विचार


नदिनुपर्ने राजीनामा दिए गगनले, अब स्वीकृत हुनुपर्छ

नदिनुपर्ने राजीनामा दिए गगनले, अब स्वीकृत हुनुपर्छ

राजु नेपाल
चैत ५, २०८२ बिहिबार १८:१७, काठमाडौँ

आखिर त्यही भयो, जे हुुनु नपर्ने थियो, अर्थात् कांग्रेस सभापतिको राजीनामा। गगन थापाले राजीनामा गर्नुपर्ने कारण पनि थिएन र बेला पनि थिएन, तर आयो। यो राजीनामालाई आवेशमा वा हतारमा गरेको भन्न पनि मिलेन किनकि राजीनामाभन्दा अगाडि शान्त पोखरीमा धेरैपटक ढुङ्गा हानेर पानीको गहिराइ र त्यसबाट उठ्ने तरङ्ग नाप्ने काम भइसकेको थियो। धेरै सल्लाह र सामाजिक सञ्जालमा हल्ला पनि भइसकेका थिए। 

तसर्थ आजको यो लेखलाई कांग्रेस सभापतिको राजीनामाभित्रका केही प्रश्नमा केन्द्रित गराऊँ: 

पहिलो प्रश्न, यो राजीनामा निर्वाचनमा पराजय भएको कारणले जिम्मेवारीबोध सहित नैतिकताको कसीमा आएको हो कि हैन?

उत्तरः हैन। संसारभर निर्वाचनमा हारका कारणले आउने सभापतिको राजीनामा मत गन्दैगर्दा र हार निश्चित हुनेबित्तिकै आउँछ। निर्वाचनको पूरा परिणाम घोषणा भइसकेपछि हैन। अझ त्यसमाथि पनि निर्वाचनको परिणाम घोषणापछि भएको एउटा कार्यसम्पादन समितिको बैठकको नेतृत्व गर्दै केही निर्णय समेत गरेपछि आएको यो राजीनामा नैतिकताको आधारमा आएको पनि मान्न सकिएन। त्यस अर्थमा यो राजीनामाको कारण अरु नै हुनसक्छन्, जसको चर्चा तल गरौँला। 

दोश्रो प्रश्न : सभापतिले राजीनामा दिनुनपर्ने कारणहरु के–के थिए होलान् त?

१. पार्टीको पराजय सामूहिक जिम्मेवारी हो, एक व्यक्तिको मात्र होइनः निर्वाचनमा कांग्रेसले मात्र १८ सिट जित्नु र सभापति थापा आफैँ सर्लाही–४ बाट हार्नु पूरै पार्टीको संगठनात्मक कमजोरी, पुरानो नेतृत्वको अवशेष र आन्तरिक फुटको परिणाम थियो भन्न सकिन्छ। उपसभापति विश्वप्रकाश शर्मा र ३० भन्दा बढी केन्द्रीय सदस्यहरूले नै भनिसकेका छन् कि एक व्यक्तिलाई दोष दिएर राजीनामा माग्नु उचित हुँदैन, पहिले पूर्ण समीक्षा हुनुपर्ने थियो।

२. वर्तमान जटिल राजनीतिक अवस्थामा थापाको नेतृत्व जरुरी छ। विशेष महाधिवेशनबाट सभापति बन्नुभएका थापाले पार्टीमा पुस्तान्तरण र सुधारको एजेन्डा बोक्नुभएको छ। केही जनप्रतिनिधि, विभिन्न केन्द्रीय सदस्य र नेताहरूले हस्ताक्षर अभियान चलाएर नै भनिसकेका छन् कि राष्ट्रियता, लोकतन्त्र र पार्टीको गरिमा जोगाउन अहिले थापाको अभिभावकत्व जरुरी छ। राजीनामाले अस्थिरता बढाउँछ। एकातिर संसदमा कमजोर उपस्थिति, प्रदेश सरकारका बारेमा निर्णय गर्नुपर्ने अवस्था, निर्वाचन पराजयको निर्मम समीक्षाको समय, अर्कोतिर पार्टीभित्र फुटको आगो दन्किरहेको अवस्थामा राजीनामा समस्याको समाधान हैन, आत्मकेन्द्रित निर्णय हो। 

३. यो राजीनामाले अस्थिरता बढ्ने र पार्टी थप कमजोर हुने खतरा भयो। हालैको विशेष महाधिवेशनका कारण पार्टी मानसिक रुपमा फुटेर दुई खेमामा विभाजित भएको छ। राजीनामाका कारण अर्को फुट र संगठनात्मक अराजकता निम्तिन सक्छ। धेरै नेताहरूले स्पष्ट भनेका छन् कि राजीनामा अहिलेको समाधान होइन, चुनावी समीक्षा र एकता अहिलेको एजेन्डा हुनुपर्छ। 

तेश्रो प्रश्न : अब सभापतिको राजीनामा आएपछि स्वीकृत हुनैपर्ने कारणहरु के–के हुनसक्छन् त?

१. यदि यसलाई एकछिनको लागि जिम्मेवारीबोधका कारण आएको राजीनामा मान्ने हो भने आफैँले मेरो जिम्मेवारी भनेपछि अरुले हैन भन्नुको तुक छैन। उहाँलाई जिम्मेवारी दिऊँ र दिनैपर्छ। राजीनामा स्वीकृत गरौँ र नेपाली राजनीतिमा यो परम्परा बसाल्न सुरु गरौँ। उदाहरणीय बनौँ। 

२. पार्टीको लज्जास्पद पराजयको प्रत्यक्ष जिम्मेवारी सभापतिको हो। विशेष महाधिवेशन जरुरी थिएन, यो हार विशेष महाधिवेशनका कारण भएको हो। सभापतिको उच्च महत्वाकांक्षाका कारण आएको परिस्थितिको जिम्मेवारी पूरै उहाँकै हो। उहाँका कारण पार्टी माथिदेखि चिराचिरामा विभाजित छ। हिजो चुनावका कारण नबोलेका वा बोल्न नसकेका नेताहरु बोल्न थालेका छन्। यसकारण पनि अब उहाँ बाहिर बस्नु कांग्रेसको लागि हितकर हुन्छ। 

३. सभापति आफैँ पराजित हुनुभएका कारण पनि उहाँको छवि बिग्रेको स्पष्ट हुन्छ। काठमाडौँ–४ छाडेर सर्लाही–४ गएर पनि हार्नुले व्यक्तिगत रूपमा पनि उहाँको लोकप्रियता र रणनीति प्रश्नमा परेको छ। राजीनामा स्वीकार गर्दा व्यक्तिगत र पार्टीगत दुवै जिम्मेवारी पूरा हुन्छ।

४. अब पार्टीभित्रको गहिरो समीक्षा र त्यहाँ नयाँ नेतृत्वको आवश्यकता देखिएको छ। फुट, विद्रोह र निर्वाचन रणनीतिको असफलताले कांग्रेस अस्तव्यस्त भएको छ। राजीनामा स्वीकार गरेर केन्द्रीय समितिले नयाँ बहस, एकता र सच्चा समीक्षा गर्न सक्छ। पुरानो नेतृत्वका समर्थकहरूले पनि यही माग गरिरहेका छन्। तर थापाकै नेतृत्वमा भने कांग्रेस आफ्नै सदस्यहरु र जनताबाट निकट भविष्यमा स्वीकृत हुनसक्ने सम्भावना लगभग शून्यबराबर हो।

५. पार्टीको दीर्घकालीन हितको लागि पनि राजीनामा स्वीकृत हुनुपर्छ। थापाको विद्रोह र विशेष महाधिवेशन कांग्रेस सदस्यहरुले र जनताले पूरै अस्वीकार गरे। आठ लाख क्रियाशील सदस्य भएको पार्टीले सत्र लाख भोट ल्यायो। क्रियाशील सदस्यका परिवारको मत समेत आफ्नै सभापतिलाई प्रधानमन्त्री बनाउने नाममा बचेन। अझ नेपाली कांग्रेसले आफ्नै संसदीय दलको विधान लत्याउँदै सभापतिलाई प्रधानमन्त्रीको उम्मेदवार तोकेर जाँदा समेत यस्तो बेहाल भयो। राजीनामा स्वीकार गर्दा कांग्रेसले ‘नेतृत्व परिवर्तन संस्कृति’ स्थापित गर्छ, जसले भविष्यमा राम्रो प्रदर्शन र विश्वासयोग्यता बढाउँछ। अहिले राजीनामा नस्वीकार्दा दोषारोपण र विभाजन थप बढ्न सक्छ।

चौथो प्रश्न : सभापतिले दिएको राजीनामा केन्द्रीय समितिले स्वीकृत गरेन भने के हुन्छ? 

उत्तरः साधारण कानुनी भाषामा भन्नुपर्दा राजीनामा स्वीकृत नभएको खण्डमा थापा सभापति पदमा कायमै रहनुहुनेछ। उहाँ जिम्मेवारीबाट पन्छिन पाउनुहुनेछैन, किनकि पार्टीको सर्वोच्च निकायले उहाँको राजीनामा अस्वीकार गरेको मानिन्छ।

तर त्यसले पार्टीभित्रको दबाब, बहस र आन्तरिक द्वन्द्व भने बढ्न सक्छ। दबाबका कारण पार्टीको १५औँ महाधिवेशनको मिति तोकिन सक्छ। जति गरे पनि दशैँताका नभई महाधिवेशन हुने देखिन्न। त्यो भन्दा अगाडि भयो भने महाधिवेशनको नाममा विशेष महाधिवेशन जस्तै स्टेज नाटक हुनेछ र पार्टी औपचारिक रुपमा विभाजित हुनेछ। पार्टीको ठूलो हिस्सा महाधिवेशनबाट बाहिर बस्नेछ। 

पाचौँ प्रश्न : यो राजीनामा राजनीतिक नाटक हुने सम्भावना कति छ? 

यदि यो राजीनामा स्वीकृत भएन भने यसलाई नाटक वा राजनीतिक स्टन्ट/ड्रामा हो भन्ने आरोप/धारणा धेरै पक्षबाट आउँछ। यो धारणा मुख्य रूपमा सामाजिक सञ्जाल, केही विश्लेषक र विपक्षी/आन्तरिक गुटबाट आउने गर्छ। यसका सम्भावित आधारहरू यस्ता हुन सक्छन्ः

क. केन्द्रीय समितिले राजीनामा अस्वीकार गर्ने सम्भावना उच्च छ किनकि हालको केन्द्रीय समिति शत प्रतिशत खल्तीबाट बनाइकाहरु हुन्। न कुनै प्रतिस्पर्धा न कोही विरोधी। यस्तो केन्द्रीय समितिले गर्ने काम उहाँको मनको इच्छालाई सदर गर्ने मात्रै हो। त्यस्तो अबस्थामा यदि उहाँको राजीनामा स्वीकृत नभई पदमा कायमै रहने भनेको यो नाटक जस्तो देखिन्छ— अर्थात् राजीनामा दिएर नैतिक छवि बनाएको जस्तो गर्ने, तर वास्तवमा पद नछोड्ने रणनीति भन्ने बुभिन्छ। 

ख. यदि त्यस्तो भयो भने आन्तरिक गुटबन्दी र शक्ति सन्तुलन खलबलिन सक्छ। राजीनामा दिएर नैतिकता देखाएको जस्तो गर्ने, तर अस्वीकृत गराएर फर्केर बस्ने र गुटलाई मजबुत बनाउने खेलमा सभापति लागेको देखिनेछ। चुनावमा पार्टीको हारमा आन्तरिक रूपमा नै ‘सभापतिलाई असफल बनाउने’ प्रयास भएको आरोप समेत पुष्टि गर्न कठिन हुन्छ। 

ग. चुनावको ठूलो हारपछि तुरुन्त राजीनामा दिनु सामान्य देखिए पनि, पार्टीको संकटमा ‘नेता भाग्ने’ होइन ‘लड्ने’ भन्ने आवाज पनि उठ्न सक्छ। यो भावनात्मक दबाब सिर्जना गरेर अस्वीकृत गराउने र फेरि ‘पार्टीका साथीहरुको दबाबले बसेँ’ भन्ने कथा बनाउने रणनीति पनि हुनसक्छ। 

छैटौँ प्रश्न : के गगनको राजीनामाले कांग्रेसमा नेतृत्वको संकट पर्छ? 

पर्दैन। नेपाली कांग्रेस कम्युनिस्ट पार्टीमा जस्तो एक जनाको वरिपरि मात्र घुमिरहने पार्टी हैन। उहाँ बाहिर बस्दा अझ अब्बल अरु कोहीले पार्टी सञ्चालन गर्नेछन्। सबै ढुक्क भए हुन्छ।

सातौँ प्रश्न : यति हुँदाहुँदै पनि यो सबै किन त?

पार्टीमा जेनजीको आन्दोलनपछि सभापतिको समूहले विशेष महाधिवेशनको नाममा गलत बाटो समात्यो र आपतकालीन अवतरण गरायो। यो प्रक्रियामा पार्टी घाइते भयो, घाइते पार्टी पराजित भयो। के थाहा थिएन? २ दिनमा टिकट बाँड्नुपर्छ, पार्टीको छवि निर्वाचन जित्ने छैन, दुई महिनाभन्दा कम समयमा निर्वाचन छ, अर्को पक्षले कानुनी उपचार खोज्छ, झ्यालबाट फालिएकाहरुले चुनावमा असहयोग गर्छन् वा निरपेक्ष बस्छन्, हिजो गरिएका गठबन्धनका कारण पार्टी रक्षात्मक छ, आदिआदि। कि वरिपरिकालाई जसरी सभापति बनाइयो, आम निर्वाचन पनि त्यस्तै लटरपटर गरेर जिताइन्छ भन्ने थियो? 

अब चुनाव त हारियो। आखिर किन त? यही प्रश्नमा रहेर निर्वाचनको निर्मम समीक्षा गर्नुपर्नेछ, जसको जवाफ कोहीसँग छैन वा दिन चाहँदैनन्। अब ती प्रश्नबाट भाग्न त पर्‍यो। कसरी त? राजीनामाको रिहर्सल, केन्द्रीय समितिमा राजीनामाको चर्चा प्रदर्शन र राजीनामा फिर्ताबाट अनि पर्दा बन्द। अनि सकियो। यसो मिलाएर चार बुँदामा निर्वाचन हार्नुका दोष पुरानो संस्थापनपक्षलाई लगाएर कर्मकाण्डी वक्तव्य निकाल्न के कठिन भयो र? 

अब आजको अन्तिम प्रश्न : कांग्रेसलाई जीवन्त राख्न अब के गर्ने त? 

अब नहुने भइसक्यो। राजीनामा नआउनुपर्ने थियो, आइसक्यो। म लगायत धेरैको अनुरोध स्वीकार भएन। अब फिर्ताको नाटक चाहिँ देख्न नपारोस्। अस्वीकृत भएको ढोङ देख्न नपरोस्। यत्ति भए कांग्रेस जीवन्त हुन्छ। अनि महाधिवेशन गरौँ। त्यसबेलाका कुरा गर्दै गरौँला। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad