विचार


झापा, मोरङ र सुनसरी घुमेपछि निर्वाचन जित-हारबारे पत्ता लागेका ९ तथ्य

झापा, मोरङ र सुनसरी घुमेपछि निर्वाचन जित-हारबारे पत्ता लागेका ९ तथ्य

राजु नेपाल
फागुन १२, २०८२ मंगलबार १३:६, काठमाडौँ

चुनावको सरगर्मी बढेर प्रचारप्रसार तीव्र भइरहेका बेला कोसी प्रदेशका तीन जिल्लाका गतिविधि नजिकबाट नियाल्ने मौका मिल्यो। तीन दिनमा तीन जिल्लाका चिया पसलदेखि कोणसभासम्म विभिन्न पेसाकर्मी, नेता, विद्यार्थी, कार्यकर्ता, सरकारी कर्मचारी लगायतसँग भेट्दा देखे/सुनेका कुराको सारांश हो यो लेख। 

यी तीन जिल्लाका १५ निर्वाचन क्षेत्रमा प्रमुख दलका ‘हेभिवेट’ उम्मेदवार पनि प्रतिस्पर्धामा छन्। झापामा केपी शर्मा ओली, बालेन्द्र शाह, सरिता प्रसाईं, इन्दिरा रानामगर, देवराज घिमिरे, धर्मशिला चापागाईं, निशा डाँगी, राजेन्द्र लिङ्देन, एलपी साँवा, देउमान थेवेलगायत प्रतिस्पर्धामा देखिन्छन् भने सुनसरीमा हर्क साम्पाङ, राजीव कोइराला, विजय गच्छदार, भगवती चौधरी र ज्ञानेन्द्र कार्कीहरू चुनावी मैदानमा छन्। 

यस्तै मोरङमा डा. शेखर कोइराला, डा. मिनेन्द्र रिजाल, डा. सुनील शर्मा, गुरु घिमिरे, खड्ग फागो, घनश्याम खतिवडा, अमन मोदीलगायत चुनाव लड्दै छन्। साथै अन्य धेरै उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

यो चुनावी माहोलको हालसम्मको परिस्थितिलाई ९ भागमा बाँडेर विश्लेषण गर्न सकिन्छ। 

पहिलो : एकजना पनि जित्नेमा ढुक्क छैनन्
अघिल्ला निर्वाचनमा कमसेकम जित्ने उम्मेदवारको फरक चर्चा हुन्थ्यो, तर यसपटक छैन। बालेनदेखि हर्कसम्म, मिनेन्द्रदेखि ओलीसम्म, गुरुदेखि देवराजसम्म कोही विजयी हुने पक्का छैन।

कार्यकर्ता भन्छन्, ‘जित्न सम्भव छ र हारको सम्भावना पनि नकार्न सकिन्न।कारण- हिजोका भोट बैंकका धेरै खाता बन्द भएका छन् र नयाँ बैंकमा कसैले खाता खोलेका छैनन्।’

तैपनि समग्रमा कांग्रेस-एमालेका कार्यकर्ता १५ मा ६ सिट कांग्रेसले, ४ एमालेले, ३ रास्वपाले तथा १/१ स्थान राप्रपा र श्रम संस्कृति पार्टीले जित्ने आकलन भने गर्छन् र त्यो पनि कुन-कुन क्षेत्र भन्ने नखुलाईकन।

सबै तनावमा छन्, रनभुल्लमा छन्।

चुनाव- उम्मेदवार, कार्यकर्ता, सरकारी कर्मचारी र सुरक्षाकर्मीलाई लागेको छ, सञ्चारकर्मीलाई त लाग्ने नै भयो। तर आम जनतालाई लागेको छैन। उनीहरूमा चुनावको कुरा गर्न पनि धेरै रुचि देखिएन। 

यदाकदा चुनाव प्रचारको रिक्साबाट माइकको आवाज आउँछ, त्यो कसैले सुनेजस्तो मलाई लागेन। काठमाडौँमा र टिकटकमा देखिए वा सुनिएजस्तो झापा-५ पनि छैन।

दुवै पक्ष दबाबमा छन्, तनावमा छन्। न बालेन ढुक्क हुनसक्ने अवस्थामा छन् न ओली क्याजुअल। जे होस्, त्यो भेगको चुनावी माहोल जारी विश्वकप क्रिकेटजस्तै भएको छ। अस्ट्रेलिया त नेपालजसरी नै समूह चरणबाटै बाहिरियो!

दोस्रो: ३० वर्षमुनिका मतदाता कसैको पहुँचमा छैनन्
निर्णायक मतदाता जो ३० वर्ष मुनिका छन्, अझ त्यसमा धेरै जेनजी छन्, पढेलेखेका छन्, बुझेर निर्णयगर्न सक्षम छन्, ती कसैको पहुँचमा छैनन्। उनीहरू न कोणसभामा सहभागी हुन्छन् न घरदैलोमा देखापर्छन् न त चियापसलका चुनावी गफमा भेटिन्छन्। उनीहरू कतै छन् भने सामाजिक सञ्जालमा छन्।

उनीहरूको मत निर्णायक छ तर कता छ, धेरैलाई थाहा छैन। उनीहरूको मतको अनुमान र हुनसक्ने परिवर्तनले कांग्रेस एमालेको टाउको दुखेको छ। मत हाल्ने विषयमा उनीहरू आफ्ना बाआमाका कुरासमेत सुन्दैनन्। यसले सबै दललाई सशंकित बनाएको छ। सामाजिक सञ्जालमा भने उनीहरूमध्ये केही परिवर्तन भन्दै आफ्नो आक्रोश प्रकट गरिरहेका भेटिन्छन्। यो समूहसम्म नपुग्ने हो भने सबै दललाई चुनाव जित्न कठिन हुनेछ। 

तेस्रो : संगठन नभएको दलसँगको मुख्य प्रतिस्पर्धा
नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र राप्रपाहरू अझै धेरै हदसम्म आफूलाई नै प्रतिस्पर्धी मानेर सबैभन्दा ठुलो ठान्ने भूल गर्दै छन्। उनीहरूको संगठन तलैसम्म छ। संगठन क्रियाशील पनि छ। तसर्थ ७४ मा के भयो, ७९ मा के भयो, उनीहरूका स्थानीय कार्यकता रुमलिरहेका छन्। दुवै चुनावमा गठबन्धन थियो, रास्वपा र श्रम संस्कृति पार्टी थिएनन्। कांग्रेस एमालेलाई यो बुझाउने कसले? 

माथिका १५ क्षेत्रमध्ये कमसेकम १० वटामा यो पटकको चुनावमा यी चार दलबिच प्रतिस्पर्धा हुने छैन। अब जोसँग प्रतिस्पर्धा गर्नुछ, ती दल रास्वपा र श्रम संस्कृति पार्टीका संगठन शून्य बराबर छ। संगठन नभएका बलिया ती दलका गतिविधिको कुनै अन्दाज स्थापित दलहरूलाई छैन। प्रतिस्पर्धी चिनेको छैन, वार्ता गर्दा कोसँग गर्ने थाहा छैन, ऊ के गर्दै छ थाहा छैन। उसको चुनावी रणनीति थाहा छैन। दलको नामभन्दा चुनाव चिह्न बलियो छ। यी तथ्य स्थापित दलहरूका लागि प्रमुख चुनौती बनेका छन्।  

चौथो : स्थानीय तहमा जितेकाहरू घाँडो
यो निर्वाचन भ्रष्टाचार र कुशासनविरुद्ध पहिलो र विकासको दोस्रो एजेन्डामा लडिँदै छ। हिजो निर्वाचन जितेकाहरू प्रश्नको घेरामा छन्। चाहे प्रतिनिधिसभा जितेका हुन् वा प्रदेशसभा निर्वाचन। एमाले त पूरै दल प्रश्नको घेरामा छ। सबैभन्दा धेरै घेरामा स्थानीय तह जितेका वडाध्यक्ष, पालिका प्रमुख/उपप्रमुख छन्।

उनीहरू धेरैजसोले त मतदातासँ मत माग्न र फोन गर्न पनि आँट गरिरहेका छैनन्। स्थानीय तहका कतिपय कार्यपालिका सदस्य सम्पत्ति हैन, दायित्व भएका छन् यो पटकका उम्मेदवारहरूका लागि। उनीहरूप्रति गालीको वर्षा छ। उनीहरूले पूरा नगरेका वाचा अहिले आएर कांग्रेस, एमालेलाई भारी पर्दै छ।

यसबाट स्थानीय तह कसरी सञ्चालन भइरहेको छ, अनुमान गर्न सकिन्छ। जनता ३० वर्षको हिसाब सबैसँग यही चुनावमा माग्दै छन्। तसर्थ यो चुनावमा वाचाको ओइरो छैन, ठुला सभा छैनन्, सामान्य घरदैलोको नाममा चोकमा हुने भेट र कोठे बैठक धेरै भइरहेका छन्। उम्मेदवारहरूको घाँटी हैन, मुख सुकेको छ। भाषण गर्नुपरे न घाँटी सुक्ने हो, सुन्नु र प्रश्नको जवाफ दिनुपरेपछि मुख र तालु सुकेको छ। 

पाचौँ : गठबन्धन र भोट ट्रान्सफरको न्यून सम्भावना
यो पटक अहिलेसम्म घोषित, अघोषित गठबन्धन छैन र हुन सक्ने पनि देखिन्न। सबै आफ्नै बलबुतामा एक्लैएक्लै भिड्दै छन्। आफूआफूबिच तिक्तता छ। तसर्थ अब केही गर्दा पनि भोट ट्रान्सफर हुने सम्भावना शून्य छ। ३० वर्षभन्दा मुनिका मतदाता सम्पर्कमा छैनन्, ६० वर्षभन्दा माथिका मतदाता कोही कसैका कुरा सुन्नै चाहँदैनन्।

३० वर्ष मुनिकाहरूमा हामीलाई यिनीहरूले गरिखान दिएनन् भन्ने रोष छ भने ६० वर्ष माथिकामा यिनीहरूले हामीलाई बुढेसकालमा एक्लै पारेर हाम्रा सन्तानलाई विदेशिन बाध्य पारे भन्ने आक्रोश छ। यो अवस्थामा कसले भनेको कसले मान्ने? लाग्छ- यो पटक त हुनेका पैसा पनि खोटो छ। 

छैटौँ : प्रत्यक्ष र समानुपातिक मतान्तर धेरै हुने
यो पटकको चुनावका प्रत्यक्ष र समानुपातिक दुवै मत एउटै दलमा जाने सम्भावना कम छ। रास्वपाको सन्दर्भमा त्यो लागु हुन्छ तर कांग्रेस-एमालेमा त्यो सम्भव देखिन्न। उम्मेदवार मन परेर प्रत्यक्ष मत पाए पनि र अझ भनौँ- जिते पनि समानुपातिकको मत जोगाउन यी दुई दललाई हम्मे हुनेछ। यसको प्रत्यक्ष लाभ रास्वपालाई हुनेछ।

सुन्दा खसेको मतको ५० प्रतिशत समानुपतिक मत रास्वपाले पायो भने अचम्म नमाने हुन्छ र समीक्षा गरिएका तीन जिल्लाका केही क्षेत्रमा श्रम संस्कृति पनि कमजोर छैन। तर उज्यालो नेपाल पार्टी भने उज्यालोमा देखिएन। 

सातौँ : आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित ठुला नेता
देशभरि चुनावमा उठेका ठुला नेता आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित हुँदा यसपटक प्रतिनिधिसभा निर्वाचन स्थानीय तहको चुनावजस्तो भएको छ। राप्रपा अध्यक्ष लिङ्देन, एमाले अध्यक्ष ओली र कांग्रेसमा कोइराला परिवारका धरोहर र सम्मानित नेता शेखर कोइराला समेतले आफ्ना क्षेत्र छाडेका छैनन्।

गगन थापा आए पनि प्रचण्ड, माधव नेपाल र रविको पनि यता बाक्लो उपस्थिति हुने कुनै सम्भावना छैन। यसले पनि निर्वाचनलाई थप रोचक बनाएको छ। 

आठौँ : अन्तरघात नहुने चुनाव
यो पटकको चुनावको सबैभन्दा सबल पक्ष भनेको सबै आफ्नै बलवुतामा एक्लाएक्लै चुनाव लड्नु हो। साथै दाबाका साथ भन्न सकिने अर्को कुरा के हो भने यो पटक अन्तरघात हुँदैन। सबै आफ्ना दलका उम्मेदवार जिताउन लागेका छन्। हराउन लागेका छैनन् र लागे पनि त्यो फन्डाले यो पटक काम गर्दैन।

अब हारेपछि ‘आफ्नाले भोट दिएनन् अनि हारेँ तथा जितेपछि मैले अर्को पार्टीका साथीको भोटले जितेको आफ्नाले त के दिन्थे र’ भनेर कसैले गुनासो गर्न पाउने छैनन्। 

नवौँ : उत्साहित रास्वपा, निरीह एमाले, खोज्नुपर्ने नेकपा, हराएको राप्रपा र आशावादी कांग्रेस
एमालेसँग जनताका प्रश्नका उत्तर छैनन्, आफू प्रश्न गर्न सक्दैन, अब वाचा पनि गर्न सक्दैन र गरे पनि कसैले पत्याउँदैनन्। तत्कालीन माओवादी पर्दा अगाडि र पछाडि दुवैतिर छैन, ऊसँग न एजेन्डा छ न कार्यक्रम। राप्रपा शान्त छ, उसका केही छ भने उम्मेदवार, त्यत्ति हो। परिवर्तित कांग्रेसले भने आशाको किरण बोकेको छ। हिजोको केही बचाउन ऊ सक्षम छ तर आफ्नै पखेटा फैलाउन सक्षम छैन। 

रास्वपा उत्साहित छ, मत आउँछ पनि। प्रत्यक्षमा खाता खोल्छ र समानुपातिकमा जबरजस्त छ। श्रम संस्कृतिले आफ्नो उपस्थिति मतपेटिकामा देखाउँछ र अरूलाई भारी पर्न सक्छ।

यो चुनावमा केही सिट जिते पनि एमाले जनताको मनबाट हारिसकेको छ। अझ भनौँ- मतदाताको सबैभन्दा ठुलो गुनासो, रोष र आक्रोश एमालेमै छ। ऊ कुशासन र हत्याको पर्याय बनेको छ। उत्तरविहीन छ। उसका सबै राष्ट्रवाद जेनजी आन्दोलनमा चलेको गोलीसँगै माईखोलामा बगेको छ। यो पटक एमाले र कांग्रेसले केही सिट जिते पनि जनताको मनबाट भने हार्नेछन्, राप्रपा र नेपाली कम्युनिस्ट पार्टीले भने मन र मत दुवै गुमाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad