विचार


यति कुरा पर्दाफास भएको भोलिपल्ट अमेरिकामा पनि क्रान्ति हुनेछ

यति कुरा पर्दाफास भएको भोलिपल्ट अमेरिकामा पनि क्रान्ति हुनेछ

राजेश मिश्र
जेठ २६, २०८२ सोमबार १०:२३, सान डिएगो, क्यालिफोर्निया

भूगर्भविद्हरू भन्छन्, विश्वकै चलायमान ‘टेक्टोनिक प्लेट’माथि बसेको नेपालमा भुइँचालो आउँछ कि आउँदैन भन्ने प्रश्न गौण हो। प्रश्न भुइँचालो कहिले आउँछ भन्ने मात्रै हो। 

चार वर्षपछि दोहोर्‍याएर अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पको कार्यकालमा विश्वका सर्वाधिक धनी मान्छे इलोन मस्कको चुरीफुरी देखेपछि अमेरिकी मतदाताहरू पनि यस्तै सोच्दै थिए। 

एउटा ७८ वर्षको विवादास्पद व्यापारी राष्ट्रपति र अर्को ५२ वर्षको लहडी तर धूर्त धनाढ्य मान्छेको मिलापले ल्याउने सकारात्मक परिणामप्रति अमेरिकीहरू सुरुदेखिनै आश्वस्त थिएनन्। सबैलाई यो भाँडो कहिले फुट्ला भन्ने उत्सुकता थियो। अमेरिकी अखबारहरूले छ महिना अघिदेखि नै सोध्न थालेका थिए, ‘दुई विषालु माकुराहरू एउटै कचौरामा खेल्दैछन्। जसले जसलाई टोके पनि परिणाम घातक हुनेछ।’

परिणाम आउन केवल १ सय ३४ दिन लाग्यो। २५ करोड डलर सानो रकम होइन। यति ठूलो धनराशी खर्च गरेर मस्कले अमेरिकी चुनावको इतिहासमा चन्दाको कीर्तिमान कायम गरेका थिए। चुनावी मञ्चमा ट्रम्प र मस्क एकअर्कालाई अँगालो मारेर उद्घोष गर्थे, ‘एउटा पुरुषले अर्को पुरुषलाई जति माया गर्न सक्छ, हामी एकार्कालाई त्यत्ति नै माया गर्छौं।’ उनीहरूले ‘हामी समलिङ्गी होइनौँ,’ भन्न मात्र बाँकी थियो।    

चालु वर्षको मे महिनाको अन्तिम दिन, शुक्रबार अचानक डोनाल्ड ट्रम्प र इलोन मस्कले ह्वाइट हाउसको ओभल अफिसमा एउटा घोषणा गरे। मस्क ‘डज’ नामक सरकारी खर्च कटौती विभागको प्रमुखबाट बिदा हुँदैछन्। वातावरण बडो सौहार्द्रपूर्ण थियो। दुवैले एक अर्कालाई धन्यवाद दिए। ट्रम्पले त मस्कलाई बिदाइको चिनोस्वरूप सुनको साँचो नै उपहार दिए। शुक्रबारको सूर्यास्तअघि विश्वको सर्वाधिक शक्तिशाली दरबारबाट औपचारिक रूपले बिदा भएका मस्क मंगलबारसम्म मौन रहे। प्रेस जगतले आसन्न परिस्थितिको आकलन गर्न पाएकै थिएन। तर यो आँधीअघिको सन्नाटा थियो। 

मंगलबार दिउँसो अचानक इलोन मस्कले आफ्नो स्वामित्वको एक्स अर्थात् ट्विटर मार्फत बम पड्काए, ‘डोनाल्ड ट्रम्पले ल्याउन खोजेको ‘ठूलो र सुन्दर’ विधेयक घृणित रूपले घृणास्पद छ।’ उनले थपे, ‘यसले अमेरिकाको घाटा आकाशमा पुर्‍याउने छ। तिमीहरूलाई यो गलत काम हो भन्ने थाहा थियो।’ उनले यो अभिव्यक्ति विधेयक एक मत बढीले पारित गर्ने तल्लो संसदका रिपब्लिकन सांसदहरूलाई सम्बोधन गरेको जस्तो देखिए पनि संकेत राष्ट्रपति डोनाल्ड ट्रम्पतर्फ रहेको कुरा बुझ्न गाह्रो थिएन। 

मस्क यतिमै रोकिएनन्। अर्को पोस्टमा उनले भने, ‘जजसले यो विधेयकको पक्षमा मतदान गरे, उनीहरूलाई अर्को चुनावमा हराउनु जरुरी छ।’ यसले सत्तारुढ रिपब्लिकन पार्टीमा भुइँचालो ल्यायो। सबैको नजर राष्ट्रपति ट्रम्पमाथि थियो। तर ट्रम्प मौन थिए। 

प्रेसले सोच्यो, ट्रम्प डराए। अहिलेका अमेरिकी राष्ट्रपति अभूतपूर्व छन्। उनी तर्सिने होइन, तर्साउने व्यक्तित्वका धनी छन्। तर ट्रम्प किन बोल्दैनन् ?

दुई दिनको मौनतापछि बिहीबार बिहान ट्रम्पले मुख खोले। जर्मनीका चान्सलर फ्रेडरिक मर्जसँगको भेटघाटमा पत्रकारहरूले प्रश्नको पर्रा दागेपछि अन्ततः उनले मुख खोले, ‘म इलोनसँग निकै निराश छु। उनलाई विधेयकबारे सबै थाहा थियो। तर उनले यस्तो किन गरे, म स्तब्ध छु।’ आफ्नो बानीले वशीभूत ट्रम्पले त्यसमाथि थपे, ‘मस्क काममा खिइँदै गएका थिए, मैले नै उनलाई अब जाऊ भनेको हुँ।’

एक अर्थमा ट्रम्पले गलत बोलेका होइनन्। आफ्नो कार्यकालको प्रारम्भमा मस्कको दाबी थियो, ‘म अमेरिकी सरकारको खर्चलाई बीस खर्ब डलरले कम गर्नेछु।’ तीन महिनापछि उनले आफ्नो कुरा सच्याए, ‘बीस खर्ब होइन, दश खर्ब सकिन्छ।’ तर छ महिनाको कार्यकालमा उनले घटाएको खर्च केबल १ अर्ब ६० करोड डलरमा सीमित छ। कुल ३२ खर्ब डलरको अमेरिकी अर्थतन्त्रमा मस्कले गरेको यो खर्च कटौती एक प्रतिशत पनि होइन। 

तर डोनाल्ड ट्रम्पको कुरा अनुसार उनको क्षमता देखिएको छैन। यो पनि सत्य हो। चुनाव लड्दा उनले दाबी गरेका थिए, ‘म भएको भए रूस–युक्रेन युद्ध हुनै दिने थिइनँ। मैले चुनाव जितेको चौबीस घण्टामा त्यो युद्ध रोक्नेछु।’ छ महिना भयो, युद्ध जारी छ, वार्ताका शृंखला चलेका छन्, तर युद्ध रोकिएको छैन। अब ट्रम्प भन्न थालेका छन्, ‘पुटिन र जेलेन्स्की दुवैजना निम्न माध्यामिक तहका झगडिया स्कुले ठिटाजस्ता रहेछन्। केही बेर उनीहरूलाई लड्न दिनु नै ठिक हो।’

अनुभवहीन इतिहास 
ट्रम्पको इतिहासले भन्छ, उनी एक असफल व्यापारी हुन्। एक सफल व्यापारीले आफ्नो जीवनमा सातपटक औपचारिक रूपले कंगाल भएको स्वीकार गर्दैन। चुनाव नजितेको अवस्थामा ३२ ओटा मुद्दामा दोषी ठहरिएका उनी अहिले कारावासमा हुने सम्भावना थियो। इलोन मस्क विलक्षण प्रतीभाका धनी अभियन्ता हुन्, तर उनलाई सरकार सञ्चालनको अनुभव थिएन। जस्तो ट्रम्प सरकार सञ्चालनको मामिलामा अनुभवशून्य छन्। यी दुवैमा दुई कुराको समानता छ, लहडी–दम्भी व्यक्तित्व र आत्ममुग्धता। त्यसबाहेक अन्य सबै कुरामा ट्रम्प र मस्कको गठबन्धन एक अनमेल विवाह जस्तो थियो। 

माओत्सेतुङको चिनियाँ क्रान्तिको बेला एउटा भाष्य स्थापित भयो– ‘सत्ता बन्दुकको नालबाट आउँछ।’ सन् सत्तरीको दशकमा औद्योगिक उफान आउँदा भन्न थालियो, ‘पैसा बोल्छ।’ नब्बेको दशकमा सूचना प्रविधिको क्रान्तिपछि चलेको कुरा हो, ‘ज्ञान नै शक्ति हो।’ मस्कसँग प्राविधिक ज्ञान र पैसा दुवै छ। ट्रम्प मस्कसँग तर्सिनु स्वाभाविक हो। उनले अरुलाई जस्तो मस्कलाई हेपेर गाली गरेका छैनन्। तर यी दुईबीचको वाक्युद्ध पुटिन र जेलेन्स्कीको भन्दा कम छैन। 

इलोन मस्क वास्तविक रूपले डोनाल्ड ट्रम्पका प्रशंसक होइनन्। सन् २०१६ सम्म उनी सोच्थे, ट्रम्प राष्ट्रपति हुन लायक मान्छे नै होइनन्। मस्कले सन् २०२२ मा ट्विटर खरिद गर्दा ट्रम्पको प्रतिक्रिया थियो– ‘बुलसिट!’ सन् २०२० जनवरी २० मा ट्रम्प समर्थकले अमेरिकाको संसदमा अभूतपूर्व हमला गरेपछि ट्विटरले उनलाई प्रतिबन्धित गरेको थियो। मस्कले ट्विटर किनेपछि ट्रम्पमाथिको प्रतिबन्ध फुकुवा गरे। तर ट्रम्प ट्विटरमा फर्किएनन्। उनले आफ्नै ट्रुथ सोसल चलाउन रुचाए। 

अहिले यी दुवै आआफ्नै सामाजिक ढ्वांग्रोमा एकअर्कालाई तथानाम गर्दैछन्। 

ट्रम्पले ‘मस्कलाई मैले निकालेको हो’ भनेपछि मस्कले आफ्नो छोराको नाममा सारिएको पुरानो ट्विटर, अहिलेको एक्समा लेखे, ‘मैले नगरेको भए ट्रम्पले चुनाव जित्ने थिएनन्।’ 

ट्रम्पको तालु तताउन यो वाक्य पर्याप्त थियो। उनले आफ्नो ट्रुथ सोसलमा तुरुन्तै पोस्ट गरे, ‘सरकारी खर्च घटाउने एउटा उपायमध्ये इलोन मस्कले पाएको सरकारी अनुदान रद्द गर्नु पनि एक हो।’ मस्कको विद्युतीय कार कम्पनी टेस्ला र अन्तरिक्ष अन्वेषण कम्पनी स्पेस एक्सले सरकारबाट अर्बौं डलरको अनुदान र कर छुट पाएको छ। 

यो देखेपछि तुरुन्तै इलोन मस्कले ट्रम्पविरुद्ध व्यक्तिगत शत्रुताको तहमा ओर्लिएर लेखे, ‘जेफ्री एप्स्टिनको फाइल नखुल्नुको कारण हो– त्यसमा ट्रम्पको नाम छ।’ जेफ्री एप्स्टिन नाबालाकहरूको यौन शोषण गर्ने धनाढ्य थिए। उनको हिमचिम ट्रम्पसँग मात्र होइन, वर्तमान बेलायती राजा चाल्र्स तृतीयाका भाइ राजकुमार एन्ड्रयुसँग पनि थियो। लामो अनुसन्धानपछि जेल परेका जेफ्रीको लास पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको थियो। जेलभित्रै भएको यो घटना आत्महत्या हो वा होइन? विवाद जारी छ।   

अब ट्रम्प र मस्कबीच निकट भविष्यमा सम्झौता हुने स्थिति छैन।

तर्सिएका रिपब्लिकनहरू
डोनाल्ड ट्रम्प आफ्ना इमानदार तर निर्बुद्धि गुमस्ताहरूले घेरिएका सेतो घरका सेतो हात्तीजस्ता हुन्। उनका वरिपरिका सबै व्यक्तिगत रूपले ट्रम्पप्रति इमानदार छन्। आफ्नै स्वार्थका कारणले। तर उनको सहयोगी समूहका सबैजना एक अर्काका शत्रु पनि हुन्। त्यो पनि आफ्नै स्वार्थका कारणले। 

डोनाल्ड ट्रम्पलाई लागेको छ, यो कथित ‘ठूलो र सुन्दर’ विधेयकले उनको विरासतको शिलान्यास गर्नेछ। तर अर्थशास्त्रीहरू उनको मतसँग सहमत छैनन्। यसले आगामी दश वर्षमा देशको ऋणभार तेब्बर हुनेछ। आम जनता हरेक वर्ष थप चार हजार डलर कर तिर्न बाध्य हुनेछन्। तर अति धनाढ्य एक प्रतिशत जनसंख्याले आफ्नो बचतमा दोब्बर लाभ लिनेछ। ट्रम्पको ‘क्याबिनेट’ सदस्यहरू सबै अर्बपतिहरू हुन्। 

मस्कसँग पैसा छ। जसरी उनले ट्रम्पलाई जिताए, ट्रम्प समर्थित संसदका उम्मेदवारहरूलाई पैसाकै भरमा हराउने क्षमता छ यी व्यापारीसँग। आधाजसो रिपब्लिकनहरू ट्रम्पको राजनीतिक भाष्यभन्दा मस्कको पैसामा निर्भर छन्। समस्या छ अब रिपब्लिकनहरूलाई। लुजियानाको हिले खेतमा सिंगे माछा मार्दामार्दै राजनीतिमा आएका तल्लो संसदका सभामुख माइक जोन्सन मारमा परेका छन्। उनलाई जिताउन मस्कको ठूलो भूमिका थियो। मस्क अहिले त्यो ‘स्टुपिड’सँग बोल्दै बोल्दिनँ भनेर बसेका छन्। 

अहिले ट्रम्पले मस्कमाथि लगाएको देखिने आरोप हो, यो विधेयकले विद्युतीय सवारी साधनमा जो बाइडेनको अघिल्लो सरकारले दिएको कर छुट खारेज गरेको कारण मस्क चिढिएका हुन्। ट्रम्पलाई सहयोग गर्न सेतो घर छिरेदेखि मस्कको टेस्ला कम्पनीको व्यापार ओरालो लागेको थियो। यो कम्पनीका लगानीकर्ताहरू रुष्ट थिए। मस्कको टेस्ला गाडी चढ्नेहरूमा सफा उर्जाका पक्षपाती डेमोक्र्याटहरूको संख्या उल्लेख्य थियो। तर अब यो व्यापारिक बजार धुलिसात हुँदै थियो। लगानीकर्ताहरूको मस्कमाथि दबाब थियो। मस्क निकास चाहन्थे। 

ट्रम्पले ल्याउन खोजेको विधेयकले औँलामा गन्न सकिने धनीलाई नाफा दिएको कुरामा मस्कको आपत्ति थिएन। विद्युतीय सवारी साधनमा उपलब्ध कर छुट खारेज भएकोमा पनि उनको गुनासो थिएन। मस्क लिबरटारियन हुन्। यस्तो समूह जो सोच्छ, सम्पूर्ण व्यापार बजारमा आधारित हुनुपर्छ। सरकारको त्यहाँ कुनै भूमिका जरुरी छैन। तर ट्रम्पको यो स्वप्न विधेयक धनीहरूलाई कर छूट दिए पनि ठूला व्यापारीहरूका निम्ति अनुकूल छैन। यो विधेयक अपेक्षाकृत अलि बढी नियमनकारी छ। मस्क संसारका सरकार चलाउन आतुर छन्। राज्यको नियमन उनका निम्ति रुचिकर विषय होइन।

सहराष्ट्रपति
पिटर नभारो पढाइले एक अर्थशास्त्री हुन्। पेसाले डोनाल्ड ट्रम्पका वरिष्ठ आर्थिक सल्लाहकार। ट्रम्प खासै अध्ययनशील मान्छे होइनन्। उनी आफूलाई मन परेका मान्छेका सल्लाह लिन्छन्, अरुका कुरा सुन्ने धैर्य उनमा छैन। नभारो मस्कको आँखाको तारो थिए। ट्रम्पलाई नभारोको सल्लाह प्रिय थियो, मस्कको पैसा। नभारो र मस्कबीच तालमेल थिएन। ट्रम्प बीचमा झुल्लिएका थिए। मस्क सार्वजनिक रूपले पिटरलाई मूर्ख भनिदिन्थे। नभारो मस्कविरुद्ध ट्रम्पको कान फुक्थे। 

खिचडी पाक्दैथियो। मस्कले विदेशी राष्ट्रपतिहरूसँग ह्वाइट हाउसमै दुवै देशको झण्डा गाडेर ‘द्विपक्षीय वार्ता’ गर्न थालेका थिए। आफ्ना चार वर्षका छोरा ‘एक्स’ (जसका लागि उनले ट्विटरको नाम परिवर्तन गरे) लाई ओभल अफिसमा लगेर काँधमा बोक्ने मात्र होइन, ट्रम्पको ‘रिजोल्युट डेस्क’मा चकचक गर्न समेत छुट दिन थाले। ट्रम्पको पहिलो कार्यकालमा उनका नातिनातिनाले समेत यसो गरेका थिएनन्। ट्रम्पको धैर्यको बाँध फुट्न यस अर्थमा अलि बढी नै समय लागेको हो। यसअघि रियालिटी सोकी एक पात्र किम कर्दासियनका पूर्वपति कान्ये वेस्टले ट्रम्पको अफिसमा आमाचकारी बोलेका थिए। ट्रम्पले त्यो बेला पनि कुनै प्रतिवाद गरेनन्। यो उनको पहिलो कार्यकालको कुरा हो। ट्रम्प आफै रियालिटी सोका निर्माता हुन्। आफ्नो अपमान लुकाउने कलामा उनी निपुण छन्। आज जसरी कान्ये वेस्ट ट्रम्पको वृत्तमा छैनन्, अब मस्क पनि देखिने छैनन्। यद्यपि, पैसा अपवाद हो। 

पैसाकै कारण हुनुपर्छ, सञ्चार जगतले भन्न थालेको थियो, ‘इलोन मस्क ट्रम्पका सहयोगी होइनन्। उनी राष्ट्रपतिसँग सत्ता साझेदारी गर्न पैसाको बलमा ह्वाइट हाउस छिरेका एक छद्मभेषी ‘एलियन’ हुन्। एलियन अर्थात्, अर्कै ग्रहको प्राणी! नभन्दै मस्क मंगल ग्रहको उपनिवेशीकरण गर्ने योजनामा छन्। उनको सोच छ, पृथ्वी पुरानो भइसक्यो। यहाँ मानव जातिको भविष्य सुरक्षित छैन। उनको अर्को मत पनि छ, पृथ्वीमा मान्छेले सन्तान जन्माउन कन्जुसी गर्दैछ। मस्कका अनगिन्ती प्रेमिका र पत्नीहरूबाट अनगिन्ती सन्तान् छन्। 

पृथ्वीलाई उनी डेरा ठान्छन्। उनको प्रयास छ, मंगल ग्रहमा मान्छेको घर बनोस्। उनी ‘अकुपाई मास’ (मंगल ग्रह कब्जा गरौँ) लेखिएको टिसर्ट लगाउँछन्।

‘म सहन सक्दिनँ!’
एलन मस्कले डोनाल्ड ट्रम्पको विधेयकविरुद्ध आगो ओकल्दाको पहिलो वाक्य हो यो। सहन नसक्नेहरूको विश्वमा ठूलो जमात छ, जो इलोन मस्क र डोनाल्ड ट्रम्पका कारण असहनीय पीडा सहेर बाँच्न बाध्य छन्।

यो कसरी भयो? के पैसाले मात्र यो सम्भव छ? 

पैसा त जोन डी रकफेलरसँग पनि थियो। अठारौँ शताब्दीको मध्यमा जन्मेर उन्नाइसौँ शताब्दीको मध्यमा मरेका यी अमेरिकी व्यापारीले तेल र रेलको व्यापारमा एकाधिकार कायम गरेका थिए। तर आफूले कमाएको सम्पत्ति लोक कल्याणका निम्ति छोडेर गए। अर्का थिए, एन्ड्रयु कार्नेगी, स्टिल उद्योगमा उनले करोडौँ कमाए। मर्नेबेला भनेर गए, ‘जो मान्छे आफ्नो पैसा आफूपछि अरुलाई काम नलाग्ने किसिमले थुपारेर जान्छ, उसले कमाएको पैसा मात्र होइन, उसको जीवन पनि व्यर्थ हो।’ कार्नेगी फाउन्डेसनले आज संसारमा सबैभन्दा बढी पुस्तकालय खोलिदिएको छ। एन्ड्रयु कार्नेगी आफ्नो बाल्यकालमा पुस्तकालयबाट चोरेर ल्याएको पुस्तक सडकको काठ र कागज बालेर पढ्थे!

डोनाल्ड ट्रम्प र इलोन मस्कको तुलना रकफेलर र कार्नेगीसँग गर्नु धृष्टता हुनेछ। 

तर, ट्रम्पको विधेयकलाई लम्पसार पार्नुअघि मस्कले भने, ‘म अब सहन सक्दिनँ।’

उनको यो असहनीय पीडा उनीजस्तै सरकारलाई नियन्त्रणमा राख्न चाहने एक प्रतिशत धनाढ्यहरूको मात्रै थियो। विश्वको गरिब कुनाबाट पनि अर्को र चर्को आर्तनाद गुन्जिएको थियो, जसलाई सुन्ने ट्रम्प र मस्कलाई फुर्सद थिएन। यो विश्व अवस्थाप्रति सर्वथा निस्पृह जोडीले अमेरिकी सरकारको खर्च घटाउने नाममा तल्लो हाँगामा झुण्डिएको त्यस्तो फल चुँड्न थाल्यो, जसका कारण अफ्रिका र एसियाका निर्धन बालबालिकाहरू खोप र खानेपानीबाट बञ्चित भए। गाजामा इजरायलले गरेको अमानवीय संहार कुनै मुद्दा नै भएन।   

अमेरिकी सरकारको जागिर खाने कुनै पनि व्यक्तिले आफू लागुपदार्थ मुक्त रहेको प्रमाण दिनु अनिवार्य हुन्छ। ढाँटेर जागिर खाए आकस्मिक रूपमा पिसाबको जाँच हुन्छ। एक सेकेन्डमा थाहा हुन्छ। इलोन मस्क कसरी अपवाद भए? उनी अमरिकी राष्ट्रपति उड्ने एयरफोर्स वन जहाजमा ‘म्याजिक मसरुम’ र ‘एक्स्ट्यासी’ नामक मनोद्वीपक लागुऔषध बोकेर हिँड्थे। डोनाल्ड ट्रम्पले चुनाव जितेको समारोहमा मस्कले नाजी सलाम दिँदा नै उनी कुनै न कुनै नसामा थिए भन्ने स्पष्ट थियो। विश्वको सर्वाधिक चतुर र व्यावसायिक ‘सिक्रेट सर्भिस’, जो अमेरिकी राष्ट्रपतिको ज्यानको जिम्मेवार हुन्छ, उसले किन खुट्याउन सकेन यो कुरा? 

किनभने, इलोन मस्क औषधिले मातेका थिए। डोनाल्ड ट्रम्प सत्ताले। औषधिभन्दा सत्ताको मात कडा मात्र होइन, दीर्घकालीन हुन्छ। 

अमेरिका अहिले लागुपदार्थ, सत्ता र पैसाको अन्तरघुलनको मातमा छ। अबको दुई सातापछि अमेरिकी किराना बजारमा आलु र आभाकाडोको भाउ बढ्नेछ। एकथरी मतदाता ट्रम्पले जे गर्दैछ ठिक गर्दैछ भन्नेहरू छन्। उनीहरूले आफ्नो घाउको नुन चाटेर पनि ट्रम्पलाई नै समर्थन गर्नेछन्। अर्काथरी डेमोक्र्याट भनिनेहरू जुलुस निकाल्न जानेछन्। मूल्यवृद्धि आफ्नो रफ्तारमा बढ्नेछ। 

अमेरिकामा मौसमबाहेक अर्को चार ओटा ‘सिजन’ हुन्छ। फुटबल, बेसबल, हक्की र बास्केटबल। आधा अमेरिकी यसैमा रमाउँछन्। आधा अमेरिकी सांगीतिक महोत्सवमा। कमाएको पैसाको जतिसुकै कर काटोस्, घरमा पानी, बिजुली, ग्यास, आदिइत्यादिको सुविधा छ। जनता रमाएका छन्। भोट दिनेबेला बाहेक जनता राजनीतिक रूपले विभाजित छैनन्। राजनीति गर्नेहरूले आफ्नो सन्तानको भविष्य कसरी लुटेका छन् भन्ने कुराको अमेरिकीहरूलाई कुनै भेउ छैन। त्यसैले शान्ति छ। यति कुरा पर्दाफास भएको भोलिपल्ट अमेरिकामा पनि क्रान्ति हुनेछ। 

ल्याटिन शब्दावलीमा एउटा शब्द छ, ‘प्लुटस’, अर्थात् धन। त्यसपछि अर्को शब्द छ, ‘क्राटोस’, अर्थात् शक्ति। 

यी दुई शब्द मिलेर बन्छ एउटा शब्द, ‘प्लुटोक्रेसी!’

अर्थात् धनीहरूको तन्त्र! अमेरिका सुरुवात हो। यो रोग कोभिडझैँ फैलिँदैछ।

(राजेश मिश्र हाल अमेरिकाको सान डिएगो, क्यालिफोर्नियामा बसोबास गर्छन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad