प्रतिनिधिसभाको सभामुख पदमा नेकपा (एमाले) का उम्मेदवार सांसद देवराज घिमिरे निर्वाचित भएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनलाई मतदान गर्ने पक्षमा एक सय ६७ मत खस्यो।
उक्त प्रस्तावकको विपक्षमा एक सय मत खसेको थियो। मतदानमा दुई सय ६८ले भाग लिएका थिए। एक जनाले मतदान गरेनन्।
मतदान प्रक्रियापछि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले मत विभाजनको नतिजाबारे जानकारी दिँदै सदनको हाल कायम सङ्ख्याको बहुमत प्राप्त गरेकाले घिमिरे सभामुखमा निर्वाचित भएको घोषणा गरे।
घिमिरेको प्रस्तावकमा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र समर्थकमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन एवम् राष्ट्रिय स्वजतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने थिए।
नेपाली कांग्रेसका ईश्वरीदेवी न्यौपानको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का नेता प्रकाश ज्वाला थिए।
वि.सं. २०१३ मा ताप्लेजुङमा जन्मनुभएका घिमिरे २०५६ देखि २०६० सालसम्म राष्ट्रियसभा सांसद थिए।
उनी प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ मा झापा क्षेत्र नं २ बाट निर्वाचित भएका थिए।
उनले विद्यार्थी सङ्गठनबाट राजनीति सुरु गर्नुभएको थियो। उहाँ विसं २०४९ मा एमालेको केन्द्रीय सदस्य थिए।
घिमिरेले एमालेको स्वास्थ्य विभागको अध्यक्ष भएर काम गरेका थिए। हाल उनी एमालेको स्थायी समिति सदस्य र प्रदेश नं १ को इञ्चार्ज छन्।
सङ्घीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ।
प्रतिनिधिसभाको पहिलो बैठक गत पुस २५ गते बसेको थियो। नेपाली जनताको सर्वभौमसत्ता सम्पन्न सर्वोच्च थलोका रुपमा प्रतिनिधिसभा रहिआएको छ।

















Shares

प्रतिक्रिया