विचार


नेपालमा नयाँ पार्टी बन्दैन, बने पनि टिक्दैन

नेपालमा नयाँ पार्टी बन्दैन, बने पनि टिक्दैन

विष्णु रिजाल
कात्तिक २१, २०८२ शुक्रबार ६:५९, काठमाडौँ

पुराना वामपन्थी राजनीतिकर्मी कोमल भट्टराईले हालै आफ्नो १० वर्ष पुरानो ‘यसरी सेलायो डा. देवेन्द्रराज पाण्डे नेतृत्वको नयाँ शक्ति’ शीर्षकको लेख पुनः सेयर गर्दै सम्झाउनुभयो– वैकल्पिक पार्टीको चर्चा चलिरहेको बेला आजका लागि उक्त सामग्री एक सन्दर्भ-स्रोत हुन सक्छ।

प्रजातान्त्रिक लोकदलको गठन र पतनको कथा सम्झाएर उहाँले खास सन्देश दिन खोज्नुभएको छ। घटना उस्तै मात्र र स्वरुपमा दुरुस्तै नदोहोरिने भए पनि राजनीतिक विज्ञानले निर्देशन गरेका विषयमा मूल प्रवृत्ति चाहिँ दोहोरिन्छ भनेर मान्ने हो भने ढुक्क भएर भन्न सकिन्छ– नेपालमा नयाँ पार्टी बन्दैन, बने पनि टिक्दैन, टिके पनि क्षणिक हुन्छ।    

जेन-जी आन्दोलनका नाममा उत्पन्न ज्वारभाटाका बीचमा यसो भन्नु पुराना पार्टीको पक्षपोषण जस्तो देखिए पनि ऐतिहासिक तथ्य, प्रमाण र प्रवृत्तिले यो भन्न बाध्य बनाउँछन्– नेपालमा नयाँ पार्टीको कुनै भविष्य छैन। नागरिकले त्यसलाई पत्याउँदैनन्। केही उत्साही व्यक्तिको बुद्धिविलास र फगत अभ्यासबाहेक नयाँ पार्टी बनाउने प्रयत्न परिणामुखी हुन सक्दैन।

त्यसो भए पुराना पार्टी जस्ता छन्, त्यस्तैबाट जुग–जग चल्छ त? चल्दैन, पक्कै चल्दैन। पुराना पार्टी बदलिएनन्, उनीहरूले आफूलाई अद्यावधिक गरेनन् र आफैँभित्रको प्रजातान्त्रिक अभ्यासलाई आत्मसात् गरेनन् भने तिनीहरूका लागि प्रजापरिषद्को ऐना हाजिर छ। ३० को दशकमा नेपालको सबभन्दा ठूलो कम्युनिष्ट पार्टीका रूपमा स्थापित नेकपा (चौम.) क्रमशः मोहनविक्रम सिंहको पातलो मसाल जस्तै पातलिएको आँखै अगाडि निकट विगत छ।

कुनै पनि पार्टीका लागि मानिसहरू एक ठाउँमा उभिनका लागि उनीहरूलाई जोड्ने एउटा चिज हुनु पर्छ। जसको नाम हो– विचारधारा। यसो भन्दा पुरानो र परम्परागत सुनिए पनि सत्य यही हो– विचारधारा भएन भने जम्मा भएको असल मानिसहरूको भिड पनि प्रजातान्त्रिक लोकदलबाट जस्तो अन्ततः आ–आफ्नो बाटो लाग्छ।

समाजका राम्रा भनिएका अभियन्ता वा लोकप्रियता भएका सबै व्यक्ति एक ठाउँमा उभिए पनि त्यो सामाजिक उत्तेजना धेरैबेर टिक्दैन। एजेन्डामा एक ठाउँमा उभिएका मानिसका कारण कुनै समूह वा पार्टी क्षणिक रूपमा प्रभावशाली पनि हुन सक्छ। तर, जब त्यसले संगठनको स्वरुप धारण गर्दछ, त्यस्तो बेलामा स्वतः अन्तरविरोधहरू उत्पन्न हुन्छन्। विज्ञानसम्मत यस विषयलाई समाधान गर्नका लागि एउटा विचार–प्रणाली चाहिन्छ, त्यसलाई उभ्याउन संगठनात्मक सिद्धान्त चाहिन्छ। नेपालमा नयाँ दल गठन भए पनि चल्न नसक्नुका पछाडि मुख्यतः यही संकटले काम गरेको छ।

नयाँ भन्दैमा प्रगतिशील र राम्रो भइहाल्छ भन्ने हुँदैन। त्यसका लागि उसले उठाएका माग, मुद्दा र तरिकालाई पर्गेल्नुपर्ने हुन्छ। विचारमा वामपन्थी वा दक्षिणपन्थी हुनुलाई राम्रो वा नराम्रो कस्तो भनेर वर्गीकरण गर्ने? यो कुरा विश्व-दृष्टिकोणमा भर पर्छ। तर, मुख्य कुरा नयाँ दल कुन विचारधारामा आधारित भएर गठन हुन्छ भन्ने कुराले त्यसको आयु, आकार र धरातल निर्धारण गर्दछ।

सन् १९९० को दशकमा पूर्वी युरोप र सोभियत संघबाट कम्युनिष्ट सत्ताहरू एकपछि अर्को गर्दै ढलेपछि इतिहासको अन्त्य (इन्ड अफ हिस्ट्री) र विचारधाराको अन्त्य (इन्ड अफ आइडोलोजी) भनेर श्रद्धाञ्जली लेख्न हतार गर्ने र त्यस विचारमा सहमत हुने सबैका गुरु फ्रान्सिस फुकुयामा आज त्यसका लागि आफूले हतार गरेको भन्दै आफ्नै इतिहासलाई उत्खनन यत्तिकै गरिरहेका छैनन्। एउटा विचारधाराको अन्त्यको घोषणा स्वतः अर्को विचारधाराको उदय वा जित होइन रहेछ भन्ने कुरा यसबीचका घटनाक्रमले पुष्टि गरेका छन्। 

त्यसैले आजका पार्टीमा कुनै विचारधारा नै हुँदैन भन्ने कुरालाई मान्न सकिन्छ। सामाजिक विज्ञानको उद्भव र विकासले यस्तो कुरा मान्न अनुमति दिँदैन। कतिपयले भन्ने गरेजस्तो ‘विकास र समृद्धि नै सिद्धान्त हो’ भन्ने कुरालाई मान्ने हो भने पनि त्यस्तो विकास र समृद्धिको समेत सिद्धान्त हुन्छ भन्ने कुरा बुझ्न आवश्यक हुन्छ।

नेपालमा नयाँ पार्टी जन्मिँदै मरिहाल्ने र अलिकति बाँचे भने पनि किशोरावस्था पनि देख्न नपाउने अवस्था छ। यसका केही उदाहरण नयाँ पार्टी बनाउँछौँ भनेर कस्सिरहेकाहरूलाई सम्झना हुनु उपयुक्त हुन्छ।

१. २०६२/६३ को जनआन्दोलनपछि केही उत्साही, विदेशमा शिक्षादीक्षा पाएका र देशका लागि केही गरौँ भन्ने भावना भएका युवाहरूले उज्ज्वल थापाको नेतृत्वमा विवेकशील पार्टी गठन गर्दा त्यसले समाजमा राम्रो तरंग ल्याएको थियो।

पछि बीबीसीको आकर्षक काम छोडेर रवीन्द्र मिश्रले त्यस्तै प्रकारका सामाजिक अभियन्ताहरू जम्मा गरेर साझा पार्टी गठन गर्दा पनि निकै चर्चा पाएको थियो। तर, ती दुवै पार्टीले आमनागरिकलाई आफूतर्फ आकर्षित गर्न सकेनन् र उनीहरू निराश भएर आपसमा गाभिए– विवेकशील साझा पार्टीका रूपमा। तर, आज एक दशकसम्म आइपुग्दा न त्यहाँ विवेकशील मान्छेहरू रहन सके न त त्यो सबैको साझा नै रह्यो।

व्यक्तिगत रूपमा कसैलाई दुःख नलागोस्– विवेकशील साझाको असफलता र अद्योपतनले वैकल्पिक राजनीतिलाई धक्का मात्र दिएन, पुराना पार्टीभित्र परिवर्तनको आवाज उठाउनेहरूलाई पनि ‘देख्यौ नि त’ भनेर खिसिट्युरी गर्ने अवस्थामा पुर्‍यायो।

२. टेलिभिजन प्रस्तोता रवि लामिछानेले ०७९ असार ७ गते स्थापना गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले ५ महिनामै २० सिट जितेर देखाएको तरक्की साँच्चै धेरैका लागि र स्वयं उनीहरूकै लागि पनि आश्चर्यको विषय थियो।

दिमागमा तीव्र महत्त्वाकांक्षा र मुखमा मान्छेलाई प्रभावित पार्न सक्ने ज्वाला बोकेर मैदानमा उत्रिएका रवि लामिछानेको ओरालो यात्रा यति छिटो सुरु भयो, पाँच महिनामै उकालो उक्लिँदा पनि त्यति समय लागेको थिएन।

काण्डैकाण्डको भारी बोकेर, सस्तो प्रचारबाजीको सहारा लिएर र नयाँको नारा दिएर रविले वास्तवमा भोकाएका नागरिकलाई ठगेका रहेछन् भन्ने थाहा पाउन दुई वर्ष पनि कुर्नु परेन।

रास्वपा यतिबेला ठगीको अभियोगमा जेलमा रहेका रविकै सती जाने कि पार्टीका रूपमा उभिने भन्ने दोसाँधमा छ। जता गए पनि खतरा उस्तै छ– रविलाई छाडेर जाँदा रास्वपा उनले आफ्नो नाममा बनाएको पार्टी भएकाले सम्भव छैन भने रविलाई बोकेर जाँदा उनीसँगै पार्टी पनि बन्दी बनिरहेको छ। रास्वपाको उदय जति छिटो भयो, राजनीतिक अन्त्य पनि त्यति नै छिटै हुँदै गएको दृश्य देखा परिरहेको छ।

३. पूर्वी तराईमा सीके राउत र पश्चिम तराईमा रेशम चौधरीले ०७९ को चुनावमा प्राप्त गरेको सफलता राजनीतिक व्याकरणभित्र थिएन। राष्ट्र विभाजनको अक्षम्य एजेन्डा त्यागेर केपी ओली सरकारसँग शान्ति सम्झौतामा आउनासाथ मधेसका मसिहाका रूपमा रहेका उपेन्द्र यादवलाई उनकै क्षेत्रमा पुगेर परास्त गरी उदाएका सिके राउत र थारूहरूलाई एक ठाउँमा ल्याएर मूलधारका तीनै दललाई चुनौती दिएका रेशम चौधरीको पार्टी यसरी विभाजित भए, उनीहरू दुवैका परिवार पनि सग्लो रहन सकेनन्।

क्षेत्रीय दल भए पनि आफूलाई राष्ट्रिय राजनीतिमा देखाउन सफल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको दुःखान्त कुनै अलग्गै परिघटना होइन, अरूहरूमा देखापरेको घटनाकै पुनरावृत्ति हो।

४. माओवादी जनयुद्धका क्रममा पुष्पकमल दाहालभन्दा बढी चिनिएका र बिक्ने नेता बाबुराम भट्टराईले ०७२ मा संविधान बनेपछि राजीनामा दिएर नयाँ शक्ति बनाउँदा उनले ‘यत्तिकै हिम्मत गरेका होइनन् होला’ भनेर दिइएको शंकाको लाभ पानीको फोका सावित भयो।

मार्क्सवादमाथि नै प्रश्न उठाउँदै डा. भट्टराईले तामझामका साथ उद्घाटन गरेको नयाँ शक्ति पार्टी कुनै शक्तिका रूपमा देखापर्नै सकेन र ०७९ को चुनावसम्म आइपुग्दा आफूले जित्दै आएको गोरखा उनै पुष्पकमल दाहाललाई छाडेर प्रचारक बन्नुपर्ने र काठमाडौँमा माओवादीको संगठन नै नभएको क्षेत्रमा छोरीका लागि एक सिट माग्नुपर्ने विडम्बनाबाट उनी गुज्रिए।

प्रचण्ड–बाबुरामलाई दक्षिणपन्थी बिल्ला भिराउँदै क्रान्तिकारी माओवादी गठन गरेका मोहन वैद्यको पार्टी छ/छैन भन्ने नै धेरैलाई वास्ता छैन भने एकीकृत क्रान्तिको लफ्फाजी हाँक्दै आफ्नो महत्त्वाकांक्षालाई मार्क्सवादको बर्कोले छोपेका नेत्रविक्रम चन्दको बर्को च्यातिएको च्यातियै छ– कहिले धर्मेन्द्र बास्तोलाहरूले तान्दा त कहिले चिरन पुनहरूले थुत्दा।

एउटै माओवादी धाराबाट कति पार्टी बने भनेर औँला भाँचेर गन्नुपरे पनि त्यस धाराको मूल पार्टीका रूपमा पुष्पकमल दाहाल नै छन्। भलै उनले यतिबेला माओवादको सिद्धान्त र माओवादी नामलाई थेग्न नसकेर अरू ससाना समूहसँग मिलेर नेपाली कम्युनिस्ट पार्टीका रूपमा पुनर्नामकरण गरेका छन्।

५.  २०७८ मा नेकपा (एमाले) बाट फुटेर एकीकृत समाजवादी बनाउँदा माधव नेपाल–झलनाथ खनालहरूले चार वर्षमै आजको दुःखान्त भोग्नुपर्ला भनेर सोचेका थिएनन्। कांग्रेस–माओवादीको निगाहमा १० सिट जिते पनि तीन प्रतिशत मतको न्यूनतम मापदण्ड पार गर्न नसकेपछि रन्थनिएको उक्त पार्टीको भारी पुष्पकमल दाहालको नेतृत्वमा पुगेर बिसाइएको छ।

०५४ मा एमाले विभाजित गरेर बनाइएको मालेको चरम असफलताबाट पटक्कै पाठ नसिकेर गरिएको यस विभाजनले एमालेलाई क्षति त पुर्‍यायो, त्यसभन्दी बढी क्षति पुराना र स्थापित नेताहरूलाई पुर्‍यायो। फलतः माओवादीसँग एकता गर्ने निर्णय हुँदा उक्त पार्टी तीन टुक्रामा बाँडिएको छ। 

सैद्धान्तिक मतभेदभन्दा व्यक्तिगत अहम् र जुँगाको लडाइँका कारण भएको यस विभाजनले कुनै पनि अर्थमा आफ्नो राजनीतिक औचित्य सावित गर्न सकेन। २७ वर्ष एकीकृत पार्टीको नेतृत्व गरेका नेताहरूले आफ्नो पार्टीको हालत १७ महिना (०७९ को चुनाव) मै देखिसकेपछि एक पक्ष माओवादीसँग एकता गरेर भारी बिसाउन पुगेको छ भने अर्को पक्ष बेवारिसे बनेको छ। अनि, अर्को पक्ष चाहिँ पुरानै पार्टीको ढोका ढक्ढकयाउँदै हिँडेको छ।

६. २०६२/६३ को जनआन्दोलनपछि एकाएक मधेसमा जन्मिएका पार्टीहरूको रजगज यति छिट्टै अन्त्य होला भन्ने कमैलाई लागेको थियो। एक गैरसरकारी संस्थाबाट राजनीतिक पार्टीमा रूपान्तरण भएको मधेसी जनअधिकार फोरमको उत्थान र पतनको कथा दक्षिण भारतीय चलचित्रहरूमा जस्तै उतारचढावपूर्ण छ। एकातिर दक्षिण दाहिना हुनु र अर्कातिर मधेसमा जनसमर्थन मिल्नुबाट हौसिएका मधेसी दलहरू आज आपसमा बोलचाल नहुने अवस्थामा छन्।

विगत लामो समय मधेसमै रहेको सद्भावना पार्टीको दर्शनबाट प्रभावित भएर बनेको यो पार्टीले मूलधारका पार्टीलाई मात्र चुनौती दिएन, मधेसमा पार्टी खोल्ने लहरलाई निमन्त्रणा पनि दियो। महन्थ ठाकुर, विजयकुमार गच्छदार, जयप्रकाशप्रसाद गुप्ता जस्ता रगतमै कांग्रेस बगेका नेताहरू पनि यही बाढीमा पसेका थिए।

कसो–कसो उपेन्द्र यादवले किनारामै भए पनि पौडी खोलिरहे पनि मुख्य पात्र आज किनारा लागिसकेका छन्। गच्छदार घर फर्किए, ठाकुर पुराना वेदना सुनाउनमै व्यस्त छन्, गुप्ता मुद्दाका कारण किनाराकृत छन्। आज मधेसको एक नम्बर पार्टी एमाले र दोस्रोमा कांग्रेस छन्। 

७. शेरबहादुर देउवाले ०५९ मा प्रजातान्त्रिक कांग्रेस बनाउँदा उनलाई साथ दिने धेरै नेताहरू या त उनीभन्दा पहिल्यै कांग्रेसमा फर्किए या त अहिलेसम्म पनि उनीसँग सन्तुष्ट हुन नसकी तुष मेटाइरहेका छन्। 

०६२/६३ मा जनआन्दोलन नभएको भए र त्यसमा सबै दलहरूले सहकार्य गर्नु नपरेको भए सत्ता, शक्ति र दरबारको आशीर्वादमा बनेको प्रजातान्त्रिक कांग्रेसको इतिहास तराई कांग्रेस वा मातृकाप्रसाद कोइरालाको पार्टीको जस्तो हुने थियो।

गिरिजाप्रसाद कोइरालाको सदाशयता र आफ्नो भाग्यको सम्मिश्रणबाट मूल कांग्रेसकै नेतृत्वमा स्थापित भएर इतिहासमा सम्मानजनक स्थान बनाए पनि शेरबहादुर देउवामाथि पार्टी फुटाएको भनेर लागेको ग्रहण कसैगरी पखालिँदैन। सायद, कांग्रेस विभाजित नभएको भए असोज १८ र माघ १९ का घटना हुने थिएनन् र मुलुकले थप दु:ख पाउनुपर्ने थिएन होला।

८. राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा हारेपछि कमल थापाले बनाएको नयाँ पार्टीको सफलता ०७९ को चुनावमा मकवानपुर–१ मा सूर्य चिन्ह पाउनमा भन्दा बढी कतै देखिएन। राजनीतिका सदाबहार खेलाडी, सत्ता बजारमा तीव्र घ्राणशक्तिका धनी र वाक्पटु थापाले रिसको झोकमा निर्मल निवासलाई आफ्नो पराजयको दोष पन्छाए पनि पार्टी विभाजनको पराजयलाई उनले थाम्न सकेनन्। दबारबारिया, पूर्वपञ्चहरूका दुई समानान्तर पार्टीको अभ्यास पहिल्यै असफल सावित भइसकेको तथ्य कमल थापा जस्ता चतुर राजनीतिज्ञले सम्झिन नचाहे पनि परिणामले पुनः त्यही स्मरण गराइदिएको छ। 

२०१० साल वरपरका कांग्रेसका र २०२० साल वरपरदेखिका कम्युनिस्टहरूका पुराना कुरालाई अलग सन्दर्भमा राखिदिने हो भने पनि हालैका यी घटनाक्रमलाई गम्भीरताका साथ सम्झना गर्नैपर्ने हुन्छ।

यी घटनाक्रमबाट निष्कर्ष निकाल्न सकिन्छ– नेपालमा नयाँ पार्टी निर्माण सम्भव छैन, पुराना पार्टी फुटाएर अर्को पार्टी बनाउन पनि सम्भव छैन। 

पहिलो, पुराना पार्टीसँग आफ्नो पंक्तिलाई जोड्नका लागि इतिहास छ। उनीहरूका सयौँ–हजारौँ नेता–कार्यकर्ताले शहादत, जेल, नेल, यातना र देशनिकाला भोगेका छन्।

सत्तामा पुग्ने सबै चोखा नहुन सक्छन् तर त्यसको तुलनामा त्याग, तपस्या र योगदान गर्ने पंक्ति ठूलो छ। १२–१५ वर्ष जेल बसेका मानिसले जीवनमा वडाध्यक्ष बन्ने अवसर नपाएर पनि पार्टीमा निरन्तरता दिएका छन्। पुराना पार्टीले आर्जन गरेको यस पुँजीले देशव्यापी पंक्तिलाई जोड्ने असाधारण रसायनको काम गर्छ।

आज लेख्न, बोल्न, विरोध गर्न, नयाँ पार्टी गठन गर्न जुन स्वतन्त्रता प्राप्त भएको छ, यो सबै यी नै दल र नेताको लडाइँले सम्भव भएको हो। तपाईँ मान्नुस् वा नमान्नुस्, मन पराउनुस् वा नपराउनुस्– वास्तविकता यही हो।

इतिहासको ब्याज खाएको भन्नुस् वा आन्दोलनको मुनाफा खाएको भन्नुस्– संघर्षको लाभ पुराना पार्टीलाई भइरहन्छ। अन्यत्र पनि यस्तो हुन्छ। छेउछाउमै हेर्नुभयो भने पनि भारतमा कांग्रेस आई, पाकिस्तानमा पाकिस्तान पिपुल्स पार्टी, बंगलादेशमा अवामी लिग जस्ता पार्टीको आधार पनि यही हो।

दोस्रो, पुराना पार्टीले केही पनि गरेनन्, देशको विकासै गरेनन् भनेर तपाईँले जति प्रचार गरे पनि यस प्रचारलाई जनताको बीचमा स्थापित गर्न सक्नु हुन्न। किनभने, गाउँ–गाउँमा विकास आफ्नै अगाडि पुगेको नागरिकले देखे–भोगेका छन्।

बिहान ४ बजे पानी भर्न जाने महिलाले आफ्नै आँगन छेउछाउमा पाइपबाट पानी आउँदा पाएको राहतको हिसाब तपाईँको कम्प्युटरले निकाल्न सक्दैन। टाउकामा नाम्लो लगाएर र ढाडमा भारी बोकेर हिँड्ने मान्छे आज आफ्नै गाडी चढेर गाउँ पुगेपछि तपाईँको हजार तर्कभन्दा उसका लागि त्यही तर्क बलशाली हुन्छ। हातमा मोबाइल छ, गाउँमा बत्ती पुग्न थालेको छ, बिरामी हुँदा सिटामोल पाइन्छ।

नानीहरूले जे–जस्तो भए पनि गाउँकै स्कुलमा पढ्न पाएका छन्। जाने–बुझेका मानिसले देखेजस्तो विकास नभए पनि विकासै भएन भन्दा कसैले पत्याउने अवस्था छैन। यसको श्रेय अवश्य पनि मूलधारका पार्टीहरूले पाउँछन्।

तेस्रो, मूलधारका पार्टीलाई राजनीतिक विचारधाराले बाँधेको छ। गाउँमा बस्ने कांग्रेसको साधारण कार्यकर्तासँग पनि संकटका बेला भन्नका लागि बीपी कोइराला र प्रजातान्त्रिक समाजवाद छन् भने एमालेका समर्थकले अहिलेका नेताहरू चित्तै बुझेनछन् भने पनि मदन भण्डारी र जनताको बहुदलीय जनवाद भनिहाल्छन्। यी कुनै भन्नका लागि मात्र उपलब्ध विषय होइनन्, पौने शताब्दीका आर्जन हुन्।

विचारधाराले जब मानिसलाई जोड्छ, तत्कालका घटनाले त्यति ठूलो प्रभाव पार्दैन। एमालेले अंगीकार गरेको जनताको बहुदलीय जनवाद र कांग्रेसले बोकेको प्रजातान्त्रिक समाजवाद कम्तीमा आफ्ना कार्यकर्ताका लागि एकताको सूत्रमा बाँधिराख्ने सबभन्दा बलिया डोरीका रूपमा स्थापित छन्।

पार्टी बनाउन तम्सिनेहरूसँग चाहिँ के छ? कुन वैकल्पिक विचारधारा छ? कुन वैकल्पिक संगठनात्मक सिद्धान्त छ? कुन वैकल्पिक चेतना छ? विकास, समृद्धि, सुशासन, भ्रष्टाचारको अन्त्य, रोजगारी आदि कुरा पनि विचारधारामा आधारित हुन्छन् र तिनको पनि सैद्धान्तिक आधार हुन्छ भन्ने कुरा जबसम्म बुझिन्न, तबसम्म दुई–चार सिट ल्याएर सतहमा देखिने कुरा कुनै ठूलो हुन्न। त्यस्तो काम त विश्वेन्द्र पासवान, हरिचरण साह, प्रेमबहादुर सिंह, सरिता गिरी, एकनाथ ढकालहरूले पनि गरेका थिएनन् र? के नयाँ कुरा भयो?

मान्छेलाई परिवर्तन चाहिएको छ। निःसन्देह इतिहास घोटेर मात्र वर्तमानमा बाँच्न सकिन्न। कांग्रेस–एमालेले राम्ररी मुलुक चलाउन सकेको भए, नागरिकका अपेक्षाहरूको राम्ररी सम्बोधन गर्न सकेको भए र सुशासन दिन सकेको भए आजको अवस्था आउने थिएन। तर, यसको मतलब यो होइन, कुनै एउटा कार्यालयमा राम्रो काम गरेको कर्मचारी वा आफ्नो क्षेत्रमा राम्रो सावित पेसाकर्मीले राजनीतिको डुंगा पार लगाउन सक्छ। 

असन्तुष्टि र आक्रोश एउटा कुरा हो। तर, त्यसलाई मात्र संगठित गर्दा समयक्रममा त्यो स्वयं उनीहरूतिर नै फर्किन्छ। उदाहरण, दिल्लीका अरविन्द केजरीवाल नजिकै छन्। अरूको विरोध गर्न, उचाल्न, आक्रोशित बनाउन र भर्त्सना गर्न सजिलो हुन्छ। तर, काम गर्न चाहिँ गाह्रो हुन्छ भन्ने कुरा सुशीला कार्कीको ६ महिने म्यादी सरकारले ५५ दिनसम्म पनि पूर्णता पाउन नसक्नुबाट बुझ्न सकिन्छ।

यदि अहिले चर्चामा रहेजस्ता व्यक्तिहरूले एक ठाउँमा आएर नयाँ दल बनाएछन् भने पनि त्यसबाट कुनै परिणाम आउन सक्दैन। फरक–फरक आकांक्षा, फरक–फरक पृष्ठभूमि र फरक-फरक मान्यता बोक्नेहरूलाई कांग्रेस–एमालेको रिसले एक ठाउँमा ल्याए पनि एजेन्डाको कुरा आउँदा आ-आफ्नै बाटोतिर फर्काउँछ– विभिन्न शुभ-अशुभ कार्यबाट ब्राह्मणका गोठमा आइपुगेका गाईहरू दाम्लो खोल्नासाथ आ-आफू आएको बाटोतिर फर्किए जस्तो।

सुधारका लागि मूलधारका पार्टीलाई नै ठोकपिट गर्नुपर्छ, आलोचना गर्नुपर्छ र सही मार्गमा लाग्न बाध्य पार्नु पर्छ। यदि कुनै मूलधारको पार्टीले समाजमा आएको परिवर्तनको चाहनालाई आत्मसात् गर्न सकेन भने ऊ स्वतः अप्रासंगिक हुन्छ, प्रजा परिषद् जस्तै।

नेपाली समाजलाई ‘नायक’ फिल्मको अनिल कपुरजस्तो शासक चाहिएको छ, जसको मुख नै सरकार होस्, आदेश नै कानुन होस्। तर, यस्तो कुरा फिल्ममा मात्र सम्भव हुन्छ, समाजमा होइन।

त्यसैले, हावाहुरी चलेको बेला धेरै तरंगित र भावुक बन्न जरुरी छैन। छोटा सपनाको आयु छोटो हुन्छ– रवि, रेशम, सीके आदिबाट उदाहरण लिँदा हुन्छ।

मुख्य कुरा, शासकीय क्षमतामा वृद्धि, नागरिकलाई समयमा सेवा प्रवाह, सत्तालाई बिचौलियाको खेलमैदानबाट मुक्त र आफ्ना कमी–कमजोरीको खुला दिलले आत्मालोचना गरेर जनतामा जानुपर्छ।

फागुन २१ होस् वा जेठ २१– मूलधारका प्रमुख दलको जनाधारमा समस्या छैन। नेतृत्व तहमा उठेका प्रश्नलाई हल गरेर जाँदा कार्यकर्ता पंक्ति र जनमतले लोकप्रियतावादको अस्थायी धक्कालाई सजिलै परास्त गर्न सक्छ।

‘नयाँ हुँ’ भन्नेका लागि मैदान खुला छ। जनमैदानको खुला प्रतिस्पर्धामा सबैलाई स्वागत छ। क्षणिक उत्तेजना, चरम घृणा र आत्मघाती निषेधबाट होइन, प्रतिस्पर्धाको लोकतान्त्रिक विधिमा सामेल बन्दा नै सबैको परीक्षण हुन्छ। 

प्रतिशोधको होइन, प्रतिस्पर्धाको सुल्टो बाटो हिँडौँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad