नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८२ साल साउन ६ गते, मध्यरातमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमाथि राजनीतिक बम खसालिदिएका छन्।
राजनीतिक बमको शक्ति कति हो भनेर बुझ्नको लागि नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जारी गरेको प्रेस विज्ञप्ति पढ्नुपर्छ।
विज्ञप्तिमा लेखिएको छ, ‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण र पार्टी राजनीतिमा सक्रिय हुने विषयले पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। संविधानको भाग ६ धारा ६१ बमोजिम राष्ट्रपति देशको राष्ट्रध्यक्ष, नेपाली सेनाको परमाधिपति, राष्ट्रिय एकताको प्रतीक, संविधानको पालनकर्ता र संरक्षणकर्ता, राष्ट्रिय गौरव, गणतन्त्रको प्रतीक, साझा व्यक्तित्व र देशको अभिभावक भएकाले कुनै पनि दल विशेषको पार्टी सदस्य र कार्यकर्ता वा नेता हुने कुरा यो गौरवमय जिम्मेवारी लिएको व्यक्तिबाट सम्भव हुँदैन र मिल्दैन। यसले जनतामा, प्रणालीमा, व्यवस्थामा र संविधानको मर्म र भावनामा गलत अभ्यास हुने ठहर गरेको छ। त्यसकारण बैठकले पूर्वराष्ट्रपतिलाई उच्च सम्मान गर्ने निर्णय गरेको छ।’
यस निर्णयले विद्या भण्डारीको राजनीतिक जीवनमा ‘उच्च सम्मान’को बम खसालेको छ। बमको असर कति समयसम्म रहने हो, समय नै कुर्नुपर्ने देखिन्छ। अमेरिकाले जापानका दुई सहर हिरोसिमा र नागासाकीमा आजभन्दा असी वर्ष अगाडि खसालेको परमाणु बमको असर आजसम्म देखिँदै छ। संविधानको व्याख्यासहित जारी गरिएको राजनीतिक बमको असर न्यायालयमा प्रवेश गर्छ–गर्दैन, संविधान संशोधनसम्म पुग्छ–पुग्दैन, कति लामो समयसम्म रहन्छ? हेर्न बाँकी छ।
भण्डारीलाई उचाल्ने समूह
नेतृत्व क्षमता नभएका, आफैँमा आत्मविश्वास नभएका, भण्डारीको आडमा शक्ति आर्जन गर्न सकिन्छ कि भन्ने अभियानमा लागेका व्यक्तिहरूलाई चिन्न नसक्नु भण्डारीले राजनीतिको गन्ध थाहा नपाउनु हो। यस्ता व्यक्तिहरूले भगवानलाई पशुबलि चढाउँछन् तर आफैँभित्रका कमीकमजोरीको बलि चढाउँदैनन्।
एमालेको सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीमा कति जना विद्या भण्डारी जोगाउन लागे र भण्डारीको निवासमा साँझ–बिहान कतिजना पैरवी गर्न पुगे? त्यही तथ्यले उचाल्ने समूह पहिचान गर्न सघाउ पुग्छ। शक्तिको यकिन नगरी पछारीनु भण्डारीको कमजोरी हो।
ओलीको बलियो नेतृत्व
ओली पार्टीमा चेन अफ कमान्ड कायम गर्न सफल भए। कर्मचारीतन्त्रमा गढेको कांग्रेसको जरा कमजोर पार्न ओली लागिरहे। प्रहरी प्रशासनमा ओलीप्रति बफादार शक्ति निर्माण गरे। त्यो शक्ति सरकार निर्माणसम्म योगदान दिन सक्ने भयो।
भारतको विरोधका बाबजुद चीनसँग ऐतिहासिक सम्झौता गरे। यी सबै घटनाक्रमलाई एमालेका कार्यकर्ताले नजिकबाट नियालेका छन्। नेता होस् त ओलीजस्तो भनेका छन्।
राजा फर्काउन र विद्या फर्काउन लाग्नेहरू
राजा र विद्या कसैलाई चाहिएको छैन? आफ्नो व्यक्तिगत फाइदाका लागि अवसरवादीहरूले राजा र विद्याको प्रयोग गर्न खोजेका मात्र हुन्। राजेन्द्र लिङ्देन प्रवृत्तिले राजतन्त्रको जलपमा एमालेसँग तालमेल गरी व्यक्तिगत फाइदा लुटेको चित्र देखिएकै छ। राजनीतिमा सबैले आफ्नै स्वार्थ पूरा गर्ने हुन्। स्वार्थले शक्तिको पूजा गर्छ। ओलीले शक्तिको यज्ञ लगाए। ओली यज्ञमा विद्यालाई उचाल्नेहरू हारेका सिपाहीजस्ता देखिए।
हालै सम्पन्न विद्या भण्डारीको चीन भ्रमणको रातो कार्पेटको रङ उड्न नपाउँदै एमालेको च्यासल बैठकले विद्याको राजनीतिक रङ उडाइदिएको छ। भारत ओलीलाई निम्तो दिन बाध्य भएको छ। राजनीतिक क्षेत्रमा चर्चा चलेको छ– राजा जोगाउन नसकेको चीनले विद्या पनि जोगाउन सकेन।
विपक्षीको कमजोर कडी ओलीको सुरक्षा कवच
वर्तमान सरकार निर्माणको कडीमध्ये देउवा परिवारको कमजोरी पनि एक मानिन्छ। भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउपश्चातको छटपटी र सरकार निर्माणमा संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापतिले खेलेको हुटहुटीपूर्ण भूमिका स्मरणयोग्य छ।
ओली सरकारको कमजोरीमा आलोचना नगर्न देउवाले आफ्नै पार्टीका नेताहरूलाई दिएको निर्देशन, विद्यालाई रोक्न ओलीलाई दिएको प्रोत्साहन हेर्दा ओलीले देउवाको कमजोर कडीको उपयोग मजैले गरेको देखाउँछ। रवि लामिछानेको प्रयोग र कारागार चलान, अन्य पार्टी विभाजन, नेकपा एकीकृत समाजवादी र माओवादीभित्रको हलचलमा समेत ओलीको बलियो भूमिका छ। समग्रमा ओलीले विपक्षीहरूको कमजोर कडीलाई आफ्नो सुरक्षाकवच बनाउन सफलता पाइरहेका छन्।
साम, दाम, दण्ड, भेद
ओलीका गुरु देउवा नै हुन्। देउवाले देखाएको साम, दाम, दण्ड र भेदको नीति अहिले ओलीले देउवामाथि नै प्रयोग गरेका छन्। शक्तिशाली ओलीले सुशाशन कायम गर्ने दिशामा कुनै पहल नै गरेनन्। भ्रष्टाचारीहरूको कमजोर कडी समाउने, आफ्नो समर्थक बनाउने र सत्ता लम्ब्याउने खेल ओलीले खेलिरहेका छन्।
ओली कार्यकालमा जनताको बहुदलीय जनवादको स्थानमा ओली विचारधारा भनेर शंकर पोखरेलले दस्तावेज प्रस्तुत गरे भने पनि अनौठो हुने छैन। संवैधानिक आयोग, विभिन्न अनुसन्धान निकाय, अदालत तथा प्रहरी ओलीको पकडमा रहेकै छन्। राजनीति र सरकारी सेवामा रहेका अधिकांश व्यक्तिहरू भ्रष्टाचारमा डुबेका छन्। कुनै मुद्दा नभए सम्पत्ति शुद्धीकरणको डण्डा जोकोहीलाई पनि चलाउन मिल्ने भएको छ।
निजामती कर्मचारी विधेयकमा कुलिंङ पिरियड राख्ने सम्बन्धमा राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको विषयलाई हटाउने गरी राष्ट्रिय सभामा संशोधन प्रस्ताव नै दर्ता गर्न एमालेकै टोली लागिपरेको छ। यस्तो प्रयासले कर्मचारीतन्त्रको उपल्लो निकाय ओलीप्रति वफादार रहने देखिन्छ।
हतियार बिसाएका देउवा हतियारबद्ध ओलीका सामु नाजावाफ देखिन्छन्। सर्वोच्च अदालतको संवैधानिक इजलासबाटसंसद विघटनको मुखमा अध्यादेश ल्याएर संवैधानिक निकायहरूमा गरिएका नियुक्ति सदर भएका छन्। ओलीको शक्ति कमजोर भएको छैन भन्ने कुराको यो पछिल्लो र उच्चतम् प्रमाण हो।
विरोधीलाई नर्क, समर्थकलाई स्वर्ग
समग्रमा ओली शासनविरोधीलाई नर्क र समर्थकलाई स्वर्ग भएको छ। सबैभन्दा ठूलो दललाई समेत आफ्नो पकडमा राख्न सक्ने ओलीले सुशासनको लागि काम गरे मुलुकले कोल्टे फेर्न समय लाग्दैन।
सरकारी अड्डा घुस उठाउने अड्डा भएका छन्। मन्त्रीका रोज्जा कर्मचारीहरू रंगेहात समाइँदा पनि मन्त्रीले कतै जवाफ दिनुपरेको छैन। प्रधानमन्त्रीबाट पनि सोधनी भएको छैन। बरू ‘घुस डिल’मा स्वयं मन्त्रीहरू निर्धक्कसँग अग्रसर भएका श्रव्यसामग्री आमनागरिकका लागि मनोरञ्जनका मसला बनेका छन्।
भ्रष्टाचार र भ्रष्टाचारीसँग संगत नगरे शक्ति बढ्दैन। विपक्षीको कमजोर कडी समाउन सकिँदैन। देश र जनताभन्दा माथि सत्ता, विरोधीलाई नर्क र समर्थकलाई स्वर्ग भएसम्म देश बन्दैन। मदन भण्डारीलाई सहकारी ठगी र चार श्रीमतीसम्मको आरोप लगाउन सक्ने ओलीले विद्या, देउवा, प्रचण्ड, रवि र माधव कसैलाई छोड्दैनन्। ओलीका जुँगा काला भएका छन्, उनी गल्दैनन्।
Shares

प्रतिक्रिया