यसपालि इरान युद्ध सुरु हुँदा बेन्यामिन नेतन्याहुको ३० वर्षदेखिको सपना पूरा भएको थियो। प्रधानमन्त्री नेतन्याहुले दशकौँदेखि इरान इजरायलको अस्तित्वमाथिको खतरा भएको बताउँदै आएका थिए। अन्ततः गत फेब्रुअरी २८ मा उनले इरानमाथि ठूलो आक्रमण सुरु गरे। त्यसमाथि उनले यो युद्ध एक्लै होइन, अमेरिकासँग मिलेर सुरु गरेका थिए। नेतन्याहुको नजरबाट हेर्दा यो अझ राम्रो कुरा थियो।
यो युद्धले इरानको सत्ता ढालिछाड्छ भनेर उनले डोनाल्ड ट्रम्पलाई हौस्याएका थिए। कम्तीमा पनि इजरायलविरुद्धको इरानी खतरा नष्ट गर्ने उनको चाहना थियो।
तर, इरानमाथि आक्रमण ठिक उल्टो दिशामा गएको छ। इरानी सत्ता अझै दह्रोगरी आफ्नो आसनमा छ। उसले अझै पनि इजरायलमाथि क्षेप्यास्त्र हमला गरेर आफ्नो शक्ति प्रदर्शन गरिरहेको छ। इरान समर्थित हेजबुल्लाहले उत्तरी इजरायलमा गोलाबारी गरिरहेकै छ र लेबनानमा इजरायली फौजसँग लडाइँ पनि गरिरहेको छ। ट्रम्पसँग नेतन्याहुको निकट सम्बन्धमा तनाव समेत आएको छ।
युद्धविरामका माझ इजरायलले दक्षिणी बेरुतमा हमला गरेको जवाफमा इरानले इजरायलमाथि क्षेप्यास्त्र हमला गर्यो। बदलामा इजरायलले इरानमाथि बमबारी गर्यो। ट्रम्पले त्यसलाई रोक्न प्रयास गरे। (त्यसयता अमेरिकाले पनि इरानमाथि आक्रमण गरिसकेको छ, जवाफमा इरानले अमेरिकी सैन्य अखडाहरूमा हमला गरेको छ)। नेतन्याहुले जे भन्यो, त्यही मानेको आरोप लागेपछि ट्रम्पले भनेका छन्, ‘सबै निर्णय म लिन्छु, उनी लिँदैनन्।’
नेतन्याहुसामु कठिन विकल्प छन्। इरान र हेजबुल्लाहमाथिको हमला रोक्दा उनी इरानी सत्ता र इजरायली जनताको नजरमा कमजोर देखिन सक्छन्। उता ट्रम्पलाई अटेर गरे अमेरिकासँगको गठबन्धन खतरामा पर्न सक्छ।
हुन त इजरायली नेताहरू आफ्नो देश सार्वभौम मुलुक रहेको र आफ्नो प्रतिरक्षाको निर्णय आफैँ लिने गरेको दाबी गर्छन्। तर, यथार्थ के हो भने इजरायल अमेरिकी हतियार र हवाइ प्रतिरक्षा प्रणालीमा अत्यधिक निर्भर छ।
इजरायलको द्विविधा बढ्नुको खास कारण के हो भने ट्रम्पले गर्न खोजेको शान्ति सम्झौताले इरानको आर्थिक अवस्थालाई अझ मजबुत पार्न सक्छ। ऊसँग बचेखुचेको आणविक क्षमता पनि हुनेछ। त्यसमाथि उसले सफलतापूर्वक हर्मुज जलमार्ग बन्द गरेर नयाँ र शक्तिशाली हतियार पनि फेला पारिसकेको छ। त्यस्तै, इरानले खाडी मुलुकहरूमा रहेका अमेरिकी सैन्य अखडा र पूर्वाधारमा पनि हान्न सक्छौँ भनेर देखाइसकेको छ। बदलामा अमेरिकाले इरानको सत्ता पल्टाउन नसकेकाले तेहरानको प्रतिरोधात्मक क्षमता अझ बढ्न पुगेको छ।
हेजबुल्लाहविरुद्ध जस्तोसुकै कारबाही गर्ने स्वतन्त्रता आफूलाई हुनुपर्ने नेतान्याहुको जोड छ। विगतमा हेजबुल्लाहले उत्तरी इजरायलबाट हजारौँलाई विस्थापित हुन बाध्य पारेको थियो। उता लेबनानमा इजरायली आक्रमणका कारण दस लाखभन्दा बेसी लेबनानीहरू आफ्नो घरबाट विस्थापित भएका थिए। गत साता ट्रम्पले नेतन्याहुलाई फोनमा गाली गर्दै लेबनानमा आक्रमण रोक्न निर्देशन दिएका थिए।
लेबनानमा इजरायलका लागि नयाँ दलदल सिर्जना भइरहेको देखिन्छ। यो ठूलो रणनीतिक असफलताको एउटा हिस्सा मात्र हो। ७ अक्टोबर २०२३ मा हमासले आक्रमण गरेयता झण्डै तीन वर्ष इजरायल निरन्तर युद्धमा छ। गाजामा इजरायलले देखाएको बर्बरताले उसको अन्तर्राष्ट्रिय छवि ध्वस्त पारेको छ। अन्तर्राष्ट्रिय अदालत समेत इजरायलले नरसंहार मच्चाएको आरोपमा सुनुवाइ गर्न राजी भएको छ।
यति हुँदाहुँदै पनि आफूले इजरायललाई जिततर्फ डोहोर्याइरहेको नेतन्याहुको दाबी छ। गत सेप्टेम्बरमा राष्ट्रसंघमा उनले हमासको ‘आतंकको यन्त्र’ ध्वस्त पारिसकेको, हिजबुल्लाहलाई थला पारिसकेको र इरानको आणविक तथा क्षेप्यास्त्र कार्यक्रम नष्ट पारिसकेको गफ लडाए।
तर, उनका यी दाबीहरू हावादारी देखिँदैछन्। हमास अझै गाजामा सक्रिय छ। हेजबुल्लाह लेबनानमा अझै शक्तिशाली नै छ। र, इरानको इस्लामिक सत्ताले क्षेप्यास्त्र र ड्रोनका भरमा अझै पनि विनाश गर्न सक्छ।
हरेक मामिलामा नेतन्याहुले उही गल्ती दोहोर्याए। इजरायलको सुरक्षा समस्या समाधान गर्न उनले सैन्य बाटो रोजे। ती समस्याको राजनीतिक र कूटनीतिक पक्षलाई पूर्ण रूपमा बेवास्ता गरे। इजरायलले हेजबुल्लाह, इरानी र हमास नेताहरूको हत्या गर्यो। यो इजरायली सेना र गुप्तचर निकायको कार्यनीतिक सफलता थियो। तर, नेतन्याहुले यसलाई यो इजरायल थप सुरक्षित बन्दै गएको प्रमाणका रूपमा पेस गरे।
तर, यतिबेला स्पष्ट भइसकेको हुनुपर्छ– इजरायलले मारेर, सिध्याएर आफ्नो देशको सुरक्षा हासिल गर्न सक्दैन। गाजा, बेरुत वा तेहरानमा नेताहरूको एउटा समूह मारिए तिनको ठाउँ लिन अर्को समूह जन्मिनेछन्।
यो द्वन्द्वको असली कारण खोजेर त्यसलाई निर्मुल गर्न कठिन छ। त्यो भन्दा इजरायलका दुस्मन बेवकुफ कट्टरपन्थी हुन्, उनीहरूलाई मारेर सिध्याउनुपर्छ भन्नु नेतन्याहुका लागि राजनीतिक र बौद्धिक रूपले सजिलो हुन्छ। फलस्वरूप इजरायलीहरूले के बुझ्न अस्वीकार गरेका छन् भने आफूमाथि बम बर्साइएपछि, हत्या गरिएपछि अधिकांश प्यालेस्टिनी, लेबनानी र इरानीले पनि उसैगरी जवाफ दिनेछन्, जसरी अक्टोबर ७ को आक्रमणपछि इजरायलले जवाफ दिएको थियो। आत्मसमर्पण होइन, अझ भयंकर लडाइँ लडेर।
जसले यस्तो तर्क गर्छ, नेतन्याहु उनीहरूलाई आतंकवादीसँग सहानुभूति राखेको आरोप लगाउँछन्। यही तरिकाले उनले विपक्षीको मुख थुन्दै आएका छन्।
इजरायलका शत्रुविरुद्ध पूर्ण युद्ध सुरु गरेर नेतन्याहुले आफ्नो प्रतिष्ठा कायम राख्ने र राजनीतिक भविष्य सुरक्षित गर्ने योजना बनाएका थिए। इरानमाथि विजय भएको भए त्यो उनको सबैभन्दा ठूलो सफलता हुने थियो। अन्तिम शत्रुमाथि अन्तिम जित। त्यो पनि चुनावको वर्ष।
तर, त्यसो भएन। आफ्ना शत्रु जीवित र बलियो हुँदाहुँदै उनी चुनावमा जाँदैछन्। अर्कोतिर सम्पूर्ण पश्चिमा जगत र ह्वाइट हाउसमा समेत इजरायलप्रतिको समर्थन घट्दो छ। इजरायलको चुनावमा सधैँ निकट प्रतिस्पर्धा हुन्छ। त्यसैले नेतन्याहुले हार्छन्, हार्दैनन्, प्रस्ट छैन। तर, यो चुनावमा सुरक्षा प्रमुख मुद्दा बन्ने पक्का छ। र, नेतन्याहुको भिजन असफल भइसकेको छ। उनी हार्नलायक छन्।
(फाइनान्सियल टाइम्सबाट)
Shares

प्रतिक्रिया