भुराभुरी र फुच्चाफुच्चीले यत्रो आन्दोलन गर्लान् भनेर एमालेका सर्वेसर्वा केपी शर्मा ओलीले कहिल्यै सोचेनन्। न त २०४६ को जनआन्दोलनपछि देश हाँक्नेले, न त २०६३ को आन्दोलन तथा जनयुध्द गर्नेले नै देश र जनताका विषयमा गहिरिएर सोचे।
अनीतिगत गठबन्धनका सरकार बनाएर सत्तामा पुगेर देश लुट्ने बाहेक कुनै पनि दलका प्रधानमन्त्री र नेता भनाउँदाले केही गरेनन्। आपसी झगडामा नै देश लुटिरहे। देशलाई बर्बादीमा पुर्याउनमा नेपाली कांग्रेसका सभापति र सातौँ पटक प्रधानमन्त्री हुन लाइन लागेका शेरबहादुर देउवा, एमालेका आजीवन अध्यक्ष र ४ पटकका प्रधानमन्त्री केपी शर्मा ओली, माओवादीका अध्यक्ष एवं कयौँ पटकका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत नेतृत्वकर्ता र उनका मन्त्री तथा अन्य दलका बाँडिचुँडी भागशान्ति खाने नेताहरू जिम्मेवार छन्। जनतालाई कमैया नै ठानेर शासन गर्दै आए। देश र जनताको विषयमा बोल्नेलाई, भ्रष्टाचारको विषयमा बोल्नेलाई शत्रु नै ठाने।
जेन जी आन्दोलन उत्कर्षमा मात्र पुगेन। सफलताको शिखरतिर पुग्न लागेको छ। जेन जी युवालाई धेरैधेरै हार्दिक बधाई। अबको बाटो कसरी लिने भन्नेतिर गहिरिएर सोचिनु र कदम चालिनु पर्दछ। २०४६ सालको आन्दोलन र २०६३ सालको आन्दोलनपछिका सरकारले झैँ दलगत लुट, व्यक्तिगत फाइदा र परिवारवादमै मस्त हुनु नहुनेतिर सोचियोस्।
अबको सरकार जेन जी आन्दोलनले बनाउनु पर्दछ। अन्तरिम सरकार गठन गरिनु पर्दछ। नेतृत्व आम जनताले पत्याउने हुनु पर्दछ। पुराना दल नजिकका सडे-गलेका कुहिएका अनुहार सहभागी हुनु भएन।
जेन जी आन्दोलन र आम जनताले पत्याउने तथा क्षमतावान् व्यक्तिको नेतृत्वमा सानो अन्तरिम सरकार बनाउनु पर्दछ।
त्यस्तै, केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड लगायत अन्य पूर्वमन्त्री सांसद एवं पदाधिकारी कसैलाई पनि विदेश जान दिनु हुँदैन। उनीलाई थुनामा राखेर अनुसन्धान गरिनु पर्दछ। विमानस्थल बन्द गरिनु पर्दछ। निजी हेलिकोप्टर चलाउन दिनु हुँदैन। भारतीय र चिनियाँ सिमाना बन्द गरिनु पर्दछ। कसैलाई पनि भाग्न नदिई थुनामा राखिनु पर्दछ। भ्रष्टाचार गरी कमाइएको अकुत सम्पत्ति तथा कानुन उल्लंघनमा कारबाही गरिनु पर्दछ।
थुनामा राखेर अनुसन्धान गरिँदा बिरामीको निहुँमा अस्पतालमा भर्ना हुन दिनु हुँदैन। जेलमै बसेर उपचार गराउनु पर्दछ। अरु थुनुवाले सरह खाना दिनु पर्दछ। भीभीआईपी खाना र सुविधा दिनु हुँदैन। उनीले अरु थुनुवा र रवि लामिछानेलाई दिए सरह मात्र सुविधा दिनु पर्दछ।
न्यायपालिका सम्बन्धी परिच्छेदबाहेक संविधानका सबै प्रावधान निलम्बन गरिनु पर्दछ। दुवै सदन निलम्बन र पछि खारेज गरिनु पर्दछ। प्रदेश पनि खारेज गरिनु पर्दछ। सबै तहको भ्रष्टाचार छानबिन गरिनु पर्दछ।
२०४६ र २०६३ को आन्दोलनमा ज्यादती गर्ने उपर जस्तै अहिलेको जेनजी आन्दोलनमा ज्यादती गरेकोमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसी, डा आनन्दमोहन भट्टराई वा ईश्वर खतिवडा जस्ता व्यक्तिको अध्यक्षता र संलग्नतामा जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेर छानबिन गरिनु पर्दछ।
फौजदारी ज्यान मार्ने जस्तो कसूर गरेकोमा कारबाही गर्न गराउन जाँचबुझ आयोगको प्रतिवेदन पर्खनु पर्दैन।
मानवअधिकार हनन् र १९ जनाभन्दा बढी किशोरको ज्यान लिएकोमा केपी ओली लगायत मन्त्री र सुरक्षा निकाय प्रमुखलाई थुनामा राखेर कारबाही गरिनु पर्दछ। गोली हान्न आदेश दिने सरकार प्रमुख, गृहमन्त्री र आईजीपी नै हुन्।
सरकारी सम्पत्ति नोक्सान पार्न लागेकाले गोली चलाएको भनी प्रधानमन्त्री हुँदा नै केपी ओलीले भनेकाबाट गोली हानेर गैरकानुनी रुपमा मान्छे मार्नमा उनको पूर्ण जिम्मेवारी देखिन्छ।
बहुदल र गणतन्त्रका सत्ता चलाउने सबैको सम्पत्ति छानबिन गरिनु पर्दछ। नीतिगत भ्रष्टाचार गरेकोमा र कानुन बनाएर राज्यको सम्पत्ति लुट्ने काम गरेकोमा, गिरिबन्धु चिया बगानलाई जग्गा साट्न दिने र भूमि सम्बन्धी ऐनले हदबन्दी छुट दिएको जग्गा निजी बनाउन र गोकर्ण रिसोर्टको जग्गा ५ वर्षअगाडि नै लिज थप्न नेपाल ट्रस्ट ऐन संशोधन गरी देश लुट्ने गरी कानुन बनाएकोमा त्यतिबेलाका मन्त्रिपरिषद् र विधेयक पास गर्ने सबै सांसदलाई राज्य विरुध्दको मुद्दा लगाउनु पर्दछ। सरकारी जग्गा जथाभाबी लिजमा दिएकोमा फिर्ता गराउनु पर्दछ।
आन्दोलन सफल भएपछि विस्थापितले विभिन्न हतकण्डा अपनाउन सक्ने भएकाले सबै आन्दोलनकारीलाई शान्त रहन लगाउने। अन्य सबै क्षेत्रमा सेनाबाट शान्तिसुरक्षा कायम गर्न लगाउने। केही समय सेनाकै निगरानीमा प्रहरीलाई राख्नु उचित हुन्छ। प्रहरीको गिरेको मनोबल बिस्तारै ठीक पार्दै जाने।
जेन जी आन्दोलन सफल भयो। अब राष्ट्रिय सम्पत्ति तोडफोड र आगलागी गर्नु भएन। भोलि जेन जीले सरकार बनाएपछि पनि ती सम्पत्ति निर्माणमा खर्च जुटाउनु पर्ने हुन्छ। अनावश्यक राष्ट्रिय क्षतिबाट देशलाई नै नोक्सान हुने हो।
२४ भदौसम्म नै खर्बौंका सम्पत्ति नोक्सान भइसकेका छन्। आन्दोलन नियन्त्रणबाहिर गयो।
(गौरीबहादुर कार्की विशेष अदालतका पूर्वअध्यक्ष हुन्)
Shares

प्रतिक्रिया