विचार


प्रिय जेनजी, विद्रोहले देश बनाउन सक्दैन, ‘पोलिटिकल इन्जिनियरिङ’ चाहिन्छ

प्रिय जेनजी, विद्रोहले देश बनाउन सक्दैन, ‘पोलिटिकल इन्जिनियरिङ’ चाहिन्छ

राजेन्द्र बजगाईं
असोज २७, २०८२ सोमबार १७:५१, काठमाडौँ

प्रिय जेनजी, मन्त्रीका लागि तपाईंहरूको हस्ताक्षर चोरी भएको समाचार सुन्दा मनभित्र एक गहिरो पीडा उम्लियो। यो केवल एउटा हस्ताक्षरको प्रश्न होइन, यो भत्किन लागेको राष्ट्रको नैतिक ढाँचा र राजनीतिक संस्कारको पुनरावृत्ति हो। देशमा अहिले कोही नेता बाँकी छैन भन्ने कुरा यतिबेला केवल भावनात्मक भनाइ रहेन, यथार्थको प्रतिबिम्ब बनिसकेको छ। नेता भन्ने शब्दले अब श्रद्धा होइन, तिरस्कार जगाउँछ। त्यो दागी शब्द हो। नेताको पहिचान अब आदर्श होइन, अवसरसँग गाँसिएको छ। राजनीतिक कर्मठताको ठाउँमा अब व्यक्तिगत लाभ, परिवारिक मोलमोलाइ र समूहगत स्वार्थले स्थान लिएको छ।

नेपाल आज नेताको देश होइन, राजनीतिकर्मीको बजार बनेको छ। उनीहरूका आँखामा सपना छैन, पेटमा आगो छैन र मुटुमा देशप्रेमको तातो धड्कन पनि छैन। हरेक आन्दोलनले इतिहासमा आफ्नो अर्थ राख्छ, तर संसारका सफल राष्ट्रहरूको निर्माण केवल विद्रोहले भएको कहिल्यै पाइँदैन। सिंगापुर, मलेसिया, वा अमेरिका यी देशहरू केबल सडकको नारा र ब्यानरबाट बनेका होइनन्। यी देशहरू 'पोलिटिकल इन्जिनियरिङ' ले बनेका हुन्। जसले नीति, दृष्टि, र कार्यान्वयनको इमानदारीलाई संस्थागत बनाएका थिए।

कुसाशनले चकनाचुर बनाइसकेको संरचना विद्रोहको सानो झिल्कोले ढाल्न सक्छ, तर नयाँ संरचना उभ्याउन बुद्धिमत्ता र शुद्धता चाहिन्छ। सिंगापुरका ली क्वान यु, मलेसियाका महाथिर मोहम्मद वा अमेरिकाका फाउन्डिङ फादरहरू विद्रोही मात्र थिएनन्, योजनाकार पनि थिए। उनीहरूले गतिशील विद्रोहलाई परिवर्तनको ऊर्जा बनाए, तर त्यस ऊर्जालाई संस्थागत शासनमा रूपान्तरण गरे। यही कुरा हामीले बुझ्न सकेनौँ।

म तपाईंलाई नेपालकै दुखद सन्दर्भ; विद्रोहपछि देश कसरी चुक्ने गर्छ भन्ने कथा अध्ययन गर्न अनुरोध गर्छु: नेपाली सेनाका पूर्व जर्नेल प्रेम शाहीले आफ्नो थेसिसमा 'प्रचण्ड: नेपालको माओवादी विद्रोहका योजनाकार' शीर्षकमा विद्रोहपछिको राष्ट्रनिर्माणमा असफलताको सन्दर्भलाई निर्मम वर्णन गरेका छन्।

राज्य पुनर्संरचनाको अर्थ केवल सिमाना, प्रदेश र नामको राजनीति होइन, त्यो सुशासन, पारदर्शिता, र उत्तरदायित्वको नयाँ परिभाषा हो। तर हामीले राज्य पुनर्संरचना भन्नेबित्तिकै सत्ताको पुनर्वितरण बुझ्यौँ। त्यसैबीच, हाम्रो प्रणाली घुस, भ्रष्टाचार, र व्यक्तिगत पहुँचमा सीमित भयो। विदेश जानको लागि पासपोर्ट बनाउन पनि घुस दिनुपर्ने, एयरपोर्टमै 'घुस-हेल्प डेस्क' खुल्ने र एनओसी लिन पनि पैसा तिर्ने अवस्था सिर्जना भयो। जनताको मस्तिष्कलाई डर, असहायता र निराशाले दही बनाइयो।

त्यो दिमागमा केही सपना रोपिन सक्दैन। ठूला–ठूला काण्डहरू मच्चाइए, सरकारी ढुकुटी रित्याइयो, राष्ट्रिय परियोजना लुटिए, जनता निरीह बने। जसले यो देशलाई हिजो गर्वका साथ बनाउने सपना देखेका थिए, ती सबै आज निराश छन्। अनि जब जनताले आफ्नो सन्तानलाई विदेश पठाउँछन्, उनीहरू भन्छन्— हामी यो देशको होइन, देशले नै हामीलाई परदेश पठायो।'

भदौको विद्रोहले देशको संरचना हल्लायो। त्यसको मूल मर्मलाई बुझ्ने नेतृत्व आवश्यक थियो, तर त्यो आंशिक रूपमा मात्र अवतरित हुने संकेत दियो। आपतकालीन घोषणा हुन सक्थ्यो, संवैधानिक परिषद् निलम्बन गरेर नयाँ संक्रमणकालीन संरचना बनाउन सकिन्थ्यो, तर त्यस्तो राजनीतिक बुद्धिमत्ता कसैमा देखिएन। दलभित्र पनि विद्रोह थियो, पेटमा आगो र आँखामा सपना भएका 'पोलिटिकल इन्जिनियरहरू' थिए। तिनीहरूको पहिचान टपक्क टिप्ने अवसर सुशीला कार्कीलाई (सत्कर्म र स्वच्छ विचारकी प्रधानमन्त्रीलाई व्यापक साथ मिल्थ्यो) लाई थियो। विद्रोह राज्य पुनर्संरचनाको लागि थियो, तर त्यसलाई विद्रोहकै रूपमा सीमित गरिने हो कि भन्ने शंका यति सबेरै उठिसक्यो!

संविधानलाई स्पर्श गर्न खोज्ने हरेक आवाजलाई 'खबरदार, संविधान नछोऊ' भन्ने चिच्याहट उठ्यो। तर जेनजीहरूले बुझ्नुपर्थ्यो संविधान स्थायी होइन, जनताको आवाज स्थायी हो। संविधान परिवर्तनयोग्य हो, जनताको आकांक्षा परिवर्तन अयोग्य निरन्तर बग्ने नदी हो। यही बुझाइको अभावले पेटको अस्थिरता काँपिरहेको छ।

देशमा अनियन्त्रित हिंसा फैलियो, जेल तोडियो, घरभित्र हुलेर निर्दोष मान्छे जलाइए र अपराधीहरू सत्ताको संरक्षणमा खुलेआम हिँडे। देशको जर्जर अवस्था छ, जनताका लागि नीति र न्यायको सुनिश्चितता देखिएको छैन।

बेलायतमा संविधान छैन, तर शासन चल्छ, किनभने नियमानुसार चल्छन्, र जनप्रतिनिधिले आत्मानुशासन पालना गर्छन्। अमेरिकाको सङ्क्षिप्त संविधान सिङ्गो विश्व शासन दर्शनको आधार बनेको छ। हाम्रो संविधान हजारौं हरफको छ, तर त्यसमा आत्मा छैन। हाम्रो राज्यको आत्मा हराएको छ। हामी सन्तुष्ट छौं, किनभने त्यो कागज छापिएको छ।

नेपालमा राजनीति नारा भोटेकोसीको जस्तो क्रोधको प्रवाहमा मच्चिएको छ। न त नीति स्थिर छ, न दृष्टि। हामीले न त आफ्ना सिङ्गो क्षमता पहिचान गरेका छौं, न त संस्थागत इमान पुनःस्थापना गरेका छौं, न राष्ट्रनिर्माता पृथ्वीनारायण शाह वा बहादुर पुर्खालाई सम्झेका छौं।

तर हेर जेनजी, संसारले असम्भवलाई सम्भव बनाएको छ। सिंगापुर र मलेसियाले राजनीतिक इन्जिनियरिङ र प्रशासनिक सुधारको संयोजनले विकासको नयाँ मोडेल देखाए। स्क्यान्डिनेभियन देशहरूले पारदर्शिता, शिक्षा र सामाजिक समानताको संयोजनबाट 'मानव–केन्द्रित शासन' निर्माण गरे। जर्मनीले अनुशासन र उत्पादन क्षमतालाई आफ्नो संस्कृतिमा रूपान्तरण गर्‍यो। भियतनामले दशकौंको युद्धपछि 'लगानी–मैत्री राष्ट्र'को छवि बनायो।

गल्फ देशहरू कतार, दुबई, अबुधाबी सबैले बौद्धिक र संस्थागत परामर्शदाताहरू प्रयोग गरेर राष्ट्रिय योजना बनाएका छन्। उनीहरूले केबल तेल बेचेनन्, उनीहरूले भविष्य किनेर ल्याए। रेगिस्तानलाई स्मार्ट सहरमा रूपान्तरण गर्न उनीहरूले विश्वका सर्वश्रेष्ठ मस्तिष्कहरू भित्र्याए।

नेपाल पनि त्यही बाटोमा हिँड्न सक्छ। हामीसँग जल, जमिन, जनशक्ति, र भौगोलिक रणनीतिकता त छ, तर हाम्रो कमजोरी नीति र अनुशासनमा छ। विकासको बाटो हिँड्न हामीले नीति होइन, नियत सुधार्नुपर्छ।

देश बनाउन नेतृत्व चाहिन्छ, जो केबल सत्ताको लागि होइन, राष्ट्रको लागि सोचोस्। जो युवा पुस्तालाई केबल विद्रोह होइन, निर्माण सिकाओस्। विद्रोह आवश्यक छ, तर त्यसको गन्तव्य शासन हुनुपर्छ।

प्रिय जेनजी, तपाईंहरूको विद्रोहमा ऊर्जा छ, तर दिशा देखिएको छैन। परिवर्तन चाहने हातहरूमा शक्ति छ, तर दृष्टि भैदियोस्। विद्रोहले देश बदल्दैन, प्रणाली बदल्छ। र प्रणाली तब मात्र बदलिन्छ जब नेतृत्व इमानदार, पारदर्शी, र सुसंगठित हुन्छ।

आज हामीलाई आवश्यक परेको कुरा नयाँ संविधान होइन, नयाँ सोच हो। नयाँ नारा होइन, नयाँ नीति हो। नयाँ आन्दोलन होइन, नयाँ संस्थागत इमान हो।

नेपालको माटो अझै सुपथ छ, जनताको आँसु अझै निथ्रिएको छैन। यदि हामीले यो राष्ट्रप्रेमलाई बुद्धिसँग जोड्न सक्यौं भने, हामी पनि सिंगापुर, भियतनाम, वा स्क्यान्डिनेभियन देशहरूजस्तै सफल हुन सक्छौं।

हामीले बिर्सनु हुँदैन— सिंगापुर वा मलेसियालाई आन्दोलनले होइन, दृष्टिले बनायो। स्क्यान्डिनेभियालाई पारदर्शिताले, जर्मनीलाई उत्पादनले, भियतनामलाई लगानीमैत्री सोचले, र गल्फलाई योजना र अनुशासनले बनायो।

नेपाल पनि बन्न सक्छ— यदि हामीले नैतिकता, दृष्टि, र साहस एकसाथ ल्यायौँ भने।

जेनजी, विद्रोहको आगोले होइन, बुद्धिको उज्यालोले नेपाल चम्किनेछ।

ली क्वान यु भन्थे, 'म विश्वास गर्दिनँ कि लोकतन्त्रले अनिवार्य रूपमा विकास ल्याउँछ। देशलाई विकासका लागि लोकतन्त्रभन्दा बढी अनुशासन आवश्यक हुन्छ।'

यदि तपाईं अभावमा हुर्किनुभयो भने, तपाईं अवसरको उपयोग गर्न सिक्नुहुन्छ। तर यदि तपाईं बिग्रनुभयो भने जुनसुकै प्रणाली पनि तपाईंले बर्बाद गर्नुहुन्छ।

(राजेन्द्र बजगाईं कांग्रेस नेता हुन्) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad