विचार


दसौँ वर्षमा नेपालखबर

दसौँ वर्षमा नेपालखबर

नेपालखबर
असार २४, २०८२ मंगलबार १३:४, काठमाडौँ

आज नेपालखबर दसौँ वर्ष प्रवेश गरेको छ। नौ वर्षअघि, २०७३ असार २४ गते डिजिटल मिडियाको नयाँ अध्याय सुरु गर्दै हामीले सत्यतथ्यमा आधारित पत्रकारिताको प्रतिबद्धता व्यक्त गरेका थियौँ। नेपालखबरलाई स्वदेश र विदेशमा रहेका नेपालीहरूबीच डिजिटल संवादको माध्यम बनाउने हाम्रो सपना थियो। त्यही सपना पछ्याउँदै नौ वर्षको यो यात्रामा हामीले विश्वभर रहेका नेपाली समुदायको विश्वास जितेका छौँ। 

ती चुनौतीपूर्ण नौ वर्ष हाम्रा लागि सिकाइ र उपलब्धिको यात्रा रह्यो। नेपालको बदलिँदो राजनीतिक, सामाजिक र आर्थिक परिदृश्यलाई नागरिकको आँखाबाट हेर्दै हामीले निर्भीकतापूर्वक खबर, विश्लेषण र विचार प्रस्तुत गर्‍यौँ। राजनीतिक विकृति, नीतिगत भ्रष्टाचार र कर्मचारीतन्त्रमा देखिएका बेथितिहरू खोतल्दै हामीले तथ्य प्रस्तुत गर्ने प्रयास गर्‍यौँ। राज्यका नियामक निकायहरूमा आफ्ना मान्छे नियुक्त गराएर फाइदा लिन खोज्ने बिचौलियाहरूको खेलको पर्दाफास गर्दा नेपालखबरले अदालतमा मुद्दासमेत सामना गर्नुपर्‍यो। तर ठोस परिणाम ल्याएका यी प्रयासहरूले हामीलाई थप जिम्मेवार बनाएको छ।

यस यात्राको क्रममा नेपालखबरको दायरा उल्लेखनीय रूपमा विस्तार भएको छ। हामी हङकङ संस्करणमार्फत विदेशमा रहेका नेपाली समुदायसँग थप जोडिएका छौँ, जसले हङकङ र बेलायतमा रहेका नेपालीहरूका कथा र सरोकारलाई हाम्रासामु ल्याएको छ। 

अंग्रेजी संस्करणले नेपाली डायस्पोरा र गैरनेपाली भाषीसमक्ष नेपालको वास्तविक चित्र प्रस्तुत गरेको छ। त्यस्तै युट्युब संस्करणले हाम्रा कथाहरूलाई जीवन्त र आकर्षक ढंगले दर्शकसम्म पुर्‍याएको छ।

नौ वर्षको यो यात्रा अवश्य पनि सहज थिएन। प्रविधिको तीव्र विकास, पाठकको बदलिँदो रुचि र पत्रकारिताको विश्वसनीयतामाथि उठेका प्रश्नहरूले हामीलाई निरन्तर नयाँ सोच र रणनीति अपनाउन प्रेरित गरिरह्यो। तर, सुरुको सम्पादकीयमा भनेझैँ हामीले सत्यतथ्य र सन्तुलनलाई कहिल्यै बिर्सेनौँ। राष्ट्रियता, लोकतन्त्र, सामाजिक–आर्थिक न्याय र नागरिक अधिकारप्रति हाम्रो प्रतिबद्धता अटल छ।

आगामी वर्षहरूमा हामीले नेपालखबरलाई थप सशक्त बनाउने लक्ष्य राखेका छौँ। नयाँनयाँ सूचना प्रविधिको प्रयोग र थप आकर्षक सामग्रीमार्फत नेपालखबरलाई सकारात्मक संवाद र परिवर्तनको बलियो आधार बनाउने हाम्रो लक्ष्य छ। नेपालखबरकोे उद्देश्य नेपाली मन र भावनालाई एकताबद्ध गर्दै विश्वमाझ नेपालको छवि चम्किलो बनाउने पनि हो। पाठक, विज्ञापनदाता र शुभचिन्तकहरूको सुझाव र समर्थनले हामीलाई यस लक्ष्यमा बलियो बनाउनेछ।

नेपालखबरले दसौँ वर्ष प्रवेशको अवसरमा नयाँ लोगो पनि प्रयोगमा ल्याएको छ। नेपालको ‘एन’ अक्षरसँगै खबरको प्रतीक घण्टी अब नेपालखबरको लोगो हुनेछ। विश्वव्यापी रूपमा सञ्चारको प्रतीक मानिने घण्टी हामीले डिजिटल मिडियाको प्रतीकका रूपमा छनोट गरेका हौँ, जसले नयाँ खबरको सूचनालाई संकेत गर्छ।

तपाईंहरूको साथले नै नेपालखबर विश्वभरका नेपालीको विश्वासिलो आवाज बनेको हो। यो विशेष अवसरमा हामी हाम्रा पाठक, श्रोता, दर्शक, स्रोतहरू, विज्ञापनदाता, शुभचिन्तक र अथक परिश्रम गर्ने हाम्रो टिमका सदस्यहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्छौँ।

नयाँ खबर, विश्लेषण र प्रेरणादायी कथाहरूसहित नेपालखबर सधैँ तपाईंसँगै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad