक, राजनीतिक र आर्थिक परिवर्तनको तीव्रता र गहिराइ बुझ्नुपर्ने हुन्छ। यो लेखमा, म ती युवाहरूको मानसिकता, सोच र आशाहरूलाई प्रस्तुत गर्न चाहन्छु जसले २०६२/६३ को जनआन्दोलनको प्रत्यक्ष अनुभव गरेका छैनन्, तर जसको जीवन र सोचले क्रान्तिको विरासतबाट आकार लिएका छन्।

२०६२/६३ को ऐतिहासिक जनआन्दोलनको समयमा जनताले निरंकुश राजतन्त्र विरुद्ध लड्ने साहस र शक्ति देखाएका थिए। त्यस युगको संघर्षले मुलुकको राजनैतिक अवस्था परिवर्तन गरेको थियो र नेपाली जनताले लोकतान्त्रिक व्यवस्थामा पाइला चाल्न पाएका थिए। तर आजको युवा पुस्ताले यस संघर्षलाई केवल किताब र इतिहासको पन्नामा मात्र देखेको छ। तिनीहरूले कुनै पनि असहमति र शासनको कडा दमनको प्रत्यक्ष अनुभव गरेका छैनन् तर तिनीहरूको हृदयमा ती संघर्ष र विरासत गहिरो रूपमा रहेको यो पुस्ता जन्मदेखि नै गणतान्त्रिक व्यवस्थामा हुर्केका छन् जसले तिनीहरूको सोचमा स्वतन्त्रता र अवसरको मूल्यलाई स्पष्ट बनाएको छ। यो युवा पुस्ताको दृष्टिकोणले समाजमा समानता र न्यायको नयाँ परिभाषा दिन चाहन्छ।

नयाँ सोच र उद्यमशीलता
नयाँ डिजिटल युगमा हुर्केका यी युवाहरूको सोच र दृष्टिकोण एकदम फराकिलो छ, व्यापक छ। उनीहरूको सोचमा नवीनता र उद्यमशीलता छ। उनीहरू केवल स्थानीय नभइ, विश्वस्तरीय नागरिकको रूपमा आत्मविश्वास र प्रेरणाले भरिएका छन्, अर्थात् स्थानीय नागरिक र अन्तराष्ट्रिय उपभोक्ताहरूको रूपमा व्यापक रहेका छन्। तिनीहरूले सामना गरिरहेका अवसर र चुनौतीहरू डिजिटल प्रविधिहरूमा आधारित छन् जसले उनीहरूको लागि अनगिन्ती नयाँ अवसरहरू खोलेका छन्। 'आजको हाम्रो युवा शक्ति नै हाम्रो राष्ट्रको उज्ज्वल भविष्य हो' भन्ने विश्वासमा आधारित, यी युवा आफ्नो उद्यमशीलता र सिर्जनशीलतासँग राष्ट्रको समृद्धि र विकासका लागि नयाँ दिशा दिन इच्छुक छन्।

युवा पुस्ताको उद्यमशीलताको उत्साहले नयाँ स्टार्टअपहरू, व्यवसायहरू र टेक्नोलोजी इनोभेसनको क्षेत्रमा ठूलो प्रभाव पार्न सक्छ। विश्वव्यापीकरण र डिजिटल कनेक्टिविटीको साथ उनीहरू आफूलाई केवल स्थानीय अवसरको सीमाभित्र राख्न चाहँदैनन्। उनीहरूको दृष्टिकोण अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धात्मक, गतिशीलता र सिर्जनशीलता चाहन्छ।

राजनीतिक असन्तुष्टि र परिवर्तनको चाहना
परिवर्तनका मुद्दामा हामी जति चर्चा गर्छौं, यो पुस्तामा गहिरो असन्तोष र हताशा देखिन्छ। पुराना राजनीतिक दलहरूको पुरानो कार्यशैली र ठोस दृष्टिकोणलाई कार्यान्वयन गर्न कमजोरी भएकाले युवा पुस्तामा एक गहिरो अविश्वास पैदा गरेको छ। उनीहरूलाई केवल नारा र घोषणाहरूको भरमा विश्वास छैन। राजनीतिक जटिलताहरू र पुराना दलहरूका कार्यशैलीले तिनीहरूलाई असन्तुष्ट र निराश बनाएको छ। यसले उनीहरू वर्तमान राजनीतिक प्रणाली र मूलधारका पार्टीहरूप्रति असन्तुष्टि देखिन्छ।

युवाहरूले आशा राखेका छन् कि राजनीतिक नेतृत्वमा अब नयाँ दृष्टिकोण र नीतिहरू समावेश गरिनेछन्। उनीहरूलाई त्यस्तो नेतृत्व चाहिन्छ जसले पारदर्शिता, जिम्मेवारी र युवाका लागि अवसरहरूको सृजनामा ध्यान दिन्छ। उनीहरू पारम्परिक दलहरूको पुरानो नेतृत्व शैलीसँग टाढा रहेका छन् र उनीहरूको अनुकूलताका लागि नयाँ नेतृत्वहरूको आवश्यकता माग गरिरहेका छन्। यही मनोभावनाको शोषण गर्दै केही दृष्टिकोण नभएका तर सस्तो नारा र प्रचार गर्ने प्रवृत्तिप्रति आकर्षित हुन खोजेका छन् जुन अन्योलताको भविष्यप्रति अग्रसर रहेको छ।

डिजिटल र सामाजिक सञ्जालको प्रभाव
आजको युवा पुस्ता केवल नेपाली समाजको साँघुरो घेराभित्र सीमित छैन तिनीहरू विश्वभर फैलिएका छन्। डिजिटल प्लाटफर्म र सोसल मिडिया यिनीहरूको लागि नयाँ युगका प्रमुख उपकरण बनेका छन्। यी उपकरणहरूले उनलाई सन्देश र विचारहरूको आदानप्रदान गर्न मात्र होइन, आफ्नो आवाज उठाउन, अन्य युवाहरूसँग जडान गर्न र पुरानो राजनीतिक परिपाटीहरूलाई चुनौती दिन सक्षम बनाएका छन्।

यो प्रभावशाली परिवर्तनको उदाहरण डिजिटल नेतृत्व र सोसल मिडियाको वृद्धि हो। फेसबुक, ट्विटर, टिकटक, इन्स्टाग्राम जस्ता प्लाटफर्महरूले उनीहरूको राजनीति, समाज र जीवनका सबै पक्षहरूमा भाग लिन सक्षम बनाएका छन्। यसले चुनावी रणनीतिहरू, राजनीतिक संवाद र विचारका आदानप्रदानका पुराना तरिकाहरूलाई परिवर्तन गरेको छ। आजको युवा अरूको विचारमा मात्र प्रतिबद्ध छैन, उनीहरू आफ्ना विचारहरूलाई सँगै मुखरित गर्न, नयाँ सोचका लागि सिर्जनशील वातावरण सिर्जना गर्न र आफ्नो आवाज उठाउन सक्रिय छन्।

नेपालको जनसांख्यिक ढाँचा हेर्दा १६–३० वर्ष उमेर समूहका युवा अहिले सबैभन्दा ठूलो र प्रभावशाली जनशक्ति हुन्। २०७८ सालको जनगणनाका अनुसार कुल जनसंख्या २.९१ करोडमध्ये झन्डै ३५ लाखजति मानिस यो समूहमा पर्छन्। तर, आश्चर्यको कुरा के छ भने, यति ठूलो संख्यामा रहेका यिनीहरू न त कुनै स्थिर राजनीतिक विचारधारासँग आबद्ध देखिन्छन् न त परम्परागत मूलधारका पार्टीहरूप्रति बफादार। यिनीहरू अवसर खोजिरहेका छन् : रोजगारी, शिक्षा, उद्यम र समृद्धिको तर तिनीहरू पुरानो प्रणालीमा आफूलाई हराएको पाउँदैछन्।

राजनीतिक रूपमा यिनीहरू सचेत छन् तर आस्थावादी छैनन्। सामाजिक सञ्जालमार्फत् विश्वका समकक्षीहरूसँग तुलना गर्छन् र सोच्छन्: 'हामी किन पछि पर्‍यौं?' यही सोचले गर्दा असन्तुष्टि जन्मन्छ। यही असन्तुष्टिले कहिलेकाहीं उग्र स्वरूप लिन्छ जसको पछिल्लो उदाहरण हो २०८१ चैत १५ मा काठमाडौंमा भएको राजतन्त्र पुनःस्थापनाको माग गर्दै गरिएको आन्दोलन।

३. जनसंख्या संरचना र मनोविज्ञानको अन्तरसम्बन्ध

उमेर समूह

जनसंख्या अनुमान

विश्लेषण

१६–२० वर्ष

९.७७ लाख

नयाँ मतदाता, संस्थागत आस्थाभन्दा नीति कार्यक्रम र एजेन्डा मा आधारित मतदाताको रूपमा उदाउँदै

२१–२५ वर्ष

~१२ लाख

उद्यमशील, रोजगारी र वैदेशिक अवसरमा केन्द्रित

२६–३० वर्ष

~१३ लाख

अनुभवसाथ राजनीतिक समीक्षा गर्ने, वैकल्पिक नेतृत्व खोजी गर्ने

यी तीनै तहका युवाहरू अहिलेको राजनीतिक प्रणालीप्रति सशंकित छन्। २०६२/६३ को जनआन्दोलनले उनीहरूको बाल्यकाल ओगटेको थियो, त्यसपछि आयो द्वन्द्वपछिको संक्रमणकाल। अनि आयो दशक लामो संविधान लेखन प्रक्रिया। त्यसले दिएको नतिजा? बेरोजगारी, शिक्षा प्रणालीमा अस्तव्यस्तता, स्वास्थ्य क्षेत्रमा जनमुखी व्यवस्थापनको अभाव, उत्पादनशीलतामा व्यापक ह्रास, राजनैतिक स्थिरता दिन दलहरूको असफलता। यसैबीचमा नेकपा एमाले र नेपाली कांग्रेसले राजनैतिक स्थिरता र नीतिगत स्थायित्व र कार्यगत स्थिरताका लागि गठबन्धन गरेका छन्। तर अझै जनता र खासगरी युवा पुस्तामा विश्वास जगाउन धेरै काम गर्नुपर्ने देखिन्छ।

२०६२/६३ को विरासत र नयाँ पुस्तासँगको सम्बन्ध
२०६२/६३ को जनआन्दोलनलाई हामी केवल एक राजनीतिक घटना भनेर मात्र हेर्न सक्दैनौं। यस क्रान्तिले नेपाली समाज र राष्ट्रिय चेतनामा गहिरो परिवर्तन ल्याएको थियो र यसले हाम्रो इतिहासको एउटा महत्वपूर्ण अध्यायको सुरुवात गरेको हो। यो केवल सत्ता परिवर्तनको लडाई थिएन, बरु हाम्रो जीवनका मूल्य, मानवाधिकार, समानता र सुशासनका सिद्धान्तहरूको उन्नतिको अभियान थियो। यस लेखमा, म २०६२/६३ को क्रान्तिको विरासत र यसका प्रभावलाई विशेष गरी नयाँ पुस्तासँगको सम्बन्धमा विचार विमर्श गर्न चाहन्छु, जसले यस आन्दोलनको प्रत्यक्ष अनुभव नगरेका भए पनि त्यसका परिणाम र मूल्यहरूको अवबोधन गरेका छन्।

परम्परागत मूल्य र आधुनिक विचारको संगम
२०६२/६३ को क्रान्तिले देशको राजनीतिक परिपाटीलाई तहस–नहस गरेर नयाँ राष्ट्रिय सोचको जन्म दियो। यसले मानवाधिकार र समानताका सिद्धान्तलाई महत्त्वपूर्ण बनायो र नेपालमा गणतन्त्रको स्थापना गरायो। तर यो केवल एक राजनैतिक रूपान्तरण मात्र थिएन, यसले हाम्रो सामाजिक संरचनामा पनि परिवर्तन ल्यायो। ०६२/६३ को शान्तिपूर्ण जनआन्दोलन शासन प्रणाली परिवर्तन मात्र होइन राज्यको संचालन सहित सामाजिक रूपान्तरणको रूपमा स्थापित भयो। आजको युवा पुस्ता, जसले यी परिवर्तनहरूलाई नजिकबाट अनुभव गरेको छैनन्, यिनै सिद्धान्तहरूको नयाँ दृष्टिकोण र तरिकामा अवबोधन गर्न सक्षम छन्। यसका लागि, नयाँ पुस्ताले परम्परागत मूल्य र आधुनिक विचारहरूको बीचमा सन्तुलन बनाउँदै, मानवधिकार, समानता, र सुशासनका सिद्धान्तहरूलाई नयाँ सन्दर्भमा प्रयोग गर्ने अवसर पाएको छ। उनीहरू यस्ता सिद्धान्तहरूको व्याख्या गर्ने र तिनलाई व्यावहारिक जीवनमा लागू गर्ने चाहना राख्छन।

युवाहरूको आधुनिक सोच र नयाँ दृष्टिकोणले यी सिद्धान्तहरूलाई अझ बलियो र प्रभावकारी बनाउन सक्छ। उदाहरणस्वरूप, सामाजिक समानता र व्यक्तिगत स्वतन्त्रता जस्ता मापदण्डहरूलाई नयाँ डिजिटल प्लाटफर्महरूको माध्यमबाट जनतालाई थप सशक्त बनाउने कार्यमा युवाहरूले सक्रिय भूमिका निर्वाह गर्न सक्छन्।

आशा र चुनौतीको द्वन्द्व
आजको युवा पुस्ताले गणतन्त्रको महत्त्वपूर्ण लाभहरू अनुभव गर्दै आएको छ, जस्तै राजनीतिक स्वतन्त्रता, नागरिक अधिकार र समाजको लोकतान्त्रिक संरचना। यद्यपि, यस लाभको बाबजुद, उनीहरूको लागि केही ठूलो चुनौतीहरू पनि छन्। नयाँ पुस्ताले पुरानो राजनीतिक प्रणालीद्वारा उत्पन्न असमानता, बेरोजगारी र आर्थिक अस्थिरता जस्ता समस्याहरूको सामना गरिरहेका छन्।

पुराना राजनीतिक दलहरूले जति सम्भावना र विकासका दाबी गरे पनि, यस पुस्ताले अझै भित्री असमानता र उपेक्षा महसुस गर्दै आएको छ। २०६२/६३ को क्रान्तिले उपलब्धिलाई युवा पुस्ता केवल राजनीतिक रूपमा मात्र होइन, सामाजिक र आर्थिक दृष्टिकोणबाट पनि रूपान्तरण होस् भन्ने चाहन्छन्।

यो स्थिति केवल सरकार र राजनीतिक दलहरूको जिम्मेवारी मात्र होइन, समाजको प्रत्येक सदस्यको पनि जिम्मेवारी हो। यहाँ हामीले क्रान्तिको मूल्य र सिद्धान्तलाई पुनः मूल्याङ्कन गर्नुपर्ने आवश्यकता छ। आजको युवाले जसरी डिजिटल र नवप्रवर्तनात्मक सोचलाई आत्मसात गरेका छन्, त्यसैगरी तिनीहरूले यस्ता सामाजिक र आर्थिक समस्याहरूको समाधानका लागि नयाँ दृष्टिकोण र उपायहरू खोज्न सहयोगी बन्न सक्छन्।

४. नयाँ पुस्ता किन आस्थावादी छैन?

(क) विगतप्रतिको अनुभूति
नयाँ पुस्ता आफैंले राणाशासनको अत्याचार, निरङ्कुश राजतन्त्र, पंचायत दमनको अनुभव गरेको छैन। उनीहरूले राजनैतिक दलहरू र नेताहरूले निरंकुस राजतन्त्रलाई अन्त्य गर्न गरेको त्याग, बलिदान, भोगेको जेल नेल, भूमिगत जीवन र निर्वासन देखेका छैनन् अर्थात त्यसलाई बुझ्ने पढ्ने चेस्टा पनि गर्दैनन्। नेता र दलहरू ठग भ्रष्ट हुन् भन्ने कृत्रिम भाष्यमा उनीहरू आकर्षित छन्।

गणतन्त्रपछि पनि अस्थितरता कारण उचित मात्रा र तरिकाले काम गर्न नसकेका नेताहरू, हरेक पाँच वर्षमा सत्ताको खेल, भ्रष्टाचार, अनियमितता मात्र देखेका छन्। यस्तो वातावरणमा उनीहरूले 'राजतन्त्र हटेपछि के भयो त?' भन्ने प्रश्न सोध्नु अस्वाभाविक होइन। चैत १५ को आन्दोलनमा भाग लिने धेरै युवा यस्ता थिए, जसलाई राजतन्त्रको वास्तविक अनुभव थिएन, तर वर्तमान गणतान्त्रिक प्रणालीप्रति प्रतिगामी र लोकप्रियतावादीहरूले निर्माण गरेको भाष्यको परिणाम थियो।यो परिस्थिति प्रति मूलधारका राजनैतिक दलहरूको उदासिनता रहेको थियो।

(ख) शिक्षा र सूचना सुलभता
इन्टरनेटको पहुँचले गर्दा अहिलेको पुस्ता अब पहिलेजस्तो एकमात्र टीभी च्यानलको सूचनामा मात्र सीमित छैन। उनीहरूले युट्युबमा बंगलादेशको राजनीतिक रूपान्तरण हेर्छन्, सिंगापुरको विकास मोडल बुझ्छन् र भारतको युवामा आधारित नीति अध्ययन गर्छन्। अनि उनीहरूले आफैंसँग सोच्छन्-हाम्रो देशमा यस्तो किन भएन?

असन्तुष्टि र आकांक्षाबीचको द्वन्द्व
नेपालको युवा अहिलेको राजनीतिक प्रणाली होइन नेतृत्वमा विश्वास गरिरहेका छैनन् तर उनीहरूसँग विकल्प पनि छैन। उसले विदेश जान खोज्छ तर मनको गहिराइमा देशमै केही गर्न चाहन्छ। त्यसैले ऊ कहिले 'फेरि राजा फर्कियोस्' भन्छ, कहिले 'कम्युनिज्म राम्रो' भन्छ, त कहिले 'माओवादीले सपना देखाएको' सम्झिन्छ। तर अन्त्यमा ऊ भन्छ: 'मलाई रोजगारी चाहियो, मेरो सीपको सम्मान चाहियो, मेरो आवाजको प्रतिनिधित्व चाहियो।'

(क) वैदेशिक रोजगार र उद्यमशीलता
२१–२५ उमेर समूह विशेषतः वैदेशिक रोजगार र उद्यमशीलतामा केन्द्रित देखिन्छ। यो समूहले 'आफ्नै केही गर्ने' सपना देखेको छ तर राज्यको प्रणालीले उनलाई साथ दिएको छैन। युवा उद्यमशीलता प्रवर्द्धन गर्ने भनिए पनि न नीति छ, न संरचना, न लगानी।

(ख) शिक्षा प्रणालीप्रतिको मोहभंग
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा सुधारको कुरा गरे पनि व्यवहारमा त्यो देखिँदैन। निजी शिक्षाको महँगो बजार, सरकारी शिक्षाको गुणस्तरहीनता, प्राविधिक शिक्षाको अवसरको अभाव यी सबैले गर्दा नयाँ पुस्ता शिक्षा प्रणालीप्रति निराश छ।

राजनीतिक सचेतना: उक्साहट होइन, विवेचना
२०८१ चैत १५ को काठमाडौं आन्दोलन यहीं असन्तुष्टिको दुरूपयोग गर्दै प्रतिगामी निरंकुशतावादीहरूको आन्दोलन थियो। तर त्यो आन्दोलनमा भाग लिने धेरै युवाहरू यस्तो थिए, जसले कुनै पार्टीको सदस्यता लिएका थिएनन्। उनीहरू केपी ओली, प्रचण्ड, गगन थापा, रवि लामिछाने, बाबुराम भट्टराई, ज्ञानेन्द्र शाह सबैलाई एउटै सवाल गर्दै हेर्छन्: 'तपाईंहरू हामीलाई भविष्य दिन सक्नुहुन्छ?' यो पुस्ताले नेतृत्वको अनुहारभन्दा कार्यदक्षता खोजिरहेको छ।

(क) वैकल्पिक राजनीतिप्रतिको आकर्षण
पछिल्ला केही वर्षमा स्वतन्त्र उम्मेदवारहरू, स्वतन्त्र समूह र लोकप्रियतावादी विचारधाराहरूप्रति आकर्षण बढेको छ। नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी यसको उदाहरण हो। युवाहरूले नयाँ अनुहार, नयाँ सोच र काम गर्ने शैली खोजिरहेका छन्।

(ख) आन्दोलनको नयाँ रूप
पूर्वका राजमार्गमा हुने आन्दोलन र काठमाडौंमा हुने फ्ल्यास विरोधहरू फरक हुन्। अहिलेका आन्दोलनहरू प्लेकार्ड, सामाजिक सञ्जाल, लाइभ स्ट्रिमिङ, मिम र सामाजिक सञ्जालका एल्गोरिद्म प्रयोग गरेर पनि सञ्चालित हुन्छन्।

५. २०८४ को निर्वाचन: नयाँ पुस्ताको निर्णायक हस्तक्षेप?
२०८४ सालमा हुने आमनिर्वाचनमा पहिलो पटक ९.७७ लाख नयाँ मतदाता मतदान गर्नेछन्। कुल ३५ लाखजतिको जनसंख्यामध्ये यदि आधा पनि मतदान प्रक्रियामा संलग्न भए भने त्यसले निर्वाचनको नतिजामा निर्णायक असर पार्नेछ।

यसपटकको निर्वाचन केवल पार्टीहरू बीचको प्रतिस्पर्धा होइन यो पुस्ताहरू बीचको प्रतिस्पर्धा हुनेछ। पुरानो पुस्ता स्थायित्व र परम्परागत सोचमा अडिग रहनेछ, तर नयाँ पुस्ता विकल्प, उद्यम, र अवसरको खोजीमा मतदान गर्नेछ।

नयाँ पुस्तालाई बुझ्न नसके लोकतन्त्र संकटमा पर्न सक्छ
यदि राजनीतिक नेतृत्वले यो पुस्ताको असन्तुष्टि बुझ्न सकेन भने, दुईवटा खतरा छन्:

१.चरम वैदेशिक पलायन: यो पुस्ता यदि अब पनि अवसर नपाए, उनीहरू देश नै छोड्नेछन्। अनि बाँकी रहनेछ वृद्ध समाज, रित्तो शिक्षा प्रणाली, र खुल्ला प्रतिस्पर्धात्मक उदार लोकतान्त्रिक प्रणालीकोको औचित्यतामाथि प्रश्न।

२.चरम ध्रुवीकरण: अहिलेको पुस्ता यदि चरम असन्तुष्टिमा गयो भने, उनीहरू कुनै पनि प्रकारका निरङ्कुश, उग्रअतिवादी धारको समर्थन गर्न सक्छन् जसले लोकतान्त्रिक मूल्य मान्यतामाथि संकट ल्याउन सक्छ।

सम्भावनाहरू: आशाको किरण कहाँ छ?
यस अराजकताको बीचमा पनि आशाका झिल्का छन्। युवाहरूले प्रविधि प्रयोग गरेर समाधान खोजिरहेका छन्। टिकटकमा शिक्षा सम्बन्धी कन्टेन्ट बनाउनेहरू, युट्युबमार्फत वैकल्पिक राजनीति छलफल गर्नेहरू, ग्रामीण क्षेत्रमा नवप्रवर्तन गर्ने युवाहरू यी नै परिवर्तनका अग्रदूत हुन्।

सरकार, निजी क्षेत्र र नागरिक समाज मिलेर यो पुस्तालाई सामर्थ्य दिने कार्यक्रम ल्याउन सके उनीहरूको आकांक्षा र देशको भविष्यबीच पुल निर्माण गर्न सक्छ।

नेतृत्वको आवश्यकता
नेतृत्व एउटा महत्त्वपूर्ण तत्व हो जुन आजको युवा पुस्ताको जीवनमा गायब छ। पुराना राजनीतिक प्रणाली र दलहरू असफलताको सिकार हुँदा, आजको युवा शक्ति यसको विकल्पका रूपमा उभिन सक्छ। डिजिटल दक्षता, सूचना प्रवाह र नवप्रवर्तनशील सोचले आजको युवाहरू पुरानो राजनीतिक ढाँचालाई पुनर्निर्माण गर्ने र एक समृद्ध नेपाल निर्माण गर्ने क्षमतामा छन्।

आजको युवा पुस्ता पारम्परिक नेतृत्त्व र प्रणालीको सुधारको विकल्प खोज्दै आफ्नो विचार र उद्देश्यहरूको मार्गदर्शन गर्नका लागि नयाँ प्रकारको नेतृत्व खोजेका छन्। यस नेतृत्वमा पारदर्शिता, खुलापन र नवप्रवर्तनको साँचो भावना हुनुपर्छ। यसका लागि, सरकारले र राजनीतिक दलहरूले युवाहरूसँग संवाद र सहकार्यमा काम गर्नुपर्ने आवश्यकता छ। साथै, व्यावसायिक क्षेत्र र शिक्षा क्षेत्रले पनि युवालाई सही मार्गदर्शन र अवसरहरू प्रदान गर्ने काम गर्नुपर्नेछ।

सिर्जनशीलता र नवप्रवर्तनको माध्यमबाट यी युवा नयाँ नीतिहरू र दृष्टिकोणहरूको निर्माण गर्न सक्षम छन् जसले सामाजिक समानता र आर्थिक समृद्धि ल्याउन सक्छ। रूपान्तरित र गतिशील नेतृत्वको मार्गदर्शनमा हामी नेपाललाई नयाँ दिशा र समृद्धि प्रदान गर्न सक्छौं।

यो पुस्ता प्रश्न सोध्दछ, तर्क गर्छ र परिवर्तनको माग गर्छ। उनीहरूलाई अब 'डराउने' होइन 'सुनिने' वातावरण चाहिएको छ। राजतन्त्र होस् वा गणतन्त्र उनीहरूलाई चाहिएको छ प्रतिनिधित्व, अवसर र विश्वास।

२०८४ को निर्वाचन र त्यसअघि हुने सबै राजनीतिक वार्तालापले यो पुस्ताको आवाजलाई सम्मान गर्नुपर्छ। यदि उनीहरूको असन्तुष्टि समाधान गरिएन भने, नेपालले अवसरको महत्त्वपूर्ण क्षण गुमाउनेछ।

६. साझा यात्रामा एक नयाँ अध्याय
२०६२/६३ को क्रान्ति हाम्रो देशका लागि एक ऐतिहासिक मोड थियो। यस आन्दोलनले हामीलाई अधिकार, न्याय र समानताको नयाँ युगतर्फ अघि बढायो। यो केवल एउटा राजनीतिक परिवर्तन थिएन; यो नेपाली समाजको चेतना र रूपान्तरणमा एक गहिरो प्रभाव पार्ने ऐतिहासिक घटना थियो। यस क्रान्तिले नेपाली जनताको मनमा स्वतन्त्रता र लोकतन्त्रको नयाँ आशा प्रज्वलित गर्यो, जसका आधारमा हामीले आजको गणतान्त्रिक व्यवस्था निर्माण गरेका छौं।

तर यो यात्रा यति सजिलो थिएन। संघर्ष र सुधारको सिलसिला निरन्तर जारी रह्यो। हाम्रा पिँढीहरूले धेरै कठिनाइहरूको सामना गर्दै, देशलाई एक नयाँ दिशा दिन सफल भयौँ। आज हामी जहाँ उभिएका छौं, त्यो स्थान हाम्रो सामूहिक प्रयास, समर्पण र बलिदानको परिणाम हो। तर यो केवल एउटा मुकाम होइन; यो एउटा नयाँ यात्रा सुरु गर्ने बिन्दु हो।

नयाँ पुस्ताको महत्व
आजको युवा पुस्ता, जसले २०६२/६३ को क्रान्ति प्रत्यक्ष रूपमा अनुभव गरेका छैनन्, तसर्थ, यो क्रान्तिले स्थापित गरेको लोकतान्त्रिक मूल्य, मान्यता र सिद्धान्तको आडमा नै खुल्ला, प्रतिस्पर्धात्मक, समावेशी, र सर्वोत्कृष्टतामा विश्वास गर्ने वातावरण बनेको कुरा उनीहरूले नबुझ्नु र नवप्रवर्तन मात्र एकदम जादुमयी हतियार ठानेका छन्। लोकतन्त्रको आधारभूत मार्गदर्शनमा विश्वास नगर्ने यो पंक्ति भड्किने सम्भावाना प्रवल रहेको छ। यिनीहरूले गणतन्त्रको वास्‍तविकता र अवसरहरू स्वयं अनुभव गरेका छन्, र यसले तिनीहरूको सोचलाई नयाँ उचाइमा पुर्‍याएको छ। उनीहरूलाई यो विरासत केवल इतिहासको एक पाना मात्र छैन, यो त उनीहरूको भविष्य निर्माणको आधार हो। यो पुस्ता केवल पुरानो समयका सम्झनाहरूको वाहक मात्र छैन, बरु तिनीहरू त्यसको नयाँ अर्थ र उद्देश्य निर्धारण गर्ने शक्तिशाली चालक शक्ति बन्न सक्छन्।

यस पुस्ताले नवप्रवर्तन र डिजिटल युगको पूर्ण उपयोग गर्दै सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनको प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्नेछ। त्यसैले हामीलाई यही युवाहरूको क्षमता र सोचमा विश्वास गर्न आवश्यक छ। तिनीहरूको दृष्टिकोण र उद्यमशीलता हाम्रो राष्ट्रको भविष्यलाई अझ उज्जवल बनाउन सक्षम बनाउने छ। हामीले उनीहरूको सिर्जनात्मकता र नवप्रवर्तनको प्रोत्साहन गरी उनीहरूको पहल र नेतृत्वलाई सहयोग पुर्याउने प्रयास गर्नुपर्छ।उनीहरूलाई राजनीतिको मूलधारले संबोधन गर्दै समाहित गर्नु पर्दछ। अनि मात्र भविष्यका चुनौतीहरूको सामना गर्ने बाटोमा युवा पुस्तालाई निर्देशित गर्न सफल हुनेछ।

अतीतका प्रेरणादायी अनुभव र भविष्यको चुनौती
यस पंक्तिमा, हामीले अतीतका संघर्ष र प्रेरणादायी अनुभवहरूलाई सम्झनु अति आवश्यक छ। २०६२/६३ को आन्दोलनमा देखाएको संघर्ष, साहस र प्रतिबद्धता आजको युवालाई प्रेरणा दिन सक्छ। तर यो केवल एक काल्पनिक नारा मात्र होइन, यो त हामी सबैको साझा यात्राको मुख्य मर्म हो। आजको नेपालको निर्माण एक मात्र दलको होइन, एक साझा प्रयासको परिणाम हो। हाम्रा पुराना नेताहरू, युवाहरू, नागरिक समाज र सबै वर्गका नागरिकहरूले हाम्रा साझा उद्देश्यहरूको लागि समर्पित भएर काम गरे।

हामीले त्यही संघर्ष र समर्पणको भावना आजका युवाहरूमा पनि प्रवाहित गर्नु पर्छ। अतीतका सफलता र विफलताहरूलाई सचेत रूपमा स्मरण गरेर, हामी अझ धेरै सुधार र परिवर्तनको मार्गमा अघि बढ्न सक्छौं। देशको समृद्धि र विकासका लागि, केवल अतीतका विजयहरू मात्र स्मरण गर्नु पर्याप्त छैन, त्यसको लक्ष्य र विचारधारामालाग्न प्रेरित र निर्देशित गर्नुपर्दछ।

नयाँ सोच र नवप्रवर्तनको आवश्यकता
आजको संसार बदलिरहेको छ। समयसँगै हाम्रो सोच र कार्यशैली पनि बदलिनुपर्छ। हामीलाई आफ्नो सोचलाई परिष्कृत र नवप्रवर्तनशील बनाउनका लागि निरन्तर प्रयास गर्नुपर्छ। देशको आर्थिक, सामाजिक र राजनीतिक संरचनामा नयाँ दृष्टिकोण र समाधानहरू खोज्न जरुरी छ। यसका लागि, हामीले युवाहरूसँग सहकार्य गरेर नयाँ नीतिहरू र रणनीतिहरू निर्माण गर्नुपर्छ।

यसका लागि, हामीले उनीहरूको सोच र नयाँपनको सामर्थ्यलाई पूर्ण रूपमा पहिचान गर्नुपर्छ। यो समय हो जब हामी युवा पुस्तालाई शक्तिशाली र प्रभावकारी नेतृत्वमा उतार्न सक्छौं। उनीहरूले भविष्यको समृद्ध नेपाल निर्माण गर्नका लागि उच्चतम मूल्य र लक्ष्यहरूलाई आत्मसात गर्दै देशको लागि ठोस कामहरू गर्न सक्छन्।

७. साझा प्रतिबद्धता र जिम्मेवारी
मेरो विश्वास छ कि हामी सबैको साझा प्रतिबद्धता र इच्छाशक्ति हाम्रो राष्ट्रलाई नयाँ उचाइमा पुर्याउन सक्छ। हामीलाई सबैले मिलेर काम गर्नुपर्नेछ – राजनीतिक दल, नागरिक समाज, निजि क्षेत्र र आम नेपाली नागरिकहरूले आफ्नो कर्तव्य निभाउनुपर्छ। देशको उज्जवल भविष्य हाम्रो हातमा छ। हामीले हाम्रो भविष्य निर्माण गर्नका लागि कुनै पनि कसर बाँकी राख्न हुँदैन।

आजको नयाँ पुस्ताले नेतृत्व गर्ने अवसर पाएको छ। यस अवसरको पूर्ण उपयोग गर्न, हामीलाई उनीहरूको सोच र दृष्टिकोणलाई साझा र सम्मानका साथ स्वीकार गर्नुपर्छ। यस्ता युवा नेताहरूलाई विश्वास र अवसर दिएर, हामी नेपाललाई एक प्रगतिशील, समृद्ध र समावेशी राष्ट्रको रूपमा स्थापित गर्न सक्छौं।

आजको समय हामीलाई नयाँ उचाइ र नयाँ सोचको आवश्यकता छ। २०६२/६३ को क्रान्ति केवल अतीतका कथा मात्र होइन, यो हाम्रो भविष्यका लागि प्रेरणा हो। हाम्रो साझा यात्रा, संघर्ष र समर्पणबाट उत्पन्न भएको यो विरासत आजको युवा पुस्ताले नयाँ उद्देश्य र ऊर्जा प्रदान गर्दै भविष्यको दिशा तय गर्नेछ। आउनुहोस्, हामी सबै मिलेर हाम्रा युवाहरूसँग मिलेर नेपाललाई एक सशक्त र समृद्ध राष्ट्र बनाउन हातेमालो गरौँ।

मेरो विश्वास छ कि तपाईंहरूसँगको साझा प्रतिबद्धताले राष्ट्रलाई नयाँ उचाइमा पुर्‍याउनेछ। आउनुहोस्, हामी सबै मिलेर त्यो परिवर्तनलाई आत्मसात गरौं। हाम्रा युवाहरूलाई विश्वस्त, सकारात्मक र प्रगतिशील भावी नेतृत्वदायकको रूपमा उभ्याऔं।

(शीर्षक परिवर्तन गरिएको*)

(पृथ्वीसुब्बा गुरुङ नेपाल सरकारका सञ्‍चार तथा सूचना प्रविधि मन्त्री हुन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad