विचार


प्रधानमन्त्री कार्की, तपाईं फस्नु भयो

प्रधानमन्त्री कार्की, तपाईं फस्नु भयो

सन्जय घिमिरे
मंसिर १२, २०८२ शुक्रबार ६:५६, टेक्सस, अमेरिका

टाढाबाट आज यो लेख्न बस्दै गर्दा म एउटा गीत सुनिरहेको छु, मल्लिका–ए–तरुन्नुम (क्विन अफ मेलोडी) नूर जहाँले गाएको। नूर जहाँ को हुन्, म चिनाउनतिर लाग्दिनँ। म चाहन्छु– जो आज आफूलाई नेपालको धुन्धानको पुस्ता ठानिरहेको छ, उसले अलिकति मेहनत गरेर ती ‘बज्यै’ नूर जहाँ को हुन् आफै जानोस्। 

‘बज्यै’ नूर जहाँले गाएको, मैले ठिक यतिबेला सुनिरहेको गीत भनिरहेको छः  

क्या मिल गया भगवान, तुम्हे दिलको दुखाके
अरमानों की नगरी में, मेरी आग लगाके

गीतमा भनिएका अरु सबै शब्दहरू सायद मेरा पाठकहरूले सजिलै बुझ्नुहुनेछ एउटा बाहेक। एउटा शब्द ‘अरमान’का बारेमा तपाईंहरू जो कतिपय अनभिज्ञ हुनुहुन्छ भने तपाईंहरूका लागि भनिदिऊँ– ‘अरमान’ एउटा यस्तो जबर्जस्त उर्दु शब्द हो, जसले मान्छेका इच्छा, आकांक्षा, लालसा, मनोकामना, यी सबैको अर्थ राख्छ। 

गीतले जम्माजम्मी सारमा भनिरहेको छ– भगवान, अनेक इच्छा, आकांक्षा, लालसा र मनोकामनाहरूले भरिएको मेरो सहरमा आगो लगाएर तिमीले के पायौ?

मलाई थाहा छैन, भगवान को हुन्? वा ती छन्, छैनन्। 

भगवान भए पनि उनले मान्छेका इच्छा, आकांक्षा, लालसा र मनोकामनामा आगै त नलगाउनु पर्ने हो। आगो लगाउने भगवान थिए कि राक्षस, यो पनि ठयाक्कै मलाई थाहा छैन।

मलाई यति चाहिँ थाहा छ– आगो लाग्यो। आगो लागेपछि बच्ने भनेको एउटै कुरा हो– खरानी। 

म आज बडो अन्योलमा छु, आगोको तारिफ गरौँ कि खरानीको? आगोका अनेक विशेषताहरू छन्, खरानीका एकादुई। 

आगोको तारिफ गरौँ, कसरी गरौँ, जसले धेरै चिजलाई खरानी बनाएको छ! 

खरानीको तारिफ गरौँ, कसरी गरौँ, जो सबै सकिएपछिको शेष हो? 

म टाढाको मान्छे, जो ‘अरमानोंको नगर’ काठमाडौँभन्दा अलि टाढा छु, अन्योलमा हुनु स्वाभाविक हो। तर त्यही नगरमा बसेका विद्वान, विश्लेषकहरूका अन्योल देखेर म आश्चर्यमा छु। यसकारण आश्चर्यमा छु, ती जो आगो मात्र जान्दछन्, आगोको अनेक रूप र प्रकटीकरणहरू जान्दैनन्। 

आगोका गुण, अवगुण त्यसका परिणाम र प्रभावहरूमा मापन हुन्छ। जसले चौबीसै घण्टा अग्नि बाल्छ। र, भगवानका नाममा शनै शनै हवन गर्छ, त्यो ‘अग्निहोत्री’ हो। 

जसले आगो बाल्छ र एकै निमेषमा हवन कुण्ड मात्र होइन, घर, बस्ती सबै स्वाहा पार्छ, त्यो ध्वंशक हो। 

म आज आफैँ भन्दिनँ– को अग्निहोत्री हो र को ध्वंशक हो। यति चाहिँ भन्छु– अग्निहोत्रीका पनि एकादुई अवगुण हुन सक्छन्, तर ध्वंशकको त एउटा पनि गुण हुँदैन। 

कुरा आगोको भइरहेको छ। 

भात पकाउने आगो र घर जलाउने आगो एउटै होइन। बच्चालाई सेक्न तेल तताउने आगो र बच्चाको छालै पोलिदिने आगो एउटै होइन। आगो पनि पानसमा बलिञ्जेल मात्र ‘दीप वा दियो’ हुन्छ। आगो पनि मैनबत्तीमा सीमित रहुञ्जेल मात्र ‘क्यान्डल लाइट’ हुन्छ, असाध्यै मादक। आगो पनि मण्डपको वेदीमा सीमित भइञ्जेल अग्नि हुन्छ, साक्षी हुन्छ। 

आगो पनि बत्तीमा सीमित भइञ्जेल उज्यालो हुन्छ। 

आगो घुरानमा लागे हुर्क्यौली हुन्छ, त्यही आगो वनमा लागे डढेलो हुन्छ। अनुष्ठानमा लाखौँ बत्तीमा आगो लागे त्यो लाखबत्ती हुन्छ, त्यही आगो बस्तीमा लागे आगलागी हुन्छ। 

आगो सधैँ गुणवत्ता चिज होइन। 

यति पनि नबुझ्ने नेपाली कथित विश्लेषक, कथित बुद्धिजीवी र कथित मिडियाकर्मीहरू मेरो दृष्टिमा आगोका विरूप रूपभन्दा बढ्ता खतरनाक छन्, जसले भदौ २३–२४ को आगोलाई क्रान्ति, परिवर्तन, विद्रोह वा दिग्विजय भनिरहेका छन्। 

समय, अवस्था र परिणाम हेरेर आगोको मूल्यांकन हुन्छ। तर, आज नेपालमा आगोको एकोहोरो मूल्यांकन भइरहेको छ। 

म चाहन्नँ कसैलाई स्वाँठ भन्न। तर डढेलो के हो र हुर्क्यौली के हो भन्ने छुट्याउन नसकेका स्वाँठहरू देखेर म आश्चर्यमा छु। 

मलाई थाहा छ, मेरा पाठकहरू कमजोर चेतका हुनुहुन्न। तैपनि डढेलो के हो र हुर्क्यौली के हो भन्दिहालौँ। डढेलो त्यस्तो आगो हो, जो मान्छेको चाहना र नियन्त्रणभन्दा बाहिर हुन्छ। जो जंगल वा मानव बस्तीमा लाग्छ र धेरै स्वाहा पार्छ। हुर्क्यौली त्यस्तो आगो हो, जो फोहोर वा घुरानलाई तह लगाउन मान्छेकै चाहना र नियन्त्रणभित्रै बारीतिर लगाइन्छ। र, जसले अन्ततः मलको काम गर्छ।

मेरो दृष्टिमा भदौ २३–२४ को आगो डढेलो हो। त्यो डढेलाका प्रति मेरा केही गुनासाहरू हिजो पनि थिए, आज पनि छन्। म यतिमा चाहिँ हिजो पनि प्रस्ट थिएँ र आज पनि प्रस्ट छु– त्यो डढेलो थियो, हुर्क्यौली थिएन। म हिजो पनि प्रस्ट थिएँ र आज पनि प्रस्ट छु– भदौ २३–२४ मा नेपालमा लागेको आगो वेदीको अग्नि थिएन, जो मण्डपमा शुद्धिशान्तिका लागि लगाइन्छ। 

यतिमा प्रस्ट भएपछि मैले अब प्रस्टै भन्न पर्छ– नेपालमा आज जुन सरकार छ, त्यो ‘डढेलो सरकार’ हो। प्रधानमन्त्री सुशीला कार्कीज्यू, अन्यथा नलिनुहोला, तपाईंका प्रति मेरा अनेक सद्भाव छन्। तर, सद्भावका नाममा म तपाईंलाई यो हदसम्म ब्ल्यांक चेक दिन तयार छैन, जुन हदमा तपाईं सरकारको नेतृत्व गरिरहनु भएको छ। प्रधानमन्त्री कार्की, तपाईं त्यस्ताहरूको प्रतिनिधित्व गर्दै हुनुुन्छ– जसले नेपालरूपी रुखका हाँगाहरू मात्रै होइन, जरै डढायो। 

हाँगा जले फेरि अर्को वसन्तमा पलाउँछ, जरै जले वसन्तै आउँदैन। 

म नेपालमा अब फेरि वसन्त नआउने खतरा बढ्ता देखिरहेको छु। म रुखको पनि लोभी, वसन्तको पनि लोभी। हाँगा को थिए, जरा के हुन्? यो खुट्याउने जिम्मा पनि आफूलाई धुन्धान ठान्ने त्यो पुस्ता र तथाकथित विश्लेषकहरूलाई दिन चाहन्छु, जुन जिम्मा नूर जहाँको हकमा दिएको थिएँ। 

म यहाँसम्म आगो वा रापतापको कुरा गरिरहेको छु। अब अलिकति चिसोको पनि कुरा गर्छु। 

प्रधानमन्त्री कार्की आज करिब तीन महिना पुग्नै लाग्दा सायद तपाईं ठानिरहनु भएको छ– अब धेरै ठण्डा भइसक्यो। चुनाव भएपछि सबै ठिक हुन्छ। तपाईं ठानिरहनु भएको छ– ठण्डा मतलब चुनाव। जसरी भारतीय प्रचारकहरू भन्छन्– ठण्डा मतलब कोकाकोला। 

ठण्डा मतलब कोकाकोला मात्र पनि होइन र चुनाव मात्र पनि होइन। ठण्डा मतलब चिसो। 

तातोबाट चिसोमा प्रवेशको पनि एउटा नियम वा अनुशासन हुन्छ। 

प्रधानमन्त्रीज्यू, मेरो दृष्टिमा असाध्य अग्निको रापतापकै बीच तपाईं काठमाडौँबाट हेलिकोप्टर चढेर सोझै सगरमाथाको चुुचुरोमा जानु भयो। यो तपाईंको आफ्नै इच्छाले भयो कि संयोगले, मलाई थाहा छैन। म यति चाहिँ भन्न सक्छु– कहिलेकाहीँ यस्तो पनि हुन्छ, न आफ्नो इच्छा, न अरु कसैको इच्छा, समयले फसाउँछ मान्छेलाई। मलाई किनकिन लागिरहेको छ– प्रधानमन्त्री कार्की तपाईं फस्नु भयो। फस्नु यसकारण भयो कि, तपाईं लुक्ला, तेङबोचे भएर ‘एक्लमटाइज’ हुँदै सगरमाथा पुग्नु भएन। तपाईं हेलिकोप्टर चढेर सोझै, धेरै रुट छलेर सगरमाथा चुचुरोमा हुनुहुन्छ। 

बडो खतरनाक।

प्रधनामन्त्रीज्यू, तपाईंलाई ‘हाइ एल्टिच्युड सिकनेस’को असाध्यै सम्भावना छ। तपाईंका मन्त्रिमण्डलका अरु बाँकी सदस्यहरूमाथि म खासै टिप्पणी गर्न चाहन्नँ। ती यसै फुर्किएका छन्, तिनलाई बच्चामा बाले मिठाइ ल्याइदिएको जस्तो भएको छ। तिनको राजनीतिक बाल मनोविज्ञानमाथि मेरो खासै केही भन्नु छैन। प्रधानमन्त्री कार्की, म तपाईंको बारेमा बढ्ता सोचिरहेको छु। यसकारण सोचिरहेको छु कि तपाईं देशको प्रधानन्यायाधीश भइसकेको मान्छे। म यो सुन्न चाहन्नँ– नेपालको पूर्वप्रधानन्यायाधीशले राजनीतिको सगरमाथा चढ्न खोज्दा ‘हाइ एल्टिच्युड सिकनेस’ भयो। 

दुर्भाग्य, म बढ्ता यही सम्भावना देखिरहेको छु। 

प्रधानमन्त्री कार्की तपाईंलाई पनि लागिरहेको होला, म कहाँ फसेँ? तपाईंको मनोविज्ञान बुझ्न म बडो कोसिस गरिरहेको छु। मेरो रुचि यसै पनि मनोविज्ञानमाथि अलि बढ्तै छ। यसैले पाए र भ्याएसम्म तपाईंका अन्तर्वार्ता वा कुराहरू रुचिपूर्वक टाढाबाट सुनिरहेको छु। 

कमजोर चेत भएर होला सायद, म अझै पनि खुट्याउन सकिरहेको छैन– प्रधानमन्त्री कार्की तपाईंको यतिबेलाको ‘स्टेट अफ माइन्ड।’ 

एकातिर आगो र अर्कोतिर हिउँ। पोलिने कि कठ्यांग्रिने। सिर्फ दुई विकल्प।

समयले साथ दिए मलाई तपाईंसँग यो जटिल अवस्थामाथि बडो गम्भीर संवाद गर्न मन छ– इतिहासका रेकर्डका लागि। यो विषय त्यति हल्का छैन, जति नेपालका एकथरी ब्रोज वा गाइज, नारद मिडिया, शकुनी विश्लेषक र स्वार्थी भारदारहरूले ठानिरहेका छन्। 

तिनका कुरालाई छोड्ने हो भने टाढाबाट म देखिरहेको छु– नेपालको वर्तमान प्रधानमन्त्रीलाई ‘हाइ अल्टिच्युड सिकनेस’को सम्भावना छ। 

यसको एउटै उपाय हो– जति सक्यो छिटो तल झर्नु। यहाँ भन्दा अहिले म अरु केही नभनौँ। बुझ्नेलाई कुरा काफी छ। 

मैलै आज अलि प्रतीकात्मक हिसाबले धेरै चिज भन्न कोसिस गरेँ। जसले यो बुझ्न सक्नुहुन्न, उहाँहरूका लागि आगामी लेखमा सरल सात बुँदामा लेख्नेछु–

एक– नेपालका राष्ट्रपतिले पनि केही त गडबडी गरे, के गरे? 

दुई– नेपालमा भदौ २३–२४ मा जे भयो, के त्यहाँ नेपालका वामपन्थीहरूले भन्ने गरेजस्तो अमेरिकाको सोझो हात थियो? 

तीन– नेपाल समस्यामा गयो कि समाधानमा जाँदैछ? 

चार– अनेक खराबीका बाबजुद पनि एमालेले आज के चाहिँ सही गरिरहेको छ? 

पाँच– नेपाली कांग्रेसले आफूलाई किन र कसरी ‘लुज’ गर्दैछ? 

छ– मैले असाध्यै मानेका गगन थापाले पनि यो बीचमा के गुमाए? 

सात– के गुनासो र आक्रोश नेपालका केही मुख्य राजनीतिक दल र त्यसका नेतृत्वकर्तामाथि मात्रै गर्नु जायज हो, समाजमाथि पनि त्यही तहको गुनासो र आक्रोश गर्नु पर्दैन?

केही दिनपछि म यी सात प्रश्नका जवाफ दिने कोसिस गर्नेछु।

पर्खनुहोला।

(लेखक/पत्रकार सन्जय घिमिरे अमेरिकाको टेक्सासमा बसोबास गर्छन्। उनका थप लेख यो पेजमा पढ्न सकिन्छ।)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad