ad ad

विचार


जेठ ५ पछि ओली र देउवाको शिर निहुरिन्छ कि उठ्छ?

जेठ ५ पछि ओली र देउवाको शिर निहुरिन्छ कि उठ्छ?

अरुण बराल
बैशाख २७, २०७९ मंगलबार २१:४०, काठमाडौँ

स्थानीय चुनाव–२०७४ मा नेकपा एमाले ४०.२४ प्रतिशत सिटका साथ पहिलो बन्यो। अब बैशाख ३० को चुनावमा एमाले पहिलो दलमै कायम रहन्छ कि दोस्रोमा झर्छ?

ज्योतिषीलाई उद्धृत गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनको हालत चुनावपछि कमजोर हुने भविष्यवाणी गरेका छन्। ओलीको ‘बडी ल्याङ्वेज’ हेर्दा उनी यो चुनावपछि एमालेको स्थिति विगतको भन्दा राम्रो हुनेमा ढुक्क देखिन्छन्।

अघिल्लो साता एमाले महासचिव शंकर पोखरेलले अहिलेको चुनाव ‘केपी ओली भर्सेस गठबन्धन’ का रुपमा देखा परेको बताउँदै भनेका थिए, ‘एमाले संकटमा छैन, संकटमा उनीहरु (सत्ता गठबन्धन) छन्।’

अहिले एमालेको पक्षमा जनमत देखिएको एमाले महासचिव पोखरेलले दाबी गरे।

उनले भने, ‘मूल प्रवृत्ति एमालेको पक्षमा छ। के हुन्छ भन्ने त जेठ ३–४ गते थाहा भइहाल्छ। हामी गलत रहेछौँ भने ५ गतेपछि तपाईंहरुसमक्ष शिर निहुर्याउँला।’

यो चुनावमा एमालेको ‘पोजिसन’ के हुन्छ भन्नेबारे अहिले नै बहस नगर्न एमाले महासचिव पोखरेलको आग्रह छ।

‘यसलाई परीक्षणको विषय बनाऔं, अहिल्यै बहसको विषय नबनाऔं,’ उनले सम्पादकहरुसँगको अन्तरक्रियामा भने।

एमाले उपमहासचिव विष्णु रिमालले केही हप्ताअघि यस पंक्तिकारसँगको अन्तर्वार्तामा एमाले एक्लैले ४० प्रतिशत सिट जित्ने र बाँकी ६० प्रतिशतमा पाँच दलीय गठबन्धनबीच भागबण्डा हुने विश्लेषण सुनाएका थिए। एक्लै ४० प्रतिशत बढी मत ल्याएपछि एमाले नै पहिलो दल हुने रिमालको विश्लेषण थियो।

तर, यही साता नेपालखबरसँगको अन्तर्वार्तामा एमाले उपमहासचिव रिमालले आफ्नो पहिलेको विश्लेषणलाई अलिकति सच्याएका छन्। रिमालले भनेका छन्, ‘गएको चुनावमा ४० प्रतिशत कटाएका हौँ, यसपालि हाम्रो दाउ चले ५० प्रतिशतको उकालो लाग्छौँ।’

सबैको ध्यान एमालेतिर
आसन्न चुनावमा मानिसहरुको सबैभन्दा बढी ध्यान एमालेतिरै सोझिएको देखिन्छ। ०७४ को चुनावपछि मुलुकको सबैभन्दा ठूलो पार्टी बनेकाले हुनुपर्छ, एमालेको ‘पोजिसन’ पहिलो दलकै रुपमा रहला कि नरहला भन्नेमै अहिलेको राजनीति केन्द्रित भएको देखिन्छ। 

एमालेका नेता कार्यकर्ता र समर्थकहरुमा पार्टीको अवस्थाबारे चासो जाग्नु स्वाभाविकै हो। तर, कांग्रेस, माओवादी र एकीकृत समाजवादीका कार्यकर्तासमेत एमालेले कस्तो परिणाम ल्याउला भनेर सोधिरहेका छन्। यसले पनि बहसको केन्द्रमा एमाले नै छ भन्ने देखिन्छ।

नेकपा एमालेविरुद्ध सत्तापक्षीय गठबन्धन एक भएर चुनावमा गएका छन्। पाँच दललाई एमालेले एक्लै हराउँछ भनेर एमाले अध्यक्ष ओलीले हाँक दिइरहेका छन्। यसले गर्दा पनि ‘एमाले भर्सेस पाँच दल’ बन्न पुगेको हो।

पाँच वटा दल मिल्दा पनि एमालेलाई दोस्रो बनाउन सकेनन् र नेपाली कांग्रेस नै दोस्रोमा खुम्चियो भने यसले एमालेको साख बढ्ने छ र आगामी संसदीय चुनावमा उसलाई फाइदा पुग्ने विश्लेषण एमालेजनले गरेको देखिन्छ। 

नेकपा फुटेर एमाले बनेको अनि एमाले पनि फुटेर एकीकृत समाजवादी अलग बनेको अवस्थामा अध्यक्ष केपी ओलीका लागि यो चुनाव निकै ठूलो राजनीतिक परीक्षा हो। संघ र प्रदेशका सबै सरकार ढलेका र पार्टी फुटेको अवस्थामा एमाले एक्लैले ०७४ को परिणाम यथावत राख्न सक्यो भने मात्र केपी ओली परीक्षामा उत्तीर्ण भएको मानिनेछन्।

तर, पाँच दलीय गठबन्धनका कारण एमाले यो स्थानीय चुनावमा पहिलो दल बन्न सकेन र कांग्रेस पहिलो बन्यो भने यसले आगामी संसदीय चुनावमा एमालेलाई मनोवैज्ञानिक असर गर्न सक्छ। तथापि एमाले नेताहरु यस्तो परिस्थिति कुनै हालतमा नआउने दाबी गर्छन्। 

आसन्न स्थानीय चुनावपछि जेठको पहिलो साताको राजनीतिक परिदृश्यबारे आकलन गर्दै एमाले महासचिव पोखरेलले पत्रकारहरुसँग भने, ‘यो चुनावमा चमत्कार हुन्छ। स्थानीय चुनावपछि एमालेले पहिलो दलका साथ राष्ट्रिय शक्ति आर्जन गर्छ, त्यसपछि साना पार्टीहरु एमालेमा प्रवेश गर्छन्।’

तर, एमालेले चुनाव हार्यो भने नि? यो प्रश्नलाई महासचिव पोखरेलले अस्वीकार गर्दै भने, ‘त्यस्तो परिस्थिति आउने हामीले कल्पनै गरेका छैनौँ।’

जे होस्, नेकपा एमाले सामु अघिल्लो स्थानीय चुनावमा जितेका २९४ प्रमुख, ३३१ उपप्रमुख, २ हजार ५६० वडाध्यक्ष र १० हजार ९१२ वडा सदस्यहरुलाई बचाउनुपर्ने वा बढाउनुपर्ने चुनौती छ। 

पाँच दलीय गठबन्धनको अग्निपरीक्षा
यो स्थानीय चुनावले नेकपा एमालेको मात्र परीक्षा लिइरहेको छैन, अघिल्लो स्थानीय चुनावमा ३२.६९ प्रतिशत सिटका साथ दोस्रो ठूलो दल बनेको नेपाली कांग्रेसको पनि जाँच लिइरहेको छ। आफैँ सत्तामा रहेर अन्य दलको समेत गठबन्धन बनाउँदा पनि कांग्रेस पहिलो पार्टी बन्न सकेन भने यसले आगामी संसदीय निर्वाचनमा उसको ‘मोराल डाउन’ गराउने छ। 

गठबन्धन गर्दा पनि पहिलो बन्न सकेन भने कांग्रेसको मनोबल मात्र गिर्ने छैन, यसले माओवादीसँगको उसको सहकार्य जायज छ, छैन भन्ने बहसलाई पनि मुखरित गरिदिनेछ। 

अहिलेको स्थानीय चुनावमा कांग्रेसभित्र मूलतः दुईवटा बहस चलेका छन्, एक– एमालेसँग प्रतिवाद गर्न गठबन्धनलाई अझ कसिलो र दीर्घकालीन बनाएर अघि बढ्नुपर्छ। दुई– कांग्रेस कार्यकर्ताले रुखमै भोट हाल्न पाउने गरी एक्लै अघि बढ्नुपर्छ।

आसन्न स्थानीय चुनावमा कांग्रेसले हासिल गर्ने नतिजाले नेपाली कांग्रेसको बाटो निश्चित गर्ने देखिन्छ। अर्थात् यसो भनौँ, यो चुनावमा कांग्रेस पहिलो दल बन्छ या दोस्रोमै खुम्चन्छ भन्ने तथ्यले पाँच दलीय गठबन्धनको भविष्य प्रभावित हुनेछ।

अहिले जुन पाँच दलीय गठबन्धन बनेको छ, यो कसिलो गठबन्धन चाहिँ होइन। विभिन्न ठाउँमा कांग्रेस, माओवादी र समाजवादी अनि जसपा आफैँ–आफैँ प्रतिस्पर्धा गरेका छन्। प्रतिस्पर्धा मात्र होइन, कतिपय ठाउँमा त कुटाकुट गरेका खबर पनि आइरहेका छन्। 

किनभने, विभिन्न ठाउँमा गठबन्धन कसिलो हुन सकेको छैन। गोरखामा जसपाले एमालेसँग तालमेल गरेको छ। झापामा कांग्रेस–एमालेले राप्रपाविरुद्ध गठबन्धन गरेका छन्। अधिकांश स्थानीय तहमा कांग्रेस र माओवादी बेग्लाबेग्लै उम्मेदवार खडा गरेर चुनावमा भिडेका छन्।

विराटनगर, भरतपुर लगायतका विभिन्न ठाउँमा गठबन्धनविरुद्ध गठबन्धनबाटै बागी उठेको अवस्था छ। यो सबै परिघटनाले के देखाउँछ भने पाँच दलका बीचमा कसिलो गठबन्धन नै बन्न सकेको छैन। 

आसन्न चुनावमा कांग्रेस पहिलो पार्टी बन्न सकेन भने गठबन्धन गरेकै कारणले यस्तो भएको हो या बलियो गठबन्धन नगरेका कारणले चाहिँ कमजोर नतिजा आएको हो भन्ने प्रश्नमा घोत्लिनुपर्ने हुन्छ। 

प्रचण्ड र माधव नेपालको परीक्षा 
पाँच दलीय गठबन्धनभित्र नेपाली कांग्रेसले एक्लै जित्ने अहंकार देखाएको र आफूहरुलाई सिट छुट्याउन कञ्जुस्याइँ गरेको गुनासो प्रचण्ड र माधव नेपालले गर्दै आएका छन्।  एक्लै हिँड्नुपर्छ भन्ने कांग्रेसका कतिपय नेताहरुको जिद्दीका कारण गठबन्धन कमजोर बनेको र यसको फाइदा एमालेले उठाउन सक्ने माओवादी र एकीकृत समाजवादीका नेताहरुको विश्लेषण सुनिन्छ।

कांग्रेसका नेताहरु चाहिँ माओवादी र एकीकृत समाजवादीलाई भाग छुट्याउँदा आफूले जित्ने स्थान पनि घट्न गएको गुनासो गर्छन्। यही गुनासोका बीच कांग्रेससँगको मिलेमतोमा माओवादी र एकीकृत समाजवादी अनि जसपाले ०७४ को परिणाममा केही सिट थप गर्लान्? यही प्रश्नका आधारमा यी पार्टीहरुको मूल्यांकन हुनेछ।

यसअघि माओवादीले १५.५३ प्रतिशत सिटका साथ १०६ स्थानमा प्रमुख, १११ स्थानमा उपप्रमुख, १ हजार १०२ स्थानमा वडाध्यक्ष र ४ हजार १२३ स्थानमा वडा सदस्य जितेको थियो। यो संख्यालाई कायम राख्छ या गुमाउँछ भन्ने आँकडाले नै माओवादीको जित–हारको मापन हुनेवाला छ। 

खासगरी मधेशमा २१ प्रमुख र १९ उपप्रमुख जितेको माओवादीलाई यसपालि चुनौती थपिएको छ। किनभने माओवादीबाट जितेका मधेशका ५ प्रमुख र ६ उपप्रमुख एमालेमा प्रवेश गरेको अवस्था छ। मोरङको रंगेलीका माओवादीका मेयर पनि एमालेको गएको अवस्था छ।

प्रभु साह, लेखराज भट्ट, बादल, टोपबहादुर रायमाझी लगायतको टोली एमालेमा गएको अवस्थामा पुरानो रेकर्ड माओवादीले कायम राख्छ कि घटबढ हुन्छ भन्ने प्रश्न राजनीतिकर्मीहरुका लागि चासोको विषय हो। तथापि प्रचण्डले विगतको नतिजामा ‘प्लस’ हुने दाबी गरिरहेको सुनिन्छ।

यसअघिको चुनावमा ४.११ प्रतिशत जितेको जनता समाजवादी पार्टीले खासगरी मधेशमा ३४ प्रमुख र ३२ उपप्रमुख कायम राख्छ कि घटबढ हुन्छ भन्ने प्रश्नले सो पार्टीको परीक्षा हुनेछ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले परीक्षामा उत्तीर्ण हुन ५ प्रमुख र ५९ वडा वडाध्यक्षहरु जोगाउनुपर्ने छ। देशभरि जनमत बढिरहेको दाबी गर्ने राप्रपाले थप सिट जितेर देखाउनुपर्ने चुनौती छ। जनमोर्चा, नेमकिपा, विवेकशील साझा लगायतका दलहरुको पनि परीक्षा विगतको नतिजाकै आधारमा हुनेछ। 

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी भने भर्खरै जन्मिएको हुनाले ०७४ का आधारमा उसको परीक्षा नहोला। तर, एमालेले देशैभरि पत्तासाफ हुने दाबी गरिरहेको अवस्थामा एकीकृत समाजवादीले पोखरा, काठमाडौं, इटहरी लगायतका सहरमा चुनाव जितेर देखाउनुपर्ने चुनौती छ।

काठमाडौं, भरतपुर लगायत देशभरिका ६ महानगर, ११ उपमहानगरका साथै डडेलधुरा अनि झापातिरका केही हटसिटको नतिजाले पनि दलका नेताहरुको सिङ–जुरोको जाँच गर्ने नै छ।

‘दुई दलीय जनवाद’ को बहस
यो स्थानीय चुनावमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले एउटा राजनीतिक बहस छेड्ने प्रयास गरेका छन्। पोखरेलले अघि सारेको यो बहसको पनि थोरबहुत परीक्षण स्थानीय चुनावले गर्नेवाला छ। 

‘नेपालमा व्यवस्था बदलियो तर ०६२–०६३ को नेपालको राजनीतिक क्रान्तिले अब कुन बाटो जाने भन्ने कुरा कुनै वर्गलाई जिम्मा लगाएन, लोकतान्त्रिक प्रणाली (चुनावलाई) छाडिदियो,’ एमाले महासचिव पोखरेल भन्छन्, ‘जति धेरै राजनीतिक दलहरु हुन्छन्, त्यति नै राष्ट्रिय शक्ति कमजोर हुन्छ। त्यसैले अब दुई दलीय ध्रुवीकरण आवश्यक छ।’

अब देशमा एकातर्फ नेपाली कांग्रेस र अर्कोतिर नेकपा एमाले दुईवटा दलको ध्रुवीकरण हुने र साना दलहरु कमजोर बन्दै कांग्रेस–एमालेको सहयोगी मात्रै रहने एमाले महासचिव पोखरेलको विश्लेषण छ।  

एमाले महासचिव पोखरेलले एउटा दलको नामै किटेर भने, ‘हाम्रा रवीन्द्र मिश्रजी वैकल्पिक शक्ति बनाउने भनेर हौसिनुभो, यसपटक त फ्लप खाँदै हुनुहुन्छ।’

एमाले नेता पोखरेलको तर्क के थियो भने अब माओवादी, एकीकृत समाजवादी, जसपा जस्ता दलहरुको कुनै औचित्य र भविष्य रहने छैन। अब कि त एमाले छ, कि कांग्रेस। अब मुलुक दुई दलीय व्यवस्थातर्फ जान्छ। राष्ट्रिय शक्ति निर्माणका लागि दुई दलीय ध्रुवीकरण आवश्यक छ।

विगतमा बहुदलीय जनवादको वकालत गर्दै आएका एमाले महासचिव पोखरेलले छेडेको यो ‘दुई दलीय जनवाद’ को बहस स्थानीय चुनावपछि थप मुखरित हुने देखिन्छ। अहिले चाहिँ यो बहसले केही प्रश्नहरु मात्रै पैदा गरेको छः

मुलुकमा दुई दलीय ध्रुवीकरण हुने एमाले नेताहरुले बताइरहँदा के अब तेस्रो पोलको राजनीतिक भविष्य छैन त? देशैभरि दक्षिणपन्थी शक्ति राजेन्द्र लिङदेनको राप्रपामा डोलायमान भइरहेको परिघटनालाई कसरी लिने?

माओवादी, जसपा र एकीकृत समाजवादीको समग्र शक्तिलाई कसरी लिने? गणतन्त्र र संघीयता स्थापनामा योगदान गरेको ६ लाख बढी सदस्य रहेको माओवादी पार्टी सिद्धियो भनेर मान्ने? मधेशको क्षेत्रीय शक्तिलाई अनदेखा गर्न सकिएला?

अनि कांग्रेस र एमालेकै बीचबाट बालेन साह जन्मिँदै गरेको परिघटनालाई के भन्ने? के अब यो देशमा एमाले र कांग्रेसबाहेक अरु कसैको भविष्य नै छैन त? सायद यसको पनि पहिलो किस्तामा आसन्न स्थानीय चुनावले जवाफ देला। 

हुन त एमाले महासचिव पोखरेलले बालेन साहका बारेमा दिएको जवाफले नै उनको ‘दुई दलीय जनवाद’ माथि प्रश्न उठाएको छ। पत्रकारहरुसँगको कुराकानीमा पोखरेलले दलहरुभित्रको असहमति राख्ने माध्यमका रुपमा बालेन साह प्रकट भएको बताएका थिए। 

के नेपालको अस्थिरताको कारकतत्व बहुदल हो? अनि यसको औषधि कांग्रेस र एमाले मात्रै शक्तिमा रहने दुई दलीय प्रणाली नै हो? यसबारे बहस गर्दै जाऔंला। अहिलेचाहिँ जेठको पहिलो सातासम्म एमाले महासचिव शंकर पोखरेलकै भनाइलाई मानौँ। एमाले नेता पोखरेलले स्पष्ट रुपमा भनेका छन्, ‘हामी गलत रहेछौँ भने ५ गतेपछि तपाईहरुसमक्ष शिर निहुर्याउँला।’

अन्त्यमा, देशैभरिको चुनावी माहौल हेर्दा आजका दिनसम्म गठबन्धन र एमालेबीच टक्कर परिरहेको देखिन्छ। गठबन्धनका नेताहरुले एमालेलाई जति कमजोर होला भन्ने ठानेका थिए, एमाले त्यति कमजोर देखिएको छैन। तर, गठबन्धनको दुईचार सय भोट कांग्रेसको बाकसमा खस्दा त्यसले एमालेलाई कति सिटमा नोक्सानी होला? यसको हिसाब निकाल्न गणितशास्त्रीहरुलाई गाह्रो परिरहेको छ।

अबको तीन दिनभित्र मौन समयमा चल्ने भूमिगत ज्वारभाटाले सबैको हिसाबकिताब गर्ने नै छ। शंकर पोखरेलले ठीकै भनेका हुन्, ‘यसलाई अहिल्यै बहसको विषय नबनाऔं, अब एक–दुई दिन, जेठ ५ गतेसम्म पर्खौँ।’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .